जुम्ली ठाडीभाका शृङ्खला भाग-२, खण्ड (क)

जुम्लाकी पुल्तीसरा जसले १३ वर्षको उमेरमै नर्क भोगिन् (भिडियो)

याे कथाकी पात्रकाे नाम पुल्तीसरा सार्की हाे। उसलाई काल्पनिक नामबाट चिनाउन खाेजिएकाे छ। उ वनपाखामा देउडा गाउने गाउँघरकी चर्चित कलाकार हाे।

प्रिय पाठकहरु, याे पात्र निर्माणमा याेगदान पुर्‍याउने वास्तविक पात्रहरुकाे नाम कथाकाे अन्तिममा छुटाइने छैन। कथा दुई भागमा प्रकाशन हुनेछ। कृपया कथाकाे अन्तिमसम्म धैर्य गरेर कुरिदिनुहुनेछ भन्ने विश्वास लिएकाे छु।

सिंजा दाँतेओग्डकी पुल्तीसरा सुरुमै भनिएजस्ताे एक चर्चित देउडा गाउने डाँडामाथिकी घाम हाे। जम्मा ४७ वर्षकी उ कसरी डाँडामाथिकाे घाम हुन पुगी? यसकाे उत्तर याे देशका शासकहरुसँग मात्र छ, जसले हरेक वर्ष कर्णालीकाे आयु लेखाजोखा गर्छन् र मानव विकास सुचाकांक मापन गर्छन्।



‘आजभोलि बिरानो भयो, मेरै माइती जिल्ला’

पुल्तीसराकाे बिहे १३ वर्षकाे कलिलाे उमेरमा भएकाे थियाे। देउडा खेल्दा-खेल्दै निकाे(असल) र गट्टाे(खराब) छुट्याउने भइसकेकी उसलाई घरकाले जुम्ला खाल्डाेकाे डाँडाकाेटमा बिहे गरिदिन भनेर हात दिन्छन्। याे कुराकाे उसलाई साेध्नेसमेत गरिदैन। याे कथा पुल्तीसराकाे जिन्दगीको 'फल्यास-ब्याक' हाे।

वनपाखामा, रत्याैलीमा, गाेठमा, पुनि(पुर्णिमा), पडेवामा माया प्रेमका गीत निर्धक्क गाउँदा-गाउँदै हृदयमा प्रेमकाे दियाे बलिसकेकाे थियाे। उ चाहन्थी, मनमा बलेकाे प्रेमकाे दियाे श्रीस्थानकाे(दैलेख श्रीस्थान) ज्वालाझैं कहिल्यै ननिभाेस्। जुगाैंजुग बलिरहने प्रण गरेर लाएकी थिई, पिरती।

पिरती लाएपछि सपनामा दिल प्रेमिल हुन्थ्याे। प्रेमी साथमा हुन्थ्यो। बिउँझदा साथमा केही हुन्थेन। उ भावुक हुन्थी। अनि सृजना हुन्थ्यो, मिठाे ठाडीभाका। जाे सिरसिर बतासमा मिसिएर वनपाखा हुँदै लेकडाडासम्म फैलन्थ्याे।

करनालीउँदाे बल्छी खेल्न्या, माझीका जाेइ र पाेइ।
सपना बाजका(प्रेमी) काेली(काख), विपना काेही न काेही।।

अर्काे दिन गाेठ बस्न जाँदा प्रेमीलाई सुनाउँछे, सपनामा अंगालाेमा बेरिएकाे कुरा। विपनामा मायाकाे अत्यास लागेकाे कुरा। याे सुनेकाे प्रेमी सात जुनीसम्म सँगै रहने कसम खान्छ। दिल खुस बनाउँछ। भर्खर उम्रिएकाे प्रेमकाे दुइपाते बिरुवा फैलाउँदै हुन्छ। यस्ताे बेला राति सपनीमा फेरि उही दृश्य दाेहाेरिन्छ। एकबार हाेइन बारबार।

ठिन्क्या मुनि जुँली कुलाे, हाल्दै राैंला धडा।
सपना बाजका काेली, बिउझ्या पापी मैडा(भूँई)।।

वनपाखामा लुकामारी खेल्दाखेल्दै भविष्यकाे कुरा हुन्छ। घरव्यवहारकाे कुरा चल्छ। बिहेपछि लाेग्ने घर छाेडेर परदेश गइ धन कमाएर ल्याउने, लागिकाे(साहुकाे) भर नपर्ने भन्छ। नर्कजस्ताे जन्जिरले बाँधिएको जिन्दगीबाट उम्किएर आफ्नै स्वर्ग बनाउने याेजना सुनाउँछ।

याे सुनेर अत्तालिएकी पुल्तीसरा आफू एक्लै बस्न नसक्ने सुनाउँछे। प्रेमी सम्झाउँदै भन्छ, 'घरमा भाइ, बहिनी छन्। आमा-बा छन्, तिमी एक्ली हुनेछैनाै।' तर उ कत्ति पनि सन्तुष्ट हुन्न। आमा, बा, भाइ-बहिनीले साैंराई फिट्दैन भन्छे। मदनकी मुनालेझैं साग, सिस्नाे, खाेले र फाँडाेका कुरा गर्छे। संघर्ष गाउँघरमै गर्नुपर्छ भनी सुनाउँछे र हाल्छे काेइलीलाई माथ दिने सुरिलाे भाका।

उँधाे जान्या करनाली, उभाे रिटलै क्या!
हजुरका भाइबिना देख्या, साैंराई फिटलै क्या!!

हाँस खेल गर्ने दिन सधैँ उस्तै रहेनन्। पुल्तिसराकाे पिरती फक्रिन पाएन। उसकाे प्रेमीले सुनाएका याेजनाहरु हकिकतमा बदलिएनन्। उसकाे मनमा बलिरहेकाे प्रेमकाे दियाे धपधपाउन लाग्याे। उसले बाह्र भाइ मस्टाे पुकारी, नाै दुर्गा भवानी गुहारी। लेख हुल्ली, गाड खल्ली गरी। उसकाे प्रेमकाे दियाेमा चैते हुरी आएरै छाेड्याे। तर त्यसपछि आउने वसन्त आएन। प्रेमकाे माैसम आएन। जे नहाेस् साेचेकी थिइ, त्यही भयाे एक बारकाे जुनीमा।

घरमा खान लाउनकाे अभाव थियाे। लुड्कुका बाहुन, ठकुरीको बावर गर्दै पेट पाल्नु पर्ने पुल्तीसराकाे परिवारलाई हुर्केकी छाेरी बाेझ लाग्न थालेकी थिई। त्यसैले पहिलाे छुई अगाडि नै छाेरीकाे घरबारकाे छिनाेफानाे गरिदन पाए मरेपछि स्वर्ग पुगिने विश्वाससहित छाेरीलाई नाैं डाँडा कटाउने गरि जुम्ला खाल्डाेकाे डाँडाकाेटमा दिए। यही कुरा चित्त नबुझेकी उसले रनवन बिउझिने गरी गाइ विरहकाे भाका।

कि र चिन्ता पेट पाल्लैकाे, कि चिन्ता रिनैकाे(ऋण)।
नक्षेत्र नराम्रा रैछुन, म जन्म्या दिनैकाे।।

घरकालाई भनेर पाउनु केही थिएन। एकपल्ट भएकाे निर्णय बदर गर्नु गाउँघरका अगाडि नाक काटिनु थियाे। पुल्तीसराले मन नखाएकाे केटाेसँग बिहे गर्दिन भनेर परिवारका अगाडि अस्वीकार गर्नु उनीहरुको नाकमा चक्कु चलाउनु थियाे। उनीहरुकाे नाक काट्नुभन्दा हृदयमा हुर्किरहेकाे प्रेमकाे विरुवामा खडेरी पर्न दिनु नै उसकाे लागि सजिलाे बनिदियाे। त्यसैले मनभरी वेदना राखेर चुपचाप सही। 

यार्सागुम्बा पाटनभरी, गुच्ची च्याउ वनभरी।
कइती(काेसँग) भुनि क्या पाइन्या छ, वेदना मन भरी।।

उसकाे हाँसाे लुटिएकाे थियाे। हात गाेडा फुक्काफुल भइकन पनि नेल हालेका जस्ता थिए। घरकाे निर्णय सैह्य थिएन र पनि बेहोर्नुपर्ने उसले बुझेकी थिई। त्यसैले उसले आफ्नाे बाजलाई भेट्न छाेडकी थिइ। उसकाे बाज सपनीमा आउन छाेडेकाे थियाे। उ एक्लै-एक्लै भाैतारिरहेकी थिइ। घरि बर्बर आँसु बगाउँथी, घरि सम्हालिन खाेज्थी। अब नियति भाेग्नु नै थियाे। आँखा अगाडि आएकाे आपत टार्ने उपाय थिएन। त्यसैले अल्का लेखमै भएकाे एक्ली सल्लीसँग गुनासाे गर्दै सुसाई।

सुल्पारी(सुल्पाभरी) तमाखु हाल्याै, सापी नरुजेकाे।
लाजैले घरखानु पर्‍याे, चित्त नबुझेकाे।।
ताेकन क्या का छुन दुख, सुल्पाका सापीय।
राेएर राज पाइन्या छैन, नराे मन पापीय।

देउडाका सुरवीर खेलाडीसँग गाेठमा खेल्दा-खेल्दै माछा मार्ने जालजस्तै जेलिएकाे पिरतीकाे जालाेमा धार लाउने काम परिवारका पुरुषले गरे। दहीकाे ठेकाे बाेकेर, छाब्रीमा लाडु(कसार) हालेर गएका डाँडाकाेटी लाेग्ने र दाँतेओग्डका लाेग्नेहरुबीच साैदा भयाे। उनीहरुले पुल्तीसराकाे बालाे जाेवनलाई लिएर नयाँ नाता जाेडे सम्धी, सम्धिनीकाे। त्यही दिनबाट बाबाकाे चिल्लाे बाेली खस्राे र रुखाे लाग्दै गएकाे हाे।

छाेरी खुसी नभएकाे देख्दा आमाकाे मन पानी नपाएर चिरा परेकाे खेतझैं नफाटेकाे हाेइन। तर छर, छिमेक, नातागोता, इष्टमित्रका र इज्जतका अगाडि जैर्‍या मन र लायाकाे पिरतीकाे के हिसाब?

पुल्तिसरालाई कुँडिएकाे आमा मन आफू जलेर उज्यालाे दिने मैनबत्ती जस्ताे लाग्न थालेकाे थियाे। आमाकाे बाेली मिठाे, वचन मिठाे। सबैभन्दा बढी आमाले घुर्‍याएकाे(बाेलाएकाे) स्वर मिठाे। त्यसमाथि 'भात खाउ' छाेरी भनेर कानमा गुन्जिएकाे आवाज त झन् अचम्मै मिठाे। पाकेकाे भात र हजुर भन्ने बाेलीभन्दा मिठाे।

डाली राम्राे अत्तिसकाे, पात राम्राे केलाकाे(केरा)।
आमाकाे घुर्‍याया राम्राे, भात खान्या बेलाकाे।।

पुल्तीसरा भर्खर बामे सर्न थालेकाे बच्चाझैं आमाकाे काखनेर लडिबुडी गरिरहन चाहन्थी। आमाकाे आवाज हरपल सुनिरहन चाहन्थी। बाकाे एकल निर्णयका अगाडि उसकाे सीप चलेन। उ निरीह भई। युद्धमा हारेकाे सिपाहीकाे प्रतिमुर्ति उसमा देखिन थाल्याे। राेग लागेकाे थिएन। साेग उस्तै थियोे। त्यसैले झाेक्राइरहन्थी, नुन खाएकाे कुखुराजस्ताे। शरीर लुलाे थियाे, १३ दिन किरिया बसेकाे किरियापुत्रीजस्ताे। देखिदाे घाउ नभएरै उ बिरामी भई।

काे बैरीले चल्ला लैगाे, खाेलेस माउ छैन।
शरीरमा सन्चाे छैन, देखिँदाे घाउ छैन।।

थाहा पाएकी आमा साेध्नैन्थिन्। उनी छाेरीजस्तै बेचैन थिइन्। बुझेका बाबा केही नबुझेको 'एक्टिङ' गरिदिन्थे। निदाएकाे मान्छेलाई पाे ब्युँझाउन सजिलाे, तर अभिनय गर्नेसँग काे सक्नु? जसकाे मन जता लागाेस्, उनलाई के चासाे? उसले साेची म एक्ली छु। मेराे सन्चाे-बिसन्चाे साेध्ने काेही छैनन्। नत दैव टिठायाकाे छ।

करनाली करनाली तिर, भेरी भेरी तिर।
तेरा हाैं दाे माे छु भन्या, काेही नाई मेरी तिर।।
रुनवुनै पिँयालाे गर्‍याे, सल्ली पिठायाले।
तेरा हाैं दाे माे छु भन्या, दैव टिठाएले।।

उ कमजाेर भएकाे आमालाई थाहा थियाे। बाबा महसुस गर्थे। तर के भयाे भनेर साेधेका थिएनन्। जिउँदाे लासझैं ठिङ्गाे उभिएकी थिई। मन वेदनाले भरिएपछि उ रित्तिएकी थिई। उसलाई चिन्ता राेग लागेकाे थियाे। न उसकाे उपचार गर्ने पाटनमा जडिबुटी थियाे, न त डाक्टर नै।

बिहेकाे मिति तय भइसकेको थियाे। सिंजाबाट जुम्ला र जुम्लाबाट सिंजा रैबार आदन-प्रदान भइरहेको थियाे। ठालु भलाद्मीकाे आउजाउ चलिरहेकाे थियाे। बा-आमा ऋण दान गरि बिहेको तयारी गरिरहेका थिए। दिन नजिकिँदै जाँदा उसकाे चिन्ता राेग बढिरहेको थियाे। त्यसैले खाइरहेकाे थियाे कलेजाेकाे काैंलाे मासु।

मान्छे राम्राे कपडाले, चरी राम्राे पाेखले।
कलेजीकाे काैंलाे माक्सा, खायाे चिन्ता राेगले।।

महिना, दिन, बार गन्दा-गन्दा एक दिन डाँडाकाेटी लाेग्नेहरु जन्ती लिएर दाँतेओग्ड पुगे। दमा, सहनाई, नरसिंहा, झ्याली र टाम्काे बजे। केटा-केटी रमाए। आउना-पाहुना रमाए। साथी-संगी रमाए। गाउँघर रमायाे। उपस्थित सब रमाए, शिवाय पुल्तीसरा।

साथी-संगीले ठट्टा गर्दै उसलाई तयार पारे। उ केही बाेलिन। उनीहरुले डाँडाकाेटी लाेग्नेका शरीरमा हिलाे र पानी छ्यापे। उ मुस्कुराइ। मंसिरमासकाे चिसाेमा जन्तीकाे शरीर चिसियाे। ठिक त्यहीबेला पुल्तीसराकाे मन चिसियाे...

प्रकाशित मिति: : 2021-08-06 18:49:00

प्रतिकृया दिनुहोस्