प्रदीप भट्टराई
दक्षिण देब्रे भएन भने अझै १४ महिना नेपालले खड्गप्रसाद शर्मा ओलीलाई प्रधानमन्त्रीका रूपमा ब्यहोर्नुपर्ने हुन्छ । उनको कार्यकालमा देशमा हुने भनेको गफ मात्र हो र उनले गफ दिन्छन्, त्यसको प्रतिक्रियामा अरूले पनि गफ नै दिन्छन् । यस्तो स्थितिमा नेपालमा हुने भनेको गफ प्रतिस्पर्धा मात्रै हो ।
राष्ट्रिय गफाडीहरू त यो गफ–प्रतिस्पर्धामा सहभागी हुने नै भए, गफ गर्न नजान्ने पनि सफलताको सूत्र यही पो रहेछ भन्ने भ्रममा त्यतैतिर तानिन सक्छन् । तर, नेपालमा हुने गफ प्रतियोगितामा ओली अजय छन्, उनलाई कसैले पनि जित्न सक्दैन । गफमा उनलाई टक्कर दिने भनेको अर्का गफाडी रवि लामिछानेले हो तर उनी विवादास्पद विगतको भारीले उठ्नै नसक्ने गरी पछारिएका छन् । अहिले जेलको बास गराउने सहकारी प्रकरण मात्रै पनि सही निष्कर्षमा पुग्यो भने उनको राजनीतिक जीवन बाँच्न सक्दैन ।
कहिले जिब्रो मात्र चलाउने ओलीको पालो सकिएला र आफ्नो पालो आउला भनेर नचल्ने जिब्रो मिठ्याउँदै बसेका छन् देउवा । दक्षिणले उनलाई ओलीले पालो देलान् भनेर भर नपर्न र तुरुन्तै पाइने प्रधानमन्त्री पदका लागि अर्को १५ महिना नपर्खन भनेकोले हुनसक्छ, केही समययता उनको सत्ता छटपटी एकाएक बढेको देखिन्छ । यही कारण हुनसक्छ, यसअघि सिंगापुरमा उपचार गराउँदै आएका उनी फलो–अपका लागि भन्दै एक्क्सी बैंककतिर लागेका छन् । संयोग पनि यस्तो मिलेको छ कि श्रीमती आरजु पनि एउटा सरकारी कार्यक्रम मिलाएर उतै लागेकी छन् । स्मरणीय छ, केही समययता बैंकक नै दक्षिणसँगको सत्ता सौदाबाजीको ‘मिटिङ पोइन्ट’ बन्दैआएको छ ।
ढिलो होस् वा चाँडो, जिब्रो मात्र चलाउन मात्र जान्ने ओली गएपछि पालो आउँने भनेको जिब्रो नै नचल्ने देउवाकै हो । उनलाई प्रधानमन्त्री बनाउन प्रमुख प्रतिपक्षी दल माओवादी सुप्रिमो प्रचण्ड पनि तयार नै छन् ।
ओली पनि लगभग दिनहुँजसो १५ महिनापछि उनैलाई पालो दिने भनिरहेका छन् । संसदको अंकगणित पनि सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता उनलाई नै प्रधानमन्त्री बनाउन सहज छ । नेपालको सत्ताका लागि महत्त्वपूर्ण मानिने दक्षिण पनि तुलनात्मक रूपमा उनकै लागि दाहिना हुन्छ । देउवाभन्दा ओली घातक हुने अर्थमा राप्रपा र रास्वपाजस्ता दलको सहानुभूति पनि देउवातिरै हुनु अस्वाभाविक हैन ।
देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने एउटा झिनो सम्भावना भनेको अहिले नेतृत्वमा रहेका ओली, प्रचण्ड र नेपाल पछाडि बसेर एक सर्वसम्मत वाम युवा नेताको नेतृत्वमा वामपन्थी पार्टीहरूको एकता नै हो । एमाले, माओवादी र नेकपा एस मिलेमा नेपालमा वामपन्थी प्रधानमन्त्रीको सम्भावना सधैँ रहन्छ, यसपटक पनि छ । तर, ओली प्रचण्ड र नेपाल बाँचुन्जेल त्यस्तो सम्भावना लगभग छैन भने पनि हुन्छ ।
यही बीचमा विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः प्रवेश गरेर आशाको त्यान्द्रो बन्लिन् कि भन्ने झिनो सम्भावना देखिदैछ । यसै पनि राजनीतिमा असम्भव केही हुँदैन र अझ त्यसमाथि पनि नेपाली राजनीतिमा त रात रहे अग्राख पलाउन सक्छ ।
तर, त्यो सम्भावना लगभग छैन भने पनि हुन्छ । त्यसैले विद्यमान तमाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचकहरूलाई आधारमा अबको प्रधानमन्त्री देउवा नै हुन् भन्ने लगभग तय छ । यसपटक उनी पहिलो पटक हैन, छैँटौपटक प्रधानमन्त्री हुने हुन् ।
जतिपटक प्रधानमन्त्री भए पनि देउवाबाट केही राम्रो होला भन्ने अपेक्षा कसैले गर्दैनन् । अरूले त गर्दैनन् नै, स्वयं काँग्रेसीहरू पनि गर्दैनन् । उनीहरू त यति मात्र कामना गरिरहेका हुन्छन् कि राम्रो नगरे पनि नराम्रो नगरिदिए हुन्थ्यो ।
उनीहरूमा एउटा जबरजस्त डर पनि छ कतै पहिलाजस्तै ज्ञानेन्द्रलाई भित्राएर कांग्रेस नै सक्ने त हैनन् ? तर, सँगसँगै उनीहरूलाई एउटा आशा पनि छ कि यो उनको राजनीतिक बिदाइ हो । त्यसैले पनि उनले राम्रो राजनीतिक बिदाइ लिन सक्छन् । कांग्रेस पार्टीभित्र उनलाई मन पराउने र मन नपराउने दुवैथरि काँग्रेसीहरू उनको बिदाइ कार्यकाल राम्रै भए हुन्थ्यो भन्ने चाहन्छन् ।
देउवा नेपाली राजनीतिका एक आयाराम गयाराम पात्र नै हुन् । उनलाई कुनै राम्रो कामको लागि नेपाल र नेपालीले सम्झनुपर्ने कारण नै छैन । उनलाई सम्झने भनेको नेपाली राजनीतिमा विकृति भित्राउने र अझ त्योभन्दा पनि बढी ज्ञानेन्द्रलाई सत्ता बुझाउने एक नालायक प्रधानमन्त्रीका रूपमा मात्रै हो ।
महाकाली सन्धि, प्राडो–पजेरोलगायतका विकृतिहरूको लामो फेहरिस्त नै जोडिन्छ उनीसँग । उनलाई माध्यम बनाएर पत्नी आरजु नेपालकै एक नम्बर बिचौलिया बनिन् । आरजुलाई गणतन्त्रकी पम्फादेवी भन्नेहरूको कमी छैन । यो सबै देउवाकै कारण भएको हो र यसको मूल दोषी कोही हो भने त्यो देउवा मात्रै हुन् ।
देउवासँग नेपाल विद्यार्थी संघको टिके सभापति भए बाहेक कुनै राजनीतिक इतिहास पनि छैन । २०४६को होस् वा २०६२÷०६३को जनआन्दोलन, देशमा आमूल परिवर्तन ल्याउने यी दुवै आन्दोलनमा उनको निर्णायक भूमिका त के, सक्रिय सहभागिता पनि छैन । उनको सोच र कोण पनि अग्रगामी छैन । उनीसँग न कुनै सोच छ, न दृष्टिकोण । न केही गर्छु भन्ने चाहना नै देखिन्छ उनको अनुहारमा ।
तर, यी सबै भएर पनि देउवाले काँग्रेसमा कोइराला राजनीतिक वंशबादलाई चुनौति मात्र दिएनन्, एक किसिमले किनारा नै लगाइदिए । यसको पछाडिको मूल कारण कोइरालाहरूको पेलानमा परेका सबै काँग्रेसीहरू एक हुनु थियो । देउवा त त्यसको मोहरा मात्र थिए । उनको अतिरिक्त तागत चाहिँ सुदूर–पश्चिम भूगोलको प्रोक्सिमिटी हो । राजनीतिक दलको घेराभन्दा माथि उठ्ने सुदूर–पश्चिम आफैँमा एक गजबको प्रोक्सिमिटी हो ।
कांग्रेसको नेतृत्वमा देउवा पुग्नु नै कांग्रेस दुर्दशाको प्रमुख कारण हो । यसबाट कांग्रेस त पत्रु भयो नै, त्यसको ट्रिकल–डाउन असर अरू राजनीतिक दलमा पनि पर्यो । नेपाली राजनीतिको मूल्य, मान्यता र सिद्धान्त स्खलित हुनुको एक मुख्य कारण यो पनि हो ।
प्रकारान्तरमा नेपालका अरू मुख्य राजनीतिक दलहरूले पनि देउवाकै हैसियतका शीर्ष नेताहरू पाए । अहिले उनीसँगै उभिएका ओली र प्रचण्ड पनि उनीजस्तै नालायक हुन् । यी तीन नालायकको सिन्डिकेटले नै देश अहिलेको बरबाद स्थितिमा पु¥याएको हो ।
यी तीन नालायकले आआफ्ना दलको राजनीतिक इतिहास र विरासत कहिल्यै माथि नउठ्ने स्थितिमा पु¥याए । त्यति मात्र हैन, राजनीतिलाई एक घिनलाग्दो व्यापारको रूपमा परिभाषित गरे । राजनीति भनेको पद, पैसा र तथाकथित प्रतिष्ठा प्राप्तिको भ¥याङ बनाइयो ।
अझ, डरलाग्दो कुरा त के पनि भयो भने राजनीतिको अपराधीकरण हैन, अपराधकै राजनीतिकरण गरियो । आज हरेक दलमा वैचारिक नेताहरू हैन, मनी र मसलको रजगज छ । हरेक पार्टीको लागि दीपक मनाङे अपरिहार्य भएको दृश्य नेपाली राजनीतिको पछिल्लो मानक हो । यस्तो घृणित राजनीति नै नीतिहरूको राजा भएको देशको भविष्यप्रति कसरी ढुक्क हुन सकिन्छ र ?
देशमा सत्ताको नाममा अनेक प्रयोग भए । अहिले संसदको पहिलो र दोस्रो ठूलो दलको लगभग दुई–तिहाइको सरकार छ । संसदीय परिपाटीसँग पटक्कै मेल नखाने यो भद्दा सत्ता समीकरणले पनि माखो मार्न सकेको छैन । देशको अवस्था अझ दयनीय भइरहेको छ । ऋण बढेको बढै छ । देश छोड्नेको ताती घट्ने कुनै संकेत छैन, बरु उल्टै लम्बिँदो छ । त्योभन्दा पनि ठूलो सकस त देशमा भविष्य छैन भन्ने भाष्य यथार्थमा परिणत भइरहेबाट मिलेको छ । जनतामा कुनै आशा जाग्न सकेको छैन । बरु उल्टै निराशा चुलिँदै छ । त्यो निराशा विरोधमा परिणत हुने सम्भावना बढ्दो छ ।
आज सर्वत्र विरोधको निशानामा कोही छन् भने ती ओली, देउवा र प्रचण्ड नै हुन् । जनता यी तीन नालायकलाई बिदा दिन चाहन्छन् । त्यसका लागि प्रपञ्च मिलाउने उनीहरूका दलले नै हो । तर, ती दल उनीहरूकै प्राइभेट लिमिटेड कम्पनीजस्ता भैसकेका छन् । नेता र कार्यकर्ताहरूको हैसियत पनि हुक्के, चिलिमे, ढोकेभन्दा उपल्लो छैन । अझ यसो भन्दा पनि ती पार्टीहरूमा अब भक्त हैन, अन्धभक्तकै रजगज भैसकेको छ ।
काँग्रेसमा त अलि अलि देउवाको विरोधमा बोल्न पनि पाइन्छ तर एमाले र माओवादीको आन्तरिक लोकतन्त्रको अवस्था त हरितन्नम नै छ । त्यहाँ त बोल्ने कुरै छोडौँ, मुख बाउन पनि वञ्चित छ। केही मुख बाउनेहरूको मुख पनि साम, दाम, दण्ड, भेदको सियोले सिएर बाँकीमा एक किसिमको त्रासको खेती गरिएको छ । फलतः बोल्नुपर्ने बाँकी पनि मुख सिइने डरले बोल्न सकिरहेका छैनन् ।
भनाइ नै छ, अति भएपछि खती हुन्छ । त्यसैको परिणाम हो, नेपाली जनताले गरिरहेको विकल्पको खोजी । उनीहरू चाहन्थे, सम्बन्धित दलहरूले नै ओली, देउवा र प्रचण्डको विकल्प दिउन् । पटक पटक मौका दिँदा पनि उनीहरूको कानमा बतास लागेन । त्यसपछि उनीहरू एकपछि अर्को विकल्पमाथि प्रयोग गर्न बाध्य छन् । एकपटक बालेन, हर्क र गोपीको स्वतन्त्र विकल्प पनि हेरे । त्यसलगत्तै त्यही स्वतन्त्र नाम राखेको रवि लामिछानेको स्वतन्त्रको विकल्प पनि हेरे । तर, यी दुवैखाले विकल्पहरू पनि भरपर्दा भएनन् । त्यसपछि के गर्ने त ?
शायद उपायविहीन भएर होला, उनीहरू ज्ञानेन्द्र विकल्प होलान् कि भन्ने सोच्न थालेका छन् । हो, यो कुनै पनि हालतमा उत्तम त के, तन्नम विकल्प पनि हैन । तर, पनि कतै ‘वाध्यताको नाम राम’ भन्ने अवस्थातिर त देश अगाडि बढिरहेको छैन ? अवस्था सोचनीय छ ।
यो अवस्थाका बारेमा सत्ताका चतुर खेलाडी ओली, देउवा र प्रचण्ड अनविज्ञ हुने कुरै भएन । शायद यसैले होला, फेरि यी तीनैजना वालुवाटारमा भेला भएर चोचोमोचो मिलाउँदै गरेको तस्बिर सार्वजनिक भएको छ । अझ, लाज पचाएर उनीहरूले गणतन्त्रविरूद्ध गरिने सबै आन्दोलनलाई निस्तेज पार्न एकमत भएर लाग्ने पनि भन्न भ्याइसके । अझै पनि यी तोरीलाहुरेहरू आफूविरूद्धको जनआक्रोशलाई गणतन्त्रविरूद्धकै आक्रोश भनेर जनतालाई घाँस हाल्ने प्रयास गरिरहेका छन् । यिनीहरूको यही कुमति जारी रहने र तिनीहरूका दल पनि उनीहरूसँगै सती जाने हो भने नेपालमा विद्रोह टाढा छैन ।
घुम्दै फिर्दै रूम्जाटार भनेझैं फेरि नेपाल जिब्रो मात्रै चलाउने ओलीको ठाउँमा जिब्रो नै नचल्ने देउवाको प्रधानमन्त्रीत्व भोग्न अभिसप्त छ । देउवाको यो छैटौपटकको सत्तारोहण नेपाली जनताको न अपेक्षा हो, न चाहना । यसले न कुनै आशाको सञ्चार गराउँछ, न देशमा केही हुन्छ भन्ने विश्वास नै जगाउँछ । यस्तो जान्दाजान्दै पनि देश त्यही दिशामा धकेल्ने लिँढेढिपी गरिरहने हो भने गणतन्त्र नै धरापमा नपर्ला भन्न सकिन्न । बाँकी त समयको ऐनाले देखाउने हो, बाँच्नु मात्र पर्छ, बाँचे देखिन्छ ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया