नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा आउँदो स्थानीय तहकाे निर्वाचनमा तालमेल हुन सक्ने बताएका छन्।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र–२ (ख) द्वारा यशोधरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुन सोलोडोलोको आधारमा नभई स्थानीय जनमतको आधारमा तालमेल हुन सक्ने बताएका हुन्।
सभापति पुनले आगामी स्थानीय निर्वाचनमा लुम्बिनीका दुइतिहाई स्थानीय तहमा कांग्रेसले विजयी प्राप्त गर्ने बताएका छन्। उनले लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्ये ७५ स्थानीय तहमा कांग्रेसले स्थानीय सरकार निर्माण गर्ने दावी गरेका छन्।
संविधानको संस्थागत कार्यनयन गर्ने दायित्व कांग्रेससामु आएको उल्लेख गर्दै सभापति पुनले स्थानीय सरकारमा कांग्रेसको नेतृत्व रहे मात्र संघीयताको प्रभावकारी सबलीकरण हुने धारणा व्यक्त गरेका छन्।