मुख्यमन्त्री आचार्यले बुटवलमा बैठक बोलाएपछि सांसदहरू असन्तुष्ट

फाइल तस्विर
फाइल तस्विर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दल उपनेता चेतनारायण आचार्यले संसदीय दलको बैठक बोलाएका छन्। भोलि दिउँसो २ बजे बैठक राखिएको जनाउँदै सम्बन्धित सबैलाई जानकारी गराइएको छ। प्रदेश राजधानी कायम भएको दाङको भालुवाङ्गमा राखिनुपर्ने बैठक बुटवलस्थित उनको सम्पर्क कार्यालयमा बस्दै छ।

आचार्यले मुख्यमन्त्री नियुक्तिलगत्तै बुटवलमा सम्पर्क कार्यालय स्थापना गरेका छन्। संसदीय दलको नेता र प्रमुख सचेतकले राजीनामा दिएको अवस्थामा डाकिएको भोलिको बैठकमा आचार्यको एकलौटी हुने अर्को पक्षको भनाई छ।

‘यतिखेर संसदीय दलका नेता छैनन् तर उनी उपनेता  हुन्। प्रमुख सचेतकले पनि राजीनामा दिइसकेको अवस्थामा बोलाइएको बैठकमा केसम्म गरिन्छ भन्नेबारे सहजै अनुमान गर्न सकिन्छ,’ लीला गिरी पक्षधर एकजना प्रदेश सदस्यले बताए। पार्टी सचिव पद्मा अर्याल अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर उक्त बैठकमा सहभागी हुने बुझिएको छ।

बैठकमा प्रस्तुत हुने एजेण्डाबारे हालसम्म कुनै छलफल र परामर्श नगरिएको भन्दै आचार्य इतर समूहले असन्तुष्टि जनाएको छ। सचिव अर्यालले निर्देशन दिने भएकाले पनि भोलि डाकिएको एमाले प्रदेश संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ।

यसअघि संसदीय दलको नेता रहेका लीला गिरीको सट्टा आचार्यलाई मुख्यमन्त्री बनाउने घोषणापछि गिरी समूहले अपमानित महशुस गर्दै आएको छ। सोही सन्दर्भमा गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएका थिए। भोलिको बैठकमा थप अपमान गर्ने संकेत देखिएमा रणनीतिक हिसाबले प्रस्तुत हुने मनस्थितिमा उक्त समूह रहेको बताइन्छ।

गिरी पक्षको प्रस्तुतिलाई विश्लेषण गरेर सचिव अर्यालले पुनः उनैलाई संसदीय दलको नेता घोषणा गर्न निर्देशन दिनसक्ने आकलन पनि गरिएको छ। तर,रोल्पा, रुकुम,प्युठान,दाङ,बाँके र बर्दियाका प्रदेश सभा सदस्यहरुले बैठकस्थलको बारेमा मुख्यमन्त्री तथा संसदीय दलको उपनेताको व्यापक आलोचना गरेका छन्।

राजधानी दाङभन्दा बाहिरको स्थानमा बैठक राखेपछि उनीहरुले असन्तुष्टि पोखेका हुन्। बुटवल जाउआउ गर्दा लाग्ने खर्च र समयका कारण एमाले संस्थापन निकट सदस्यहरुले पनि भोलि दिउँसोको बैठकलाई निको नमानेको स्रोत बताउँछ।

प्रकाशित मिति: : 2024-08-16 19:44:00

प्रतिकृया दिनुहोस्