यी दुई एक राष्ट्र हुनै सक्दैनन्। हामी कहिल्यै एक हुनै सक्दैनौं। यो दुई राष्ट्रको कुरा हो। तर कश्मिर हाम्रो नशानशासँग जोडिएको छ। यसलाई हामीले कहिल्यै भुल्न र छोड्न सक्दैनौं। कश्मिरी भाईहरूले त्यसका लागि गरेको संघर्षलाई हामीले भुल्न सक्दैनौं’ जम्मु-कश्मिरको पहलगाममा आतंककारीहरूले २६ जनाको हत्या गर्नुभन्दा केही दिनअघि पाकिस्तानी सेना प्रमुख जनरल सैयद आसिम मुनिरले भनेका थिए ‘हाम्रा पूर्वजहरूले नै मानेका थिए कि हामी कुनै पनि हालतमा हिन्दुहरूभन्दा अलग हौं। हाम्रो धर्म अलग हो। हाम्रा रीतिरिवाज अलग छन्। हाम्रा संस्कृती अलग छन्। हाम्रा सोंचहरू अलग छन्। हाम्रा महत्वकांक्षा अलग छन्। यो दुई राष्ट्रको सिद्धान्तको नीव हो।’
त्यसलगत्तै मंगलबार आतंककारीहरूले पहलगाम घुम्न गएका पर्यटकहरूलाई छानीछानी गोली हानेर मारे। त्यो आक्रमणमा एकजना नेपालीसहित २६ जनाको हत्या भयो र अरु केही घाइते छन्।
त्यो आक्रमणको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट‘ अर्थात् टिआरएफले लिएको छ। लस्कर-ए-तायवाको छाँया संगठन मानिने यो समूहलाई भारतले आतंककारीको सूचीमा राखेको छ। यो पाकिस्तानी सेनाको समर्थन प्राप्त जम्मु कश्मिरको एक स्थानीय हतियारधारी संगठन हो।
पहलगाम घटनापछि भारतमा रहेका पाकिस्तानी उच्चायुक्तले भारतका हरेक दुस्साहसहरूलाई असफल बनाउनका लागि पाकिस्तान सधैं तयार रहेको र हरेकपटक मुखभरिको जवाफ दिइरहने बताएका थिए।
यो घटनापछि भारत-पाकिस्तान एकअर्काविरुद्ध वाकयुद्धमा उत्रिएका छन्। योसँगै भारतले पाकिस्तानविरुद्ध कैयौ कडा फैसलाहरू लिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालैदेखि लागु हुनेगरी पाकिस्तानसँग भएको ‘सिन्धु जल सम्झौता’ स्थगित गरेका छन्।
पाकिस्तानले सिमापार आतंकवादलाई दिएको समर्थन फिर्ता नभएसम्मका लागि सिन्धु जल सम्झौताको स्थगन लगायत अरु कैयौ निर्णयहरू पनि लागु हुनेछन्। चीनदेखि भारत हुँदै पाकिस्तानतिर जाने यो नदी पकिस्तानका लागि लाइफ लाइन हो। यही सम्झौताअनुसार पाकिस्तानले पाउने पानीबाट त्यहाँको । लगभग साढे २ करोड एकड जमिन सिञ्चित हुन्छ। भारतले अटारी इन्टिग्रेटेड चेक पोस्ट पनि बन्द गर्ने निर्णय गरेको छ। यो चेकपोस्टबाट यसअघि नै भारत आएकाहरू १ मेभन्दा अघि नै फर्किन पनि भारतले निर्देशन दिएको छ। यो सिमाना भारतको पञ्जाव राज्यसँग जोडिएको छ।
भारतीय विदेश सचिव बिक्रम मिस्रीका अनुसार अब पाकिस्तानी नागरिक सार्क भिसा छुट परियोजनाअन्तर्गत जारी भएका भिसाका आधारमा भारत यात्रा गर्न पाउने छैनन्। यस अन्तर्गत जारी भएका सबै भिसाहरू पनि भारतले रद्द गरिदिएको छ। उनीहरूलाई ४८ घण्टाभित्र भारत छोड्न पनि निर्देशन दिइएको थियो। बिहीबारदेखि नै यो सिमानाबाट पाकिस्तान फर्किनेहरूको भीड लागेको थियो।
नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगहरूका अधिकारीहरूलाई पनि भारतले एक साताभित्र भारत छोड्न निर्देशन दिँदै भारतले पाकिस्तानमा रहेका आफ्ना कुटनीतिक नियोगका सबै अधिकारीहरूलाई पनि फिर्ता बोलाएको छ। योसँगै पाकिस्तानमा रहेको भारतीय दूतावास लगभग बन्दजस्तै हुनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षामा बसेको भारतीय उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले पहलगाम आक्रमणका योजनाकारलाई कुनै पनि हालतमा नछोड्ने निर्णय गर्दै जम्मु कश्मिर क्षेत्रमा उच्च सैनिक अपरेशन जारी राख्न भनेको छ। यो बीचमा भारतीय सैनिकले केही आतंककारीहरू मारिएको पनि दाबी गरेको छ।
जम्मु-कश्मिर एउटा यस्तो क्षेत्र हो, जसलाई भारत र पाकिस्तान अलग भएदेखि नै दुबैले आआफ्नो जमिन ठान्दै आएका छन्।
सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरमा लागु भएको धारा ३७० लाई हटाएपछि यो संगठनको जन्म भएको थियो।
यो भनेको एकप्रकारले ‘स्वायत्त’ रहेको जम्मु कश्मिर अब भारतको मूल कानुनअन्तर्गतकै एक प्रान्त भएको छ।
त्यसयता जम्मु-कश्मिरमा भएको यो सबैभन्दा घातक आतंकवादी आक्रमण हो।
यसले दुई देशको तनावपूर्ण सम्बन्धलाई अझ गन्जागोल बनाइदिएको छ। यहाँसम्म कि अब फेरि दुई देशबीच युद्ध नै हुने हो कि भन्ने त्रास पनि फैलिइसकेको छ। यद्यपि सन् १९४७ मा विभाजन भएदेखि नै भारत-पाकिस्तान सम्बन्ध तनावपूर्ण नै छ। कैयौपटक दुई देशबीच युद्धहरू पनि भएका छन्।
त्यसको जवाफमा पाकिस्तानले पनि सबै भारतीयका भिसाहरू रद्द गरिदिएको छ। शिख तीर्थयात्रीहरूबाहेक सबै भारतीयलाई पाकिस्तानले पनि ४८ फिर्ता जान भनेको छ। त्यस्तै उसले भारतीय जहाजहरूको हवाइ रुटमा अनुमति पनि रद्द भएको जनाएको छ।
यतिमात्रै होइन उसले भारतसँगका सबै ब्यापार निलम्बन गर्दै मुख्यमुख्य सिमानाहरू पनि बन्द भएको घोषणा गरिसकेको छ।
त्यस्तै पाकिस्तानले भारतसँगको सिमला सम्झौता पनि रद्द भएको घोषणा गरेको छ। भारत-पाकिस्तानको सम्बन्धको इतिहासमा यो एउटा महत्वपूर्ण सम्झौता थियो।
सन् १९७१ मा भारत-पाकिस्तानको युद्ध रोक्नका लागि सिमला सम्झौता भएको थियो। त्यो सम्झौताले दुबै देशबीचको ‘दुश्मनी’को अन्त्य भएको घोषणा गरेको थियो।
तर अब पाकिस्तानले उक्त सम्झौता खारेज भएको जनाएको छ। र सिन्धु सम्झौता खारेज गरेर भारतले पाकिस्तानका लागि कुनै पनि तरिकाले पानी रोक्न खोजे त्यसलाई ‘युद्धका धावा’ बोलेका रुपमा लिने पनि पाकिस्तानले चेतावनी दिएको छ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतका हरेक कदमविरुद्ध जवाफ दिनका लागि पाकिस्तान सबै प्रकारले तयार रहेको बताएका छन्। उनले पाकिस्तानले पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरिसकेको छ त्यो आक्रमणमा पाकिस्तानको कुनै पनि साइनो नभएको पनि दाबी गरेका छन्। तर त्यसकै आधारमा भारतले पाकिस्तानविरुद्ध कुनै कदम चाल्नु भनेको ‘युद्ध’लाई निम्तो दिनु भएको पनि उनले बताएका छन्।
दुबै देशले एकअर्काका कदम र निर्णयहरूविरुद्ध प्रतिरोधात्मक जवाफ दिन थालेपछि फेरि दुई देशबीच युद्धको त्रास बढेको छ।
यसअघि पनि भारतले पटक पटक पाकिस्तानसँग युद्ध गर्न खोजिरहेको थियो। पटक पटक उसले आतंककारीविरुद्ध भनेर पाकिस्तानमाथि आक्रमण गरिसकेको छ।
सन् २०१६ मा उरीमा एउटा घातक आतंकवादी आक्रमण भएको थियो। त्यसमा १९ जना भारतीय सैनिकको ज्यान गएको थियो। त्यसलाई भारतले ‘लाइन अफ कन्ट्रोल’ अर्थात् एओसीमा ‘सर्जिकल स्ट्राइक’ गरेको थियो। एलओसी भनेको दुबै देशले स्विकार गरेको भारत-पाकिस्तानको सिमारेखा हो। त्यसबेला भारतले पाकिस्तानको नियन्त्रण रहेको कश्मिरी क्षेत्रमा ठूलो आक्रमण गरेको थियो।
त्यस्तै सन् २०१९ मा पुलवामामा पनि त्यस्तै आक्रमण भयो। त्यो पनि भारती अर्धसैनिक बलका लगभग ४० जवानहरू मारिएका थिए। त्यसको जवाफमा भारतले पाकिस्तानको मुख्यभूमिसम्मै आक्रमण गरेको थियो। सन् १९७१ पछि भारतले पाकिस्तानमाथि गरेको सबैभन्दा ठूलो आक्रमण थियो। त्यो बेला पाकिस्तानले पनि हवाइ आक्रमण गरेको थियो।
दुबैले शक्ति प्रदर्शन गरे पनि ठूलो युद्ध भने भएन। सन् २०२१ मा दुबै देशबीच ‘लाइन अफ कन्ट्रोल’मा युद्धबिराम भएको थियो।
भारत र पाकिस्तान दुबै देश परमाणु हतियारले सम्पन्न छन्। एकअर्काविरुद्ध शक्ति प्रदर्शनका लागि उनीहरूले अत्याधुनिक हातहतियारमा निकै प्रतिस्पर्धा नै गर्छन्। पहलगाम घटनापछि दुबै देशले एकअर्का विरुद्ध अघि बढाएका कदमहरूले फेरि एकपटक दक्षिण एशिया निकै त्रसित बनेको छ।