अमेरिकी राजनीतिक इतिहासको निकै चर्चित घटना हो– वाटरगेट काण्ड। राजधानी वासिंटन डिसीस्थित वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रेटिक नेसनल कमिटी (डीएनसी) को मुख्यालयमा भएको घुसखोरीले अमेरिकामा ठुलो तरङ्ग ल्याएको थियो। जुन घटनाले अमेरिकी इतिहासमा पहिलो पटक तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले राजीनामा दिएका थिए।
के हो वाटरगेट काण्ड?
वाटरगेट काण्ड अमेरिकी राजनीतिक घटनाको एउटा शृङ्खला हो। जसमा तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले वासिंटन डिसीस्थित वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रेटिक नेसनल कमिटी (डीएनसी) को मुख्यालयमा डेमोक्रेटिकको चुनावी गतिविधिको ‘ट्रयाप’, चुनावी एजेण्डा पत्ता लगाउन गरिएको ‘ब्रेकइन’, त्यसमा सामेल मानिसको ढाकछोप गरेका र आफैँ उक्त ‘ट्रयाप’ मा संलग्न रहेका थिए।
कसरी सिर्जना भयो राष्ट्रपति निक्सनले राजीनामा दिनुपर्ने अवस्था?
सन् १९७२ जुन १७ मा प्रहरीले वाटरगेट (डीएनसी)को मुख्यालयमा फोन ट्याप गर्दै गर्दा पाँच जनालाई पक्राउ गर्यो। सुरुमा सबैले त्यस घटनालाई सामान्य चोरी तथा टेलिफोनमा अवरोध पुर्याएको घटनाको रूपमा लिए।
तर, अदालतमा उनीहरुको पक्षमा महंगो वकीलले वकालत गरेपछि भने मिडियाको ध्यानाकर्षण बढ्दै जान थाल्यो। जसको बारेमा थप जानकारी लिन वासिंटन पोस्टले वाटरगेट घटनाको रिपोर्टिङका लागि अपराध बिटका बव वुडवार्डलाई र कार्ल बर्नस्टिनलाई खटायो।
उनीहरुले दुई वर्षसम्म वाटरगेट प्रकरणमा खोज तथा अनुसन्धान गरे। रिपोर्टिङकै क्रममा उनीहरुले उक्त घटना पछाडि ठुलो राजनीतिक शक्ति रहेको र उजागर भएका तथ्यहरुका आधारमा तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो।
कसरी भयो वाटरगेट काण्ड?
सन् १९६८ मा अमेरिकामा भएको राष्ट्रपतिको निर्वाचनमा रिचार्ड निक्सनले पपुलर भोट पाएतापनि झिनो मतका साथ ५५.९५ प्रतिशत इलेक्ट्रोरल भोट पाएर राष्ट्रपति बने।
उनको पहिलो कार्यकाल विदेश नीतिका विभिन्न मोर्चामा सफल भएको थियो। निक्सनको पहिलो कार्यकालको उल्लेखनीय सफलताहरु शीतयुद्धकालीन प्रतिद्वन्द्वी सोभियत संघसँग सम्बन्ध सौहार्दता विकास गर्नु र कम्युनिस्ट मुलुक चीनसँग औपचारिक सम्बन्ध कायम गर्न सक्षम रहेको थियो।
उनले अर्थतन्त्रमा केही सफलता प्राप्त पनि गरेपनि भियतनामसंगकाे युद्ध भने कामय रहेकोले केही असफलता पक्कै रहेको थियो। अमेरिकी संविधानअनुसार दुई कार्यकालसम्म राष्ट्रपति हुन पाउने व्यवस्थाअनुरूप उनी सन् १९७२ को चुनावमा पुन: उठे।
त्यतिबेला उनको प्रतिद्वन्द्वी रहेका थिए– डेमोक्रेटिक पार्टीका उम्मेदवार जर्ज म्याकगर्भन। तर म्याकगर्भन त्यति बलिया प्रतिस्पर्धी भएनन्। सन् १९७२ को चुनावमा पनि ५० राज्यमध्थे ४९ राज्यमा जित हासिल गरेर ९६.६५ प्रतिशत इलेक्ट्रोरल भोटले विजयी बने।
तर, चुनावअघि राष्ट्रपति निक्सनको अभियानका कार्यकर्तामा भने आत्मविश्वास देखिएन। त्यसैले उनीहरू विपक्षीमा रहेका डेमोक्रेटिक पार्टीका चुनावी रणनीति थाहा पाउन तिनको कार्यालयमा गैरकानुनी रूपमा जासुसी उपकरण लगाउने हदसम्म अघि बढे।
जसको बारेमा राष्ट्रपति प्रशासनका उच्च पदाधिकारी र यसलाई कार्यान्वयन गर्ने सुरक्षा संयन्त्रका केही व्यक्तिलाई जानकारी थियो। त्यसका जानकारकारहरु ‘कमिटी फर रि–इलेक्सन अफ द प्रेसिडेन्ड (सिआरपी)’ का आर्थिक सल्लाहकार गोर्डन लिड्डी, महान्यायाधिवक्ता जोन मिचेल र राष्ट्रपतिका सल्लाहकार जोन डिन रहेका थिए।
जब वाटरगेट कम्प्लेक्सस्थित डेमोक्रेटिक नेसनल कमिटीको मुख्यालयका फोनमा वायरटेप लगाउने कामको जिम्मा सिआरपीका सुरक्षा संयोजक जेम्स म्याकोर्डले पाए। अनि म्याकोर्डले उक्त कामको जिम्मा पूर्वएफबिआई एजेन्ट अल्फ्रेड बाल्ड्विनलाई दिए।
सन् १९७२ मे २८ मा नेसनल डेमोक्रेटिकको मुख्यालयका दुई फोनमा वायरटेप लगाइयो, जसमध्ये एउटा डेमोक्रेटिक नेसनल कमिटीका अध्यक्ष ल्यारी ओब्रायनको फोनसमेत थियो। खासमा जुन १७ को मध्यरातमा पक्राउ परेका पाँच जना अघिल्लोपटक फोनमा लगाइएका उपकरण चेकजाँच गर्न गएका थिए।
तर, उक्त रात वाटरगेट कम्प्लेक्समा ड्युटी गरिरहेका सुरक्षा गार्ड फ्र्यांक विलिसले भवनका केही ढोकाका स्वचालित छेस्किनीमा टेप लगाएको देखे र उनेले घुसपैठको आशंकामा प्रहरीलाई फोन गरिदिए। लगत्तै प्रहरी घटनास्थल पुगे र ती पाँच जनालाई पक्राउ गरे। पक्राउ पर्नेहरूमा भर्गिलियो गोन्जालेज, बरनार्ड बार्कर, जेम्स म्याक्कोर्ड, युजेनियो मार्टिनेज र फ्र्यांक स्टुर्गिस थिए।
रिचार्ड निक्सनलाई पुनः निर्वाचित गराउने उद्देश्यले गठन भएका चुनावी समितिका मानिस प्रत्यक्ष जोडिएको उक्त घटना बाहिर ल्याउन दुई वर्ष वासिंटन पोस्टले प्रयास गरिरह्यो। उनीहरुको प्रयासले वाटरगेट काण्डभित्रको षड्यन्त्र उजागर भयो र निक्सनको शासन अवधि लम्ब्याउने उद्देश्यले चालिएको कदम नै उनको शासन छोट्याउने कारण बन्यो।