छेच्यु पर्व 

स्याब्रु नाचमा झुम्यो हेलम्बु

छेच्यू पर्वका अवसरमा आमा याङ्ग्रीको काख हेलम्बु पुग्दा मनभरि आध्यात्मिक भावना सल्बलाए। लामाहरूसँगै परम्परागत नाचमा झुम्दा शरीर र मनमा ऊर्जा बढ्यो। अनि ह्योल्मोको आत्मीयताले भावविह्वल पनि बनायो। 

सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण हेलम्बु काठमाडौंनजिकको सुन्दर पर्यटकीय गन्तव्य हो। ह्योल्मो जातिको बसोबास थलो हेलम्बुमा मौलिक संस्कृतिसँगै हिमाली सौन्दर्यको मिठास पनि पाइन्छ। 
त्यहाँबाट दोर्जे लाक्पा, जुगल, गौरीशंकरसहित दर्जनौँ हिमाल दर्शन गर्न सकिन्छ। ग्रामीण जीवनशैलीको अध्ययन गर्ने मौलिक पाठशालासमेत भएकाले धेरै वर्षदेखि हेलम्बु विदेशीको नजरमा परेको छ। 

हिमाली भेगमा बौद्ध धर्म फैलाउने महागुरु पद्मसंभवले अनुयायीका लागि योग, ध्यान र साधना गर्न बहुमूल्य निधि र धार्मिक पुस्तक लुकाएको ठाउँ पनि हेलम्बु हो। हेलम्बुमा प्राचीन गुम्बा, चैत्य र माने मात्र होइन, आमा याङ्ग्री पनि छ जो इष्टदेवताका रुपमा पुजिन्छ। 

त्यही पवित्र भूमिमा केही दिन पहिला हामी पनि पुग्यौँ।

  काठमाडौंबाट यात्रामा निस्केका हामी धुलाम्मे सडक छिचोल्दै मेलेम्ची पुग्दा दिन घर्किसकेको थियो। मेलम्चीमा खाना खाईवरी जीप 'स्टार्ट' गर्नेबित्तिकै गुरुजीले भने, ‘अबको डेढ घण्टामा हामी सेर्माथाङ पुग्छौँ।’ 
जसै गाडी मेलेम्ची पुल तरेर उकालो लाग्यो, आकाश धुम्म भयो, पानी छिट्ट्याउन थाल्यो। 

‘अहो ! शेर्माथाङमा आज हिउँ पर्ने भो’, सहयात्री अमृत भादगाउँलेजी हौसिए। हामी पनि खुसी भयौं। हिउँमा उफ्रिएको कल्पनामा रमायौं। गज्जब हुने भो ! फोटो खिच्न पाउने आशाले मनमा खुल्दुली मच्चियो। मक्ख पनि परे।     
गत शुक्रबार सञ्चारकर्मी र रसुवा नुवाकोट पर्यटन समाजका प्रतिनिधि तथा पर्यटनकर्मी गगनराज न्यौपाने र मछिन्द्र अचार्यसहितका टोली हेलम्बु गाउँपालिका–२, सिन्धुपाल्चोकको शेर्माथाङ जाने मौका जुर्‍यो। झम्के साँझमा शेर्माथाङ पुग्यौं। 
हामी पुग्दा स्थानीयहरू छेच्यु पर्वको उत्सवमा रंगिएका थिए। सबैजना गोलो भएर स्याब्रु नाच्दै थिए। चीसो वातावरण, बीचमा आगो बालिएको थियो। छेउमा बौद्ध मन्त्र लेखिएका लुङ्दार र धर्जु फर्फराउँदै थियो। 
गुम्बाको भित्तामा ‘हाम्रो संस्कृति, हाम्रो परम्परा हामी सबै मिलेर जोगाऔँ’ लेखिएको ब्यानर टाँगिएको थियो। 

गुरु रिम्पोछे जयन्तिमा छेच्यु पूजा 

हेलम्बु क्षेत्रमा बसोवास गर्ने ह्योल्मो समुदाय बौद्धगार्मी हुन्। गुरु रिम्पोछेले ध्यान र तपस्या गरेको तपोभूमिमा उनले भविष्यका लागि भनेर धार्मिक महत्वका पवित्र (तेर) लुकाएर राखेको विश्वास गरिन्छ।   

पद्मसमभवको जन्मजयन्तिको पुण्य तिथिमा वर्सेनी छेच्यू पूजा गरिन्छ। चन्द्रमास पात्रोअनुसार सोनाम ल्होसार पर्व मनाएको पञ्चमीदेखि पूर्णिमासम्म छेच्यु पर्व धुमधामले मनाइन्छ। गाउँहरूले आ–आफ्नै किसिमले पर्व मनाउँछन्। 
पाँच दिनसम्म धार्मिक पुस्तक (ह्युम पाठ) गरेपछि पर्व सुरु हुन्छ। बौद्ध धर्मग्रन्थअनुसार गुरु रिम्पोछेद्वारा स्थापना गरेका तान्त्रिक नृत्यद्वारा राक्षसमाथि विजय प्राप्त गरेको खुशीयालीमा उत्सव मनाउने चलन बसेको हो। हेलम्बुबासीले यो वर्ष पनि छेच्यु पूजा गरेर विनाशकारी महाप्रलय, रोग व्याधि र द्वन्द्वबाट बच्ने कामना गरे। त्यस्तै लोभ, इर्ष्या र क्रोध निवारण, विश्व शान्ति र मानव मुक्तिको कामना गर्दै धार्मिक विधि विधानअनुसार भूतप्रेत मन्छाए।


विशेष किसिमका पूजा विधि गर्दै देवीदेवताका प्रतीकका रुपमा मुकुण्डो लगाएर लामाहरू नाचे। गाउँलेले पनि लामालाई साथ दिँदै परम्परागत भेषभुषामा महिला र पुरुष अलग्गै हात समाएर गोलाकार भएर स्याब्रुमा झुमिरहे। 

बाजाको तालमा लामाहरूले मुकुण्डो नाच नाच्दा र स्थानीय स्याब्रुमा झुम्दा हामी पनि रङ्गियौँ। बलुकी सहयात्री पर्यटनकर्मी गगन र म पनि केही बेर गाउँलेसँगै स्याब्रु नाचमा झुम्यौँ। लामाले अभिषेक तथा अमृत जल वितरण गर्दै आशीर्वाद दिए। आगामी वर्षभरि सुख, शान्ति तथा समृद्धिको कामना गरे। छेच्यु पर्व समापन गरियो।

प्रत्येक वर्ष छेच्यु पर्वमा सबै गाउँलेलाई खाना प्रायोजन गर्ने चलन छ। यसपालि शेर्माथाङमा दावा लामा र छिरिङ लामाले ३४ वर्ष पछि प्रायोजन गर्ने मौका पाए। उनीहरूले मन खोलेर खर्च गरे। 

रि–ब्राण्डिङ हेलम्बु

एक सातालामो पदयात्राका लागि हेलम्बु क्षेत्र विदेशीमाझ लोकप्रिय छ। २०७२ सालको महाविनाशकारी भूकम्पले यस क्षेत्रका गाउँ नै तहसनहस बनायो। 

ह्योल्मो आदिवासीको विशिष्ट शैलीका परम्परागत ‘म्हेर्च्या कुमा’ घर पूर्ण रुपमा क्षति भए। यहाँका कलात्मक सिर्जना बचाईराख्न ‘म्हेर्च्या कुमा’ नमूना घर निर्माण गरेर ह्योल्मो सङ्ग्रहालय तथा पर्यटन सूचना केन्द्र बनाउने योजना अघि सारिएको सिन्धु पर्यटन परिषद्का कोषाध्यक्ष टासी दोङबा ह्योल्मोले जानकारी गराए।

हेलम्बु क्षेत्रको धार्मिक, साँस्कृतिक सम्पदा तथा समाजिक संस्कार संरक्षणमार्फत् दिगो पर्यटन विकासमा सहयोग पुग्ने उनको विश्वास छ। 

भूकम्पले क्षतविक्षत गाउँ अझै उठ्न सकेका छैनन्। पुराना मौलिक शैलीका घर भएका ठाउँमा आधुनिक छड–सिमेण्टका घर ठडिएका छन्। चर्किएका कलात्मक गुम्बाहरू पुनर्निर्माणकै पखाइमा छन्।

 भूकम्पपछि बिस्तारै उठ्न थालेको पर्यटन क्षेत्र एक वर्षअघि संसारभरि फैलिएको कोरोना महामारीले पुन: थलियो। अचेल विदेशी पर्यटकको अवस्था शून्यमा झरेको छ। होटेल तथा होमस्टे सुनसान छन्। दोर्जे लज, सेरमाथाङका सञ्चालक  निमा डोल्मा ह्योल्मोले भूकम्पपछि ६ महिनासम्म पालमै बिताउनुपरेको सुनाइन्। बिस्तारै आन्तरिक र विदेशी पर्यटकको आगमन सुरु हुँदै थियो, कोरोना संक्रमणले एक वर्षदेखि विदेशी पर्यटक शून्यमा झरेको छ। 

हेलम्बु क्षेत्र आन्तरिक पर्यटकको पनि उत्तिकै सम्भावना बोकेको गन्तब्य हो। स्नोफल माउन्टेन रिसोर्टका डाइरेक्टर पूर्ण लामाले अशावादी हुँदै सुनाए, 'केही दिनअघि मात्रै काठमाडौंका कुलीन वर्गका पर्यटकहरु सेरमाथाङ आए र आमा याङ्ग्री चढेर फर्के।'     

हेलम्बुको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्वलाई प्रबर्द्धन गर्नुका साथै ठप्प भएको पर्यटनलाई पुनर्जीवन दिन हेलम्बुको 'रि–ब्राण्डिङ' गर्नु आवश्यक छ। यस काममा सिन्धु पर्यटन परिषद्की अध्यक्ष माया गुरुङ, महासचिव मिलन तामाङ र कोषाध्यक्ष टासीसहितको टोली क्रियाशील छ।  'रि–ब्राण्डिङ' अभियानमा जुटेका सिन्धु पर्यटन परिषद्लाई शुभकामना ! 

यहाँका सुन्दर ह्योल्मो संस्कृतिसँगै छेच्यु पर्व र अन्य पर्वलाई प्याकेजिङ गरेर बजारीकरण, प्रबर्द्धन र प्रचार गर्न अविलम्ब कदम चाल्नुपर्छ। यहाँका सुन्दर बस्ती, अर्गानिक खाना र ह्योल्मो संस्कृति प्रबर्द्धन गर्न सकिन्छ। 
अब हेलम्बुले आन्तिरक पर्यटकलाई डाक्नुपर्छ। गाउँबाट तीन–चार घण्टाको पदयात्रामा पुगिने इष्ट देवता आमा याङ्ग्री (३७४१ मिटर) दर्शन गर्न नेपाली मात्र होइन, विदेशी पनि लालायित हुनेछन्।

धार्मिक आस्थासँगै हिमाली सौन्दर्यले लठ्ठ बनाउनेछ। यसको पूर्वाधार विकास र प्रवर्द्धन गर्न स्थानीय र प्रदेश सरकारले सहयोग पुर्‍याउनुपर्छ। अन्य पर्यटन संघ–संस्थासँगै ट्राभल एजेन्सीहरुले हातेमालो गर्न सके हेलम्बुको पर्यटन छिट्टै लयमा फर्किन गाह्रो छैन। 
हेलम्बुलाई साहसिक पर्यटन गन्तव्यका रुपमा चिनाउन एभरेष्ट म्याराथन विजेता छिरिङ लामा ह्योल्मोले यसअघि म्याराथन आयोजना गराउँदै आएका थिए। यसपल्ट पनि छेच्यु पर्वको उत्सवमा ' हेलम्बु ५ किमी दौड' आयोजना गरेर हेलम्बुको प्रबर्द्धन गर्न सहयोग पुर्‍याएको छ।  स्थानीय तहबाट यस्तै गतिविधि भइरहनुपर्छ।

अन्त्यमा, महत्वपूर्ण छेच्यु पर्वमा भाग लिने अवसर जुटाइदिएकामा सिन्धु पर्यटन परिषद्लाई आभार। आयोजक हेलम्बु गाउँपालिका ह्योल्मो सेर्माथाङ, ताहोङसा, ङार्कु गाउँ र सांङाग फिन्चोक उर्गे छ्योलिङ गुम्बा सेर्माथाङलाई धन्यवाद। 

मीठो आतिथ्यताका लागि सम्पूर्ण सेर्माथाङबासीलाई थुचे (धन्यवाद) !

कसरी पुग्नेः काठमाडौं जोरपाटीदेखि साँखु, जहरसिंपौवा , मेलेम्ची हुँदै सेरमाथाङ करिब ६२ किमी गाडीमा ३.५ घण्टा लाग्छ। त्यस्तै ट्रेकिङ गर्दा सुन्दरीजल- चिसापानी- कुटुमसाङ-थारेपाटी- तार्केघ्याङ- सेर्माथाङ पदयात्राबाट पनि पुग्न सकिन्छ।


 

प्रकाशित मिति: : 2021-03-06 14:10:00

प्रतिकृया दिनुहोस्

    राम्रो खोज तथा लेख

    • 3 बर्ष अगाडि
    • चित्र गुरुङ