डा. शेखर काेइराला: ‘क्लीन पोलिटिक्स’काे कठाेर अभिलाषा

Break n Links
Break n Links

राजनीतिक दलका केही सीमित घेराबन्दीमा परेको गणतन्त्रलाई आमनागरिकले उपभोग गर्ने अवसर नपाएको भन्ने भाष्य अहिले निकै चर्चित छ। नेपालको राजनीति सफा गोरेटोमा फर्किएला कि थप गिजोलिएर व्यवस्था नै संकटग्रस्त होला? यो आम जनचासोको विषय बन्दै गइरहेको अवस्था छ।

नयाँ वर्ष वि.सं. २०८२ सालको शुभकामना लिखिति रुपमा जारी गर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ‘क्लिन पोलिटिक्स’का कुरा उठाएका थिए। पुराना दलहरूलाई लक्षित गरेर विकल्पका शक्ति भनिनेहरूबाट चुनौतिको भाष्य मिसन ०८४ भन्दै गर्दा डा.कोइरालाले नेपालको विकसति राजनीतिक परिदृश्यमा सफा राजनीतिको बहस छेडेका छन्।

नेपाली कांग्रेस यतिबेला आन्तरिक ध्रुवीकरणको चरमता उन्मुख छ। नेतृत्व सत्ता केन्द्रित छ भन्ने तल्लो तहका कार्यकर्ताहरूको असन्तुष्टि उपल्लो नेतृत्वप्रति केन्द्रित देखिन्छ। देशमा व्यवस्था परिवर्तन र हिन्दु राष्ट्र कायम हुनुपर्ने आवाज चर्किन थालेको छ। यसबीच करिव ९ महिनापछि बैशाख १७ गतेका दिन कांग्रेसको केन्द्रिय समिति बैठक आह्वान भयो तर फेरि स्थगित भएको छ।

आफ्नै दलका नेताहरूको कार्यशैलीले कार्यकर्ता कुन नेताका पछि लागेर आफ्नो राजनीतिक भविष्यको स्थान कहाँ र कसरी सुरक्षित होला भन्ने कुरामा विभक्त छन्। तर यसो भएको घटना पहिलो पटक भने होइन। संस्थापक नेता बि.पी.कोइरालाको देहान्तपछि कांग्रेसमा यस्तो विचलन सुरु भएको थियो। नेतात्रय कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले त्यो रिक्तता भर्ने प्रयास गरेका थिए। यद्यपि त्यहींबाट फेरि गुटको चरमता बढेको हो।

कांग्रेस अहिले आफ्नै महाधिवेशन विधानको समयसिमाभित्र हुन्छ वा हुँदैन भन्ने सकसबाट गुज्रिरहेको देखिन्छ। नेपाली कांग्रेसभित्र आसन्न १५औं महाधिवेशन निर्धारित समय मै हुन्छ वा हुँदैन भन्ने विषयमा दुई धार विभक्त छ। संस्थापन पक्ष महाधिवेशन अनुकुलताको खोजीमा देखिन्छ। कांग्रेसभित्रको इतर समुह महाधिवेशन निर्धारित अवधिमा हुनुपर्छ भन्ने विषयलाई देशभरका कार्यकर्ता माझ राख्दै आइरहेको छ। इतरभित्र पनि फरक गुटको विजारोपण भएको देखिन्छ।

मुलतः सत्ता साझेदार दल नेपाली कांग्रेसमा आसन्न १५ औं महाधिवेशन कहिले हुने हो भनेर संशय छ। देशको सबैभन्दा पुरानो राजनीतिक दल पार्टीको  सक्रिय सदस्यता नविकरण र नयाँ सदस्यता दिने प्रक्रियालाई व्यवस्थित गर्न सकिरहेको छैन। कांग्रेसको केन्द्रिय महाधिवेशन हुनलाई वडा, क्षेत्र र जिल्ला हुँदै प्रदेश अधिवेशन समयमै समपन्न गर्न गर्नुपर्छ।  

अवसर र चुनौति काँधमा बोकेर हिँडेको छ कांग्रेस। तर नैतीकताको कसीमा कांग्रेसको धरातल कमजोर हुँदै गईरहेको देखिन्छ। वि.सं. १९९५ को नेपाल नागरिक अधिकार समिति र वि.सं.१९९७ को प्रजापरिषदको गतिविधिलाई राणा शासनबाट चरम दमन गर्दैगर्दा नेपाली जनता स्वतन्त्रता र न्यायको खोजिमा संर्घषरत थिए। नेपाली कांग्रेसको जग स्थापना त्यहींबाट भएको थियो। तर प्रजातन्त्रको पुर्नस्थापना र गणतन्त्रमा पुगिसक्दा स्थापनाकालको सिद्धान्तनिष्ठ कांग्रेस लगभग पतन भइसकेको अवस्था छ।

आफ्नै पार्टीको विधि र प्रक्रियामा चल्न नसकेको कांग्रेसभित्रबाट क्लीन पोलिटिक्सको अवधारण आउँदा आम नागरिकले सजिलै पत्याउलान त? यो प्रश्न डा. शेखरलाई प्रत्यक्ष रुपमा घोच्ने छ। तर स्थापनाकालको कांग्रेसको पदचापमा कांग्रेसलाई फर्काउने डा.कोइरालाको क्लीन हुटहुटी भने मन छुने छ। के त्यो अहिलेको कांग्रेसबाट सम्भव होला? यो प्रश्नले डा. कोइरालालाई कांग्रेसभित्रको राजनीतिमा कहाँ लैजाला? तमाम प्रश्न उठ्दै जानेछन्।

सरसर्ती नेपाली कांग्रेसको इतिहासलाई फर्केर हेर्ने हो भने केही सन्दर्भ र विषयलाई समेट्नैपर्ने हुन्छ। अत्यन्तै लोकप्रिय रहेका नेता बि.पी. कोइरालाले रोजेका महामन्त्रीहरू डा. तुलसी गिरि र विश्वबन्धु थापासमेत आफ्ना हुन नसकेका घटनालाई कांग्रेसभित्रको दुर्भाग्यपूर्ण दृष्टान्त घटनाका रुपमा लिन सकिन्छ। जहाँबाट जननिर्वाचित प्रधानमन्त्री कोइराला कमजोर बन्दै गएका थिए।

वि.सं.२००३ कात्तिक १५ गते भारतको वनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन भएको थियो। संस्थापक विश्वेश्वरप्रसाद कोइरालााको संयोजकत्वमा कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई र इश्वर बराल सदस्य रहेको उक्त संगठनको सामूहिक अध्यक्षता सुब्बा देविप्रसाद सापकोटाले गरेका थिए। त्यसरी नेपालको राजनीतिमा त्यही संगठन नै बलियो राजनीतिक संगठनका रुपमा उदाएको थियो। त्यसको निरन्तरता आजको नेपाली कांग्रेस हो।

भारतको कलकत्तास्थित भवानीपुरमा भएको २००३ सालको महाधिवेशनले नेपालको राजनीतिलाई अगाडी बढाएको थियो। त्यही सेरोफेरोमा बिराटनगरमा मजदुर आनदोलनको सुरुवात भएको थियो। त्यो आन्दोलनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा ‘टर्निङ पोइन्ट’ समेत मानिन्छ। वि.सं. २००४ साल सम्म आइपुग्दा मजदुर आन्दोलन र सतयाग्रहको प्रभाव भारतको वनारसमा दोस्रो महाधिवेशन भएसँगै कांग्रेस संगठनात्मक रुपमा अघि बढ्न थाल्यो। तत्कालीन राणा शासकहरूले रोक्न गरेका अनेकन प्रयासहरू असफल भएका थिए। त्यस लगत्तै २००५ सालमा भारतको दरभंगामा कांग्रेसको तेस्रो महाधिवेशन सम्पन्न भयो। तर बि.पी.कोइराला पक्राउ परेपछि त्यो महाधिवेशनका लक्ष्यहरू पूरा गर्न कांग्रेसलाई अप्ठेरो अवस्था आयो। त्यही सेरोफेरोमा मातृकाप्रसाद कोइरालालाई कार्यवहाक सभापति पनि बनाइयो। त्यहींबाट देशभरि कांग्रेसको संगठन भने मजबुत बन्यो। कांग्रेसमा कोइरालाको विकल्पमा अर्का कोइराला नेतृत्वमा थिए।

२००६ चैत्र २७ गते कलकत्ताको चर्चित टाइगरहल महाधिवेशनबाट नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्टिय कांग्रेसको एकीकरणबाट बनेको दल विधिवत नेपाली कांग्रेसका नामले स्थापना भयो। त्यसको नेतृत्व मातृकाप्रसाद कोइरालाले गरे। ००७ सालको पूर्व तयारीमा बनेको त्यही संगठनले नेपालको राजनीतिक सत्ता समेत लामो समय सञ्चालन गरेको हो। नेपाली कांग्रेसको २००९ सालको जनकपुर महाधिवेशन,२०१२ सालको वीरगञ्ज महाधिवेशन, र २०१४ सालको बिराटनगर महाधिवेशनहरूले बि.पी. र मातृकाकै वरिपरीको नेतृत्वमा फन्को मारेको थियो। जब २०१७ सालको राजाको प्रत्यक्ष शासनले बि.पी. कोइराला सहित देशभरबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेका हुन्। त्यो परिवेश नेपालको अवस्था निकै कठीन बन्न पुग्यो। झण्डै ३१ वर्ष पछि ०४८ सालमा भएको झापाको कलवलगुडी ८ औं महाधिवेशनले कांग्रेसको संगठनलाई फेरि एकपटक मजवुत बनायो। नेतृत्व समेत परिवर्तन भयो। ०४८ सालकै पार्टीको संगठनले कांग्रेसलाई ०७० को संविधानसभा सम्म बचाइ राख्यो भन्न सकिन्छ। 

यसबीचमा भएको माओवादीको सशस्त्र युद्ध र एमाले, राप्रपा र मधेश केन्द्रित लगायतका दलहरूको सक्रिय गतिविधिले  कांग्रेसको संगठनात्मक अवस्था निकै कमजोर हुँदै गयो। यद्यपि ०७० को निर्वाचनले  कांग्रेसलाई एकपटक फेरि पहिलो दल बनायो। त्यसकै जगमा नयाँ संविधान समेत जारी भयो। त्यसयता शेरबहादुर देउवा नेतृत्वमा रहेको कांग्रेस आफ्नै संगठनात्मक गतिविधिमा फितलो देखियो। पार्टीका मुख्य मुख्य भ्रातृ संगठनहरूमा चुनाव हुन सकेको छैन। विधान अनुसार केन्द्रिय समितिको बैठक लगायत अन्य गतिविधि सहज अघि बढेका देखिंदैनन्। कांग्रेस सत्ताको अघिपछि कहिले कुन दल त कहिले अर्को दलको सत्ताको भर्‍याङ भइरहेको अवस्था छ।

नेपाली कांग्रेसको २०५३ सालमा सम्पन्ने नवौं महाधिवेशन पछि कांग्रेस आन्तरिक कलह, विवाद र सत्ताको खेलमा सीमित हुँदै गर्दा देशमा प्रजातन्त्र नै कम्जोर बन्यो। आफ्‌नै दलको नेतृत्वमा रहेको सरकार ढल्यो र ढालियो। पार्टी विभाजन भएपछि संगठन लगभग ध्वस्त भयो। फेरि राजा सक्रिय भए। कांग्रेस पार्टी विभाजित भयो। ९औ महाधिवेशन देखि १२औं सम्म पुग्दा संगठन निकै कमजोर अवस्थामा पुग्यो। ०५६ सालमा कृष्ण प्रसाद भट्टराईको सफा छविलाई अघि सारेर कांग्रेसले आफैलाई पुर्नताजगी गरेको थियो। त्यसयता कांग्रेस फेरि आन्तरिक चरम गुटवन्दीको शिकार भइरहेको देखिन्छ। संगठन कमजोर हुँदा माओवादीको रापतापका अगाडि कांग्रेस कमजोर भएको उदाहरण हो संविधानसभाको पहिलो निर्वाचन ०६४मा दोस्रो दलमा सीमित हुन पुग्नु।

नेपाली कांग्रेसको इतिहासलाई सम्झने हो भने १३ औं महाधिवेशन देश र परिस्थिति सुहाउँदो सबैलाई समेट्नेगरी संगठन विस्तार मूल एजेण्डा बनाएर अघि बढ्नुपर्ने थियो। १३ औं महाधिवेशनको पूर्व सन्ध्यामा कोइराला परिवारको नेतृत्व संकटमा थियो। पार्टी नेतृत्व गर्नमा सशांक, सुजाता र शेखर तिनै जना असफल रहे। तर १४ औं महाधिवेशनको संघारबाट डा.शेखर कोइराला नेतृत्वका लागि सक्रिय भएर उदाए। कोइराला परिवारको लिगेसी मात्रै नभई समय सुहाउँदो पार्टी बनाउने उनको गृहकार्य चलि नै रहेको छ। पछिल्लो पटक सभापतिमा पराजित भए पनि डा.कोइराला अनवरत देशभरिका कार्यकर्ता माझ पुग्ने गरिरहेका छन्।

तत्कालीन पार्टी सभापति सुशिल कोइरालाको कार्यकालका विषयमा विभिन्न विषयमा आरोपहरू लाग्ने गर्दथे। खासगरी पार्टीमा पर्याप्त छलफल नहुने, गर्नुपर्ने नियुक्ति समयमै गर्न नसकेको आरोप र भातृ संगठनलाई अधिवेशन नगराएर तदर्थ समितिबाट सञ्चालन गरेको आरोप जर्वजस्त थपिएका थिए। 

संविधानसभामा टिकट बाँडफाँड र समानुपातिक उमेदवार छनोटमा पक्षपात भएको देखि प्रधानमन्त्री भएर बालुवाटारमा आफ्‌ना परिवारका व्यक्तिलाई राखेको सहित सरकारको कार्यशैलीका विषयमा केन्द्रिय समितिमा चर्को विरोध खेप्नु परेको थियो। त्यसका अलावा पुराना नेता तथा कार्यकर्ताहरूको चाहना र समस्यालाई नजर अन्दाज गरेको समेत आरोप उनिमाथि लाग्यो। तर क्लीन छविका कारण कोइरालाले देशलाई संविधान बनाउने अभिभारा पुरा गरेर देखाए। विडम्वना अहिले पनि कांग्रेसभित्र सभापति शेरबहादुर देउवा यिनै आरोप खेपिरहेका छन्। जति नै विरोध भए पनि कोइरालाले देउवालाई वरिष्ठ नेता भनेर स्थान दिएकै थिए। तर सभापति देउवाले डा.कोइरालालाई प्रतिष्पर्धा गरेको आधारमा त्यो उदारता देखाउन सकेनन्। भलै यो विषय अहिले उति धेरै चर्चामा छैन। बेलाबखत कांग्रेसका आन्तरिक मञ्चहरूमा यो विषय चर्को स्वरमा उठ्ने गर्छ।

पार्टीभित्र संस्थापन पक्ष बन्न झण्डै २० वर्ष खर्चिएका देउवाले ४० प्रतिशत भागवण्डामा आफ्‌नो भूमिका सहित भाग लिएर अघि बढ्ने नीति बनाएका थिए। त्यसकै जगमा देउवा दुई पटक सभापतिमा निर्वाचित पनि भए। तर अब त्यो शक्ति विखण्डन हुने अवस्था आएको देखिन्छ। जसरी सुशील कोइरालाको देहान्त सँगै कोइराला समूह विभाजनमा परेको थियो।

कोइराला परिवारको वर्चश्व नेपाली कांग्रेसको पृष्ठभूमि निकै महत्वपूर्ण रहँदै आएको छ। तत्कालीन अवस्थामा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकता भारतको कलकत्तााको टाइगरहलमा महाधिवेशनमा हुँदा नेपाली कांग्रेसको स्थापनाकालका महामन्त्री रहेका महेन्द्रविक्रम शाह नेतृत्वमा स्थापित हुन सकेनन्। त्यसरी नै महामन्त्री भएका डां शशांक कोइरालाले अघिल्लो महाधिवेशनमा नेतृत्व दावी गर्न सकेनन्। त्यतिबेला मातृकाप्रसाद कोइरालाले पार्टीको नेतृत्व गरेका थिए। अहिले देउवाले।

नेपाली कांग्रेस कछुवा गतिमा भएपनि महाधिवेशन केन्द्रित हुनैपर्ने देखिन्छ। त्यसको आधारका रुपमा २ महामन्त्रीहरूका अभिव्यक्तिहरूलाई लिनुपर्ने हुन्छ। कांग्रेसभित्र पुरानो एउटा खेमा नेताहरू कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका फलोअर्स भन्नेहरू अर्का तर्फ गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाका अनुयायीबीच नयाँ ध्रुविकरणका चरणहरू चलिरहेका छन्। हुन त अघिल्ला २ महाधिवेशनमा त्यस्ता खेमा भत्किएका पनि हुन। उदाहरणका लागि कृष्णप्रसाद सिटौला र डा.शंशाक कोइरालाको पछिल्लो रणनीतिलाई लिन सकिन्छ।

कांग्रेसभित्र फेरि केही नयाँ समीकरण केन्द्रदेखि जिल्लासम्म बन्ने सम्भावना समेत बढेको देखिन्छ। संस्थापन पक्षका सुपरिचित अनुहारहरू नयाँ बन्ने केन्द्रीय समितिमा सुरक्षित अवतरणका लागि प्रयासरत देखिन्छन्। कांग्रेसमा सबै भन्दा पेचिलो विषय नयाँ सक्रिय सदस्यता वितरण र पुराना सदस्यता नविकरण नै हो। त्यसकै जगमा केन्द्र सम्म मतदान गर्ने मतदाता उत्पादन हुने भएकाले सबै समुह त्यहाँ आआफ्नो वर्चश्व कायम राख्न चाहन्छन्। न कि निष्पक्ष ढगंले सदस्यता वितरण र नविकरण नै हुन्छ।

कांग्रेसमा मुल शक्ति भनेको सभापतिसँग रहन्छ। महामन्त्री पद पनि अर्को शक्ति हुन्छ। यतिबेलाको शक्ति सन्तुलनमा २ महामन्त्री र सभापति फरक फरक गुटबाट निर्वाचित भएको पृष्ठभूमि छ। तर महामन्त्री दुवैको आफ्ना स्थायी गुटमा टिक्न नसक्ने अभ्यासले दुवै महामन्त्रीले कस्तो समुहको निर्माण गर्न खोज्दैछन् कार्यकर्ताहरूमा असमञ्जस्यता प्रष्टै देखिन्छ। दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा युवाहरू माझ लोकप्रिय पात्र हुन्। तर आम नागरिकको नजरमा उनिहरू पनि कांग्रेस नै हुन्।

एउटा पुरानो राजनीतिक दलभित्र समस्या रहनु एउटा पक्ष हो। समस्याको समाधान दिनु नै नेतृत्व क्षमता पनि हो। नेतृत्वमा रहेका र नेतृत्वमा जाने आकांक्षा राख्नेहरूमा कांग्रेसलाई क्लीन पोलिटिक्समा लैजाने हुटहुटी हुनैपर्छ। नेपालमा पछिल्लो पुस्ता जसरी राजनीतिक दलहरूबाट केही पनि हुन नसकेको भाष्यलाई आत्मसाथ गरिरहेका छन् उनिहरूलाई सम्बोधन गर्न पनि सफा राजनीतिको नयाँ गोरेटो कोर्न सक्नुपर्छ। नयाँ वर्षको शुभकामनासँगै कांग्रेसभित्र क्लीन पोलिटिक्स अघि बढाउने वहस गरिहेका डा.कोइरालाको राजनीतिक भावले कस्तो आकार लिने हो त्यसका लागि केही समय पर्खनुपर्ने नै देखिन्छ।

सभापति देउवाको वहिरगमन सँगै पुरानो पार्टी सत्ता एकपटक फेरि भत्किने अवस्था आउने देखिन्छ। नेतृत्व विदा भइरहँदा नयाँ नेतृत्वमा पुग्ने चाहना राख्नेहरू कार्यकर्ताहरू माझ सफा अनुहारले पक्कै अर्थ राख्ने छ। कांग्रेसभित्र डा.कोइरालालाई क्लिन पोलिटिक्स गर्ने अवसर आउने सम्भावना उत्तिकै छ। यद्यपि कोइराला लिगेसी र व्यक्तित्वको उचित व्यवस्थापन डा. कोइरालाका लागि अवसर र चुनौति दुवै उनका अगाडी छर्लङ्गै छन्।
 

प्रकाशित मिति: : 2025-04-26 15:45:00

प्रतिकृया दिनुहोस्