अमेरिकाको लस एन्जलसमा भइरहेको प्रदर्शन हिंसात्मक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ २ हजार भन्दा बढी ‘नेशनल गार्ड’हरू तैनाथ हुन आदेश दिएका छन्।
तर त्यहाँका गर्भनरले भने ट्रम्पको उक्त आदेशलाई थप हिंसा भड्काउने बताउँदै त्यसको विरोध गरेका छन्।
लस एन्जलसमा त्यहाँको आप्रवासन तथा भन्सार प्रवर्तन (आईसिई) ले आप्रवासन सम्बन्धि नियम उल्लंघन गरेको भन्दै ४० भन्दा धेरै आप्रवासी गिरफ्तार गरेको थियो। त्यसको विरोधमा त्यहाँ हुलका हुल मानिसहरू प्रदर्शनमा उत्रिए।
त्यसलाई रोक्नका लागि सुरक्षाकर्मीले अश्रुग्याससमेत हानेका थिए। त्यसपछि भड्किएका प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएका थिए।
त्यहाँ फैलिएको अराजकता रोक्नका लागि ट्रम्पले संघीय सरकारका तर्फबाट थप सुरक्षाकर्मीहरू तैनाथ गरेका छन्।
प्रदर्शनकारीहरूले संघीय सरकारी भवनहरू घेरेका छन्। र आप्रवासन विभागका कर्मचारीहरूमाथि आक्रमणको प्रयास पनि गरेका छन्। विभागका कर्मचारीहरूले छापा मारेर आप्रवासीहरू गिरफ्तार गरेका थिए।