मङ्गलबार, २३ डिसेम्बर २०२५

मनको कुरा गरौं

दिपा धिताल

दिपा धिताल

रुकुम पूर्व
News Image
• • •

‘स्वस्थ मन स्वस्थ जीवन–मनको कुरा गरौं’ भन्ने नाराका साथ सरकारले मंसिर २४ देखि फाल्गुन ३० गतेसम्म अर्थात २०२५ डिसेम्बर १० देखि २०२६ मार्च १४ सम्म चार महिना देशब्यापी सचेतना मुलक कार्यक्रम सुरु गरेको छ। मानसिक स्वास्थ्यका सवालमा गम्भीरताका साथ लाग्नु पर्ने भन्दै विज्ञहरूले सुझाईरहेका बेला यो अभियान अर्थपुर्ण रहनेछ।

१० वर्ष माओवादी द्वन्द्वले थिलिएको देशमा विभिन्न समयमा आएका भुकम्प, बाढि पहिरो र कोरोनाको त्रासले धेरैमा मानसिक समस्या थपेको विज्ञहरू बताउछन्। त्यसो त गत भाद्र २३ र २४ को जेनजी आन्दोलनपछि यो समस्याले ठूलो रुप देखाएको छ। विभिन्न सामाजिक संजालमा देखिएका श्रब्यदृष्य सामाग्री हेरेपछि मानसिक समस्या झनै बढेको छ। 

मानसिक क्षेत्रमा काम गर्नेहरूका अनुसार जेनजी आन्दोलनपछि निको भएका पुराना बिरामीसमेत दोहोरिएर उपचारका लागि आउन थालेका छन्। राज्यले आधारभुत स्वास्थ्यको हक भनेर विधिमा लेखिएको मानसिक स्वास्थ्य सेवाको उपलब्धता भने सहज छैन। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक १० जनामध्ये १ जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या छ।

स्वास्थ्य मन्त्रालयले ‘मनको कुरा गरौं’ भन्दै गर्दा मनका कुरा सुन्ने को? भन्ने गतिलो प्रश्न आउछ। कुरा सुन्ने ब्यक्तिको अभावमा मनमा रहेका पीडा गुम्साएर बसेकाहरूले कसको साथ खोज्ने? अलमल देखिन्छ। अभियान चलाउने राज्यको मातहतमा रहेका संयन्त्रले कुरा सुन्ने स्वास्थ्यकर्मी वा मनोविमर्शकर्ताको जोहो गर्न जरुरी छ।

देशमा पर्याप्त मानसिक चिकित्सक नहुँदा मनको बह पोख्ने पात्रको अभाब छ। त्यसैले स्थानीयको सहज पहुच हुन सक्ने गतिला दक्ष मनोबिमर्शकर्ताको ब्यबस्थापन गर्न राज्य गम्भीर हुनुपर्छ। मनको कुरा गरौं भनेर सचेतना चलिरहदा कहाँ गर्ने कुरा सुचित गर्न जरुरी छ।

नेपालमा दैनिक सरदर १९ जनाले आत्महत्याका कारण ज्यान गुमाउछन् भने करिब ६ लाख कडा खालको मानसिक समस्याबाट गुज्रिरहेका छन्। तर यति ठूलो समस्याका बारेमा राज्य गम्भीर भने देखिदैन। पहिलो पल्ट हरेक पालिकालाई मानसिक स्वास्थ्यमा काम गर्न ५० हजारका दरले बजेट पठाए पनि मानसिक स्वास्थ्यलाई समस्याका रुपमा नहेर्ने गरिएका कारण प्रभाकारी कार्यक्रमको अपेक्षा गरिहाल्न सकिदैन। 

निस्वार्थ राजनीति गर्छौं भन्नेहरू र जनसेवाका लागि प्रशासन चलाउनेहरूको भुई मान्छेसंग सामिप्यता तोडिएको छ। सहर गाउँ जताततै मानसिक समस्याले बिकराल रुप ल्याउदै गर्दा पनि मानसिक स्वास्थ्यलाई समस्याका रुपमा लिन नचाहनु दर्भाग्यपूर्ण हो। 

मन, शरीर र समाज बिचको अन्तरसम्बन्धले धेरै स्वास्थ्यका कुराहरूलाई प्रभाव पार्छ जसलाई हामी मनोसामाजिक अवस्थाको रूपमा बुझ्छौं। यदि मन, शरीर र समाजको बीचमा तालमेल भएन भने मन खिन्न हुने, दुःख लाग्ने, आफूलाई माया र सम्मान नगरिएको महसुस हुने, विरक्त तथा दिक्दारी लाग्ने आदि हुन्छ जसलाई हामी मनोसामाजिक समस्या भनेर चिन्छौं।

यदि यस्ता समस्याहरू बढ्दै गएमा गम्भीर मानसिक समस्याहरू पनि देखिन सक्छन्। मानसिक समस्याहरू कुनै वंशाणुगत रूपमा देखा पर्छन् भने कुनै सामाजिक कारणले हुन्छ। कतिपय जैविक कारण जस्तै मस्तिष्कमा हुने गडबडीले हुने गर्दछ। मनको कुरा गरौं भन्दै राष्ट्रिय मानसिक स्वास्थ्य सचेतना अभियान सुरु भईरहदा ग्रामीण क्षेत्रमा यसको गतिलो प्रभाव परेको देखिदैन।

निराशा, डर, अत्यधिक खुशी वा दुःखी हुनु, समाजबाट टाढा बस्नु, आक्रामक र असामाजिक व्यवहार मानसिक समस्याका लक्षण हुन्। त्यसैगरि निद्रामा समस्या, थकान, कमजोरी, भोजनमा रुचि घट्नु, निर्णय बनाउन नसक्नु, स्मरण शक्ति घट्नु, आत्महत्याको विचार आउनु समस्या चिन्न सकिने मानक हुन। 

त्यसो त समाधानका उपाय पनि छन्। नियमित व्यायाम, ध्यान, योग, र सन्तुलित भोजन, आफ्नो भावना व्यक्त गर्नु, रमाइलो गतिविधिमा भाग लिनु, भरोसायोग्य मित्र, परिवार वा परामर्शदातासँग कुरा गर्नु, मनोचिकित्सक वा मनोवैज्ञानिकसँग परामर्श, औषधि र साइकोथेरापी प्रयोग गर्न सकिन्छ। विद्यालय, कार्यस्थल वा स्थानीय स्वास्थ्य केन्द्रमा मानसिक स्वास्थ्य सचेतना ब्यापक बनाउन सकिन्छ। 

स्वास्थ्य सेवाहरूको पहुँच विस्तार हुँदै जाँदा पनि मानसिक स्वास्थ्य भने अझै पनि छायाँमा परेको देखिन्छ। यो विषयमा खुला बहसको अभाव, सामाजिक कलंक, जनचेतनाको कमी, र स्रोत–साधनको अभावका कारण मानसिक स्वास्थ्य समस्याहरू गम्भीर बन्दै गइरहेका छन्। नेपालमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक छ, जसमा विभिन्न सामाजिक, आर्थिक र संरचनात्मक चुनौतीहरू छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर कुल रोगभारको एक ठूलो हिस्सा मानसिक समस्याले ओगटेको छ। विशेषगरी, किशोर–किशोरीहरू र प्रजनन उमेरका महिलाहरूमा मानसिक समस्याहरूको दर उच्च छ, जसले आत्महत्याको जोखिम पनि बढाउँछ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार, १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या अनुभव गरेका छन्। हालको समयमा ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। 

घर छेउँको सरकार भनिने स्थानीय तह, अलि परको प्रदेश र देख्न नसकिने केन्द्र सरकारका अंगहरू सकृय हुदै स्थानीय स्तरमा सेवा प्रवाहमा गम्भीर बन्नु पर्ने देखिन्छ। गाउँ टोलमा दिनदिनै सुनिने आत्महत्याका घटनाले समाजलाई निराश बनाईरहेको समयमा कम्तीमा पनि मानसिक सचेतनालाई विस्तार गर्न र प्रयाप्त दक्ष मनोविमर्शकर्ता वडा तहसम्म विस्तार गर्नसके समस्या न्युनीकरणमा प्रभावकारी उपाय अपनाउन सकिनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!