गजेन्द्र बोहरा
नेपालगन्ज सहरको इतिहास जति तन्काउन खोज्यो यो उतिधेरै इतिहासका पानाहरू खोतल्दै खोतल्दै सयौं वर्षअघिसम्म पुग्छ। राणाकालीन सहरको परिचय बनाएको नेपालगन्जसँग इतिहासका त्यस्ता कैयौं संयोगहरू गाँसिएका छन्, जसको धरातलमा सिङ्गो नेपालको ऐतिहासिक धरोहरहरू भेटिन्छन्।
पश्चिम नेपालको पुछारमा भारतसँग सिधै जोडिएको यो सहर आफैंमा जति पुरानो इतिहासका परिचयहरू बोकेर बाँचिरहेको उति नै वर्तमानका संयोगहरू फेरिदैं जान्छन्। नेपाली राजनीतिको कैयौं अशंहरूले अझ यो सहरको परिचयलाई खुला किताब बनाइदिन्छन्। समाजका यी विविधताहरूलाई एउटै मालामा गाँस्दै आएको नेपालगन्ज सहरले सिङ्गो देशलाई पटक पटक राजनीतिक सन्देश पनि दिन्छ, विद्रोहको होस् वा शान्ति र सद्भावको। परिवर्तनको भोकले जति चाँडै यो सहर बिथोलिन खोज्छ त्यत्ति नै सामाजिक प्रेममा सम्हालिन पनि सक्छ।
निख्रिन थालेको शिशिर ऋतुसँगै अलि चाँडै पालुवा फेर्दैछ यो सहर पनि। अरुभन्दा अलि चाँडै तातिने यो सहरलाई देशभरि जस्तै यतिबेला चुनावी माहोलले छोपेको छ। हुस्सुले उघारिएको यो सहर बाँके जिल्लाको निर्वाचन क्षेत्र नं २ मा पर्छ। जहाँ विभिन्न जातजाति, समुदाय र संस्कारले भरिएको भरिलो समाज छ। नेपालगन्जका २१ वडा र छिमेकी डुडुवा गाउँपालिकाका ६ वटा वडाहरूमा फैलिएको यो निर्वाचन क्षेत्रका लगभग १ लाख ८ हजार मतदाताले फागुन २१ गते आफ्ना प्रतिनिधि चुन्नेछन्। यो चुनावी मैदानमा उत्रिएका लगभग २० जना उम्मेदवारमध्ये फेरि दोहोरिएका एक प्रतिनिधि हुन्, मोहम्मद ईश्तियाक राई। चुनावी मैदानमा उनको यो पाँचौं इनिङ हो।

राजनीतिको रस
स्कुले जीवनको चञ्चलतासँगै सबको जीवनमा हजार सपनाहरू दौडिरहेका हुन्छन्।
जब उच्च शिक्षाको बाटो तय हुन्छ अनि जिन्दगीका लक्ष्यहरू उसैगरी सल्बलाउन थाल्छन्।
लक्ष्य कतिपयका आफ्नै हुन्छन्, कतिपय सपनाहरू अरूका।
उनीसँग पनि त्यस्तै सपनाहरू थिए, उस्तै लक्ष्यहरू थिए। कति आफ्ना थिए कति अरूका थिए। गाँसिएका त्यस्तै सपनाहरूमा अलमलिदैं उनले आईएस्सी सक्काएका थिए।
घर परिवार चाहन्थ्यो उनी डाक्टर बनून्। नजानिँदो तरिकाले आफन्तका ती सपनाहरूलाई उनले आफ्नो लक्ष्य बनाउँदै थिए।
बिएस्सी पढ्न भारत गएका उनी २०५६ सालमा फर्किए। कारण थियो बुवाको उम्मेदवारी।
२०५६ सालको निर्वाचनमा सांसद हुनका लागि तत्कालीन बाँके क्षेत्र नं ३ बाट ‘स्वतन्त्र’ उम्मेदवारी दिएका बुवाको चुनावी अभियानमा सघाउन उनी परीक्षा छोडेर आए।

पटक–पटक वडाअध्यक्ष तथा राप्रपा नेपालबाट पहिला पनि जिल्ला विकास समितिका सदस्य भइसकेका उनका बुवा २०५६ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
चुनावमा खटिए। आखिर चुनाव लड्ने भनेकै जित्नका लागि हो। तर सबैले जित्दैनन्।
त्यो समयमै मुस्लिम समुदायबाट एमए. सम्म अध्ययन गरेका उनका बुवा मुहैयुद्दीन राईले पनि चुनाव जितेनन्।
बुवालाई जिताउनका आफ्नो पढाइ छोडेर घर फर्केको एउटा तन्नेरी। डाक्टरी जीवनका लागि पछ्याइरहेका पाइलाहरू उनले यतै बिसाए।
र, पूर्णकालीन राजनीतिमा होमिए। ती उनै तन्नेरी थिए, जो अहिले बाँके क्षेत्र नं २ बाट पाँचौंपटक चुनावी मैदानमा होमिएका छन्– मोहम्मद इश्तियाक राई।
एकाएक फेरिएको लक्ष्य। झन अलमलिएका सपनाहरू। राजनीतिमा लागेका बुवाको सपना थियो– छोरो डाक्टर बनोस्।
तर बुवाको त्यही राजनीतिक मैदानमा सफर गरिसकेका इश्तियाकले अब आफ्नो जीवनलाई त्यही मैदानमा दौडाउन चाहन्थे।
सपनाहरू फेरि बाझिँन थाले।
महिनौंसम्म त बाउछोराको बोलचाल नै बन्द भयो। आफैंले देखाएको बाटो थियो। आफ्नै मैदान थियो। बाझिएका ती सपनाहरू विस्तारै सबको साझा हुन थाल्यो।
बिएस्सी पढिरहेका इश्तियाकले फेरि राजनीतिक बाटो नै रोजे। विज्ञानका ठेलीहरू छोडेर उनले फेरि राजनीतिक शास्त्रका पुस्तकहरू समाए।
बाटो मोडिइसकेको थियो।
पैसाको लागि राजनीति होइन, इश्तियाकलाई थाहा थियो बरू राजनीति गर्न पैसा चाहिन्छ। पुर्ख्यौली सम्पत्ति त पहिलादेखि नै थियो।
नेपालगन्जको धम्बोझीमा २०३६ कात्तिक १६ गते जन्मिएका इश्तियाकका हजुरबुवा बर्दियाका जमिन्दार थिए। त्यो बेलै बर्दियाका सयौं विघा मलिला फाँटहरू उनीहरूकै थिए। उनीहरूको पुर्ख्यौली घर भने तत्कालीन साईगाउँ गाविसमा थियो।
त्यही मलिला फाँटमा त्यो बेलै आधुनिक तरकारी खेती गर्ने उनका हजुरबुवा इस्माइल राईको नाम विस्तारै फेरिन थाल्यो र उनी ‘किसान’ नामले चिनिन थाले।
सयौं विघामा खेती गर्ने उनलाई अहिले पनि पुराना मान्छेहरू ‘किसान’ भनेरै चिन्छन्।
तर यता इश्तियाकका सपना र लक्ष्यहरू फेरिइसकेका थिए। अब राजनीतिको मैदनमा उनका पाइलाहरूले गति समाउन थालिसकेका थिए।
पूर्णकालीन राजनीति गर्नका लागि अब उनलाई पैसाको जोहो गर्नुथियो। र, त्यही बेलै उनले घरबाट पैसा मागेर एउटा व्यापारिक फर्म खोले– सादाब एण्ड कम्पनी।

‘मैले पैसा कमाउनको लागि राजनीति गरेको होइन। बरू राजनीति गर्नका लागि व्यापार व्यवसाय गरेको हुँ।’
धनसम्पत्ति त उनलाई कमी कहाँ थियो र!
भन्छन् ‘पुर्खाको सम्पत्ति जत्ति पनि थियो। अहिले पनि छ। तर मैले राजनीति गर्नकै लागि आफैंले व्यवसाय गरेर पैसा कमाएको हुँ। राजनीति गरेर पैसा कमाएको होइन। त्यस्तो गर्ने पनि छैन।’
२०५६ सालमै नेपालगन्जमा खुलेको यो कम्पनीले त्यतिबेला विभिन्न देशहरूबाट खाद्यान्न र विदेशी सामानहरू आयात निर्यात गर्थ्यो।
र, यो त्यही कम्पनी हो, जसले नेपालगन्जबाट पहिलोपटक देशैभरी विद्युतीय रिक्साहरू भित्र्यायो।
प्याडल ठेल्दै मान्छे ओसार्ने रिक्साहरू एकाएक हराए। हातखुट्टामा ठेला पारेका रिक्सावालहरूले अब बिजुलीबाट गुड्ने रिक्सा सडकमा दौडाउन थालेका छन्।
‘बुवाको त्यो राजनीतिक दीक्षा थियो। उहाँहरूले त भन्नुभएको थिएन। बुवा हजुरबुवा त्यो बेला नै जमिन्दार हुनुहुन्थ्यो। पैसाको कमी थिएन’ तर पनि इश्तियाकलाई लाग्थ्यो ‘राजनीति गर्न त आफैंले पहिला पैसा पनि कमाउनुपर्छ। अनि कम्पनी खुल्यो। व्यापार पनि चल्न थाल्यो।’
राजनीति : उही यात्रा तर फेरिएको बाटो
२०४६ सालको परिवर्तनले पनि देशको राजनीतिक अवस्था फेरिएको थिएन। ३० वर्ष पञ्चायत ढलिसकेको थियो। त्यसपछि पनि पञ्चहरू जुट्दै अनि फुट्दै थिए।
अरू दलहरूको अवस्था पनि उस्तै थियो। बहुदलीय व्यवस्था। दलहरूको आपसी द्वन्द्व त स्वभाविकै थियो एउटै पार्टीभित्र पनि आन्तरिक युद्ध चर्किन्थ्यो। टुटफुटको सिलसिला चलिरहेकै थियो।
इश्तियाकको परिवार पनि राप्रपाको राजनीतिक वातावरणमा उभिएको थियो।
सायद त्यसैको प्रभाव थियो, इश्तियाक २०५१ सालमै राप्रपाको गाउँ इकाइमा सदस्य भए। त्यसपछि गाउँ कमिटीको अध्यक्ष नै भए।
राजनीति त लागिसकेको थियो। पार्टी अनि संगठनमा उनले आफ्नो जिम्मेवारी बढाउँदै लगे।
केही समयपछि उनी राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला नेता तथा बाँके निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सचिव भए।
दिनहरू बित्दै गए। समय पनि फेरिँदै गयो। देशमा फेरि अर्को राजनीतिक उथलपुथल सुरू भइसकेको थियो। माओवादीको सशस्त्र युद्धले देशको राजनीतिलाई फेरि अन्योलग्रस्त बनाइसकेको थियो।

२०५८ सालको मंसिर ११ गते देशभरि संकटकाल लाग्यो। के गर्ने कसो गर्ने कसैले केही भेउ पाइरहेका थिएनन्। सारा जनता मौन थिए। राजनीतिक दलहरूभित्र खैलाबैला थियो।
त्यसको एक वर्षपछि अर्थात् २०५९ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले देशको शासनसत्ता फेरि आफ्नो हातमा लिए। राजनीतिक दलका ठूला नेताहरूको गिरफ्तारी र नजरबन्द सुरू भयो।
माओवादी र सेनाबीचको लडाईं झन् चर्किरहेको थियो। आम नागरिक ती दुईबीच नराम्रोसँग च्यापिएका थिए। सारा देश राजनीतिक निकासबिना आफैं चपेटिएको थियो।
माओवादीको डर उस्तै थियो। अर्कोतिर तत्कालीन शाही सेना झन् उन्मत्त थियो। सारा नागरिक आफ्नो थातथलो छोडेर सुरक्षित सहर खोज्दै थिए।
इश्तियाकको परिवार पनि नेपालगन्जबाट विस्थापित भएर नजिकैको भारतीय सहर रुपडियामा शरण लिन पुग्यो। पुर्ख्यौली घरमा ताला लाग्यो।
इश्तियाक पनि विस्थापित भएर नेपालगन्ज–१५ स्थित भन्सार टोल पुगे। अहिले पनि उनी त्यही घरमा बसिरहेका छन्।
समय बित्न त कति नै बेर लाग्छ र!
जनताको उकुसमुकुस अब सडकमा पोखिन थालिसकेको थियो। २०६२ सालको अन्त्यसँगै सडकमा ओर्लिएका नेपाली जनताले २०६३ वैशाख ११ मा आखिर आफ्नो अधिकारहरू फेरि स्थापित गरिछोडे।
सडकमा ओर्लिएका राजनीतिक दलहरूले त्यत्तिञ्जेल जंगलको माओवादीलाई पनि आफ्नो साथ लगाइसकेका थिए। आम नागरिकले ढाकिएको सडकका अघि राजाले अधिकारहरू फिर्तामात्रै गरेनन् बरू त्यो नागरिक शक्तिले देशको एउटा इतिहास नै उल्टाइसकेको थियो।
करिब २०५ वर्ष राज्यसत्ताको उच्चासनमा बसेको एउटा शाहवंश (राजतन्त्र) कै अन्त्य गरिदिएको थियो र देशको शासन व्यवस्था अब गणतन्त्रात्मक भइसकेको थियो।
संविधानसभाको निर्वाचन गराउनेगरी गठन भएको अन्तरिम सरकार र संसदसँगै त्यो बेला अन्तरिम संविधानको पनि तयारी भइरहेको थियो।
राजासहितको संविधान मासिदैं थियो।
अन्तरिम संविधान बन्दा नबन्दै त्यसमा आफ्ना अपेक्षाहरू नसमेटिएको भनेर मधेसवादी दलहरू भित्रभित्रै रुष्ट भइरहेका थिए।

तराई मधेसका नागरिक अधिकारका लागि त्यो बेला तत्कालीन नेपाल सद्भावना पार्टीले मधेसलाई गोलवद्ध पार्दै थियो। मधेसमा नागरिक अधिकारको वकालत गरिरहेको मधेसी जनअधिकार फोरमले पनि भर्खरै पार्टीको रुप धारण गर्दै थियो।
सूत्रपात्र त्यही थियो।
२०६३ साल पुस १० गते नेपालगन्जमा मधेसी र पहाडे नागरिकबीच सद्भाव खलबलियो।
नेपालगन्जको त्यही घटना आखिरमा मधेस आन्दोलनको सुरुवात बन्न पुग्यो।
‘राज्यबाट हेपिएको’ मधेसमा फेरि आगो बल्न थाल्यो। मधेसीहरू आफ्ना अधिकारका लागि फेरि एकपटक सडकमा जुर्मुराए।
आन्दोलनको एउटा हर्ताकर्ता उनै इश्तियाक राई थिए जो २०६२ सालतिरै मधेसी जनअधिकार फोरममा सामेल भइसकेका थिए।
त्यतिबेला खलबलिएको नेपालगन्जको सामाजिक सद्भाव रोक्न खोज्दा इश्तियाकले आन्दोलनको कमाण्डरबाट राजीनामा दिनुपर्यो। र त्यो आन्दोलनको नेतृत्व पशुपतिदयाल मिश्रले गरे।
आन्दोलनको नेतृत्व छोडे पनि इश्तियाकले भने सामाजिक सद्भाव भड्किन नदिन धेरै भूमिका खेले।
२०६४ सालमा उनी पार्टीको केन्द्रीय सदस्य भए। अवध क्षेत्रको इन्चार्ज पनि भए। पार्टीमा उनको राजनीतिक उचाईं बढ्दै थियो। २०६५ सालमा उनी पार्टीको राजनीतिक समिति सदस्य (पोलिटब्यूरो) भए। २०७४ सालमा उनी पार्टीका केन्द्रीय सचिव भए।

त्यसपछि अरू पार्टीहरूलाई मिसाउँदामिसाउँदै मधेसी जनअधिकार फोरम ‘जनता समाजवादी पार्टी नेपाल’ बन्यो। त्यो पनि केही समयअघि टुक्रिसकेको छ। पार्टीका केही पदाधिकारीहरू अशोक राईको नेतृत्वमा छुट्टिएका थिए। चुनावअघि फेरि यो पार्टीका पदाधिकारीहरू तितरबितर भइसकेका छन्। उपेन्द्र यादवको साथ छोडेर अशोक राईको नेतृत्वमा गठित पार्टीमा इश्तियाक राई महासचिव थिए।
तर अब उनी त्यो पनि छोडेर नेकपा एमालेको उम्मेदवार बनेर बाँके क्षेत्र नं २ बाट चुनाव लड्दैछन्।
चुनाव मैदान
हरेक राजनीतिज्ञको एउटा कठिन र अनिवार्यजस्तै एउटा परीक्षा हो चुनाव। राजनीतिक यात्राको १३ वर्षपछि नै इश्तियाक राईले चुनावी मैदान रोजिसकेका थिए।
राजनीतिक जीवनको सबैभन्दा ठूलो चुनौती र असिमित सम्भावना गाँसेको यो चुनावी सेतु उनले सजिलै तरिदिए।
राजनीतिक इतिहासको पहिलो संविधानसभाको चुनावमा उनले बाँके क्षेत्र नं २ बाट चुनाव जिते। बाँकेको राजनीतिक इतिहासमा यो एउटा त्यस्तो निर्वाचन क्षेत्र हो जहाँ देशका प्रधानमन्त्रीसमेत भइसकेका सुशील कोइरालाले पनि चुनाव हार्नुपरेको थियो।
२०६४ सालको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी दिनेशचन्द्र यादवलाई पराजित गरेर संविधानसभाको सदस्य भए। त्यो बेला उनी मात्रै २८ वर्षका थिए।
२८ वर्षको एउटा ‘मधेसी’ ठिटो सांसद बनेर पहिलोपटक संविधानसभाको भवनमा छिर्दै थियो। उनी एउटामात्रै त्यस्तो सांसद हुन् जसले पहिलोपटक संसद भवनमा अवधी भाषामा सपथ लिएका थिए।
आखिर लडेको नै त्यही आफ्नोपनका लागि थियो। पहिचान र अधिकारका लागि थियो।
यही अवधिमा उनी श्रम तथा यातायात मन्त्री पनि भएका थिए। ३१ वर्षीय इश्तियाक बहुदलपछि सबैभन्दा कान्छो मन्त्री बन्न पुगे।

तर यो संविधानसभाले संविधानको कुनै रूपरेखा नै कोर्न सकेन। बरू तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा नै विघटन गरेर अर्को चुनाव गराउने जिम्मेवारी प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिदिए।
यसरी जनताले निकै उत्साहका साथ गराएको संविधानसभा आफ्नो उमेर नपुग्दै मासियो। २०७० सालमा फेरि चुनाव भयो।
यसपालि पनि इश्तियाक चुनाव लडे। २०७० सालमा संविधानसभाको दोस्रो चुनाव भएको थियो। यसपालि भने उनले चुनाव जित्न सकेनन्। त्यो बेला चारवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा ३ वटा सिट नेकपा एमालेले जित्यो भने एउटामा नेपाली कांग्रेसका सुशील कोइरालाले जिते।
हरेक उम्मेदवार चुनाव जित्नकै लागि लड्छ, तर चुनाव हारेर पनि के भो!
एकपटक चुनाव हार्दैमा पूरै राजनीतिक जीवन त सकिन्न नि!
चुनावमा पराजित भएपछि इश्तियाक पार्टीमा झन् सक्रिय भए। आफ्नो व्यापार व्यवसाय सम्हाल्ने र फैलाउने समय पनि मिल्यो।
समयले फेरि फन्को लगायो। २०७२ सालमा संविधान बन्यो। र २०७४ मा २० वर्षपछि पहिलोपटक स्थानीय र आम निर्वाचन भयो।
यो निर्वाचनमा भने इश्तियाकले फेरि बाजी मारे।
उनले बाँके क्षेत्र नं २ मा एमाले र माओवादीको समर्थन पाएका पशुपति दयाल मिश्र अनि नेपाली कांग्रेसको समर्थन पाएका राप्रपाका ओमप्रकाश आजादलाई पराजित गर्दै सांसद भए।
यो राजनीतिक यात्रासँगै इश्तियाक राई सहरी विकास मन्त्री भए। तत्कालीन नेकपा (एमाले र नेकपा माओवादीको मिलनपछि)सँग मिलेर सरकारमा गएको जसपा त्यहाँ पूरै समय भने रहेन।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हर्कत’माथि प्रश्न उठाउँदै सरकार छोडेको जसपाले त्यसपछि नेपाली कांग्रेस र माओवादीहरूसँग गठबन्धन गरेर फेरि देउवा नेतृत्वको सरकारमा प्रवेश गर्यो।
र, फेरि इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री भए।
नेपाली राजनीति स्थिर त कहिले पो हुन सक्यो र!
मन्त्री पदमा रहँदै चुनावी मैदानमा उत्रिएका राईलगायत पार्टीका केही मन्त्रीहरूलाई चुनावको मुखैमा प्रधानमन्त्रीले बर्खास्त गरिदिए।
कारण थियो– गठबन्धन। त्यो इश्तियाकको पार्टी जसपाले सत्ता साझेदार दलहरूसँगको साझेदारी तोडिदिएको थियो।
गत भदौ २३ को जेनजी विद्रोह अनि नरसंहार र त्यसपछिको विध्वंशले देशको राजनीतिलाई निकै अप्रत्याशित मोडतिर लगिदियो। विद्रोहले बिथोलेको राजनीति अनि समाज अब फागुन २१ को चुनावमार्फत सम्हालिन खोज्दैछ।
र, २०७९ सालको चुनावमा एउटा नमीठो र अप्रत्याशित पराजय भोगेका इश्तियाक यसपटक फेरि ‘सूर्य चिह्न’ बोकेर चुनावी मैदानमा छन्।

अघिल्लो चुनावमा यही क्षेत्रमा एकातिर माओवादी, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको समर्थनमा नेपाली कांग्रेसका सुदीप नरसिंह राणा उम्मेदवार थिए। तर उनी आफ्नै पार्टीको निर्मम अन्तर्घातले रन्थनिए। जम्मा ४ हजार ४ सय मत पाएका उनको जमानतसमेत जफत भयो।
दुई दुईपटक नेपालगन्ज उपमहानगरको प्रमुख भइसकेका राप्रपाका ‘धवल राजा’ (धवल समशेर राणा) राईलाई पराजित गर्दै संसदीय यात्रा तय गरे।
यो चुनावका परिस्थितिकीय परिस्थिति अलिकति फरक छ। यसपालि पहिलाजस्तो कुनै गठबन्धन छैन। सबका सब दलहरू एक्लाएक्लै भिडिरहेका छन्।
यसपालि यो क्षेत्रमा धवल राजा छैनन्। राप्रपाले ऋषिराज देवकोटालाई संसदीय चुनावी मैदानमा उतारेको छ।
नेपाली काँग्रेसले पनि युवा नेता शुधान्शु कोइरालालाई निर्वाचनमा उतारेको छ। चुनावको मुखैमा ‘नयाँ’ बनेर आएको नेपाली काँग्रेसका लागि यो चुनावी मैदानमा उनि पनि बिल्कुलै नयाँ अनुहार हुन्। रास्वपाले यहाँका स्थानीय युवा विवेक श्रेष्ठलाई उम्मेदवार बनाएको छ। त्यस्तै नेकपाले पनि दीपेन्द्र बिष्टलाई उम्मेदवार बनाएको छ। कुनै बेला इश्तियाककै सारथी बनेका नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राई राजीनामा दिएर इश्तियाकले छोडेको ‘छाता’ बोकेर चुनावी मैदानमा छन्।
यी सब ‘नयाँ’ अनुहारका बीच यहाँका ‘संसदीय खेलाडी’ राई पाँचौपटक मैदानमा छन्।

‘यो नयाँ र पुरानाहरूको प्रतिष्पर्धा होइन। यो नै पुस्तापुस्ताबीच द्वन्द्व बढाउने नकारात्मक भाष्य निर्माण गरिएको छ’ जितका लागि ढुक्क राई भन्छन् ‘बरु यसलाई विकास गर्न, विकास चाहने र विध्वंध र विनाश गर्नेबीचको प्रतिष्पर्धा भन्न सकिन्छ कि। अनि मैले जित्ने आधारहरू पनि विकासकै जग हुन्। जो म चार महिना मन्त्री हुँदा नै बलियो बनाइसकेको थिएँ। तर अघिल्लोपटक चुनाव जित्न सकेन र जित्नेहरूले त्यसलाई भत्काउन खोजे। फेरि म यो क्षेत्रमा विकासका त्यस्तै जगहरू निर्माण गर्न चाहन्छु जो पुस्तौं पुस्ताले याद गर्नेछ।’
यसपालि निर्वाचन जित्ने यस्ता धेरै आधारहरू इश्तियाकले भेटाइसकेका छन्, जो यहिँ कतै छुटेका थिए। छुटाइएका थिए।
र, विकासको यात्रा
दुईपटक सांसद र तीन पटक नै मन्त्री भइसकेका इश्तियाक राईले यो क्षेत्रमा के गरे?
‘मैले के के गरेँ, त्यो जनताको घरआगँनमै गएर हेरे पुग्छ’ राईको यही एक धर्सो जवाफमा विकासे काम र योजनाको लामो फेहरिस्त छ।
राजनीतिका अनेकन अँधेरी खेपेको नेपालगन्ज सहर अहिले रातभरि झकमक्क बलिरहन्छ। उनकै पहलमा सडकमा बलेका हाइमास्ट लाइटहरूले नेपालगन्ज अझ उज्यालिएको छ।
वर्षौंदेखि थोत्रिएको घरमा कनिकुथि बिरामी स्याहारिरहेको भेरी (सरकारी) अस्पतालले नयाँ र आधुनिक भवन पाएको छ। देशकै यो एउटा पहिलो सरकारी अस्पताल हो जहाँ हरेक बिरामीले ५० रूपैयाँको चिर्कट काटेर एसी जोडिएका कोठामा उपचार पाउँदैछन्।
यहाँका कब्रिस्तान होउन् वा मसानघाट, सबका सब उज्यालिएका छन्।
मन्दिरहरूको सुन्दरता अझ चहकिएको छ। मस्जिदहरूमा रंग फेरिएको छ। चर्च अनि गुम्बाहरूमा पनि इश्तियाकका छाप छन्।
हिलोमा भासिने नेपालगन्जका धेरै सडकहरू अहिले पिच भएका छन्। बाँकी रहेका पनि हुँदैछन्। खोलाले छेकिने गाउँसहरहरू पक्की सेतुले जोडिदैँछन्।
यी सब काम हुँदैगर्दा भन्नेहरूले ‘शिलान्यास मन्त्री’ भनेर उनको खिसी पनि नगरेका होइनन् तर धेरैलाई थाहा थिएन र छैन जति विकासे योजनाहरू सुरू भएका छन् ती सबका लागि बजेटको जोहो उनले गरिसकेका छन्।
‘मैले जनतालाई कहिल्यै ढाँटेको छैन। नसक्ने काम गर्छु भनेर कहिल्यै चुनावका बेला जनतालाई सपना बाँडेको छैन’ राईलाई लाग्छ ‘जाति, समुदाय र धर्म सम्प्रदायलाई फुटाउने काम गरेको छैन। बरू सकेजति गाँस्दै लगेको छु। र, फेरि पनि जनताको शासक होइन, जनताको चौकीदारी गर्नका लागि भोट मागिरहेको छु।’
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया