२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट अत्यधिक मतले विजयी भए। उनले २२ हजार ८ सय १९ मत प्राप्त गरी इतिहास रचे। उत्पादन सम्बन्ध र भ्रष्टाचार विरोधी नारालाई पेचिलो बनाएका उनले काफी जनताको मन जिते। मत परिणाम उनको पोल्टामा पर्यो। अन्तिम मत परिणाम आएपछि उनीसँग बिएल नेपाली सेवाका लागि महेश नेपालीले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ:
अत्यधिक मतले विजयी हुनुभयो बधाई छ।
धन्यवाद !
इतिहासमा पहिलो पटक जुम्लामा राप्रपाले जित्यो। आजभन्दा ६ महिनाअगाडि राप्रपाको ५ सय ९१ मत मात्रै थियो। आज एकाएक २२ हजार ८ सय १९ मत प्राप्त हुन कसरी सम्भव भयो ?
यो सब जनताको असिम माया र उम्मेदवारप्रतिको अटुट विश्वास हो। नेतृत्व प्रतिको विश्वास हो।
विश्वास प्राप्त गर्नका लागि तपाईंले के उल्लेख्य काम गर्नुभएको थियो र ?
होइन, यहाँभन्दा अगाडि मैले जे गरेँ केन्द्रीय स्तरमा गरेको थिएँ। जुम्लाकाे विद्युत र टेलिफोन टावरका निर्माणका लागि थालेका काम देखियो। हामीमा इमानदारीता हुँदा जनताले रुचाए। हामीले जे गर्यौं इमान्दारीका साथ गर्यौं। जनताले त्यही चाहेका थिए। अब यसले काम गर्न सक्छ भनेर जनताले विश्वास माने।
भ्रष्टाचार विरोधी अभियान, नेपालका लागि नेपाली अभियान, यी सबै जुम्लाको भन्दा पनि देशभरको लागि थियो। निर्वाचित हुनुभन्दा अगाडि देशका लागि गरेको तपाईंले अब जुम्लाका लागि के गर्नुहुन्छ ?
दबिएर रहेको जुम्लाको आवाज दबिनेवाला छैन। अब जुम्ला बोल्छ। हामी स्वर्गजस्तो भूमिमा बसेर नर्कजस्तो जीवन बिताइरहेका छौं। हाम्रोमा सुन फल्छ, त्यसलाई नुनको दाममा बेच्न नपाएर हामी गरिब भएका हौं। जुम्ला सुगम हो तर शासकीय कुदृष्टिका कारण दुर्गम भएको छ। यसलाई चिर्नु छ। जुम्लामा शुसासनिक प्रशासन जरुरी छ। जुम्लाका लागि आवश्यक नीति निर्माण गर्ने र विकास निर्माणका गतिविधिमा अनुगमन गरेर पारदर्शीता कामय गर्ने हो। अहिले विकास निर्माणमा व्यापक भ्रष्टाचार छ। सडक गुणस्तरीय छैनन्। पुल आधा बन्दाबन्दै भत्किएका छन्। खानेपानीका धाराको अवस्था नाजुक छ।
जुम्लाका लागि आएको बजेट ६० देखि ७० प्रतिशत चुहावट हुन्छ भने ३० प्रतिशतले मात्रै काम भइरहेको छ। अधिकांश बजेट फ्रिज हुने समस्या छ। यसको अन्त्य हुनैपर्छ। त्यसका लागि हाम्रो अविराम संघर्ष हुनेछ।
तपाईंले भनेको विकासअनुसार भौतिक पूर्वाधारमा के–के प्राथमिकतामा पर्नुपर्छ ?
सडक पहिलो प्राथमिकता हो। जुम्लालाई राष्ट्रिय सडक संजालसँग जोड्न यो किसिमको राजमार्गबाट हुँदैन। वैकल्पिक राजमार्ग खोल्नेबारे सोच्नुपर्छ। कालिकोटको भिरमा जति पैसा खन्याए पनि समस्या समाधान हुनेवाला छैन। त्यहाँ डबल लाइनको बाटो बन्नेवाला छैन। जबसम्म डबल लाइनको बाटो पुग्दैन तबसम्म जुम्ला अगाडि आउँदैन। जुम्लाभित्रका आन्तरिक मार्ग सूचारु गर्ने र सिंजाको मुख्य सडक पिज गर्ने मेरा मुद्दा हुन। रारा जाने वैकल्पिक मार्ग, मुस्ताङ जोड्ने राजमार्ग र चोत्र हुँदै डोल्पा जाने राजमार्ग राम्रो बनाउने हो।
अर्काे विषयवस्तु जलविद्युत हो। यहाँको आफ्नै उत्पादन जरुरी छ भने बढी केभीको राष्ट्रिय प्रसारण लाइन जरुरी छ। जसबाट हामीले जुम्लामा उत्पादन गरेको बिजुली बेच्ने र यता समस्या आएको बेला उताकोले काम चलाउने संयन्त्रको विकास निर्माण गर्नु हो। त्यसका लागि मैले चुनावअघि नै काम थालेको छु। अर्काे हामीले भोगेको साह्रै ठुलो समस्या भनेको संचार हो। संसार फाइभ जीमा गइरहेको बेला जुम्लीहरु टुजी राम्रोसँग चलाउन पाउँदैनन्। यो विडम्बनापूर्ण स्थितिबाट पार पाउने गरी लाग्नेछु।
हामीले भौतिक विकासका साथ साथै यहाँको उत्पादनका लागि बजार व्यवस्थापन गर्नु ठुलो चुनौति छ। यसका लागि सरकारी र गैरसरकारी संयन्त्रको विकास गर्नेछु।
के यी महत्वाकांक्षी योजना सफल पार्न सम्भव छ त ?
सबै एकैवर्षभित्र सम्भव नहोला त पाँचवर्षभित्र सम्भव छ।
तपाईंले चुनावको दौरानमा ‘जुम्लाले यो देशको नेतृत्व गर्नुपर्छ’ भन्नुभयो। त्यो नारा धेरै हदसम्म सफल पनि भयो। तर, यो नाराको भित्री अन्तर्य भनेको जुम्लाले एउटा फुल मन्त्री पाउनुपर्छ भन्ने हो। अहिले राप्रपा सरकारमा जाने सम्भावना देखिदैन भने यस्तो अवस्थामा जुम्लाले कसरी देशको नेतृत्व गर्ला ?
अहिले सरकारमा जाने र नजाने भन्ने निर्णय नै भइसकेको छैन। हामीले अधिकारिक निर्णय गर्नेछौं। सरकारमा जाँदा मन्त्री भएर यो देशको नेतृत्व जुम्लाले गर्छ। सरकारमा नजाँदा जुम्ला लगायत यो देशको आवाजलाई जुम्लाले बोलिदिनेछ।
हामी सरकारमा नजाँदा पनि देशको नेतृत्व जुम्लाले गर्छ। नेता सक्षम भए देशको नेतृत्व गर्नका लागि सरकार चाहिँदैन। विकास सजिलै हुन्छ। नारायणमान बिजुक्छे कहिल्यै सरकारमा जानु भएन। प्रधानमन्त्री अफर आउँदा पनि सजिलै अस्वीकार गर्ने सक्ने व्यक्तित्व हो, उहाँ। तर, यो देशको सबैभन्दा सक्षम र निस्कलंकित नेतृत्व पनि त उहाँ नै हो, नि। राष्ट्रियता, सार्वजनिक सरोकार, अन्तर्राष्ट्रिय सम्बन्धलगायत हरेक खालका विषयमा उहाँको बेग्लै धारणा आउँछ। जनता सुन्न उत्साहित हुन्छन्। के उहाँले यो देशको नेतृत्व गर्नुभएको छैन ?
जसरी उहाँको नेतृत्वमा भक्तपुरको विकास भयो त्यसरी हामी हाम्रो जिल्लाको विकास गर्नेछौं। हाम्रो एक निर्णयले राष्ट्रिय राजनीतिमा ठुलो असर गर्न सक्छ भने जुम्लाले यो देशको नेतृत्व गरेकै मान्नुपर्छ।
यहाँभन्दा अगाडि के भयो ? कसले के– के गरे ? जनताले हिसाब राखेका थिए। त्यसको जवाफ व्यालेट बक्समार्फत आइसकेको छ। यहाँभन्दा पछाडि जुम्ला कुनै हालतमा चुप लागेर बस्दैन। बरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको विषयमा आफ्नो धारणा राख्छ। ती सबै ठाउँमा भएको विकास निर्माण र कर्णालीमा भएको विकास निर्माणको तुलना गर्छ र आफ्नो भाग खोज्छ। हरेक फोरम हाम्रा हुने छन्। ताप्लेजुङमा विमानस्थल बन्ने नबन्ने भन्ने विषयमा जुम्ला बोल्नेछ।
अहिलेको बजेटबाट चितवनलाई ४० अर्व दिइएको छ। जुम्लामा जम्मा दुई अर्ब। अब यसो हुन दिइने छैन। आगामी वर्ष हाम्रो बजेट बढ्नेछ। स्थानीय तहले पाउने बजेट फर्मुलाअनुसार आउने हो। त्यसबाहेक हामीले पाउने केन्द्रको अनुदान बढाउन हाम्रो प्रयत्न हुनेछ। नपाए सदन तात्छ।
तपाईं निर्वाचनताका जनताको बिचमा जाँदा यहाँको उत्पादन सम्बन्धलाई जोड दिनुभयो। जस्तो यहाँको स्याउ, सिमी, आलु, ढँटेलोको तेल, चोतो, कोइरोलगायतको कुरा उठाउनुभयो। यसलाई बजारसम्म लैजाने कुरा गर्नुभयो। आफ्नो प्रत्यक्ष दैनिकी र जीवनसँग जोडिएको कुरा आउँदा जनताले विश्वास पनि गरे। यसलाई अर्थतन्त्रको एउटा महत्त्वपूर्ण हिस्साको रुपमा विकास गर्न तपाईले के गर्ने सोच्नु भएको छ ?
तपाईंले अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभएको छ। वास्तवमा जनता खुसी बनाउन ठुला सपना देखाउनै पर्दैन रहेछ। सुर्खेत जुम्ला केवलकार भन्नै पर्दैन रहेछ। हाम्रो दैनिकी र उत्पादन सबैभन्दा ठुलो कुरा हो। त्यसैलाई हामीले जोड दिने हो।
हाम्रो बोलीलाई व्यवहारमा बदल्न सुरुमा हामीले सबै ठाउँमा बिजुली पुगाउने सोचिरहेका छौं। यो सबैभन्दा ठुलो आवश्यकता हो। जुम्लाका हरेक पालिका र गाउँमा १ वर्षभित्र बिजुली पुर्याउन पहिलो प्रयत्न हुनेछ। यसले स्थानीय उत्पादनसँग सम्बन्धित उद्योग खोल्नलाई वातावरण बन्नेछ।
जस्तो हामी अत्याधिक मात्रामा आलु उत्पादन गर्छाैं। आलु लगेर काठमाडौंमा बेच्नुभन्दा चिप्स बनाएर देशभर बेच्दा राम्रो नाफा लिन सकिन्छ। अहिले नेपालका धरै चिप्स फ्याक्ट्रीले आलु युरोप, अमेरिका र क्यानडाबाट मगाइरहेका छन्। जुम्लाको आलु कुहिएर जान्छ। अब त्यो आलु जुम्लाले उपलब्ध गराउँछ।
कृषिमा अनुदान दिनुभन्दा उत्पादनलाई बजारसम्म पुगाउने व्यवस्था मिलाउने हो। बिजुली भयो भने खेर गएको स्याउले ठुलो मूल्य पाउने गरी वाइन र ब्रान्डी फ्याक्ट्री खोल्न सकिन्छ।
तेल पेल्ने मिल गाउँ–गाउँमा राख्न सकिन्छ। मास प्रडक्सनका निम्ति ठुला उद्योग खोल्न सकिन्छ। चोतोको असुरो बनाउन जान्ने हामी मात्रै हो। नेपालमा जुम्लीबाहेक अरु कसैले त्यसको स्वाद चाखेको छैन। त्यसको ब्रान्डिङ गर्ने हो भने सिन्की त के हो र ? सिक्की (गुन्द्रुक)भन्दा दुई गुणा बढी मूल्यमा असुराे बिक्री हुन्छ।
तर, यी हाम्रा सबै उत्पादनलाई बजारसम्म पुगाउनको निम्ति बाटो राम्रो हुनुपर्छ। मैले अघि नै भने हामीलाई गतिलो वैकल्पिक मार्ग चाहिएको छ। त्यो नबनुन्जेल यसैलाई राम्रो बनाएर उत्पादनलाई बजारसम्म पुगाउनुपर्छ। उत्पादन मनग्ये नभएर चामल चाहिएला तर चामलभन्दा कयौं गुणा स्वादिष्ट वस्तुहरु सजिलै उत्पादन हुने हाम्रो भूमि छ।
अब हामीले हाम्रो उत्पादनको ब्रान्डिङ गर्ने, प्रचारप्रसारका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका मिडिया प्रयोग गर्ने, लगानी भित्र्याउने र लगानीकर्ताको सुरक्षा दिने सबै काम गर्नेछौं। यसरी नै आत्मनिर्भर अर्थतन्त्रको जग बस्ने हो। जहाँसम्म सकिन्छ गर्ने हो। सकिएन भने यति कारणल गर्न सकिएको छैन भनेर दाजुभाइलाई भन्ने हो। झुटो बोल्ने होइन।
तपाईंले जुम्लीहरुले अब गलैंचा बेच्नुपर्दैन भन्नुभएको थियो। सामाजिक संजालमा तपाईंलाई व्यङ्ग्य गर्दै ‘अब आजैबाट गलैंचा बेच्न छोडौं’ भन्ने खालका टिप्पणी आइरहेका छन्। यसलाई तपाईं के भन्नुहुन्छ ?
सबैकुरा आजको अहिल्यै हुन्न। केही समय लाग्छ। विकास भन्ने कुरा जादुगरले छडी चलएजस्तो होइन। मैले हाम्रो उत्पादन र त्यसको बजारिकरणपछिको हाम्रो आर्थिक स्थितिलाई कल्पना गरेको हुँ। हाम्रो उत्पादनले मात्रै हामीलाई गलैंचा बेचेको भन्दा बढी आम्दानी दिन्छ। त्यसो हुँदा हाम्रा दाजुभाइ आफैं गलैंचा बेच्न छोड्ने छन्।
उसो त गलैंचा व्यापार हाम्रो पेसा हो। व्यापार गर्ने सीप हाम्रो रक्तसञ्चार प्रणालीमै मिसिएको छ। तर, हरेक काममा सम्मान हुनुपर्छ। पारस्परिक सम्बन्ध हुनुपर्छ। गलैंचा बेच्ने जुम्लीलाई हेयको भावले हेरिनु हुँदैन भन्ने हाम्रो ध्येय हो।
व्यापार त इलामका मान्छे पनि गर्छन्। चियाको व्यापार, अकबरे खुर्सानीको व्यापार, छुर्पी, स्कुसको व्यापार। उनीहरुको पेसा सम्मानित छ। हामीले पनि सम्मान खोज्ने हो। जुम्लीको प्रतिष्ठा जोगाउनु मेरो कर्तव्य हो। हरेक व्यवसायलाई सम्मानजनक बनाएर अपमानको भास्य परिवर्तन गर्नु मेरो कर्तव्य हो।
घरको ढोकाढोका चाहारेर गरिने व्यापारलाई अलिकति आधुनिकता दिने हो भने सम्भावना राम्रो देखिन्छ। लिउ, राडी, पाखी घर घर गएर पुगाउँदा जम्मा पच्चीस सय, दुई हजार पाइन्छ। त्यसलाई सुपर मार्केटमा राख्दा १० देखि १२ हजारमा बिक्री भएको हामीले देखेका छौं। व्यापार गर्ने तरिका जान्यो भने हामी सम्पन्न हुने हो। प्रडक्ट उही हो, गुणस्तर उही हो। अलिकति तरिका फरक गर्ने बित्तिकै राम्रो आम्दानी हुन्छ भने किन नगर्ने ?
म चुनाव जितेको चार दिन भएको छैन। केही पार्टीका साथीहरु गलैंचा बेच्न पर्दैन भन्दैछन्। उनीहरुमा एक प्रकारको बेचैनी छ। करोडौं खर्च गर्दा पनि चुनाव जित्न नसकिएपछि सामाजिक संजालमा दुष्प्रचार गर्न लागेका छन्। पैसा जनताले खाइदिए। भोट हाल्दिएनन्। अब फिर्ता माग्नु कसरी ? एक हिसाबले भन्ने हो भने उनीहरुको मानसिकता ठिक ठाउँमा छैन।
गठबन्धन होइन गाँठबन्धन थियो। सपना सब हुरिले उठाएपछि यसरी हमला गर्दैछन्। हेर्दै जानुहोला मैले भन्नुपर्दैन आफैं हाम्रा दाजुभाइले काँधमा गलैंचा बोकेर बेच्न जाने काम छोड्नेछन्। कुनै पनि काम एकैदिनमा सम्पन्न हुँदैन। चरणबद्ध रुपमा हुने हो।
राष्ट्रिय राजनीतिमा गठबन्धन एक प्रमुख शक्ति बनेर सत्ता हाक्ने तयारी गरिरहेको देखिन्छ। यो स्थितिमा राप्रपा आफूलाई वैकल्पिक शक्तिको रुपमा कसरी उभ्याउन सफल होला ?
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र म दुबै जना भ्रष्टाचार विरोधी हौं। अरु नेताका बारेमा मलाई उती साह्रो थाहा छैन। यसभन्दा अगाडिको सदनमा जाँदै गर्दा हाम्रो अध्यक्षले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्नुभएको थियो। म लामो समय भ्रष्टाचार विरोधी अभियान चलाएर कयौं पटक–पटक कुटाइ खाएर, जेल नेल सहेर यहाँसम्म आएको हुँ। हाम्रो पहिलो प्राथमिकता भनेकै भ्रष्टाचार न्यूनिकरण हो। नेपालका ठुलठुला भ्रष्टाचार काण्डहरुको छानबिन हाम्रो पहिलो कर्तव्य हो।
पहिला हामी सदनमा एक सिटे पार्टी थियौं। अहिले १४ सिटभन्दा बढी हुने स्थिति छ। प्रदेशमा पनि हाम्रो राम्रो उपस्थित हुँदैछ। यस्तो अवस्थामा हामी निर्णायक शक्ति हौं। ठुला भनिएका दलहरुले काम गर्न नसकेको खण्डमा पालो हाम्रो आउँछ। यसर्थमा हामी वैकल्पिक शक्ति पनि हौं।
तपाईंहरु चुनाव प्रचारप्रसार गरिरहेको अवस्थामा, यिनीहरु प्रतिगामी हुन, राजावादी हुन्। यिनीहरुलाई मत दिए राजतन्त्र फर्किन्छ। त्यसैले मत दिनुहुँदैन भनियो। के तपाईंहरु पुरानो सत्ताको पक्षपाती हो ?
हामी पुरानो सत्ताको पक्षपाती होइन। विकास, न्याय र समानताको पक्षपाती हो। जसले मान्छे मारे, घाँटी रेटेर हत्या गरे। उनीहरु क्रान्तिकारी हुने अनि जसले यो देशको धर्म, संस्कृति, प्रथा, परम्परा, संस्कार बचाउनुपर्छ भन्यो त्यो प्रतिगामी हुने ? जसले यो देशका उद्योग धन्दा कलकारखाना कौडीमा बेचे, नदीनलाहरु बेचे उनीहरु नामोद क्रान्तिकारी अनि अर्थतन्त्रलाई चलायमान बनाउँन चुहावट हुनुहुन्न भन्ने प्रतिगामी ?
जसले विदेशीकाे रुपैयाँ लिएर देशमा हत्या हिंसा र मारकाट चलाए। विदेशीको दलाल बने, मतियार बने उनीहरु चाहिँ प्रगतिशील ? अनि जो रितिथिति र मौलीकताको पक्षधर हुन उनीहरु चाहिँ प्रतिगामी ? शब्दकोष हेरौं प्रतिगामी शब्दको अर्थ के हुन्छ ? अनि आफैं थाहा पाइहालिन्छ नि प्रतिगामी र अग्रगामी को हो भन्ने कुरा ? यो त राक्षसले आफूलाई देउता घोसित गरेजस्तो भएन र ?
हो, हामी राजा चाहिन्छ भन्छौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्रमै संवैधानिक राजतन्त्र भनेकै छ नि। के यो देशमा राजा जनताले फालेका हुन ? महत्त्वपूर्ण निर्णय गर्दा जनमत संग्रह चाहिँदैन ? यदि जनता नै राजा चाहन्नन् भने राप्रपा पनि चाहन्न। तर, प्रश्न चाहिँ छन्, राजसंस्थाले कसको के बिगारेको थियो ? के राजसंस्थाले विदेशीका अगाडि घुँडा टेकेको थियो ?
म कम्युनिस्ट पार्टीको सिद्धान्त आदर्श मान्नेलाई सम्मान गर्छु। जस्तो का. रोहित। सबैको अस्तित्व स्वीकार गर्न सक्नुपर्छ। तर, नेपालमा राजसंस्थाको विरोध गर्ने तथाकथित कम्युनिस्ट भनिनेहरु राजा भएको देशमा हात थाप्न जान्छन्। भिख माग्छन्। अनि नेपालमा गणतन्त्रको नारा लगाउँछन्। यो कस्तो खालको नैतिकता हो ?
यो देशको दलीय व्यवस्थाले राजाले गरेको भन्दा के काम बढी गरेर देखायो ? अनि हामी राजाको विरोध गर्दै जाउँ ? राजाले देश बेचेका हुन कि दलले ? राजा महेन्द्रको काम हेर्नुस् न। कांग्रेसको पहिलो सरकारको बेला नेपालमा भारतीय सेनाका १७ वटा क्याम्प थिए। राजा महेन्द्रले १६ वटा क्याम्प हटाएका थिए। अब भन्नुस् कांग्रेस स्वाभिमानी कि राजा ?
नारामा भारतको विरोध गर्ने तर भारतले नै पालेर हुर्काएका नेता हुन प्रचण्ड र बाबुराम। आफ्नो देशलाई विदेशीको कृडास्थल बनाउने हाम्रा दल प्रतिगामी कि राजा ? कुरा क्लियर छ। यति हुँदा पनि जनताले राजा चाहिँदैन भने हामी जबर्जस्ती राजा हुनुपर्छ भन्दैनौं। तर, दलहरुले त जबर्जस्ती गणतन्त्र चाहिन्छ भनेका हुन्। जो गलत छ।
चुनावमा सबै दलले पैसा बाँडे भन्ने आयो। होर्नेले गरेको खर्चभन्दा जित्नेले बढी खर्च गरे भन्ने छ। तपाईंहरुले कति खर्च गर्नुभयो ?
हामी दावाका साथ भन्छौं भोट पाउनका लागि एक पैसा बाँडेका छैनौं। कुनै एक ठुलो व्यापारीले मलाई यति चन्दा दिए भनेर घोषणा गरेस् म पद त्याग्न तयार छु। हाम्रा कार्यकर्ता साथीहरुले उठाएको थोरै खर्चले व्यवस्थापन गरेका छौँ।
जुम्ली जनतालाई भेडा, बाख्रा सम्झिने कम्युनिस्ट पार्टी भन्नेलाई पनि राम्ररी चिनियो, यो चुनावमा। देखियो, भोगियो। धर्मलाई अफिम भन्ने, देउतालाई कुसंस्कार सम्झिने, धामीका जुँडी(लठा) उखेल्ने, देउताका थान जलाउनेले चुनाव जित्न तिनै धामी र घण्टको प्रयोग गरेर जनतामा त्रासको वातावरण सिर्जना गरेको हामीले नै देख्यौं।
विचार कम्युनिस्ट बोकेका र गठबन्धन गरेर सत्ता हाकेकाहरु जुम्लाका हरेक वडामा ५० हजार रुपैयाँ रिचार्ड खर्च मात्रै भनेर खुलेआम बाँडेको कसले देखेको छैन ? यस हिसाबले गठबन्धनको रिचार्ज खर्च मात्रै ३० लाख भएको छ भने अरु खर्च कति भयाे हाेला ? गठबन्धनका कार्यकर्ताले ठाउँ–ठाउँमा पैसा बाँड्न लागेको बेला हामीले समातेका थियौं। चौधबीस, सिंजा,पाँचसय भेगमा पैसाका झोला बोकेका कत्तिलाई रोक्ने कोशिस गर्दा गर्दै पनि सकेनौं। खसी काटेर रगतमा औँला चोबल्दै कसम खान लगाएको यी आँखाले देखेका हुन्। यो जुम्लातिरको लागि ठुलो कसम हो। जसलाई रक्ते औँला हाल्ने भनिन्छ।
हामीले आदर्श राजनीतिक नेतृत्व मानेका कमरेडहरु नै पैसा बाँड्न हिँडेको भेटाएका छौं। हामीलाई कसैले पैसा बाँडेको देखेको छ भने प्रमाण देवस्। म तत्काल राजिनामा दिन तयार छु। म भ्रष्टाचारको विरोध गर्दै यहाँसम्म आएको हुँ। खर्च गरेर चुनाव जिते भने त म पनि भ्रष्टाचार गर्छु, नि। त्यसैले मैले कसैबाट चन्दा लिइन। चुनावमा भोट किन्न खर्च पनि गरिन्।
हवस्, समय र विचारका निम्ति यहाँलाई धन्यवाद !
सत्यको पक्षमा निरन्तर उपयोगी सामग्री पस्किने बिएल नेपाली सेवालाई बोल्ने अवसरका निम्ति धेरै–धेरै धन्यवाद !