माघ: थारुले बाँचिरहेको एउटा ‘आदिम’ सभ्यता

Breaknlinks
Breaknlinks

पश्चिम तराईका थारु बाहुल्य जिल्लाहरू पुसको अन्तिम साता लगभग ‘माघमय’ हुन्छ।

गाउँदेखि सहरसम्म माघ महोत्सव तथा माघ सांस्कृतिक कार्यक्रम धमाधम भइरहेका छन्। खासगरी लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशका सुर्खेत जिल्लाका थारु बस्तीमा यतिबेला माघको अलग्गै रौनक छ।

थारुहरूको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसस्थाहरूले माघ विशेष साँस्कृतिक कार्यक्रम गर्दै आएका छन्।

थारु समुदायले माघलाई आफ्नो महान पर्व तथा नयाँ वर्षको रुपमा मनाउँछन्।

बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको नेतृत्व चयन गर्ने जस्ता महत्वपूर्ण काम माघमा गरिने भएकाले माघको विशेष महत्व रहेको थारु वुद्धजिवी तथा थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य सौगतवीर चौधरी बताउँछन्।

माघमा सामाजिक, रीति, विवाह रीत, पूजा, कुलो पैनी, नहर, ताल तलैया, पुलपुलेसा गाउँघरको बाटाघाटा बनाउने जस्ता योजनासमेत थारु समुदायले माघ डेवानीमा छलफल गर्छन्।

आर्थिक, सामाजिक, साँस्कृतिक हिसाबले महत्वपूर्ण मानिने पर्व भएकाले माघलाई सबैले चासोका साथ हेर्ने गरेको चौधरी बताउँछन्।

माघमा थारु समुदायले नाचगान, खानपिन मात्र नभएर गाउँका मटवाँ, अघवा, चौकिदारहरूको चयन गर्नेजस्ता सामाजिक काम पनि हुन्छन्।

‘माघको जति सामाजिक र सांस्कृतिक सौन्दर्य छ, त्योभन्दा धेरै स्थानीय समुदायका क्रियाकलाप, विकास र न्यायका कामसँगको सम्बन्ध पनि उत्तिकै छ’, उनले भने।

माघको तयारी

थारु समुदायले माघको तयारी पुस महिनाको पहिलो सातादेखि नै तयारीमा जुट्ने गर्दछन्।

हरेक वर्ष पुस महिनाको १२-१५ गतेदेखि नै थारु समुदाय माघको तयारीमा जुट्ने गरेको थारु अगुवा बेझलाल चौधरी बताउँछन्।

माघमा ढिक्री, रोटी, जाँड बनाउनको लागि नजिकै जंगलमा गई दाउरा ल्याउने, पात टिप्ने गर्दछन्। त्यसैगरी घरआँगन सरसफाइ गर्ने, घर पोत्ने, दुना टपरी लगाउने, मासुका लागि जोहो गर्ने, माछा मार्ने, घोङघी खोज्ने, ढिक्री, रोटी बनाउको लागि पिठो पिसाउने, तेल पेलाउने जस्ता तयारी गरिन्छ। यसरी माघमा नाच्नको लागि चाहिने आवश्यक सामाग्री मादल बनाउने, मन्जौरा खोज्ने, नाच्ने ड्रेस लेहंगाको तयारी गर्ने गरिन्छ। 
यी तयारी गर्दागर्दै माघ आइपुग्छ।

यसरी मनाइन्छ माघ

तयारी गरिसकेपछि माघको पूर्व सन्ध्यामा अर्थात पुसको अन्तिम दिनमा बेलुका खानपिन गरेर मटवाँको घरमा गाउँका अगुवाहरू जुट्छन्। सबैजना जम्मा भइसकेपछि रातभरि ढुम्रु गीत गाउने गर्दछन्।

यो गीत यस्तो हुन्छ- 
नचटी कोरटी अ‍ैल गवरी माँहा डेउ
नचटी कोरटी अ‍ैल गवरी माँहा डेउ
आइ गैल मयरी माघ संक्राटी 
नचटी कोरटी अइल गवरी माँहा डेउ
आझु हुइट मयरी माघ संकाराटी

यसरी रातभरि ढुम्रु गीत गाउँदै भोलिपल्ट अर्थात् माघ १ गते भालेको डाकोसँगै नाच्दै गाउँदै गाउँभरिका पुरुषहरू एकैसाथ गाउँ नजिकैका खोला या तालतलैयामा नुहाउन जान्छन्।

यसरी खोलामा नुहाइधुवाई गरेर घर फर्किसेकपछि घरको बैठक कोठामा राखिएको मास, चामल, नुनलाई ३-३ पटक निकालेर अर्को टपरीमा राख्ने गरिन्छ। जसलाई थारु भाषामा ‘निस्राउ कहर्ना’ भनिन्छ।

यो काम सकिएपछि आफूभन्दा ठुलाबडाहरूसँग ढोग गरेर आर्शीवाद लिने र आफूभन्दा सानालाई आर्शीवाद दिने चलन छ। घरपरिवारका सबै सदस्यहरू एउटै कोठामा बसेर ढिक्री, सुङ्गुरको मासु, तरुललगायत मीठा-मीठा परिकार खाँदै सुख दुःखका कुरा गरिन्छ। यसैगरी घरपरिवारमा वर्षभरिको लागि के-के काम गर्ने, कुन कामको जिम्मा कसले लिने भन्नेजस्ता योजनाहरू बन्छन्।

रको यो छलफलपछि गाउँका गरढुर्‍या (घरमुली) हरू मटवाँको घरमा जुट्छन्। त्यही दिन सबै गरढुर्‍याहरूले मटवाँ, अघवा तथा चौकीदार चयन गर्ने गर्दछन्। त्यहाँ जम्मा भइसकेपछि मटवाँले एक वर्षभरि भएका भएका कामको विषयमा लिखित वा अलिखित प्रतिवेदन पेश गर्छन् र सोहीअनुसार बितेको वर्षको कामका लेखाजोखा गर्ने, के कति काम सम्पन्न भयो, के-के काम गर्न बाँकी छन्, तिनको पनि समीक्षा गरिन्छ र आगामी वर्षका योजनाहरूको बारेमा पनि छलफल र तयारी हुन्छन्।

घरघरमा मघौटा नाच

माघ पर्व नाचगानको पर्व पनि हो। बालबालिकादेखि वृद्धवृद्धासम्मले आ-आफ्नो समूह बनाएर मघौटा नाच नाच्ने गर्दछन्। गाउँको कुनै पनि घर नछोडेर मघौटा नाच नाच्ने र शुभकामना आदाप्रदान गर्ने गर्दछन्। करिब एक सातासम्म थारु समुदायले माघमा उत्सवको रुपमा नाचगान गरेर मनाउँछन्।

बाबाकी सगरवा मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा
सखिए हो, टोपिया छुटल पानी घाट, सखिए हो ।
 उजरि बजार गैली हाँ सँकरि गलियावा
सखिए हो, भइगैल साँझ बिसरी गैल सेन्डुरा सखिए हो…।

यसरी गीत गाउँदै नाच्दै घर घरमा पुगेर थारु समुदायले ‘माघ’ को शुभकामना आदानप्रदान गर्ने गर्दछन्। थारु समुदायले करिब एक सातासम्म यसरी नाचगान गरेर माघ मनाउने गरेका घोराही-१७ गुलरियाका मटवाँ रामप्रसाद चौधरीले बताउँछन्।

माघमा नाचेर उठेको पैसा केही सामूहिक कार्यमा लगाउने र केही पैसाले सबैजना एक ठाउँमा भेला भएर भोज खाएर रमाइलो गर्दै माघको बिदावारी हुन्छ।

कसरी चयन गरिन्छ मटवाँ?

थारू समुदायले हरेक वर्ष माघमा मटवाँ चुन्ने गर्दछन्। मटवाँ महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार गाउँका प्रत्येक घरका मुख्य व्यक्ति अर्थात् ‘गरढुर्‍या’ मटवाँको घरमा भेला हुन्छन्।

सोही क्रममा उनीहरूले आगामी वर्षको कार्ययोजना तथा बितेको वर्षको समीक्षा पनि गर्दछन्। गाउँका हरेक विकासका कामदेखि पूजापाठ कसरी गर्ने, कुन ठाउँमा के बनाउने, कहाँसम्म बाटो लग्ने, कहाँ मर्मत गर्ने, आर्थिक स्रोत कहाँबाट ल्याउने आदि विषयमा व्यापक छलफल गर्नुका साथै आउने वर्षमा गाउँ चलाउने नेतृत्व कसलाई दिने छलफल गरिन्छ। त्यही छलफलका आधारमा सकेसम्म सर्वसहमतिबाट मटवाँ चयन गरिन्छ।

उनका अनुसार मटवाँलाई सघाउनका लागि पहिला अन्य दुई जना व्यक्ति ‘अघवा’ र ‘चौकिदार’ पनि चुन्ने गरिन्छ। मटवाँले गाउँको सामाजिक कामहरूदेखि विकासे योजनाहरूको नेतृत्व गर्छ भने अघवाले गाउँमा कचहरी, गाउँका कुला, नाला, बाटो मर्मर गर्नुपरेमा मटवाँको सरसल्लाहमा गाउँलेलाई खबर गर्ने, काममा लगाउने गर्दछन्। त्यस्तै चौकीदारको काम गाउँको सुरक्षादेखि लिएर अन्नबालीको रेखदेख गर्ने हुन्छ।

थारु गाउँमा मिनी सरकार

हरेक वर्ष माघमा थारु बस्तीमा मटवाँको नेतृत्वमा अघोषित मिनी सरकार गठन हुने गर्दछ। राजनीतिक दलहरूले सत्ता सञ्चालन गरेजस्तै थारु गाउँमा मटवाँको नेतृत्वमा मिनी सरकार गठन झल्को देख्न सकिन्छ।

‘माघ’ मा गाउँका प्रत्यक घरमुली (गरढुर्‍या) मटवाँको घरमा भेला हुन्छन्। यो सभा भनेको लगभग हाम्रो प्रतिनिधिसभाको बैठकजस्तै हुन्छ। 
मटवाँहरूले मााघमा आफ्नो घरमा गाउँको प्रत्यक घरधूरीबाट गरढुर्‍या (घरमुली) हरूलाई माघ डेवानीको लागि बैठक डाक्छन्।

‘त्यही माघ डेवानीमा बितेक वर्षको कामको समीक्षा र आगामी वर्षको कार्ययोजनासँगै मटवाँ, अघवा, चौकीदार चयन गर्छौँ’ मटवाँ महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले भने, ‘राजनीतिक दलले व्यवस्थापिका, न्यायपालिका र कार्यापालिका सञ्चालन गरेजस्तै मटवाँले थारु गाउँका न्यायिक कामदेखि सामाजिक र विकासका हरेक कामको नेतृत्व र परिचालन गर्ने गर्दछन्।’

उनका अनुसार समग्र गाउँको नेतृत्व गर्ने जिम्मेवारी मटवाँसँग हुन्छ भने अघवाको काम गाउँघरमा भइरहेको गतिविधि तथा एक ठाउँबाट अर्को ठाउँमा खबर पुर्‍याउने अर्थात सञ्चारमन्त्रीको जस्तै जिम्मेवारी हुन्छ।

त्यस्तै  चौकीदारको जिम्मेवारी गाउँको सुरक्षादेखि गाउँभरिको अन्नबालीको रेखदेख गर्ने अर्थात् गृहमन्त्रीको जस्तो जिम्मेवारी हुनेगर्छ। तर, अहिले धेरै जसो गाउँमा अघवा र चौकीदार चयन गर्ने चलन हट्दै गएको उनले बताए। अघवा र चौकीदारको काम पनि अहिले मटवाँले आफैँ गर्दै आएको उनको भनाई छ।

घट्टै मटवाँको क्रेज

थारु समुदायको मटवाँलाई महत्वपूर्ण पद मानिए पनि अहिले विस्तारै मटवाँको ‘क्रेज’ घट्दै गएको पाइन्छ। पहिला जसरी मटवाँको मानसम्मान र महत्व हुन्थ्यो, अहिले नभएको स्वंय मटवाँहरूले गुनासो गर्दै आएका छन्।

स्थानीय तहले मटवाँहरूलाई अधिकार नदिएको कारणले मटवाँहरूको क्रेज घटेको मटवाँ महासंघका अध्यक्ष चौधरी बताउँछन्।

‘पहिला गाउँको न्यायिक कामदेखि विकासको काम मटवाँले हेर्ने गर्थे, अहिले विकासको काम टोल विकासका अध्यक्ष अनि वडाध्यक्षहरूलाई दिएपछि मटवाँको महत्व घट्दै गएको छ’, उनले भने, ‘यसको अर्थ हाम्रो परम्परागत कानुन वा रितीलाई मूल कानुन, संविधानले स्वीकार गरेको छैन।’

गाउँमा हुने झैझगडाका मुद्दा होउन् वा कुनै विवाद र घरझगडा ती सबै पहिला पहिला मटवाँहरूले मिलाउँदै आउँथे। थारु समुदायमात्रै होइन, कतिपय गाउँमा मटवाँकै फैसला वा निर्णय नै अन्तिम हुन्थ्यो। तर अब स्थानीय सरकार आइसक्यो।

‘स्थानीय तहले पनि मटवाँलाई खासै महत्व दिँदैन’, उनले भने, ‘बर्दिया, कैलालीका पालिकाले मटवाँ (बडघर)लाई कानुनी मान्यता दिएका छन्, तर अरू कतिपय ठाउँमा त्यस्तो मान्यता छैन। त्यसले गर्दा पनि मटवाँहरूको खास गिरेकोजस्तो देखिएको हो।’

स्थानीय सरकारको मान्यता

थारु बाहुल्य रहेको कतिपय जिल्लाहरूमा मटवाँ प्रथालाई कानुनी मान्यता नदिए पनि बर्दिया, कैलाली र कञ्चनपुरका केही स्थानीय तहले मटवाँ (बडघर-भल्मन्सा) प्रथालाई कानुनी मान्यता दिएका छन्। मटवाँ प्रथालाई कानुनी मान्यता दिने सबैभन्दा पहिलो पालिका बर्दियाको बारबर्दिया नगरपालिका हो।

बारबर्दियाले ‘बडघर प्रणाली संरक्षण, प्रवर्द्धन र विकास गर्न बनेको ऐन, २०७७’ नगरसभाबाट पारित गरिसकेको छ। परम्परागत प्रथाको अभिलेखीकरण र संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले कानुनी मान्यता दिइएको नगरपालिकाले जनाएको छ।

यस्तै कैलालीको कैलारी गाउँपालिकाले ऐनमै व्यवस्था गरी ‘थारू समुदायको प्रथाजनित संगठनको क्षेत्राधिकार सम्बन्धित गाउँमा रहने’ गरी बडघरको कार्यक्षेत्र तोकिदिएको छ।

ऐनमा गाउँको विकास निर्माण, शान्ति सुव्यवस्था आदि कायम गर्न बडघर प्रणालीलाई अझै सशक्त बनाउनुपर्ने र स्थानीय विकासमा न्यायोचित सहभागिता र पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, सामाजिक न्याय, मेलमिलाप, सद्भाव र दिगो विकासका लागि चिरकालदेखि अभ्यासमा रहेका प्रणालीलाई कानुनी मान्यता दिई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

थारू अगुवा एवं गुर्वावा एफ.एमका निर्देशक एकराज चौधरीका अनुसार अहिलेसम्म थारू बहुल क्षेत्रका १० स्थानीय तहले मटवाँ प्रथालाई कानुनी मान्यता दिएका छन्। तिनमा बर्दियाका बाँसगढी, ठाकुरबाबा र मधुवन नगरपालिका छन्। बर्दियाकै राजापुर नगरपालिका र बढैया गाउँपालिका चाहिँ यसका लागि आवश्यक ऐन निर्माणमा जुटिरहेका छन्।

त्यस्तै, दाङको तुलसीपुर नगरपालिका, कैलालीका टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका, कञ्चनपुरका कृष्णपुर शुक्लाफाँटा र बेलौरी नगरपालिकाले पनि कानुनी मान्यता दिएका छन्। कैलाली र कञ्चनपुरका कतिपय स्थानीय सरकारहरू त्यसका लागि ऐनको तयारी गरिरहेका छन्।

हराउँदै माघको मौलिकता

जब गाउँगाउँमा ‘मघौटा’का भाका र धुन घन्किन्छन् अनि बल्ल ‘माघ’को आभाष हुन्छ। तर अब यी भाका र धुनहरू हराउन थालेका छन्। त्यसको ठाउँमा अब ‘आधुनिक’ गीत संगीतले लिएको छ।

बाबाकी सगरवा मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा
सखिए हो, टोपिया छुटल पानी घाट, सखिए हो…
उजरि बजार गैली हाँ सँकरि गलियावा
सखिए हो, भइगैल साँझ बिसरी गैल सेन्डुरा सखिए हो…
यी र यस्ता मघौटा गीत अब बिरलै सुनिन्छन्। 
अब मघौटाका स्थानमा ‘डिजे’हरू हाबी भएका छन्।

‘माघमा मात्र नभई हाम्रो हरेक पर्वमा राम्रो संस्कार, संस्कृति छ’, थारु अगुवा अशोक चौधरी भन्छन्, ‘राम्रा पक्षलाई अङ्गाल्दै पुराना पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्नेगरी पुस्ताहस्तान्तरण गर्न सकियो भने माघ मात्रै हैन, हाम्रा हरेक पर्व तथा संस्कृतिको मौलिकता जोगाउन सकिन्छ।’

प्रकाशित मिति: : 2024-01-15 08:30:00

प्रतिकृया दिनुहोस्