धनुषा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अधिकृत हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको बट्टेश्वर गाउँपालिका-५ कालिपुरका ३३ वर्षीय रामभजन मण्डल छन्।
मण्डलले शहिदनगर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा सर्वसाधारणलाई आफू अख्तियारको बर्दिबास-महोत्तरी र सीआईबी काठमाडौंको अधिकृत भएको भन्दै नक्कली परिचय देखाउँदै मानसिक दबाब दिने, धाकधम्की देखाउने र त्यसबाट व्यक्तिगत लाभ लिने गरेका खुलेको छ।
इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले वैशाख ११ गते दिउँसो करिब १ बजे शहिदनगर नगरपालिका-३ स्थितबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पक्राउ परेका मण्डललाई सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।