जनयुद्ध दिवसः 

द्वन्द्व सकिएको १६ वर्ष: अझै गुमाउँदैछन् नागरिकले ज्यान

BreaknLinks
BreaknLinks

साँझ ढल्दै थियो। घडीले ६ बजाइसकेको थियो। ओझबहादुर डाँगी (५१) बाहिरको काम सकेर घरभित्र प्रवेश गर्दै थिए। उनले एउटा खुट्टा दैलोको भित्र के फालेका थिए, घर नै थर्किने गरी ठुलो आवाजमा विस्फोटको आवाज आयो।

ओझबहादुरले तत्कालै अनुमान लगाए, कसैले जंगली जनावर मार्न बन्दुक पड्कायो। विस्फोटको आवाजसँगै गाउँमा हो-हल्ला भयो। कोही रोएको, कोही चिच्चाएको आवाज सुनियो।

नातिनी बोकेर घरभित्र छिर्दै गरेका ओझबहादुर हो–हल्लाको अवाजले भित्र छिरेनन्। उनी विस्फोटको आवाज आएको तर्फ दौडिए, नातिनी बोकेकै अवस्थामा। विस्फोटको आवाज आएको ठाउँ टाढा थिएन। घरदेखि करिब ५०० मिटर मात्र टाढा थियो।

उनी विस्फोटको आवाज आएको ठाउँमा पुग्दा जे देखे, त्यो ओझबहादुरले कल्पना गरेको भन्दा कारुणिक थियो। पहिलो दृष्य उनले छिमेकी १४ वर्षका गौरव नेपाली ढलेको, क्षत विक्षत भएको देखे। आधा शरीर नभएको देखे।

ओझबहादुरले गौरवको मात्र त्यो अवस्था देखेनन्, आफ्नै साइलो छोरा १३ वर्षका नोखिरामलाई पनि देखे। उनको अवस्था पनि लगभग उस्तै थियो। नोखिरामको खुट्टा थिएन। देब्रे आँखा थिएन। शरीरभरी चोटैचोट थियो।

छोराको अवस्था क्षत विक्षत देखेका ओझबहादुर होसमा बस्न सकेनन्। कतिबेला बेहोस भए उनलाई नै थाहा छैन। ‘म घटनास्थलमा पुग्दा मेरो छोरासहित ४ जना बम विस्फोटमा परेर क्षत विक्षत थिए,’ ओझबहादुरले भने, ‘त्यो देखेपछि म कतिबेला बेहोस भएछु र त्यहीँ ढलेछु।’

१७ वैशाख ०७७ मा रोल्पाको त्रिवेणी गाउँपालिका गैरीगाउँमा बम विस्फोट भयो। बम विस्फोटमा १४ वर्षीय गौरव, १३ वर्षीय नोखिरामसहित ११ वर्षीया विमला केसी र उनका ५ वर्षका भाइ विजय केसीको मृत्यु भयो। उनीहरु बाख्रा चराउन जंगल गएका थिए। जंगलबाट बाख्रा घरतर्फ ल्याउँदै गर्दा गाउँ नजिकै खेतमा बम विस्फोटमा परी ४ जनाले कलिलै उमेरमा ज्यान गुमाए।

चार जना बालबालिकाले बम विस्फोटमा परी ज्यान गुमाएको ठाउँमा सम्झना स्वरुप निर्माण गरिएको मन्दिर                                                                       १७ वैशाख ०७७ मा रोल्पाको त्रिवेणी गाउँपालिका गैरीगाउँमा बम विस्फोट भएकाे ठाउँ देखाउँदै ओझबहादुर 

सशस्त्र द्वन्द्व सकिएको १४ वर्षपछि द्वन्द्वको झल्को दिने गरी एउटै घटनामा ४ जना बालकालिकाले बम विस्फोटमा परी ज्यान गुमाए। ‘द्वन्द्वको समयमा यस्तो घटना हामीले देख्नु परेन,’ ओझबहादुर भन्छन्, ‘शान्ति सम्झौता भएको यतिका वर्षपछि बम विस्फोट हुँदा द्वन्द्वकै झल्को दियो।’

प्रहरीले घटनास्थलमा फेला परेका विस्फोटक पदार्थ सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएर छोडिएका बम र बारुद भएको निष्कर्ष निकाल्यो।

उक्त घटनापछि एक मात्र छोरा गौरवलाई गुमाएकी तिलकुमारी नेपाली द्वन्द्वमा नभोगेको घटना द्वन्द्व सकिएको लोमा समयपछि भोग्दा सपना जस्तो मानिरहेकी छिन्। घटना सम्झियो कि तिलकुमारी आँसु थाम्न सक्दिनन्। एउटा खुशी, एउटा सहारा खोसिएको उनी अनुभूत गरिरहन्छिन्।

‘लडाइँ रोकिएको यति धेरै भयो। बम विस्फोट होला भन्ने कल्पना थिएन,’ तिलकुमारी घटना सम्झँदै भन्छिन्, ‘त्यो घटनाले मेरो खुशी लुटेको छ। मेरो सहारा लुटेको छ।’

नेपालमा ०५२ फागनु १ गतेबाट तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वको सुरु गरेको थियो। माओवादीले दश वर्षसम्म द्वन्द्व गर्दा १७ हजारभन्दा बढी मानिस मारिए र कयौं अंगभंग भए। यसरी मारिनेमा भिडन्त परेर मात्र नभइ द्वन्द्वताका राज्यपक्षका सुरक्षाकर्मी र विद्रोहीले एकअर्कालाई लक्षित गर्दै थापेका बारुदी धराप र विस्फोटमा परेर मारिनेको संख्या पनि सयौं थियो।

मुलुकमा चलेका दश वर्षे सशस्त्र द्वन्द्वको अन्त्यसँगै धेरैले शान्तिको अनुभूति गरेका थिए। तर शान्ति सम्झौता भएको १६ वर्ष बित्दा पनि मुलुक बारुदी सुरुङ र बेवारिसे जोखिम भने टरेको छैन। द्वन्द्वका दौरान राज्य र विद्रोही पक्षले प्रयोग गरेर जंगल, खेतबारी, गुफा र भिडन्त स्थलमा बेवारिसे छोडेका बारुदी सुरुङ र बेवारिसे बमले आज पनि कतिपय नागरिकको ज्यान लिइरहेको छ।

                                                                          चार जना बालबालिकाले बम विस्फोटमा परी ज्यान गुमाएको ठाउँमा सम्झना स्वरुप निर्माण गरिएको मन्दिर

माथिको घटना एक उदाहरण मात्र हो। द्वन्द्वको समयमा छाडिएका विस्फोटक पदार्थमा परी शान्ति सम्झौताको १६ वर्षमा दुई दर्जनले ज्यान गुमाएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको एक तथ्यांकअनुसार शान्ति सम्झौतापछि द्वन्द्वका समयमा छाडिएका विस्फोटक पदार्थमा परी थुप्रै घटना भएका छन्।

केन्द्रकाअनुसार १६ वर्षकाे बीचमा विस्फोटमा परी २१ जना मृत्यु भएकाे छ भने २७१ जना अंगभंग भएका छन्। मानव अधिकारीकर्मी कृष्ण गौतम द्वन्द्वपछि पनि धेरै घटनाहरु घट्दासमेत राज्य संवेदनशील हुन नसकेको बताउँछन्। ‘द्वन्द्वपछि पनि यस्ता विस्फोटक घटनाहरुमा परेर नागरिक मारिनेक्रम रोकिएकाे छैन’, गौतम भन्छन्, ‘यस्ता घटनामा राज्य संवदेनशील हुन जरुरी छ।’

द्वन्द्व रोकिए पनि बम भेटिरहन्छन्

५ मंसिर ०६३ मा सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा दुई महिनाभित्र विभिन्न ठाउँमा रहेका विस्फोटक पदार्थ हटाउने भनिएको थियो। त्यसअनुसार सेनाले केही वर्ष लगाएर द्वन्द्वका क्रममा बिछ्याएका विस्फोटक पदार्थ हटायो। तर द्वन्द्वका बेला जंगल, खेत, भिडन्त स्थल, लुकाएर राखिएका ठाउँमा छरिएर र बेवारिसे अवस्थामा रहेका विस्फोटक पदार्थ पूर्णरुपमा नष्ट हुन सकेको छैन।

विभिन्न ठाउँमा लुकाइएका हतियार र विस्फोटक पदार्थहरु शान्ति सम्झौता भएको १६ वर्ष बितेको भएपनि भेटिन छाडेको छैन। खास गरी तत्कालीन मध्यपश्चिम क्षेत्रबाट सुरु भएर करिब १० वर्ष चलेको माओवादी सशस्त्र द्वन्द्वका क्रममा विद्रोहीले यही क्षेत्रमा व्यापक मात्रामा विस्फोटक पदार्थ प्रयोग गरेका थिए। ती विस्फोटक पर्दाथ अहिले पनि भेटिने गर्छन्।

०७६ फागुन २७ मा उत्तरी रोल्पास्थित थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परे। स्थानीयले थबाङ–३ मिरुलस्थित रापा जंगलमा बम फेला पारेका थिए। बिहान १० बजे स्थानीयले घाँस काट्न वनमा गएका बेला शंकास्पद वस्तु देखेपछि खबर गरेका थिए। ठुलो संख्यामा फेला परेका ती बम तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोहीले राखेका थिए।

गत वर्ष फागुनमा रुकुम पूर्वमा ठुलो संख्यामा सकेट बम फेला परेको थियो। जंगलमा बाख्रा चराउन गएको बेला स्थानीयले कालो प्लाष्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा एक दर्जन बढी सकेट बम फेला पारेका थिए।

दशवर्षे सशस्त्र जनयुद्धको क्रममा तत्कालीन विद्रोही माओवादीले लुकाएका बमहरु आज पनि भेटिने गरेको रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ पूर्वअध्यक्ष जीवन केसी बताउँछन्। द्वन्द्व सकिए पनि बारुदी सुरुङको त्रास अझै बाँकी रहेको उनी बताउँछन्। ‘द्वन्द्व सकिए पनि बेवारिसे बमको त्रास र जोखिमबाट मुक्त हुन सकेका छैनौं’, उनले भने, ‘युद्धको अवशेष यी विस्फोटका सिकार निर्दाेष जनता भइरहेका छन्।’

नेपाल प्रहरीका डिआइजी टेकप्रसाद राईले राज्यको पक्षबाट द्वन्द्वका दौरानमा प्रयोग भएका बारुदी विस्पोटक पदार्थहरु हटाइएकाे भएपनि विद्रोही पक्षबाट राखिएका बमहरु बेलाबखत फेला पर्ने गरेको बताए। ‘ठुलो संख्यामा नभएपनि विद्रोहीतर्फबाट छोडिएका विस्फोटक पदार्थहरु कहिलेकाहीँ फेला पर्ने भएकाले त्यसको जोखिम कहीँ न कहीँ छ। त्यस्ता घटना बेलाबखत भइरहको देखिन्छ’, उनले भने, ‘तर ती विस्फोटक पदार्थ कहाँ निर छन् भन्ने कुरा यकिन छैन।’

प्रकाशित मिति: : 2023-02-13 22:47:00

प्रतिकृया दिनुहोस्