
बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले आफूले एमाले अध्यक्ष केपी ओलीकै सिफारिसमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेको बताएका छन्।
शनिबार बौद्धिक समुदायका अगुवाहरूसँग शीतल निवासमा भएको छलफलका क्रममा राष्ट्रपतिले ओलीकै सिफारिसमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको तर, अहिले उनैले सरकारको नियुक्ति असंवैधानिक भन्दै हिँडेकोमा असन्तुष्टि व्यक्त गरेका हुन्।
छलफलमा सहभागी एक अगुवाले बताएअनुसार राष्ट्रपति पौडेलले निर्वाचनमा नजाने एमालेको घोषणाप्रति झन् चर्को असन्तुष्टि जनाएका छन्।
आफूले बडो चलाखीले वर्तमान संविधान र प्रणाली जोगाएको स्मरण गर्दै राष्ट्रपतिले अप्ठ्यारो समयमा सहमत भएका ओली अहिले समय अनुकुल बन्दै जाँदा फरक बाटोमा हिँडेको गुनासो गरेका ती अगुवाले भने।
अध्यक्ष ओलीले गत शुक्रबारको केन्द्रीय कमिटी बैठकलाई समापन गर्ने क्रममा आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए।
राष्ट्रपतिले एमालेलाई बाहिर राखेर निर्वाचनमा जाँदा राजनीतिक माहोल बिग्रने चिन्ता गर्नै एमालेलाई पनि निर्वाचनमा सहभागी गराउने विषयमा बौद्धिक अगुवाहरूको राय लिएका छन्।
ती अगुवाले भनेअनुसार राष्ट्रपतिले आफूले एमालेका नेताहरूसँग गरेको छलफलमा उनीहरूले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका सुनाएका थिए।
‘ओलीबाहेक सबै नेताहरू चुनावमा जान तयार हुनुहुन्छ। उहाँ किन फेरिनुभयो थाहा भएन। एमालेलाई बाहिर राखेर चुनाव गर्न सकिने कुरा पनि भएन। अबको निकास के होला?’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै ती अगुवाले भने।
यस्तै आजै राष्ट्रपतिले सरकार र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे छलफल गरेका छन्।
पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।
उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूले ‘बोल्ड्ली’ रुपमा प्रस्तुत हुनपनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए।
अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताइन्। उनले पूर्ण तयारीसाथ लाग्न र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत सरकारले उपलब्ध गराउने बताइन्।
सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाएका थिए। उनीहरूले योभन्दा कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रुपले निर्वाचनका लागि तयार रहेको पनि बताएका थिए।
छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबैमन्त्रीहरूका साथै प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङ, ससस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया