लक्ष्मीपूजाको साँझ थियो। पूजाकोठा बिजुलीका विभिन्न रंगिन बल्बहरूले झकीझकाउ थिए। कलश सजाइयो। पालामा तेल हालियो। खरबारीबाट थुतेर ल्याएका सपूरोका बातीहरू डुबाइयो।
सलाई कोरेर आमाले १ सय ८ दीया बालिन्। देउताको थान, भान्छा कोठा, कौशी, पिंढी, सिकुआ, आंगन, बार्दली सबैतिर उज्यालो भयो।
केटाकेटी, युवायुवती, बुढापाका देउसे–भैले सबै रमाए। देउसी खेले, रमिता हेरे, पटका पड्काए अनि उफ्रीपाफ्री पनि गरे।
तेल पनि सकिएछ, आगो पनि निभेछ, बिचारा ! उज्यालो दिने सपूरोको बाती जलेर खाक भएछ।