अन्तर्वार्ता

पहिलेका गीतमा जीवन हुन्थ्यो, अहिलेका गीत त लहर र रहरमा बन्ने गरेका छन्: प्रेमदेव

हेमन्त विवश

काठमाडौँ
Break n Links
Break n Links

वरिष्ठ मादल वादकको रुपमा चिनिने प्रेमदेव गिरी बहुप्रतिभाका धनी मानिन्छन्। उमेरले सात दसक पार गरिसकेका उनी विद्यालयमा बालबालिका माझ रमाइरहेका हुन्छन्।

सादा जीवन, उच्च विचारका धनी प्रेमदेवको जिन्दगी नै एक पाठाशाला हो। एक सुन्दर रङ्गमञ्च हो। अझैं भन्नुपर्दा अनुकरणीय जीवन बाँचिरहेका उनको जीवनको कथा नै उपयोगी समाजकालागि अर्थपूर्ण बनिदिन्छ। वाध्यवादन, रंगमञ्च, शिक्षणका साथ–साथै मध्य तथा सुदूरपश्चिमको गीतसंगीतमा उनको अतुलनीय योगदान रहेको छ। 

नाटक अभिनय, बाद्यवादन र लोकगीत संकलनमा छुट्टै पहिचान बनाएका छन् उनले। लोभलाग्दो र कलात्मक ढंगले जीवन जीउन सिकेका बहुप्रतिभाका धनी उनी एक अपवाद पनि हुन्। जसले जीवनमा न कुनै किसिमको महत्वाकांक्षा पाले नत मनमा पलायो रतिभर घमण्ड नै। न आत्मश्लाघा छ, न छ कुनै ग्लानी।

गीतसंगीतका क्षेत्रमा अथक यात्री बनेर यात्रारत प्रेमदेव लोक वाङ्मयका क्षेत्रमा सुवास छरिरहेका छन्। गाउँ, समाज र राष्ट्रमा आफ्नो नामलाई सार्थक तुल्याएका छन्। तिनै साधकसँग गरिएको कुराकानीको सानो अंश यहाँ प्रस्तुत छ।             

पछिल्लो समय दिनचर्या कसरी चलिरहेको छ?

केही छैन। कतै कार्यक्रममा बोलाएमा जान्छु, नत्र विद्यालयमा केटाकेटीहरूसँगै रमाइरहेको छु। ३४ वर्ष भयो केटाकेटीहरू माझ रमाउँदै गरेको। छोराछोरी पढाइयो। नातिनातिना पढाइयो।

अहिले पनाती स्कुल जान्छे ऊ सँगै खेल्दै छु। बृद्ध र बालकसँग समय ब्यतित गर्नुमा पनि छुट्टै आनन्द हुँदोरहेछ।  

प्रेमदेव गिरी के हो जस्तो लाग्छ?

प्रेमदेव गिरी संज्ञा हो, नाम हो। यसरी नै बुझने गरेको छु।   

आफैले आफैलाई सम्झिनु पर्दा?

यै त हो। संसार हेरेर हामी मध्येको म पनि हुँ भन्ने लाग्छ। म मध्येको सबै त होइनन्। सबै मध्येको म हुँ जस्तो लाग्छ।  

पुराना दिनहरू कतिका घुम्छन् सम्झनामा?

घुम्छन् नि। त्यो त भैहाल्छ। याद नआउने भन्ने त कुरा हुँदैन। बालकबाट किशोर युवा भयौँ। अहिले झण्डै बृध्दावस्थामा पुगियो। भूगोल उस्तै जहाँको त्यहीँ नै छ। एउटा समय क्रममा समाज निर्माणमा परिवर्तन आएको हो।

विगतमा बुबा बाजेका दिनहरू सम्झिदा लाग्छ कहाँ थियौं क्रमश कहाँ पुगियो। यस्तै रहेछ। समय आफ्नो गतिमा हिँड्दो रहेछ। समयसँगै सबै कुरा हिँड्दो रहेछ। परिवर्तन पनि यस्तै रहेछ भन्ने खालको सोच पैदा भैदिन्छ।

आफ्ना पनि छोराछोरी नाति पनातिसम्म भैसके। यो एउटा क्रम रहेछ। पछाडि सम्झिदा अगाडी हेर्‍यो भने आफू उही पछाडी। संसारमा जसरी सबैले भोग गरे र गए त्यहीँ क्रममा  म पनि रहेछु भनेर क्रमकै क्रममा आफूलाई राखेर सम्झिदा त्यति खासै आश्चर्य केही लाग्दैन।

तर, केही परिवर्तन देख्दाखेरी भने यसरी परिवर्तन हुँने रहेछ भन्ने खालको एउटा आभाष पनि हुन्छ। यस्तै त हो। यहाँको संकलनमा थुप्रै गीत रेकर्ड भएका छन्। त्यसमा पनि कतिपय त निकै चर्चित पनि छन्।

यो क्षेत्रमा लम्किन को बाट कसरी प्रेरणा पाउनु भयो?

यो पनि एउटा रुचि हुँदो रहेछ। १५ वर्षकै उमेरमा मैले रंगमञ्चमा टेक्न पाएँ। त्यो उमेरसम्म आइपुग्दा एक जना मेरो भाइसहित हामी दुईचार जना विशेष गरी मादल बजाउनमा र नाच्नमा अग्रसर हुन्थ्यौं। कतै रामरमिता हुँदा सकि भैहाल्थ्यौं।

स्कुलमा पनि यिनीहरू गीत गाउँछन् नाच्छन् भन्ने थाहा हुन थाल्यो। त्यसपछि स्कुलमा हुने बिभिन्न कार्यक्रमहरूमा भाग लिन थाल्यौं। अलिअलि कोशिश गर्दै जाँदा ल यिनीहरूले गर्छन् भन्ने सरहरूमा पर्न थाल्यो। हामीभित्र हौसला बढ्दै गयो। 

गाउँघरतिर दसैं तिहारलगायतका चाडपर्वहरू त छँदै थिए। अलिपछि आएर विशेष कार्यक्रममा नाटक प्रस्तुत गर्ने परम्परा चल्यो। सुर्खेततिर त २००० सालतिरै नाटकको प्रचलन आइसकेको थियो दस पन्ध्र वर्ष पछि हामी कहाँ पनि यो प्रचलन सुरु भयो।

गाउँघरतिरका मेला चाडपर्वहरूले आकर्षित तुल्याएको हो। सुरुमा गाउँघरतिर नाच्ने गाउने मानिसलाई जाती विशेषको हिसावले संज्ञा दिन्थे। बिस्तारै त्यो अवस्था सामान्यिकरण हुँदै गयो।

समाजको हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन थाल्यो। गाउँघरतिर समूह एक प्रकारको समूह बन्यो। हामी समूहमा पर्‍यौं र अघि बढ्यौं।

मध्य तथा सुदूरपश्चिमको लोकगीत अझ भनौं डेउडा गीतलाई मूलधारमा पुर्‍याउनमा यहाँको पनि ठूलै योगदान रहेको छ, पछिल्लो अवस्थामा केही सर्जकले मपाइत्वका साथै फाइफुट्टी लगाइरहेका छन् तर यहाँ सधैं मौन देखिनु हुन्छ किन?

कुरो के हुन्छ भने खोलामा भल आउँदा पानी धमिलो हुन्छ। उपद्रो मच्चाउँछ। गन्तब्यमा पुगेपछि छुट्टै हुन्छ। सागर कहिल्यै धमिलिन्न। यो सबै कुरा सोचमा भर पर्छ। मैले नि पछिल्लो अवस्था देखिराछु। कोही आफैं मूर्ख बनिराछ भने उसँग त्यो बिषयमा बहश गरी महामूर्ख बन्नु बेकार हो।

मैले भन्ने गरेकै छु हाम्रा लोकगीतहरू सामाजिक सम्पदा हुन्। समाजमा आ–आफ्नो हिसाबले सबैको योगदान छ। सबैले सबै क्षेत्रमा गरेकै छन्। यहाँ बुझ्नु पर्ने के छ भने पाठक बिनाको साहित्य, श्रोता बिनाको गीतसंगीत जनताबिनाका नेताको के काम। 

यहाँ त पछिल्लो समयमा मान्छेले मभित्र हामी भन्न थाले। म नै संसार हुँ ठान्न थाले। हामी मध्येको म हुँ भन्ने बिर्षे।

आज यो जमाना आयो तापनि विगतमा पनि कथाका माध्यमबाट, गीतका माध्यमबाट कागज नहुँदा भोजपत्रमा लेखेर पनि त पुस्ताहस्तान्तरण भएकै हो। हिजोआज मैले गरे भन्ने धेरै निस्केका छन्।

त्यसो भन्नु उहाँहरूको अपरिपक्वता हो। एउटा केही गर्नु भएको होला। सबै मैले नै गरे मैले नगरेको भए आकाश नै थामिन्न्थ्यो भनेजस्तो गर्नु हुटिट्याउ कराएजस्तो हो।

भन्न दिनु न, भन्नेले कति आत्मविश्वासले भन्यो भन्ने पनि हो। कस्तो संस्कारमा हुर्केको स्रष्टा हो भन्ने पनि हो जस्तो गाउँको मुखियाले हैकम जमाएर मेरो गाउँ भन्छ। त्यसै गाउँमा बस्ने एउटा सामान्य मान्छेले हैकमजन्य बोलि निकाल्दैन।

उसले हाम्रो गाउँ भन्छ। उसलाई सरसल्लाह र मदद्दत चाहिन्छ। यहाँ हैकम जमाउन खोजेर पटकपटक विवादमा आउनेहरूलाई मैले नि हेरिरहेको छु।

मध्य तथा सुदूरपश्चिमको गीतसंगीतमा अग्रज स्रष्टाहरू महाशंकर देबकोटा, प्रेमप्रकाश मल्ल, परिमल स्नेहीहरूको ठुलो योगदान रहेको छ। उहाँहरूले मैले गरे भनेको कहिल्यै सुनिनँ। असली स्रष्टा त्यही हो जो मैले मात्र गरेँ भन्दैन।

त्यसैले यो सोचको कुरा हो। सामाजिक कार्यमा मैले मात्र गरेँ भन्ने आलाकाँचाहरूसँग डिसकस त के तिनका बारेमा टिप्पणी गर्न समेत मन लाग्दैन।

पहिले अहिलेका गीतमा के फरक पाउनु हुन्छ?

पहिले सकेसम्म गीत कनिकुथी बनाउने चलन थिएन। चालिस–पचासको दसकमा गाइने गीत जीवन उपयोगी हुन्थे। ती गीतमा जीवन हुन्थ्यो।

खानमा आउनेदेखि उपमा र उपमेयले अनुमोदित भैसकेका शब्दहरू हुन्थे। प्रतिकात्मक कुरा हुन्थ्यो। अलिकति बुझ्ने काम श्रोतालाई छोडिन्थ्यो। पचासको दसकपछि जीवनबाट फड्को मोर जवानीमा गए।

जीवनपद्धतीका भए। प्रतिकात्मक हिसाबले मिठासपूर्ण ढंगले शिष्टसँग चयन हुनुपर्ने शब्दहरू बैज्ञानिकीकरण गर्दा ठाडठाडो भए। पहिले संख्यात्मक रुपमा कमै भए पनि गुणात्मककताले पूर्ण थिए।

अहिले गीतको संख्या निकै बढेको छ तर, गुणको नाश भएको छ। अहिलेका गीतहरू लहर र रहरमा आउन थालेका छन्। मायापिर्तीका गीत बढी आइरहेका छन्। मायापिर्ति पनि हुनु पर्छ। पहिलो माया जन्मभूमिलाई, समाजलाई हो नि त। त्यसपछि मात्र एक कुनामा मायापिर्ती हुनु पर्ने हो।

सबैलाई भैसकेपछि एक कुनामा हुन्थे मायापिर्तीका गीत। संसारभित्रै मायापिर्ती हुनु पर्नेमा यहाँ त माया पिर्ति भित्रै संसार छ कि भन्ने खालका आउन थाले। अरु त ठिकै छ। 

मायापिर्तीकै पनि त्यतिखेरका अहिलेकामा गीत त त्यतिखेर पनि थिए नि?

मैले भने नि प्रतिकात्मक हुन्थे। बाज, साई, मैना चमेली, सुवा जस्ता प्रतिकात्मक शब्दहरूको चयन हुन्थ्यो। अहिले त तँ काली म गोरो। उ कालो, ऊ मोटी ऊ यस्तो के के हो। प्रतिकात्मक शब्द हराए। जस्तो एउटा गीत म भनुँ 

अहिलेको: कताबाट आइछे यो काली 
झ्वाँट्टै भेट भो बाटैमा यो पालि 
केटा पक्ष केटी पक्ष भेट हुँदा यही गीतलाई पहिले यसरी भन्थे। 
पहिलेको: कतिका उकाला लागे परालैका बिटा 
काँबाट याँ पर्न आए सुनचाँदीका छिटा

गीतमा एकअर्कालाई गर्ने सम्बोधनमा पनि प्रयोग हुने शिष्ट शब्द हराए। अनिष्ट शब्द त अहिले पनि छैनन्। गाली त गरेका छैनन्। गाली नगरे पनि अहिलेका शब्दले खासै छुदैन। 

आफ्नो संकलनको गीत पहिलो पटक मिडियामा बज्दा कस्तो अनुभव भएको थियो? 

२०२९ सालमा राष्ट्रिय नाचघरमा जागिरे जीवन सुरु भयो। २०३१ सालमा राज्याभिषेकको बेला चलचित्र संस्थानले तीन चार वटा डकुमेन्ट्रि बनाउने भयो। जहाँ होली, तामाङ सेलो, धिमे नाच र सिङारु गीत राख्ने कुरा भयो।

सिङारु गीत मैले नै संकलन गरेर दिएँ। गीत रेडियो नेपालमा रेकर्ड भयो। जसमा स्वर दिनुभयो गणेश रसिक, हिरण्ये भोजपुरे, नबिन किसोर राई र कमला श्रेष्ठले। उक्त गीतमा बजाउन म आफैं बसेँ। पछि पर्दामा हेर्दा र सुन्दा नौलो अनुभव भयो। 

तपाईंले रेडियोमा गीत रेकर्ड गर्दाको डेउडा गीतको अवस्था के कस्तो थियो? 

महाशंकर देवकोटा, परिमलस्नेही लगायतका हातका औंलामा गनिने गायकगायिका गीत रेकर्ड भएका थिए। संख्यात्मक रुपमा पनि निकै कम गीत रेकर्ड भएका थिए। डेउडा गीतलाई गीत नै हैन भने जस्तो गरिदिन्थे।

एकदिन गणेश रसिकदाईसँग भनेँ, दाइ मादल नबजेका कारण यिनले डेउडा गीतलाई गीत नमानेका हुन्। ताल छदै छ। त्यो तालमा मादल बजाऔं। लय नमारौं। यसरी शब्दमा केही नेपालीकरण गरेर डेउडा गीतको लय बचाउने हेतुले समेत काम गरियो।

मेरो संकलनको छ्याम्म छ्याम्म बोलको पहिलो डेउडा गीत २०३२ मा रेडियो नेपालमा रेकर्ड भएको हो। जसमा हिरण्ये भोजपुरे, कविता आले, गणेश रसिक र उर्मिला श्रेष्ठको स्वर रहेको छ।

त्यसपछि कुमार बस्नेत दाइको स्वरमा गलबन्दीमा रातो धागो बोलको गीत पनि रेकर्ड भयो। यसरी चालिसको दसक सम्म आइपुग्दा थुप्रै गीत रेकर्ड गराउने अवसर पाएँ। त्यतिबेला डेउडा गीत रेकर्ड गर्न मान्दैन थिए। त्यो समयमा भाषाभाषीका गीत पनि थिएनन्।

रत्न रेकर्डिङ संस्थानले उत्कृष्ट गायकगायिकाहरूलाई वर्षभरिमा ४ वटा गीत रेकर्ड गर्ने अवसर दिन्थ्यो। काठमाडौंमा रेकर्ड भएको गीत डिस रेकर्डका लागि जापान पठाइन्थ्यो। झण्डै ६ महिनापछि डिस रेकर्ड भएर आउँथ्यो। त्यसलाई रत्न रेकर्डिङ संस्थानले जहाँका रेडियोमा नेपाली कार्यक्रम प्रसारण हुन्थे त्यहाँ पठाउँथ्यो। जस्तै खर्साङ, सिलाङ, अलइन्डिया, चाइना आदि। र रेडियो नेपालले पनि प्रसारण गथ्र्यो। 

त्यतिखेरको अवस्था र संघर्षको कथा लामो छ। पहिलोपल्ट रेकर्ड भएको त्यही छ्याम्मछ्याम्मबोलको डेउडा गीतलाई हुबहु गाउनेदेखि झ्याम्म झ्याम्म गरेर गाउनेहरू पनि देखिए। २०२९ सालदेखि २०४१ सालसम्म राष्ट्रिय नाचघरमा काम गर्दा देखि २०४३ देख २०४५ सम्म रेडियो नेपालमा काम गर्दासम्म थुप्रै गायक गायिकाहरूसँग परिचय भयो। डेउडा गीतकै क्रममा पनि को कतिखेर देखापरेका हुन् भन्ने धेरै कुरा राम्रै सँग थाहा छ।

अहिले त आफूलाई बहुतै पुरानो गायक हुँ भनेर झुटको खेती गर्नेहरू पनि देखापरेका छन्। खै के भनौं र। कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धी। 

अबको योजना के छ? 

अर्काको योजनामा परिसकेँ। ५० वर्ष सम्म हो योजना बनाउने। ७१ म टेकिसकेँ अब के योजना बनाउनु र। तर, पनि संकलक हुनुको नाताले केही संकलन गरेका र केही अनुभव बटुलेका कुरालाई बाहिर ल्याउकी जस्तो लागेको छ। 

प्रकाशित मिति: : 2025-01-08 19:00:00

प्रतिकृया दिनुहोस्