स्लिम समुदायको सबैभन्दा पवित्र सहर हो ‘मक्का’। जो साउदी अरबमा छ। र, यहाँ हज यात्राका लागि यतिबेला संसारभरिका १२ लाखभन्दा बढी मुस्लिम धर्मावलम्बीहरू छन्। नेपालबाट मुम्लिम समुदायका पनि हजारौं यात्रा त्यहाँ छन्।
यही सहरको एक छेउमा अर्थात् हजयात्रीको सबैभन्दा मुख्य तीर्थस्थल मस्जिद अल-हराम (काबा)लाई घेर्नेगरी राखिएको एउटा हतियार मिसाइल डिफेन्स सिस्टम र आकाशमा घुमिरहेका सैन्य लडाकु बिमानहरूलाई लिएर अहिले विभिन्न तर्कवितर्क चलिरहेका छन्।
धार्मिकस्थलमा राखिएका यस्ता अत्याधुनिक र निकै खतरनाक हतियारका बारेमा अहिले अनेकथरि चर्चा पनि चल्न थालेको छ। सामाजिक सञ्जालमा यस्ता बहस ट्रेन्डिङमा छ।
यी तस्वीरहरू साउदी अरबको रक्षा विभाग आफैले सामाजिक सञ्जालमा सार्वजनिक गरेको हो।
त्यसमा साउदीको रक्षा मन्त्रालयका तर्फाबाट एउटा सन्देश लेखिएको छ ‘एयर डिफेन्स फोर्सेज…, जसका आँखाहरू कहिल्यै निदाउने छैनन्। र, उनीहरूको एकमात्रै पवित्र उद्देश्य भनेको खूदा (भगवान)का पाहुनाहरूको सुरक्षा गर्नु नै हो….।’
यसबाट प्रस्ट हुन्छ कि साउदीले संसारभरिबाट आएका दशौं लाख हज यात्रीका लागि सुरक्षा व्यवस्था निकै कडा पारेको छ। जमिनबाट हावामै क्षेप्यास्त्र वा अरु विष्फोटक हतियारहरू नष्ट गर्नसक्ने एयर डिफेन्स सिस्टमदेखि चौबिसैघण्टा हवाईगस्ती गरिरहेको छ।
यमनका हुथी बिद्रोहीहरूले यसअघि हजयात्राका लागि धम्कीपूर्ण सन्देशहरू जारी गरेको थियो। त्यसका सम्भावित आक्रमणहरू रोक्नका लागि साउदीले आफ्नो रक्षाशक्ति प्रदर्शनका लागि पनि यस्तो गरेको हो।
खासमा उसले देखाएको डिफेन्स सिष्टम अमेरिकामा निर्मित हो। जसलाई पेट्रिएट मिसाइल सिस्टम (एमआईएम-१४०) भनिन्छ। यसले आकाशबाट प्रहार गरिएका सबैप्रकारका हतियारहरू आकाशमै नस्ट गरिदिनसक्छ र निकै लामो दूरीमा मार हान्न पनि सक्छ। अमेरिकासहित विश्वका १९ देशहरूमा मात्रै यस्तो प्रणालीको हतियार छ।
अमेरिकाका लागि साउदी अरब सबैभन्दा ठूलो हतियार खरिदकर्ता हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदीलगायत यूएई र कतारको पनि भ्रमण गरेका थिए। त्यसक्रममा साउदीले अमेरिकासँग लगभग १४२ अर्ब डलरको हतियार खरिन गर्ने सम्झौता गरेको थियो।
साउदीले यतिबेला सहरका चारैतिर हातहतियारका सहितका सैनिक तथा हवाई गस्तीलाई पनि चौबिसैघण्टा निरन्तरता दिइरहेको छ।
हजयात्रीको सुरक्षा तथा उनीहरूको यात्रा सहजता र व्यवस्थापनका लागि गृह तथा रक्षा विभागहरूले कुनै कसर बाँकी नराखेको पनि साउदीले स्पस्ट पारेको छ। यसअघिका हज यात्रामा सयौं यात्रीको मृत्यु हुने गरेको थियो। अत्यधिक गर्मी तथा भागदौडका कारण कैयौ यात्रीको मृत्यु हुनेगरेपछि साउदीको आलोचना पनि हुँदै आएको थियो।