जुम्ली ठाडीभाका श्रृङ्खला भाग-  १ 

‘आजभोलि बिरानो भयो, मेरै माइती जिल्ला’ (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

वनपाखामा कोइलीको कुहु कुहु, कसलाई मन पर्दैन होला! तीनै वनपाखामा महिलाको सुरिलो स्वारलाई कोइलीको स्वर जस्तो मीठो भन्ने बिम्ब प्रयोग हुन थालेको अहिले होइन, युगौँदेखि हो। यो लेख युगौँदेखिको सुरिलो स्वरको एक प्रतिबिम्ब मात्र हो।

युगौँदेखि गुन्जिरहेको सुरिलो भाका यसपालि हामी जुम्लाको तातोपानी गाउँपालिका, लाम्रा गाउँकी पिउली सार्की (४८) को मुखबाट सुन्ने छौँ। आजभन्दा ३५ वर्ष अघिदेखि वनपाखामा उनकै स्वरले धुम मच्चाइरहेको छ। 

जुम्ला तातोपानीको बाइराकाँमा उनी निस्फ्रिक्री हाँस खेल गरिरहेकी थिइन्। बाटो, दोबाटो, वनपाखा, उनका परिचित देश थिए। जसलाई उनी अहिले माइती देश भन्छिन्। 

रत्याैलीमा निर्वाद घुमफिर र छोट्या खेल्नु उनको लागि स्वातन्त्रताको कावा थियो। उनी हाँस्दा कसैले भानुभक्तलेझैँ 'नारी हाँस्नु हुँदैन। हाँस्ने बेस्या हुनेछन्' भनेन। बरु बाआमा बाजे बज्यैले हाँस्दै भने, 'हाम्मी भाउको स्वर कोइलीको जो मीठो छ।'

उनी गोठमा छोट्याहरु(केटाहरु) सँग मज्जाले देउडा खेल्थिन्। जित्ने, हार्ने भइरहन्थ्याे। छोट्याहरु भन्थे, 'जित्यापै जितडी लेली नतर जोई होली।' उनी जितडी लिइरहिन। हारेर जोई हुनु थिएन। त्यहीँ हुन्थे, माया प्रेमका कुरा। जिन्दगीका रसिला कुरा। प्रेम, समर्पण अनि रतिरागका कुरा। 

धारोमा गाग्रीसँग लुकामारी खेल्दाखेल्दै, बाटा दोबाटोमा धुलोको क्रिम लगाउँदै खेलिएको घरबारमा लोग्ने स्वास्नीको अभिनय गर्दैगर्दा, लाम्राबाट उनैको नाममा भनी भलाद्मीहरु दहीको ठेको बोकेर आए। उनको हात मागे। एक हात मागेर पुरै  जोवन बन्धक हुन्छ, उनले कहिल्यै सोचिनन्। तर जब बेहोर्नुपर्ने दिन आयो तब उनको पखेटा काटिएजस्तो भयो। उडिरहेको चराका पखेटा काटेपछि फतफताउँदै गलेर भुइँमा झरेजस्तै उनको बालो जोवन गल्यो। बोलीमा लगाम लाग्यो। हाँसोमा भानुभक्तको वचन लाग्यो।

उनलाई बिहे गरेर लाम्रा पठाइयो। ओटालाको डिलबाट माइती देश देखिनन्। वनपाखाबाट माइतीको आगन देखिएन। त्यसपछि उनले अटोमेटिक कोइलीको रुप धारण गरिन। अनि गाइन विरह, पोखिन मनको बह।

ह्याँकोर सुर्खेतसम्म, कोइले हाल्यो किल्ला?
आज भोली बिरानो भयो, मेरै माइती जिल्ला।। 

आजभोलि हल्का लजाउँदै मुसुक्क हाँस्दै, हातगोडा फुक्काफुल भइकन पनि बाँधिएको जिन्दगीलाई अरुले नै गरिदिएको निर्णयबारे सचेत हुँदै भन्छिन्, 'भ्याका(बिहेको) कुडा गरु भन्या बालविवाह पड्न्याछु।' उनले गाउँदागाउँदै सिकिन र सजिलै भनिन्, 'मैले बिहे गरेको कलिलो १३ वर्षे उमेर त कानुले बर्जित गरेको बालविवाह पो रहेछ।'

बिहे गरेको तीन वर्षसम्म 'भाउ नानी छ। उमेर पुग्याको नाई। कामगर्न सिक्याकी नाई' भनेर माइतमै राखियो। त्यसपछि पोइली घर जानेबेला रोइन, 'मेरी आमइनी आजदेखि राम्मई(राम्राे) गरि बस्या। मेरा माइतीको दरबार जस्तो घर' लगायत। तर त्यही घरको कुनामा त के, गोठमा समेत उनी अटिनन्। चलेको रीतविपरीत जानलाई उनको विरहले विद्रोहको रुप धारण गर्न सकेन। 

उनी पोइली घर आइन। सबथोक नयाँमा घुलमिल हुनु कसरी! आजकाल जस्तो लोग्ने आफै चुनेर आएको भएपनि चित्त बुझाउने ठाउँ हुँदो हो। रुँदारुँदै पठाएका भएपनि याद त उही घर र माइतीको आउँछ। जहाँ, पहिलो पल्ट आमाले उनको तोते बोली बुझेकी थिइन्। बाबाको आकाश जतिको फराकिलो माया चुमेकी थिइन्। चाहे ती जतिसुकै निष्ठुरी किन नलागुन याद त निष्ठुरीकै आउने रहेछ। अनि गालामा हात लगाइन। बासुधारा आँसु सँगै बग्यो विरहको ठाडी भाका। 

माघ भन्दा फागुनै बाइगो, दाउरी काट्न्या चाल नाई।
रुँदा रुँदै आमा छुटिन, नाना मुटु झाल नाई।।

उनी दाउरा, घाँस गर्न बनपाखा धाइरहिन। मल, पर्सों गर्न गोठ देखि खेत खलियान, बारीमा डोको घाेप्ट्याइरहिन। अन्न फलाउन धर्ती चिरिरहिन्। भाँडा धुन्या, अैंचो, पैंचो, आवर, बावर गरिरहिन्। यही बीचमा उनलाई माइती देशको, आमा बाबाको, भा भतिजाको याद आउन छोडेन। अनि अन्नी(अर्नी) खाने बेला, थाकेको जीउ र धमिलिएको मन बहलाउन छोडीनन्। त्यसको माध्यम थियो, सुरिलो ठाडी भाका।

लागिजा कुइडेनी बाल्द(बादल), लेक डाँडो छेकिजा।
मकना सौंराडी(सौंराइ) लाग्यो, माइती देश देखिजा।।
राैतेलीको खबर दिन्या, तोडीको राई पिना।
काँ र होनन् आमा बाबा, काँ होनन् भाइबिना?

अर्काको देशमा भाइविना(भाइबहिनी) खोजेर कहाँ पाउन? 'काम गर्दा गर्दै भागेर माइत जाउँ भन्या फलानाकी छोरीले घर खान सकिन भनेर बाबू, आमा, साखा, सन्तानको नाक काटी' भन्ने। उनीहरुको नाक जोगाउन पिउलीले त्याग गरिन। त्यत्रो त्याग गर्दा पनि अर्काको देशमा आफ्ना भेटिएनन्। अनि फुट्यो विरहको मुल।

बालुवा बगड भित्त, छाइल पड्डा एल्खा।
ऐ जिल्ला कोइ पनि छैनुन, भाइलु हुनु अर्का।।

विरह गाउन्या चलन एक दिन, दुई दिनदेखि चलेको होइन। युगौँदेखिको हो। लाम्रामा विरह गाउन्या पिउली मात्र होइनन्, अरु पनि छन्। यो पाली उनको अन्तस्करणबाट  छुटेको भाकालाई मालामा उनीएको मात्र हो। उनले एक वर्षका दु:ख सम्झेर गाएका गीत होइनन् यी। हरेक वर्ष, हर दिन अठार घण्टा काम गर्दा पनि मुखमा माड पस्ने अवस्था नआएपछि मौन विद्रोहको प्रतीक स्वरुप आएका भाका हुन यी। 

वनमा दाउराको भारी कसेर माइतमा बजुले साथमा उमल कट्टा गर्न(यादहरुबाट छुटकारा पाउन) पठाएको सुल्पामा तमाखु भरिसकेपछि एक चिलिम तान्दा निस्किएको धुवाँसँगै आकाश छुन निस्कने भाव हुन, ठाडी भाका। जुन गीतको माध्यमबाट प्रकट हुन्छन्।  

वडा लामा चैत वैशाख, पुडा लामा जेठ।
कहिले जाला पापी मैना, कहिले होला भेट?

उनलाई चलेको रित विपरित जानु जिउँदो माछाजस्तै नदीको उल्टो धार बहनु लाग्यो। त्यसैले उनी मरिदिइन, माइतीका लाग। साखा सन्ताको नाक काटिन नदिन बगिन नदीको धारसँगै, मरेको माछासरि।

तर, समय कहाँ सँधै उस्तै हुन्छ र? चेनाको दियो बल्दै गयो। गाउँघरसम्म पसेको आधुनिकताको लेप लागेको लोग्ने मान्छेले रक्सी खाएर, मातेर स्वास्नी कुट्नु आफ्नो धर्म सम्झिन लाग्यो। जुन उनलाई अस्यैह थियो। रक्सीको गन्ध नै विद्रोहका मूल बन्यो। बारबार मरिरहने जिन्दगी बेकार लाग्न थाल्यो। 'बरु एकैपल्ट मर्नु जाति।' यहि निष्कर्ष थियो। अनि विरहलाई विद्रोहमा बदल्ने साहस बटुलिन्। दिइन पहिलो पल्ट चुनौती।

रक्सी किन्नु केही मान्नैनौ, तेल किन्न कुन्नाछौ।
दाल तरकारी च्याट्ट बना, घरिना भुन्नाछौ।।

यो उनले सार्वजनिक समारोहमा पहिलो पल्ट गरेको प्रश्न थियो। जसले पितृसत्ताको जग हल्लाइदियो। एकपल्ट सोच्न बाध्य बनायो। कति लोग्ने मोन्छेले सरम माने, कतिले रिस। कतिले उहीँ साँझ आफ्नी श्रीमतीलाई एक गिलास रक्सी थपेर कुटे पनि। तर पिउलीले भने साहस बटुलेकी थिइन्। बसन्तमा पालुवा पलाएसरी उनको मनमा हिक्मत पलाएको थियो। अदम्य साहस बटुलेकी थिइन्।

त्यसपछि उनी जुवातास, गरेलु हिंसा, महिला हिंसा, छाउपडी लगायत कुरीतिको विरुद्ध देउडा गीतमार्फत विद्रोह गर्न लागिन। विद्रोहको आह्वान स्वरुप गाइन देउडा भाका।
 
वन भरि विनाशी भयो, चर्न लाग्या गाई।
दिदी बुइनी अघि बडौँ अधिकार ल्याउनलाई।।
जन्म्या सिद्ध सित्तै पाइन्या, अधिकार रयोछ।
खुम्चिकन बस्यौँ हामी, त्यही गल्ती भयोछ।।

यो जिन्दगीको समीक्षा थियो। जसले पितृसत्ता विरुद्ध लड्नलाई बलियो बनाउन मद्दत गर्‍याे। बिस्तारै दिमागमा घुसेपछि कोही लोग्नेहरु सुध्रिन लागे। उनीहरुले आफ्नो आनिबानी सुधारे। घरको वातावरणमा हुरीपछि वसन्त आएझैँ भयो। फुल फुलेर मग्मगाएझैँ घरको वातावरण घमाइलो भयो। वर्षात्‍पछि खुलेका आकाशझैँ मन खुल्यो। १३ वर्षदेखि मनमा लागेका बादल फाट्यो। 

कहिले हात्ती कपुर खोला, कहिले हात्ती दाङमा।
बादल फाटी घाम लागिजा, म दु:खीका आङमा।।

साँच्चै बिहानको चिम्किलो सूर्यले मनमै बास गर्‍यो। उनले चाहेकी थिइन्, मनरुपी सूर्य कहिल्यै नअस्तावस। उनले सोचेजस्तै भइरहेको थियो पनि। तर मान्छेको चोला, समथर तराईको फाँटजस्तो कहाँ हुन्छ र? उबडखाबड जमिन जस्तै उतारचढाव त हुन्छ नै। नागबेली पार गर्नै पर्छ। 'र पनि यति छिट्टै यी दिन कहाँ आउलान र?' उनले यस्तै सोचेकी थिइन। गएको मंसिर दस गते उनले आफ्ना श्रीमान्लाई सदाको लागि विदा गरेको पनि वर्ष दिन वित्याे। सबथोक बेहोरेकी उनले हाँस्दै मन खोलिन्।

गाई आमा पिदिनन् पानी, भैंसी बस्न्या खाल।
बिर्सु भन्या बिर्सीदैन, बैरी माया जाल।।
जाँ छु म भोटनका जिल्ला, नुन छ महाचीन। 
आजकाल मेरा यही बितडा, हाँसखेल गर्न्या दिन।।

डौठाको ताल तालजस्तो घरबार छुटेपछि जति सम्हाल्न खोजे पनि सकिनन्। छोरा, छोरी नानातीनाको मुख हरेर सन्तोषको सास फेरे पनि याद त आइहाल्दो रहेछ। राती सुत्दा घरका दार, कत्तर, भित्तासँगै वात मार्दै साथ छुटेको, पीरति टुटेका कुरा मनमा खेल्न थाल्छन्। थाहै नपाई बहकिन मन लाग्छ। भावुक बनिदिन्छिन्।

जोल्जीका पुराना डौठा, बरेलीका जिन।
आजभोलि मैकन भया, रोइरोइ काट्ना दिन।।

महिलाहरु छाउगोठमा मरिरहेका बेला। उनको उनको मनमा विद्रोहका राँको बलिरहेको थियो। त्यसैले उनी गाउँगाउँ गइन्। जुम्ला र सिंजाका दाराखोला चाहरिन। देउडा भाकामै अर्को आह्वान गरिन्।

चित्त बुज्या ताली दिया, नबुज्या गाल (गाली) दिया।
गाउँघर छुइकिल्ला होनन्, आजदै (आजदेखि) फाल्दिया।।

उनको यो आह्वान सरकारले छाउगोठ भत्काउने निर्देशन दिनुभन्दा धेरै अगाडिको हो। सरकारको निर्देशन सुनियो तर गाउँघरको आवाज सिंहदरबार पुगेन। अनि छाउगोठमा महिला मरिरहिन् तब मात्र बिउझियो, सरकार।

प्रकाशित मिति: : 2021-07-23 07:31:00

प्रतिकृया दिनुहोस्