स्थानीय तह निर्वाचन

फेरिएको भूमिकामा देखिन चाहन्छन् किशोर, वडा सदस्यमा उम्मेदवारी दिँदै !

किशोर श्रेष्ठ, ख्याति कमाएका संचारकर्मी हुन्। नारी उत्थान र जनसरोकारका विषयवस्तु उठान गरेर उनी चर्चित छन्। आमसञ्चारका माध्यमबाट समाज रुपान्तरणमा योगदान पुर्याएकै भएपनि त्यतिले मात्रै उनी सन्तुष्ट छैनन्। ‘बालुवामा पानी खन्याएजस्तो भइरहेको छ’, उनले भने, ‘पदीय भूमिकामा रहेर सामाजिक काममा लागिपर्दा नै औचित्य हुने देखेँ।’

उनले खोजिगरेको भूमिकाको अन्तर्य भनेको जनप्रतिनिधिको आसन हो। जुन भूमिकामा उनी देखिन चाहन्छन्, अर्थात नजिकिँदै गरेको स्थानीय तह निर्वाचनमा किशोर उम्मेदवार बन्न चाहन्छन्। दलीय रापतापको जगजगी भएपनि स्वतन्त्र रुपमै उम्मेदवारी दिने उनले निश्चय गरेका छन्।

उर्लाबारी–६ नम्बर वडाका बासिन्दा किशोर वडा सदस्य पदमा उठ्ने बताउँछन्। वडा सदस्य पदमै किन ? यो त सानो पद भएन र ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेयर–उपमेयर वा वडाध्यक्ष पदमा उठ्दाका जोखिम धेरै छन्। आखिर काम गर्ने नै हो। पहिला त आफ्नै वडावासीको सेवा गर्ने मेरो हुटहुटी हो।’

हुनपनि विगत साक्षी छ। उनले मानवसेवामा असाधारण कार्य गरेका छन्। कोरोना महामारीमा खाद्यान्न संकटले जीविका चलाउन धौधौ परेका विपन्नलाई किशोरकै अग्रसरतामा राहत वितरण भए। न्यानो लत्ताकपडा बाँडिए। उनले स्थानीयस्तरमा मात्रै नभएर अन्यत्र पनि गरिब–दुखीको सेवामा पहलकदमी लिएका छन्।

युट्युब च्यानल होस् वा अन्य सञ्जालका माध्यमबाट उनले सहयोग जुटाए, आफ्नै पारिश्रमिक खर्चिएर पनि समाजसेवामा योगदान गरेकोप्रति स्थानीयस्तरमा सबै जानकार छन्। सञ्चारकर्मकै माध्यमबाट पनि धेरैका फाटेका मनहरु उनले जोडेका छन्।

नेपाली समाजमा पारिवारिक विखण्डन भयावह बनेको छ। धेरैका घर भाँडिएका छन्। धेरैका दाम्पत्य जीवनमा दरार आएको छ। अंशवण्डा र अन्य झै-झगडाका घटना कति छन् कति ! यस्ता झमेलालाई निरुपण गर्ने सवालमा किशोरले तादरुकता देखाएकै छन्। स्क्रिनका अघि बुम बोकेर वाककला प्रष्फुटन गर्दै जाँदा फाटेका कतिपय मनहरु जोडिएका छन्। किशोर भन्छन्, ‘दुई पक्षका समस्या सहजीकरण गरेको मात्रै होइन, हलपनि गरेको छु।’

उर्लाबारी-६ को सेरोफेरो आज पनि उस्तै छ, भौतिक पूर्वाधारमा केहि प्रगति भएपनि समग्रतामा यो वडाले फड्को मारेको छैन। सुकुम्बासी र बेरोजगारी समस्या वडाका प्रमुख चुनौती हुन्। यो समस्यालाई सशक्त रुपमा उठान गर्ने प्रतिनिधि वडावासीले खोजी गरेको भन्दै त्यसका लागि आफू ‘पर्फेक्ट’ पात्र हुने किशोरको दाबी छ।

उनले भने, ‘म निर्वाचित भएको खण्डमा अरु प्रतिनिधिसंग सहकार्य गरेर अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाउँछु। घरधुरिको लगत संकलन गरी विपन्नको पहिचान गर्ने, उनीहरुको जीवनस्तर उकास्ने गरिका कार्यक्रम ल्याउने मेरो ध्येय हुनेछ। दैनिक उपभोग्य सामाग्रीमा अचाक्ली मूल्यवृद्धि भएको छ। बजार नियन्त्रणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछौँ। वडामा शान्तिसुरक्षा हरहालतमा कायम राख्न सार्थक पहल हुनेछ।’

वडाको समग्र मुहार फेर्नका लागि वडा सदस्यको स्वतन्त्र उम्मेदवारका रुपमा आफूलाई विजयी गराउन किशोरले उर्लाबारी– ६ नम्बर वडावासीमा अपिल गरेका छन्।

प्रकाशित मिति: : 2022-04-05 12:31:00

प्रतिकृया दिनुहोस्