थारु, माघ र मटाँवा

Break n Links
Break n Links

पश्चिम नेपालका थारु समुदाय यतिबेला माघीमय भएका छन्। थारु समुदायमा माघ अर्थात् माघी विशेष र ठूलो पर्व हो। गाउँघरमा यो पर्वको पारिवारिक अनि सामुदायिक रौनकसँगै मेला महोत्सवहरू पनि हुन्छन्। अझ माघीको महत्व थारु समुदायमा ‘अगुवा’को हुन्छ। जहाँ पुस्तौंदेखिको परम्परा कायम छ। थारुहरूले माघलाई नयाँ वर्षका रुपमा पनि लिन्छन्। 

गाउँमा मुख्य व्यक्ति (मटाँवा, बरघर, भलमन्सा, ककन्डर्‍वा) चयन गर्ने र बितेको वर्षको कामको समीक्षा गर्ने, आगामी वर्षको नयाँ कार्ययोजना बनाउने लगायत थारु समुदाय माघको माघी डेवानीमा गर्ने गर्दछन्। 

यो पनि पढ्नुहाेस्– 

थारु समुदायले एक सातासम्म धुमधाम, उल्लास र नाचगान गरेर माघ मनाउन गरेको मटाँवा, बरघर महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउँछन्। उनका अनुसार माघ आउनु भन्दा दुई साता अगाडिदेखि नै थारु समुदाय माघको तयारी जुटने गर्दछन्। माघको लागि जंगलमा गई दाउरा ल्याउने, पात टिप्ने, घर आँगन पोत्ने, दुना टपरी लगाउने, मासुको लागि सुङ्गुर बङ्गुर खोज्ने, माछा मार्ने, घोङ्घी खोज्ने, ढिक्री बनाउका लागि पीठो बनाउने, रोटी पकाउन तेलको जोहो गर्नेजस्ता तयारी गर्ने गरेको उनले बताए। यस्तै माघमा नाच्नको लागि चाहिने सामग्री मादल, मन्जौरा, नाच्ने ड्रेस लेहङ्गा लगायतका तयारी पनि गरिने गरेको उनी बताउँछन्। 

यसरी तयारी सम्पूर्ण तयारी गरिसकेपछि माघ १ गतेको दिन बिहानै नजिकै खोलामा गई नुहाइधुवाई गर्छन्। नुहाउन अर्थात स्नान गर्न जाँदा ढुम्रु गीत अनिवार्य गाउने चलन रहेको महासंघका अध्यक्ष चौधरीले बताए। स्नान गरेर  फर्किसेकपछि घरको बैठक कोठामा राखिएको मास, चामल, नुनलाई ३-३ पटक निकालेर अर्को टपरीमा राख्ने गरिन्छ। जसलाई थारु भाषामा निस्राउ कहर्ना भनिन्छ। जुन निस्राउ आफ्ना चेलिवेटीलाई अग्रासनको रुपमा दिइने गरिन्छ। 

‘घरमा खानपिन र छलफल गरिसकेपछि मटावाको घरमा माघी डेवानी हुन्छ’, उनले भने ‘गाउँका गरधुर्‍याहरु महटवाको घरमा जुट्छन्, गरधुर्‍याहहरू जुटिसकेपछि गाउँको सामाजिका, साँस्कृतिक देखि विकासका कामको समीक्षा र आगामी वर्षको लागि वार्षिक कार्ययोजना समेत बनाउने काम हुन्छ र सँगसँगै गाउँको अगुवा (मटावा, बरघर, भल्मन्सा) चयन गर्ने गर्दछौं।’ 

यसरी माघी डेवानीसँगसँगै माघ १ गतेदेखि एक सातासम्म माघ मान्ने र मघौटा नाच नाच्चे गरिन्छ। माघको १ गतेदेखि ७ गतेसम्म थारु बस्तिमा युवा, युवती, महिला, पुरुष, जेष्टनागरिक देखि केटाकेटीको छुट्टा-छुट्टै आ-आफ्नो समूह बनाएर घर-घरमा पुगेर मघौटा नाच नाच्ने गरिन्छ। 

यसरी गरिन्छ मटावाँ चयन

गाउँ विकासदेखि सामाजिक कामको अगुवाई गर्ने व्यक्तिलाई थारु समुदायले मटाँवा-बरघर-भलमन्सा भन्ने गर्दछन्। यी तिनै शब्दको अर्थ हो, गाउँको अगुवा। दाङ–बाँकेमा मटाँवा भन्छन् भने बर्दिया-कैलालीमा बरघर र कञ्चनपुरमा भलमन्सा। 

मटाँवा-बरघर-भलमन्साको हरेक माघमा नेतृत्व चयन गर्ने गरेको मटाँवा, बरघर, भलमन्सा महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए। उनका अनुसार माघी डेवानीमा मटाँवा, बरघर, भलमन्सा घरमा गाउँका प्रत्यक घरका घरमुली (गरढुर्‍या)हरू जम्मा हुन्छन्। ‘सोही क्रममा गाउँका विकास कार्यदेखि पूजापाठ कसरी गर्ने, कुन ठाउँमा के बनाउने, कहाँसम्म बाटो लैजाने, कहाँ मर्मत गर्ने, आर्थिक स्रोत कहाँबाट जुटाउने आदि विषयमा व्यापक छलफल हुन्छ। यी छलफल सकेपछि एक वर्षका लागि गाउँ चलाउने नेतृत्व कसलाई दिने भन्ने टुङ्गो लगाइन्छ। सकेसम्म सर्वसम्मतिमा र नभए लोकतान्त्रिक अभ्यासबाट निर्वाचन गरी नयाँ मटाँवा चयन गर्ने गरिन्छ।’

उनका अनुसार, मटाँवालाई सघाउन अन्य दुई व्यक्ति ‘अघवा’ र ‘चौकिडर्‍वा’ पनि छानिन्छन्। मटाँवाको नेतृत्वमा कचहरी बस्नुअघि प्रत्येक घरमूली अर्थात् ‘गरढुर्‍या’ लाई खबर गर्ने, गाउँमा नयाँ योजना आउँदा गाउँलेलाई जानकारी दिने काम अघवाको हुन्छ। त्यस्तै, बाटो, कुलो बनाउनुपरे, बाँध बाँध्नुपरे गरढुर्‍याहरूलाई काम लगाउने जिम्मा पनि उसैको हुन्छ। चौकीदारले चाहिं गाउँदेखि अन्नबालीसम्म रेखदेख गर्नुपर्ने जिम्मेवारी रहन्छ। 

कानूनी मान्यता

पछिल्लो समयमा थारु बाहुल्य रहेका स्थानीय सरकारले मटाँवा–बरघर–भलमन्सालाई कानुनी मान्यता दिन थालेका छन्। लुम्बिनीको बर्दिया र सुदूरपश्चिमका केही स्थानीय तहले मटाँवा (बडघर–भल्मन्सा) प्रथालाई कानूनी मान्यता दिएका छन्। बर्दियाको बारबर्दिया नगरपालिकाले ऐनमै व्यवस्था गरी ‘थारू समुदायको प्रथाजनित संगठनको क्षेत्राधिकार सम्बन्धित गाउँमा रहने’ गरी बरघरको कार्यक्षेत्र तोकिदिएको छ। परम्परागत बरघर प्रथालाई सबैभन्दा पहिला मान्यता दिने बर्दियाको बारबर्दिया नगरपालिका हो। 

दाङका लमही नगरपालिका, दंगीशरण गाउँपालिका सहित बर्दिया, कैलाली र कन्चनपुरको १२स्थानीय तहले मटावाँ, बरघर प्रथालाई कानूनी मान्यताका लागि कार्यविधि बनाएका छन्। त्यस्तै अरु पालिकाहरू पनि यो दिशामा अघि बढेका छन्। 

यो पनि–

माघ: थारुले बाँचिरहेको एउटा ‘आदिम’ सभ्यता

थारु लोक-भागवत पुराणको अंश हो ‘सख्या’

प्रकाशित मिति: : 2025-01-14 17:45:00

प्रतिकृया दिनुहोस्