सुवाश खत्री
नेपाल परिवर्तनको लामो यात्रा पार गर्दै आज गणतान्त्रिक, संघीय र धर्मनिरपेक्ष राष्ट्र बनेको छ। संविधान निर्माण, संघीय शासन प्रणालीको स्थापनादेखि लिएरमानव अधिकारको सुनिश्चितता– यी सबै उपलब्धिहरू हासिल भएका छन्। तर, जनताको जीवनस्तर, सामाजिक न्याय, विकास, सुशासन र इमानदार नेतृत्वका सवालमा अझै गम्भीर प्रश्नहरू उठिरहेका छन्।
आजको आवश्यकताअनुसार अब हाम्रो मुलुकलाई राजनीतिक परिवर्तन भन्दा पनि मानसिक र सामाजिक चेतनाको परिवर्तन चाहिएको छ। र त्यो परिवर्तन ल्याउने शक्ति हो– नयाँ युगको नागरिक चेतना।
नयाँ युगको नागरिक चेतना भन्नाले त्यो सोच, व्यवहार र दृष्टिकोण बुझिन्छ, जसले देशलाई केवल राजनीतिज्ञको भरमा होइन, सजग र विवेकशील नागरिकका प्रयासबाट परिवर्तन गराउन सक्नेमान्यता राख्दछ।
कुनै पनि देशमा परिवर्तन तब सुरु हुन्छ जब जनतामा चेतना जाग्छ। जबमानिसले अन्याय, भ्रष्टाचार, असमानता र निराशाबाट उठेर “अब धेरै भयो” भन्छ, त्यतिबेलादेखि परिवर्तनको यात्रा आरम्भ हुन्छ। नेता त त्यस चेतनाको प्रतिनिधिमात्र हुन्। उनीहरूले जनताको भावना अभिव्यक्त गर्छन्, तर ती भावना जन्माउने शक्ति जनताकै विवेकमा हुन्छ।
उदाहरणका लागि: नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा रंगभेदविरुद्ध लडे। तर त्यो लडाइँ सफल भयो किनकि लाखौं सामान्य अफ्रिकी जनताले आफ्नो अधिकारका लागि आवाज उठाए। यदि जनता मौन रहन्थे भने मण्डेलाको संघर्ष पनि सीमित रहन्थ्यो।त्यसैले, परिवर्तनको बीउ नेताले होइन, जनताले आफ्नो चेतनामा रोप्छ।
किन आवश्यक छ नागरिक चेतना नेपालमा?
नेपालको वर्तमान अवस्था हेर्दा:
• सत्ताको लागि संघर्षले नीति निरन्तरता हराएको छ,
• भ्रष्टाचारले राज्यसंस्था गलेको छ,
• बेरोजगारीले युवाशक्ति पलायन भइरहेको छन,
• सामाजिक असमानता अझै विद्यमान छ।
यी समस्याहरूको समाधान केवल नयाँ सरकार वा राजनीतिक दलको परिवर्तनले होइन, सजग नागरिक चेतनालेमात्र सम्भव छ।
जब नागरिकहरू स्वयं सचेत, इमानदार र सक्रिय हुन्छन्, तबमात्र साँचो नेतृत्व जन्मिन्छ, हुर्कन्छ र टिकाउ शासन दिन सक्छ। विवेकवान जनता भए भने देश समृद्ध हुन्छ किनकी विवेक भनेको सही र गलत छुट्याउने क्षमता हो। विवेकवान जनता भनेको यस्तो समाज हो, जसले भावनामा होइन, तर्क र सत्यमा विश्वास गर्छ। जसले नेताको भाषण होइन, काम हेर्छ।
विवेकवान जनताले कहिले पनि कोही व्यक्तिलाई भगवान र राक्षसी गुणमा हेर्देन, हेर्छ त केवलमानवतामा तर हाम्रो नेपालमा एउटा यस्तो प्रवृत्ति छ छिटै मुल्याङकन गरि हाल्ने दुइ छाक टार्न कसैले वन्दोवस्त गर्दाखेरी भगवान मान्छौं छाक सकिन्छ अर्को छाक पाउनलाई उसलाई राक्षसी गुणमा हेर्छौं हामीले मानवता देखाउने हो कसैले सहयोग गर्दा उ भगवान र नगर्दा उ राक्षस हो भन्ने बुझाइ गलत हो किनकि उ न भगवान हो न त राक्षस नै उ एउटामानव हो
हामीले बुज्नुपर्छ विवेकवान जनताले देश समृद्ध हुन्छ विवेकवान जनता भनेको यस्तो समाज हो, जसले नेताको भाषण होइन, काम हेर्छन। यदि जनता विवेकहीन छन् भने, उनीहरू झूट, प्रचार र भ्रमको सिकार बन्छन् — जसले देशलाई पछाडि धकेल्छ।
जापानको उदाहरण लिन सकिन्छ। दोस्रो विश्वयुद्धपछि जापान पूरै ध्वस्त भएको थियो। तर त्यहाँका जनताले आफ्नो विवेक प्रयोग गरे— देशप्रतिको जिम्मेवारी महसुस गरे, कठोर परिश्रम गरे र अनुशासन पालना गरे।
परिणामस्वरूप केही दशकभित्रै जापान संसारका सबैभन्दा विकसित राष्ट्रहरू मध्ये एक बन्यो। जापानमा कुनै “चमत्कारी नेता” थिएनन्, तर त्यहाँका नागरिकको व्यवहार र सोच नै चमत्कार थियो।
जनताको व्यवहार भनेको समाजको संस्कार हो। हामी सडकमा फोहोर फाल्छौं, नियम तोड्छौं, कर तिर्न टार्छौं र त्यसपछि नेता बदलियो भने देश सुध्रिन्छ भन्छौं। तर जबसम्म हाम्रा व्यवहार सुध्रँदैनन्, तबसम्म नयाँ नेताले पनि पुरानै गल्ती दोहोर्याउनेछन। परिवर्तन ल्याउने भनेको कुनै चमत्कारी नेताले होइन, जनताको विवेक र व्यवहारले नै हो।
नेतृत्वकर्मीले भाषणमा हामी देशलाई स्विजरल्यान्ड बनाउछौं भनेहरूलाई हामीले बारम्बार चुनाव जिताएका छौं यसमा दोष उनीहरूको होइन पुरानै नेताहरू बारम्बार फिर्ता आउनुमा दोषी हामी नै हौं! एक छिन सोचौं त हाम्रा भोट विक्री नभएका भए, हामी भावानामा नडुबेको भए, हामी अन्दभक्त नभएको भए, खराब नेतृत्वलाई नि पाटीको खोलले सफा चिटिक्क नदेखाएको भए, कसैलाई भगवान नमानेको भए, हामी जनता नै इमन्दार र सचेत भएको भए कानुन पालना गरेको भए भाषणमा आउने स्विजरल्याण्डलाई साक्षतकार गर्न पाउथ्यौ
उदाहरण:
स्विट्जरल्यान्डमा सरकार सानो छ, तर नागरिकहरू जिम्मेवार छन्। उनीहरू नियम पालना गर्छन्, कर तिर्छन्, एकअर्काप्रति इमानदार हुन्छन्। त्यसैले त्यहाँ कुनै ठूलो "नेताको चमत्कार" नभए पनि समाज समुन्नत छ।
त्यसको अर्थ, व्यवहारमै परिवर्तनको जरो लुकेको हुन्छ।
तसर्थ आजको नेपालमा सही परिवर्तन नेतृत्वलेमात्र होइन चेतनशिल जनतालेमात्र सम्भव छ: विगतका हाम्रा कमिकमजोरी हरूले गर्दा नेतृत्व कर्मीले फाइदा लएका छन अब फेरी पनी यस्तै कमजोरी नागरिक बाट भए भने पुराना भन्दा नयाँ नेतृत्व कर्मि हरू झन भयानक भएर निस्किनछन हामी यो समयमा सचेत हुन जरुरी छ। ... नेपालमा आन्दोलनहरू धेरै भएका छन्—२०६२/६३ को जनआन्दोलन, संघीयता र संविधान निर्माण, पछिल्लो समय ‘Gen-Z आन्दोलन’ आदि।
यीनले देखाएका छन् कि जनता जब मिलेर आवाज उठाउँछन्, मुद्दा उठाउँछन्, नेतृत्वलाई जवाफदेही बनाउँछन्, तब व्यवस्था बाध्यता अनुसार बदल्न बाध्य हुन्छ। तर परिवर्तन भन्नाले केवल सत्ता, नेतृत्व या व्यवस्थामात्र होइन—हाम्रो सोच, व्यवहार, मूल्य र दैनिक जीवनका विकल्पहरू पनि हो। यदि परिवर्तनलाई सतही रूपमामात्र नेता प्रतिस्थापन गर्ने कुरा मानियो भने त्यो परिवर्तन धेरै समय टिक्दैन। परिवर्तन तब स्थायी र अर्थपूर्ण हुन्छ जब जनता आफैं जागरूक हुन्छौं, सोच बदल्छौं र व्यवहारकामाध्यमबाट नयाँ संस्कार निर्माण गर्छौं।
परिवर्तनको पहिलो पाइला भनेको आत्मपरिवर्तन हो।
जब हामी ट्राफिक नियम पालना गर्न थाल्छौं, जब हामी भ्रष्टाचारमा "साना कुरा त चल्छ" भनेर सहमति जनाउँदैनौं, जब हामी आफ्नो कर्तव्य पूरा गर्छौं— तब समाजमा सुधार स्वतः आउँछ। हाम्रो देशमा परिवर्तनको प्रतीक्षा गर्नु भन्दा राम्रो उपाय हो— स्वयंले परिवर्तनको आरम्भ गर्नु।
नेपालले धेरै राजनीतिक परिवर्तन देखिसकेको छौं। तर आज पनि भ्रष्टाचार, गरीबी, बेरोजगारी, असमानता र अन्याय हट्न सकेका छैनन्। त्यसैले अबको युग राजनीतिक क्रान्तिको होइन, नागरिक चेतना क्रान्तिको हो।
हामीले बुझ्नुपर्ने कुरा के हो भने —
ईश्वर न मन्दिरमा हुनुहुन्छ, न त राजगद्दीमा, नत कयौँ बालेनमा ईश्वर त जनताको विवेक, नागरिकको कर्म, र नेतृत्वको इमानमा प्रकट हुन्छन।
जब हामी: विवेक प्रयोग गर्छौं, अन्धभक्त बन्दैनौ, साँचो नेता रोज्छौं, त्यस दिन साँचो परिवर्तन शुरू हुन्छ। त्यसैले आजको नेपालले खोजिरहेको कुनै X ,Y, Z पुस्ता होइन सचेत नागरिक अनि सही नेतृत्व हो जसको चेतनामा विवेक र सोचमा राष्ट्रप्रती समर्पण हुनुपर्छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया