थारु समुदायमा दसैं

थारु लोक-भागवत पुराणको अंश हो ‘सख्या’

कानकहि पँयरिया मै जलम मैं लेहनु र।
सखि र इह रि पँयरिया रि मोर नाउँ रि रहिजा।।
सखि र इह रि पँयरिया रि मोर नाउँ रि रहिजा।।
इह लेओ महरिन रि बेटवक नाउँ र।
सखि र परि ट गैल रि कहनैयाँ बिर नाउँ।।
सखि र परि ट गैल रि कहनैयाँ बिर नाउँ।।

थारु समुदायले डस्या (दसैं)मा गाउने यी र यस्तै ‘सख्या’ गीत गुञ्जिन थाल्छन् अनि सारा समुदायमा दसैंको रौनक छाउँछ।

दसैं आउनु अघि थारू समुदायले एक साता अगाडि देखि सख्या पैयाँ नाचगान गरेर दसैंलाई स्वागत गर्ने गर्दछन्।

यस बेला थारू समुदायका अविवाहित युवती (बठिन्या) थारू मौलिक भेषभूषामा सजिएर हातमा मन्जिरा बजाउँदै एक स्वरमा सख्या गाउँछन् भने पुरुष (मन्ड¥या)ले मादल बजाएर साथ दिन्छन्। दसैं सुरु भएसँगै थारू गाउँबस्ती सख्यामय बनेका छन्। 

यो नाच र गीत विशेष गरेर लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ। करीब एक महिनासम्म नाचिने सख्या नाच महाभारत कथासँग सम्बन्धित रहेको थारू अगुवाहरू बताउँछन्। भदौमा गरिने हार्‍या-गुरै पूजा सुरू भएदेखि बडादसैंपछि एक सातासम्म सामूहिक रूपमा मादल र मन्जिराको साथमा गीत गाउँदै सख्या नाचिन्छ।

के हो सख्या?
थारू संस्कृतिविद् अशोक थारूका अनुसार सख्या थारु लोकभागवत् पुराण हो। अख्यानको आधारमा सख्यालाई लोककाव्य महागाथाको कोटीमा राख्न सकिने उनको भनाइ छ। सखियालाई थारू भाषामा सख्या भनिन्छ। साथी-साथी मिलेर नाचिने भएकाले पनि यो नाचलाई सख्या भनिएको उनको तर्क छ। यस्तै धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको सख्या नाचमा थारूका हरेक देवीदेवताका नामलाई सम्बोधन गरेर सख्या गीत गाउने गरिएको संस्कृतिविद् चन्द्रप्रसाद बताउँछन्। यस्तै सख्या गीतमा जमीनमा बस्ने सबै जीवजन्तुको नाम पनि सम्बोधन गरेर सख्या गीत गाउने गरिएको उनको भनाइ छ। 

कसरी नाचिन्छ सख्या? 

थारू संस्कृतिविद् चन्द्रप्रसाद चौधरीका अनुसार सख्या नाचको नेतृत्व मोह्रिन्या (युवतीको मुख्य व्यक्ति)ले गर्छन्। उनको सहयोगीका रूपमा पछगिन्या (दोस्रो व्यक्ति) हुने गर्छन्। यी दुवै जनाको पछि १५ देखि ४० जना बठिन्याले सघाउँछन्। गाउँ भएका लगभग सबै बठिन्याहरू सख्या नाचमा सहभागिता जनाउँछन्। जुन गाउँमा जति धेरै बठिन्या हुन्छन्, त्यही गाउँमा सख्या नाचका लागि उनीहरूको उपस्थिति बाक्लो हुन्छ।

सख्या नाच नाच्ने वेला दुई वटा समूह बनाएर नाच्ने गरेको दंगीशरण गाउँपालिका–३, हेकुलीको मोह्रिन्या सिरु चौधरी बताउँछन्। उनका अनुसार एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छन् भने अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन्। सख्या गीत गाउँदा शुरूआतमा मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउने गरेको चौधरीले बताए। मन्डर्‍या भने जुन समूहले गीत गाउँछ त्यही समूहतर्फ गएर मादल बजाउने गर्छन्। यसरी सख्या नाचसँगै बीच-बीचमा विभिन्न किसिमका पैया नाच पनि देखाइन्छ।

सख्या नाच र गीत एउटै भए पनि गाउँठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिन्छ। यो नाच मटावा, बडघरको आँगनमा नाचिन्छ। दिनभरि खेतबारीको काम सकाएर रातिमा सख्या नाच्ने चलन छ। राजाटीका अर्थात् नवमीको दिनदेखि बडादसैंको दिनसम्म भने दिउँसै सख्या नाच्ने गरिन्छ।

द्वापर युगदेखिको परम्परा
सख्या नाचको उत्पत्तिबारे थारू संस्कृतिविद्को आआफ्नै तर्क छ। थारू संस्कृतिविद् अशोक थारू सख्या नाचको उत्पत्ति द्वापर युगमा भएको सुनाउँछन्। ‘मेरो अध्ययनमा सख्या नाच द्वापर युग अर्थात् पाँच हजार वर्षअघिदेखि चलेको देखिन्छ’ उनी भन्छन्।

त्यस्तै, थारू अनुसन्धाता डा. कृष्णराज सर्वहारी आजभन्दा दुई हजार ५०० वर्षअघिदेखि थारू समुदायले सख्या नाच नाच्दै आएको बताउँछन्। सख्या नाच कृष्ण जन्माष्टमीसँग जोडिएकाले कृष्णको जन्मदेखि नै सुरू भएको सर्वहारीको भनाइ छ। त्यस्तै थारू संस्कृतिविद् चन्द्रप्रसाद चौधरी थारू समुदायको तन्त्रमन्त्रसँगसँगै सख्या नाच पनि सुरू भएको बताउनुहुन्छ। ‘थारू समुदायमा तन्त्रमन्त्रको माध्यमबाट विभिन्न रोगव्याधि हटाउने, देवीदेवताको पूजापाठ गर्ने परम्परा छ’ चन्द्रप्रसाद भन्छन् ‘त्यही तन्त्रमन्त्रसँग यो सख्या गीत जोडिएकोले त्यही वेलादेखि नै नाच्ने गरेको हुनुपर्छ।’

लोपोन्मुख सख्या 

पछिल्लो समय सख्या लोपको संघारमा रहेको देख्न सकिन्छ। पहिला पहिला हरेक थारु बस्तिमा दसैं ताकामा दसैंको सख्यापैया नाच नाचेको सुनिन्थ्यो। तर, अचेल एकदमै कमैमात्रमा केही गाउँमा मात्र सख्या नाचेको पाइन्छ। कुनै गाउँमा मादल बजाउने मन्डर्‍याको अभावमा त कतै सख्या गीत गाउन नसक्ने बठिन्याहरुको अभावले सख्या नाच लोप हुने अवस्थामा पुगेको देखिन्छ।    

घोराही उपमहानगरपालिका–६, लख्वारकी कल्पना चौधरी मन्डर्‍याको अभावले आफनो गाउँमा पाँच–छ वर्षदेखि अगाडिदेखि सख्या नाच नाच्न छोडेको बताउँछिन्। सानैदेखि सख्या नाच्दै आएको भए पनि अहिले रोकिएको उनले सुनाए। ‘गाउँमा मादल बजाउने मन्डर्‍या नभएपछि सख्या नाच नाच्न छोडेका हौं,” उनी भन्छिन्। 

अधिकांश युवाले विभिन्न पेशा तथा व्यवसायका कारण गाउँ छोड्ने गरेकाले सख्या नाच्ने बठिन्या भए पनि मन्डर्‍याको अभाव देखिएको चन्द्रप्रसाद बताउँछन्। ‘पहिला हामीले २२ ख्वाँट (मादलको ताल) को पैया लगाउँथ्यौं, अहिलेका युवा चार–पाँच ख्वाटमा मात्र पैया लगाउँछन्’ उनी भन्छन् ‘त्यो पनि रिमिक्स जस्तो भइसक्यो।’
 

प्रकाशित मिति: : 2024-10-11 11:11:00

प्रतिकृया दिनुहोस्