शनिबार, २८ फेब्रुअरी २०२६

समानताका नारा र जुम्लाका नेकपा उम्मेदवार भण्डारीमाथि उठिरहने त्यो ‘विभेदको प्रश्न’

News Image
• • •

नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सुरु गरेको जनयुद्धको मूल उद्देश्य सिमान्तकृत, उत्पीडित र उपेक्षित समुदायलाई राज्यसत्ताको मूलधारमा ल्याउनु थियो। जातीय विभेद, वर्गीय शोषण र संरचनागत अन्यायको अन्त्य गर्ने सपना बोकेर अघि बढेको यो आन्दोलनले एक समय आमजनताको ठूलो समर्थन पायो।

तर सत्तामा नजिकिँदै जाँदा माओवादी क्रमशः मूल्य, विचार र सिद्धान्तभन्दा टाढिँदै शक्ति, पद र पहुँचको राजनीतिमा सीमित हुन थाल्यो। यही विचलनको प्रत्यक्ष उदाहरण ०७९ को स्थानीय तह निर्वाचन ताका हिमा गाउँपालिकामा देखिएको थियो।

जनयुद्धकालदेखि सक्रिय रहेकी दलित महिला नेतृ कल्पना दमाई (परियार) परिवर्तनलाई नारामा होइन, व्यवहारमा उतार्ने प्रयास गर्दै आएकी एक योद्धा हुन। तर उनी जतिबेला हिमा गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार बनिन् त्यतिबेला हाल नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नरेश भण्डारीको टिमले उनीमाथि अत्याचार नै गरेको आरोप लाग्ने गरेको छ।।

त्यतिबेला भण्डारीले आफ्ना नजिककालाई अघि सार्न र कल्पनाको उम्मेदवारी रद्द गराउन दबाब सिर्जना गरेका थिए। जब गाउँ कमिटीले लोकतान्त्रिक प्रक्रियाबाट कल्पनालाई टिकट दियो, त्यसपछि उनको विरोध सुरु भयो। यो विरोध राजनीतिक असहमति मात्र रहेन, जातीय अपमान र गालीगलौजमा परिणत भयो। ‘यो डु*नी ठूली हुन पाउँदिन’ जस्ता अपाच्य भाषामा माओवादी आन्दोलनको आत्मामाथि नै प्रहार गरियो।

परिवर्तनका लागि लडेकी एक दलित महिलामाथि नै संगठित रूपमा प्रहार हुनु केवल व्यक्तिगत समस्या होइन, यो पार्टीको वैचारिक पतनको संकेत थियो।

माओवादी आन्दोलनको मूल दर्शन सामाजिक न्याय र समानतामा आधारित थियो। दलित, महिला र पिछडिएका समुदायलाई नेतृत्वमा ल्याउने प्रतिबद्धताकै कारण यो पार्टी लोकप्रिय बनेको थियो। 

तर त्यही पार्टीभित्रबाट दलित महिलामाथि खुला विभेदजस्ता राजनीतिक विचलनले यतिबेला पार्टीको अस्तित्व नै समाप्त भइसकेको छ। कम्युनिस्ट नामका व्यक्ति र पार्टीहरूको झुण्ड बनाएर माओवादीले वैचारिक राजनीतिको दुःखद् अन्त्य गरेको छ।

जातीय विभेद हुने भाषा प्रयोग गरेर पार्टीभित्रै राजनीतिक प्रतिस्पर्धीलाई कमजोर बनाउने प्रवृत्तिले केही नेताहरूका लागि विचारभन्दा पनि सत्ता ठूलो भइसकेको देखिने स्थानीय नेताहरू बताउँछन्।

नेकपा हिमा गाउँपालिकाका एक नेता भन्छन्, ‘नरेश भण्डारीजस्ता नेताहरूको आलोचना आज किन आवश्यक छ भने उनीहरू नेकपाभित्र बढ्दो अवसरवादका प्रतिनिधि बन्दै गएका छन्। पद, पहुँच र नातावादलाई प्राथमिकता दिँदै इमानदार कार्यकर्तालाई पन्छ्याउने, जातीय विभेद गर्ने, होच्याउने उनको प्रवृत्ति पार्टीमा बलियो बन्दै गएको छ। माओवादी भनेर हिँडियो तर, अब न माओवाद रह्यो, न माओवादी पार्टी।’

कल्पनाले विगतमा सरकारी रकमको दुरुपयोगविरुद्ध आवाज उठाएकी थिइन्। यही कारण उनी केही शक्तिशाली व्यक्तिहरूका लागि असहज पात्र बन्न पुगिन्। त्यसैको परिणाम उनले हारको पीडा सहनुपर्‍यो। 

ती नेता भन्छन्, ‘अस्तित्वकै संकटको चरणमा पुगेको माओवादी अहिले नेकपा बनेर नयाँ बोतलमा पुरानै रक्सी बोकेर आएको छ। पहिले जनतालाई मुक्ति दिलाउने लक्ष्य राख्ने पार्टी अहिले अस्तित्व जोगाउने चिन्तामा सीमित भएको छ।’

विश्लेषकहरूका अनुसार केन्द्रीकृत शासनको विरोध गरेर जन्मिएको संगठन आफैं केन्द्रवादी र अधिनायकवादी बन्दै जानु विडम्बनापूर्ण छ। निर्णय केही सीमित व्यक्तिको हातमा सीमित हुँदै जाँदा गाउँस्तरका कार्यकर्ता र सिमान्तकृत समुदायका प्रतिनिधि क्रमशः किनारामा पारिँदै गएका छन्।

कल्पना दमाईको संघर्ष केवल एउटा पदका लागि होइन। यो संघर्ष दलित सम्मान, महिला नेतृत्व, पारदर्शी शासन र माओवादीको मूल मूल्य जोगाउने अभियान थियो। तर, उनलाई हराउन हात धोएर लागेका नै यतिबेला प्रतिनिधि सभाका उम्मेदवार बनेको भन्दै दलित समुदाय रुष्ट छन्। ‘दलित समुदायले नरेश भण्डारीलाई कुन मुखले भोट हाल्ने?’ उनीहरूको प्रश्न छ।

दलित अगुवाहरूका भनाइमा दलितको नाममा राजनीति गर्नेहरूले नै दलितलाई अघि बढ्न नदिनु गम्भीर राजनीतिक र नैतिक अपराध हो।

‘नरेश भण्डारीमाथि उठाइने प्रश्न व्यक्तिगत दुश्मनीका लागि होइन, राजनीतिक उत्तरदायित्वका लागि हो। यदि माओवादी (हालको नेकपा)ले यस्ता प्रवृत्तिलाई समयमै नियन्त्रण गर्न सकेन भने पार्टीको नैतिक आधार झन् कमजोर हुँदै जानेछ,’ दलित अभियन्ताहरूको भनाइ छ, ‘दलित, महिला र सिमान्तकृत समुदाय क्रमशः पार्टीबाट विमुख हुनेछन् र जनयुद्धको इतिहास केवल किताबमा सीमित हुनेछ।’

आज नेकपाका उम्मेदवार भण्डारी सामु स्पष्ट प्रश्न उभिएको छ, यो पार्टी परिवर्तनको माध्यम बन्छ कि अवसरवादीहरूको थलो? यसको उत्तर कल्पना दमाईजस्ता संघर्षशील पात्रहरूको राजनीतिक भविष्यसँग गाँसिएको छ। उनको लडाइँ विचार र स्वार्थबीचको लडाइँ हो, इमानदारी र पाखण्डबीचको संघर्ष हो। 

यदि नेकपा साँच्चै परिवर्तनको पक्षमा छ भने नेताहरूले सबैभन्दा पहिले आफ्नै घरभित्रका शक्तिकेन्द्रहरूलाई प्रश्न गर्न सिक्नुपर्छ। नत्र क्रान्ति केवल भाषण र नारामा सीमित हुनेछ र उत्पीडित समुदायको सपना फेरि एकपटक धोका खाइरहनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!