उहाँ कोही न काेहीसँग निरन्तर संवादमा हुनुहुन्थ्यो…।
नेपाली परम्परागत घरहरुको सानो घाँसा बस्ती साँच्चिकै रसिलो थियो। लामा दाइले क्हैकुमा जीपको व्यवस्था गरिसके छन्। त्यहाँ पनि खोला उर्लेर डोजरले ह्युम पाइप राखेर बाटो खुलाउने प्रयास गरिरहेको थियो। क्हैकु गाउँसम्मको लागि रफ्तारमा अघि बढेका पाइलाहरु करिब पौने छ बजेतिर त्यहाँ पुगेपछि रोकिए। बरु भात छोड्नु तर साथ नछोड्नु भनेझैं हामीले केहीबेर यादव र शाह भाइहरुलाई कुर्यौं।
अब त आनन्दले पिचैपिच जोमसोम पुगिने भैयो ठानेर लेते हुँदै हर्षित मुद्रामा अगाडि बढ्यौं। बाटो नसोचेकै फराकिलो अनि त्यसमाथि कालोपत्रे। थाकेको शरीरलाई अरु के चाहियो र? भोक त बिर्सिसकेछौं, कसैले पनि बाटोमा खाजा खाने कुरा गरेनन्। तर केहीबेरको यात्रापछि जीप बिग्रियो। गियर नचल्ने भयो। अर्को आपत आइलाग्यो। लामादाइ पनि अर्को जीपमा लिफ्ट मागेर गए। तथापी, गुरुजीले जोमसोमबाट अर्को गाडी बोलाइदिनु भयो। रात परिसकेको थियो, चिसो बढिरहेको थियो। पेटलाई मनले सान्त्वना दिइरह्यो।
यो बोक्सी खोलाको कुरा हो, जहाँ जीप बिग्रिएको थियो। यहाँ नजिकै वार्षिक जिउँदो चौरीको रगत खाने मेला लाग्ने रहेछ। करिब डेढ घण्टाको पर्खाइपश्चात हामीलाई लिन जीप आइपुग्यो। अन्तत: रातको नौ बजेतिर जोमसोम पुग्यौं।
हाम्रो बास एयरपोर्ट नजिकैको होटल मुस्ताङ्ग मोनालिसामा तय भयो। यादव भाइहरु मार्फाको चुस्कीतिर लागे, म भने बाबाको कपाल खौरिने तयारीमा। रात्रीको समयमा हेयर कटिङ्ग खुल्ने कुरा भएन। बाले जुम्ला ब्राम्हणलाई फोन गरी सोध्दा भोलिको पूजाको लागि आजै कपाल खौरिनु पर्ने निर्देशन आयो। धन्न बासँग खौरिने सामाग्रीहरु रहेछ र मैले नै कपाल टिलिल्क पारिदिएँ। हामी खाना खाएर आराम गर्न लाग्यौं।
श्रावण १७ गते बिहान सबेरै उठेर कागबेनी जाने साधनको खोजीमा लाग्याैं। सार्वजनिक गाडीहरु पाउने कुरै थिएन। होटलको साहुले ट्याक्सीवालासँग सम्पर्क गराइदिनुभयो। जोमसोमबाट मुक्तिनाथ दर्शन गरी फर्केको पाँच हजार। हामी बाउ-छोरा र यादव/शाह अबको यात्राका सारथी भयौं। हामीलाई कागबेनीमा पूजाआजा गर्न करिब डेढ घण्टा लाग्यो। यस समयमा यादव भाइहरु नजिकैको गुम्बा र स्याउबारीहरु घुमे।
दामोदर कुण्डबाट आएको कालिगण्डकी र मुक्तिक्षेत्रबाट आएको खोला मिसिएको दोभानमा पूजा गरिने रहेछ। सोही दिन डोल्पाबाट पनि सात/आठ जना महिला र पुरुषहरु कागबेनीमा पिण्डदानको लागि आउनुभएको थियो। उहाँहरुसँग अघिल्लो दिन घाँसामा भेट भएको थियो। सबैले सामूहिक रुपमा पूजाआजा र पिण्डदान गर्नुभयो। आचार्यले पूजास्थल अगाडिको ठाडो भीरको बाटो देखाउँदै पहिला-पहिला जुम्लाबाट महिना दिन लगाएर तीर्थयात्रीहरु यहाँ आउनुहुन्थ्यो। आजभोलि बाटो खुलेपनि कमै आउँछन् भनेर स्मरण गर्नुभयो।
उहाँका अनुसार मष्टोका इष्ट देवता हुने रे भगवान् विष्णु अर्थात मुक्तिनाथ। पूजा सकेर हामी मुक्तिनाथतर्फ अगाडि बढ्यौं। यात्राको मुख्य उदेश्य लगभग सकिएको थियो। बाले पूजाको लागि शुद्ध दाउरा अर्थात ढँटेलोका काँडासहितका हाँगा लगभग एक किलो जुम्लाबाटै ल्याउनुभएको थियो। झोलामा रहेका पूजा सामग्रीहरु रित्तिएका थिए। झोलासँगै मन पनि हलुङ्गो भएको थियो।
मरुभूमिमा कालोपत्रे बाटो गजब देखिने रहेछ। हामीहरु सेर्थाङ सेल्फी पार्कमा फोटो, भिडियोहरु खिच्दै गन्तब्यतिर गुडिरह्यौं। त्यो उचाइमा, त्यो मरुभूमिमा बनाइएका स्याउका बगैँचाले मनै आनन्दित पार्थे। ठाउँ-ठाउँमा रोपिएका भोटे पिपल देखेपछि फोक्सो मुस्कुराउँथ्यो। पवित्र भूमिमा मन यसै फुरुङ्ग हुन्छ।
हामीले शान्त वातावरण विचरण गर्दै बिहानको ११ बजे मुक्तिनाथको दर्शन गर्यौं। केही भारतीय पर्यटकहरुबाहेक मन्दिर लगभग सुनसान थियो। १०८ धारामा स्नानपश्चात मुख्य मन्दिरको दर्शन गरियो। पानी निकै चिसो थियो तर चिसो पानीमा नुहाँउदा आउने आनन्द रसियनबाहेक अरुलाई के थाहा?
आजका मितिसम्म गरिएका कर्महरु एकाएक बिलाए। तीव्र गतिमा बौलाइरहने मन एक्कासी वेगविहीन भएझैं यो मन स्थिर भयो। सकारात्मक उर्जाले मनको गहिराइ नापिरह्यो। मैले आफूलाई विल्कुल एक्लो पाएँ- बलेको, जलेको, डढेको खरानी भएको।
द्रबिडियन शैलीमा निर्माण गरिएको यस मन्दिरमा मुख्य पुजारी बौद्ध भिक्षु हुने चलन रहेछ। यस मन्दिरलाई हिन्दूहरूले मुक्तिनाथ तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी) भन्दा रहेछन्। करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको मन्दिर परिसर अलौकिक छ। १०८ धाराको जल बोकेर हामी फर्कियौं। यात्रीहरुलाई सहज होस् भनेर मन्दिरसम्म जान सिँडीहरु भर्खरै बनेका थिए। रेलिङ्गको काम चलिरहेको थियो।
ठमेलको झल्को दिने सानो सुन्दर बजार, अन्तर्राष्ट्रिय स्तरका सेवा सुविधाहरु उपलब्ध थिए। सुविधा सम्पन्न होटलहरु थपिने क्रम रोकिएको थिएन। हामीले सवा १२ बजे होटल श्री मुक्तिनाथ एण्ड पोताला गेष्ट हाउसमा बिहानको खाना खाएर गन्तव्यविहीन यात्रामा लम्किरह्यौं।
काभ्रेभिरको पहिरो पन्छाउने प्रयास असफल भएको थियो। पानी निरन्तर परिरेको थियो। घुम्ने रहर सकिएको थिएन। हाम्रो यात्राको उदेश्य घुम्ने पनि त थिएन। हामीहरु आजै सकुशल बेनीसम्म पुग्न चाहन्थ्यौं। बिहान रिजर्भ गरेको ट्याक्सीमा घाँसासम्म जाने भइयो। जोमसोमको चिनो स्वरुप मात्रै एक बोत्तल मार्फा लिएर मार्फा हुँदै हामी कोबाङमा रोकियौं।
निरन्तरको वर्षातले खोला बढेर अनेकौं प्रयास गर्दा पनि ट्याक्सी तर्न सकेन। एक सरकारी गाडीमा पेड लिफ्टमार्फत हामी घाँसा पुलसम्म आयौं। त्यसपछि हामी उही पहिलेको बाटो हुँदै लगातार रुप्से झरनाभन्दा अगाडिसम्म हिँडेर आयौं। बाटोमा तातोपानी नुहाउन हिँडेका चार जना अल्लारेहरु हाम्रा साथी भएका थिए। उनीहरुले फोन गरी रुप्सेसम्म जीप बोलाएका थिए। हामीहरु त्यसमै सवार भई बेनीको लागि गुड्यौं।
३० मिनेट पनि भएको थिएन, पुन: अगाडि बाटोमा पहिरो खसेछ। हामी पुन: पुल तरेर मिस्त्री खोला जलविद्युत हुँदै तातोपानी अगाडिसम्म आधी पैदल र आधी भ्यान हुँदै आयौं। जाँदा पारीबाटै दृष्यचरण गरेको, फर्किँदा उही बाटो भयो। नजिकै रहेको प्रख्यात नारच्याङ्ग झरनाको उम्दा दृश्यावलोकनले थाकेका खुट्टाहरुलाई मलमपट्टी लगायाैं।
भ्यान त्यहीँसम्मको लागि मात्रै थियो। हामीले मद्दतमा बोलाएको। पुन: हामी जीप रिजर्भ गरेर राति जसरी पनि बेनी पुग्ने गरी हुइक्यौं। थाहा छैन अगाडि पहिरोको अवस्था के छ? कतै हामी पहिरोमै पुरिने पो हौं कि! एक खालकाे त्रासै त्रासका साथ यात्रा अगाडि बढ्यो। नभन्दै हिँडेको पाँच मिनेटमा अर्को पहिरोसँग साक्षात्कार भयो।
हामी लडाइँमा हारेका सिपाही जस्तै भइसकेका थियौं। स्थानीयहरुको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको थियो। पहिरो सानै थियो। एकछिनमै बाटो खुल्यो र हामी राति साढे आठमा बेनी पुग्यौं। मैले यादव भाइलाई सोधें- सफर कैसा रहा? उसले एउटै वाक्य बोल्यो 'इतने पैसे में तो हम गोवा दो बार घूम लेते थे।' यो वाक्य सामान्य थिएन। नेपालकै प्रमुखमध्येको एक प्रख्यात धार्मिक स्थलसम्मको पहुँच मार्गको कथा पढिसक्नुभयो हैन र? यही मेरै यात्रा संस्मरणमा।
हाम्रा आवश्यकता एकतिर, लगानी अर्कैतिर छ। जनता माग्छन् एक, सरकार दिन्छ अर्को। यो तालमेल खै कहिले मिल्ने हो? मैले त पर्यटन र जलविद्युतले मात्रै अब देशलाई माथि उठाउने कुरा बुझिसकेको छु। साथीहरु कृषि क्रान्ति गर्नुपर्छ भन्नुहुन्छ, मैले यो पनि नाई भनेको छैन। जे होस् देश सही मार्गमा सितिमिति फर्किने देखिँदैन।
खैर, यहाँसम्म बाबाको उदेश्य पूरा भएको थियो। यस यात्राको मेरो भित्रि चाहना त बाँकी थियो, बन्जी। मैले बाबालाई भनेँ, 'पानी परिरहेको छ बेनी बजार नदीको किनारामै छ। कतिखेर कालिगण्डकी उर्लन्छ पत्तो छैन। फेरि कतै पहिरो खस्यो भने यतै अड्किनु पर्छ। बरु आजै कुस्मासम्म गएर बस्न पाए सहज हुन्थ्यो।' बाबाले नाई भन्ने कुरै भएन। यादव भाइहरुले पनि पोखरासम्म जाने कुरा गरे। लुम्लेमा राखेको मोटरसाइकल लिएर आजै पोखरा जाने। हामी ट्याक्सीमा कुस्मासम्म सँगै आयौं। भाइहरु पोखरातिर हुँइकिए।
राजमार्ग छेउको होटल बन्दनामा हाम्रो बास भयो। भोलिपल्ट अर्थात श्रावण १८ गते बिहान ११ बजे बन्जी जम्प गरेर बाबा-छोरा पोखरा फर्कियौं। पोखरामा शेरबादुर दाइ, अज दाइसँग वन विज्ञान अध्ययन संस्थानमा भेट भयो। केही समयपछिको भलाकुसारीपश्चात म शेरबादुर दाइको बाइक लिएर होटलतर्फ फर्किएँ। हाम्रो बसाइ लेक साइडको मिङ्गोमा थियो। बाइक भेटेपछि घुम्न झनै सहज भयो। किनकि श्रावण १९ गतेका लागि पोखरा- नेपालगञ्ज उडान थिएन। गाडीमा हिँड्ने हिम्मत जोमसोम यात्राले दिएन। त्यस दिन बिहानै विन्ध्यबासिनी भगवतीको दर्शन गरी घुम्ने कामको शुभारम्भ गरियो।
फेवा, गुप्तेश्वरले खासै मन तानेनन्। बाबाले पुम्दिकोटमा सल्काएको चुरोटको धुवाँले फेवा छोपियो, शान्ति स्तुपामा सल्काएकोले माछापुच्छ्रे। दिउँसो दुई बजे धेरै वर्षपछि जनक भाइसँगको भेटले ओठमा एक सर्को मुस्कान थपियो। यात्रामा थकित शरीरमा साँझपखको ट्रेकर्स मसाजले उर्जा थप्यो। लेक साइडमै खाना खाएर होटल गई बाउ-छोरा भुसुक्क निदायौं। भोलिपल्ट बिहान नेपालगञ्जमा खाना खाएर दिउँसै सुर्खेत पुगेपछि यो यात्राले विश्राम लियो। जीवनमा यात्रा कहिले पो सकिन्छ र, मृत्युपश्चात पनि यसमा सहभागी हुनैपर्छ नि, होइन?