अमेरिकाको भर्जिनियास्थित मनासस पार्क क्षेत्रमा बस्दै आएका ४ जना नेपाली एउटै घरमा मृत भेटिएका छन्। मनासस पार्कस्थित एउटा घरमा डेरा लिइ बसेका ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ र उनका दुई सन्तान २ वर्षीय छोरा र ८ वर्षीया छोरी एकै ठाउँमा मृत फेला परेका हुन्।
घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। एउटा अपार्टमेन्टको भुइँतलामा बस्ने उनीहरूसँग सम्पर्क हुन नसकेपछि घरधनीले प्रहरीलाई सुरक्षा जाँचका निम्ति खबर गरेका थिए।
स्थानीय प्रहरी पुगेर उनीहरूको अपार्टमेन्टमा हेर्दा सबैजना एकै ठाउँमा मृत फेला परेका हुन्। उनीहरूको स्थानीय अस्पतालमै पोस्टमार्टम गरिएको छ।
मनासस पार्कको स्थानीय प्रहरीले घटनास्थलबाट पेस्तोल समेत भेटिएको जनाएको छ। मृत भेटिएका चारै जनालाई पनि गोली लागेको छ।
यद्यपि प्रहरीले उनीहरूको हत्या भएको हो वा आत्महत्या हो भन्नेबारे यकीन गरेको छैन। र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
स्थानीय नेपालीका अनुसार उनीहरू ६ महिनाअघि मात्रै उक्त क्षेत्रमा सरेका थिए।