रावण दैत्य शक्तिको प्रतिविम्ब भएपनि आजकाल रावणकै पुत्ला अगाडि उभिएर पनि सर्वसाधारण सेल्फी लिइरहकाे भेटिन्छन्। अभिभावकहरु आफ्ना सन्तानलाई स्वयम् रावणको पुत्ला अगाडि उभ्याएर तस्बिर लिइरहेका देखिन्छन्।
सानो छँदा हजुर-बुबाले रामायण छन्द हालेर पढ्न सिकाउनुहुन्थ्यो। मलाई थाहै थिएन वास्तवमा म के पढिरहेको छु भन्ने। तर, दसैँताका रामलिला भने खुबै हेरिन्थ्यो। नेपालगञ्जका गल्ली र चौकमा रामलिलाका भिडियो हेरेरै पुरा रात बित्थ्याे।
रामायण पढ्दै जाँदा मानिसभित्र रावणको पक्ष पनि हुन्छ भन्ने चेत थिएन्। तर, राम राम्रा हुन भन्ने कुरा लहलहैमा मानसपटलमा पसिसकेको थियो।
हाम्रा धर्मग्रन्थ खासगरी पुराणहरुले युग, काल र भगवानका विभिन्न अवतार अनि स्वरुपका विषयमा प्रष्टै उजागर गराएका छन्। यद्यपि, सनातन धर्मका लिखित दस्तावेज मध्यका वेदहरुमा चाडपर्वका विषयमा बेग्लैरुपमा बताइएको अध्येयताहरु भन्छन्। हुन त मानिस आफैँमा सोच्न सक्ने प्राणी हो। कतिपय विषय समय र परिस्थितिले धर्मसँग जोडिएर मान्यता र परम्परा भइदिएका छन्। जो रुढीवादी र विभेदपूर्ण छन्।
दुर्गा भवानीले दैत्य महिषासुर र मर्यापुरुषोत्तम रामले त्रेता युगमा लङ्काका राजा रावणको बध गरेपछि विजय उत्सवका रुपमा विजया दशमी मनाउने परम्परा सुरु भएको मान्यता छ।
बालापनदेखि नेपालगञ्जमा रावण दहन हेर्दै आइएको छ। यो शिलशिलामा रामलिला सञ्चालक समितिले १५७औँ संस्करण भएको जनाएको छ। कोभिड महामारीमा रामलिलाको १५३ र १५४ औँ संस्करणबाहेक नेपालगञ्जको रामलिला मैदानमा रावणको पुत्ला बनाएर दहन गरिँदै आइएकोछ। साँझको ७ बजेदेखि मध्यरात १२ बजेसम्म रामलिला चल्छ। भजन किर्तन र सांस्कृति झल्कने अन्य नृत्य पनि हुन्छ।
यसपटक पनि रामलिला सञ्चालक समितिले रामलिलाका लागि २५ जना कलाकार टोली ल्याएर रामलिला मञ्चन गरायो।
नेपालगन्जमा रामलिला हेर्न सिमावर्ती बजार भारतको बहराईच र श्राबस्ती जिल्लाबाट र छिमेकी जिल्ला बर्दियाबाटसम्म सर्वसाधारहरु आउँछन्।
नेपालगञ्जका गल्ली, सडक र चौराहमा घटस्थापनादेखि दुर्गा भवानीका मूर्तीहरु स्थापना गरेर सुरु भएको दसैँ आज रामलिला मैदानमा रावणको दहण गरेपछि सकिन्छ। नेपालगञ्जमा विद्यालय छुट्टी भएपछि रालिला मैदानमा चहलपहल बढ्ने गर्छ।
नेपालगञ्जमा परापूर्वकालदेखि मनोरञ्जन र धार्मिक, सासंकृतिक महत्वको रामलिला मञ्चन आजै रावणको दहण गरेर समापन हुने गर्छ।
मनोरञ्जनका माध्यम पर्याप्त नहुने कालखण्डमा रामलिला मञ्चनमा रातभरि बिताउने गर्दथे।
नेपालगञ्ज- १३स्थित रामलिला मैदानमा यही अवधिमा राम्रो आर्थिक कारोबार पनि हुन्छ। स्थानीय परिकार, स्थानीय उत्पादन, बालबालिकाका लागि खेल्ने समाग्री, चङ्गालगायतका सामाग्रीहरुको बिक्री पनि मनग्य हुन्छ।
रामचरित मानसलाई आधार मानेर मञ्चन गरिएको यसपटकको रामलीलाको सुरुवात १७ गते साँझ ७ बजे सुरु भएको थियो। रामलीला मञ्चनमा १८ गते राम जन्मोत्सव, २१ गते धनुष यज्ञ, २६ गते रावण बध, २७ गते भरत मिलाप र शुभ राज्याभिशेषको मञ्चन गरिनेछ।
नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराकारुपमा स्थापित रामलिलालाई बचाई राख्न स्थानीय समिति र दाताहरु सक्रिय छन्।