१. आदिवासी
आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म।
म रुँदा फकाउन
आपाले बजाएको बिनायोको धुन
हो,त्यही धुनमा झुल्दै हुर्किएकी हुँ म
जुजुले बनाएको मूलढोकाको ठीक
संघार अगाडीको बलेसीमा
आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म।
कसरी भुल्न सक्छु ती सप्पैसप्पै!
भुल्न सक्दिनँ मेरो भूमि
माया मार्न सक्दिनँ तीन चुला
मेरो माया
मेरो कसम
र मेरा अभिलेखहरु
भोलि मेरै संग्रहालयमा भेटिऊन्!
आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म।
कसले चुँडाउन खोज्दैछ तानको धागो?
र कसले च्यात्न खोज्दै छ बोजूले बुनेको फेङ्गा?
कसले मेट्न खोज्दै छ मेरो मुन्दुम
र कसले मार्न खोज्दै छ मेरो लयदार भाषा?
अहो, मेरो साकेला!
आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म।
चिम्सा आँखाभरि फैलिएको आकाश
थेप्चो नाकले सुँघिरहेको रैथाने लोकगीतको बतास
नाङ्गा पाइतालाले डोब कोर्दै आएको रगताम्य इतिहास
मेरो चेतनाको ढोलझ्याम्टा मसँगै छ
ढोलझ्याम्टाले बोलाउने उँधौली र उँभौली छ
मेरा पुर्खाहरुको ताजा सम्झना छ
अझ मुख्य कुरा,
मेरी आमाले बुन्दै गरेको तानमा टाँगिएको
सग्लो फूलबुट्टा छ
किनभने-
आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म
चोमोलुङ्माको हिउँसँग खेल्दै हुर्किएकी हुँ म।
आदिवासी हुँ म।
२. झरी र साँझ
निकै टाढा देखिरहेको क्षितिजबाट घाम हराइसकेपछि
चराहरु बासमा फर्किसकेपछि
रुझायो झरिले उस्तै गरी बर्खा खेपिरहेको साँझलाई
संयोग पनि खै के भनौ?
अघिपछि पनि त रुझेकै हो जिन्दगी!
यो साँझ जस्तै
तर
मनको आकाश गर्जिएर
बादलहरू फेरि मनैमा ठोक्किएपछि
अनायास आँखाबाट समेत ओर्लिसकेछन् बर्सादहरू
त्यसैले त
रुझिरहेँ यी आरूका पातहरुसँगै
लतारिएका फूलहरुसँगै
बाछिटाले हिर्काइरहेका बलेसीसँगै
गोधुलीको साँझसँगै।
कवयित्री सुष्मा रानाहँमाको घर खोटाङ हो। हाल उनी दक्षिण कोरियामा छिन्। उनको 'आमाको तासफोटो' कविता संग्रह प्रकाशित छ।
कथा एकदम दामी लाग्यो । बधाई छ कवि सुष्मा रानाहँमा।