एमसीसी पारित गर्न माधव नेपालका सात शर्त, एमसीसीले शर्त माने मात्र अघि बढ्ने घोषणा (भिडियो)

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न सात वटा शर्त अघि सारेका छन्। नेकपा एकीकृत समाजवादीको पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले सात शर्त अघि सारेका हुन्।

एमाले फुटाएर बेग्लै पार्टी बनाएका पूर्वप्रधानमन्त्री नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला हतार–हतारमा एमसीसी सम्झौता अघि बढाउन खोजिएको आरोप लगाए।

‘हामी एमालेमा छँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीले एमसीसी आजै पास गर्ने, भोलि नै गर्ने भनेर परराष्ट्रमन्त्रीलाई गर्नै नहुने ठाउँमा हस्ताक्षर गराउनुभयो, उहाँका अर्थमन्त्री एमसीसीका निम्ति सीमा नाघेर जानुभयो,’ उनले भने, ‘ती सबै कुराका हामी आलोचक हौं।’

नेपालले वर्तमान सरकार बनेपछि एमसीसीलाई प्रश्न सोधेको र त्यसको जवाफ एमसीसीले पठाइसकेको बताए। उक्त जवाफका सम्बन्धमा अध्ययन गरिरहेको उनले बताए।

नेपालले भने आफ्ना तर्फबाट सात शर्त एमसीसीसमक्ष विभिन्न राखिएको पनि यसरी बताए–

पहिलो शर्त–‘एमसीसीमा कुनै सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने शर्त छ कि छैन ? त्यस्तो शर्त हामीलाई मन्जुर छैन भनेका छौँ। हामी कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्ने शर्त मान्य छैन।’

दोस्रो, स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, पञ्चशीलको सिद्धान्त अवलम्बन गर्दै असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहने भएकाले यसविपरीत हुने कुनै पनि शर्त स्वीकार्य हुने छैन।

तेस्रो, छिमेकीप्रति कुनै किसिमको आशंका हुने परिस्थिति स्वीकार्न नसक्ने शर्त राखिएको सुनाए।

चौथो– ‘प्रोजेक्टआउँदा यसको हाइटेन्सन लाइन बन्ने जग्गा नेपालको स्वामित्वमा रहने, सार्वभौम अधिकार नेपालको रहने सुनिश्चित हुनुपर्छ।

पाँचौँ– यसको बौद्धिक सम्पत्तिमा नेपालको अधिकार रहने सुनिश्चितता हुनुपर्छ।

छैठौँ, एमसीसी परियोजनामा नेपाली कामदार, नेपालीले रोजगारी पाउने कुराको सुनिश्चितता हुनुपर्ने प्रस्ट पारिएको छ।

सातौं शर्त–  अन्तर्गत एमसीसी परियोजनाको लेखा परीक्षणमा महालेखा परीक्षकको अधिकार रहने सुनिश्चितता हुनुपर्छ।

प्रकाशित मिति: : 2021-09-17 13:04:00

प्रतिकृया दिनुहोस्