वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क)लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क)का रूपमा सञ्चालनमा ल्याएको छ। सो उद्यान लामो समयदेखि बन्द रहेको थियो।
विगतमा १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कको अतिक्रमण हटाउँदै अहिले भने दुई बिघा क्षेत्रमा फैलिएको छ। वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले शङ्खधर साख्वः उद्यान केवल सौन्दर्यकरणको परियोजना मात्र नभएर वीरगञ्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको बताए।
'शङ्खधर साख्वः पार्कलाई हामी मनोरञ्जन, स्वास्थ्य र समुदायको मुटु बनाउनेछौँ', उनले भने, 'यसले हाम्रो संस्कृतिलाई सम्मान गर्दै समृद्ध नगर निर्माणको दिशामा योगदान पुर्याउने छ।'
महानगरका अनुसार रु एक करोड २५ लाख खर्च गरेर उद्यानको पूर्वाधार निर्माण तथा सौन्दर्यकरणको काम गरिएको हो। अहिले उद्यानमा पानीको फोहोरा, खुलामञ्च, वनभोजस्थल, नृत्यस्थल, टेबलटेनिस कोर्ट, योगस्थल र प्रभातयात्रा गर्न मिल्ने ट्रयाकको पनि सुविधा छ। उद्यानको सुरक्षाका लागि चौतर्फी पर्खाल लगाइएको छ। उद्यानमा हरेक दिन बिहान ६ः०० देखि ८ः०० बजेसम्म र बेलुका ५ः०० देखि ८ः०० बजेसम्म खुला रहने महानगरले जनाएको छ।