दाङ जिल्ला थारु समुदायको उद्गम थलो हो। दाङमा थारु समुदायका राजा दंगीशरणले राज्य गरेकाले पनि यस जिल्लालाई थारु समुदायको उद्गम थलोको रुपमा लिइन्छ।
दाङ यसै पनि तराई भूभाग हो। तराईमा चारकाशे झाडी फाँडेर जमिन उर्वर बनाउनेहरुमा थारु समुदायलाई मानिन्छ। आदिवासी जनजाति समुदायका थारु जातिका आफ्नै मौलिक परम्परा छन्।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा विशेष गरी थारु समुदायको बाहुल्यता रहेको छ। तर पछिल्लो समय थारु समुदायका संस्कृतिहरु लोप हुने चिन्तामा छन् थारु अगुवाहरु। अहिलेका युवाहरुले थारु भाषासमेत बिर्संदै जान थालेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने थारु अगुवाहरु बताउँछन्।
यस्तै चिन्तामा छन् थारु भाषा, संस्कृति सम्बन्धी जानकार बेझलाल थारु पनि। घोराही-१७ सौडियार बस्ने बेझलाले ०४४ सालमा थारु भाषाको लोकगीतको किताबसमेत प्रकाशन गरेका छन्।
जुन समयमा उनले थारु भाषाको उक्त किताब प्रकाशन गर्न खोज्दा धम्कीसमेत खेप्नु परेको थियो। आज उनै बेझलालसँग बिएल नेपाली सेवाले थारु समुदाय र माघीका बीचमा रहेको सम्बन्ध के हो? पहिले थारु समुदायले मनाउने माघी र अहिले मनाउने माघीमा के फरक हुँदै गएको हो? किन बिर्संदै छन् नयाँ युवाले थारु संस्कृति ? आदि विषयमा कुराकानी गरेकाे छ।
प्रस्तुत छ थारु भाषा, संस्कृतिका जानकार, थारु अगुवा बेझलाल थारुसँग गरिएको कुराकानीको संपादित अंशः
पुसको अन्तिम र माघको अन्तिममा चिसो हुन्छ। त्यस समयमा हामी शक्ति माग्ने गर्छौँ। त्यसलाई ‘शक्ति लहान’ भनिन्छ। माघीमा नदीमा गएर नुहाउने, अनि पैसा चढाउने गर्छौँ र शक्ति माग्ने गर्छौ। विशेष गरेर शक्ति माग्नका लागि माघि पर्व मनाउने गरिन्छ।
शक्ति मागेर घरमा आएपछि निसराउ भन्ने हुन्छ त्यसलाई छुने गर्छौँ। त्यसलाई छोएपछि निसराउ उघार्ने हुन्छ र त्यो उघारिन्छ। त्यसपछि एकले अर्कालाई ढोग दिने लिने गर्छौँ। त्यो निसराउ दिदीबहिनीलाई दिने गरिन्छ।
यो ढोग गर्नु भनेको दिदीबहिलाई शक्ति दिने भन्ने हुन्छ। मघौटा नाच पनि लहानका दिन नाच्ने गर्छौँ। यस दिन कमैया छुट्ने, लगाउने, घर फुट्ने सबै त्यसै दिन हुन्छ। यस दिनमा नयाँ काम गर्ने गर्छौँ। यस दिनलाई हामी नयाँ वर्ष पनि भन्ने गर्छौँ।
माघीमा हामी तरुल, गन्जी आदि परिकार ढिग्रीसँग खान्छौँ। माछा खाने, अनदिनको झोल खाने भन्ने हुन्छ। तर अहिलेको माघीमा पहिले जस्तो देखिँदैन। हाम्रो असली नाच हुँदैन अहिले। हामीले लुंगी लगाएर, मादल बजाएर, गहना लगार नाच्ने गर्थ्याैँ। तर अहिले यो केही छैन। मालाहरु पनि छैन, बेचिखाए।
पहिले स्कुल थिएन। कमैया लाग्ने भन्ने थियो हाम्रो समुदायमा। अहिले त पढ्ने चलन आइसक्यो। आजभोलि शिक्षा धेरै भयो। मलाई पनि शिक्षा लिन पाउनुमा खुशी लागेको छ, तर ती युवायुवतीले हाम्रो संस्कृति बचाउनमा चासो दिनुपर्ने हो, दिँदैनन्। किन हो उनीहरुलाई फुर्सद हुँदैन कि के हो।
०४४ सालमा एउटा थारु लोकगीत भन्ने किताब निकाल्यौँ। ०७७ सालमा पनि किताब निकाल्ने तयारी गरेका थियौँ। त्यो छापिने भएको छ। अब युवाहरुले ती किताब हेरेर चासो दिन्छन् कि भन्ने लागेको छ, हाम्रो संस्कृतिका बारेमा।
माघीमा दिदीबहिनीको घरमा गएर धुमधाम नाच्ने गर्छाैँ। निसाउ लगेर हामी दिदीबहिनीको घरमा जाने गर्छौँ। निसाउ लगेर दिदीबहिनीको घरमा गएपछि दिदीबहिनीले शक्ति आयो भनेर खुशी हुन्छन्। हामी माघीको दिन नाचगान गर्ने भनेको खुशीयाली मनाएको हो। अहिले राम्रो भयो, पुस्तौँपुस्ता राम्रो होस् भनेर खुशीयाली बाँड्ने काम हुन्छ र आर्शिवाद दिने हुन्छ।
हामी माघीको दिन दान गर्ने गर्छौँ। पहिले हामीले पुस महिनाभरी दाउरा खाेज्ने गर्थ्याैँ। त्यो दाउरा माइत लग्ने हुन्थ्यो। माइतमा सासु, ससुरा छन् भनेर चिसोबाट बचाउन दाउरा लग्ने प्रचलन थियो। माघीमा अन्दीको झोल बनाउने हुन्थ्यो।
हाम्रो माघीमा आर्शिवाद लिनेदिने सबैभन्दा महत्वपूर्ण छ। यो अरु समुदायले पनि सिक्नुपर्छ भन्ने लाग्छ मलाई। हाम्रो गीत पनि फरक–फरक हुन्छ। रातिमा गाउने गीत र बिहानमा गाउने गीत छन्। तर ती गीतहरु पनि नयाँ पुस्ताले बिर्सिन लागेका छन्। म सिकाउँछु, भन्छु तर उनीहरु सिक्न मान्दैनन्।
अहिलेका युवाहरुले हाम्रा धेरै थरीका गीतहरुलाई चासो दिन सकेका छैनन्। केहीले दिए पनि सबैले दिनुपर्ने थियो। मलाई चिन्ता पनि लाग्छ। हाम्रो संस्कृति, संस्कार नहराओस् भन्ने मेरो इच्छा छ। हाम्रो परम्परालाई ग्रहण गर्नुस् भन्छु म। मैले लेखेका गीतहरु छन्। ती गीतहरु हेरेर सिक्नुस् भन्छु म।
हाम्रो संस्कृति संरक्षण गर्न घोराही उपहानगरपालिका, वडा कार्यालयले सहयोग गरेको छ। सबैले हाम्रो संस्कृतिको संरक्षण गर्न चासो दिनुपर्छ।
अहिले धेरै सजिलो छ सिक्न, किताबहरु छ। तर पहिले त गाह्रो थियो। हामीलाई पहिला ०४४ सालमा किताब समेत निकाल्न दिइएन। थारुहरु पञ्चायत भन्दा जान्ने हुन्छन् भनेर होला किताब निकाल्न दिइएको थिएन। पछि थारु अगुवाहरुलाई बोलाएर ती किताब अध्ययन गर्न दिएर मात्र निकाल्न पाइएको थियो।
अन्तिममा म के भन्न चाहन्छु भने यस वर्षको माघीमा सबैले राम्रोसँग मनाउँ। कोरोनाको डर छ, भिडभाड नगरौँ। धेरै जाँडरक्सी पनि नखाउँ। जे हुन्छ, त्यसैमा रमाइलो गरौँ।