वन्यजन्तु र मान्छेबीच चलिरहेको लडाईं

प्रधानमन्त्रीलाई नै झम्टिरहेको मनको ‘बाघ’

Break n Links
Break n Links

यो चक्रमा मान्छे र जनावर अनि सिङ्गो पारिस्थितिकीय प्रणालीबीच सुमधुर साइनोमात्रै छैन, बरु एकदमै निर्मम द्वन्द्व पनि। खलबलिँदै गएको यो प्राकृतिक चक्रसँगै बढ्दै गएको ‘मानव-वन्यजन्तु’ द्वन्द्वमाथि प्रधानमन्त्रीले त्यो एउटा ‘ठट्टा’ गरेकामात्रै हुन्। 


‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन…’ केही दिनअघि एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षणकर्मीहरूमाझ सोधेका थिए ‘बाघ पाल्ने लिमिट कति हो?’

औपचारिक कार्यक्रम हलभरि ताली र हुटिङले गुञ्जियो। तर कसैले प्रतिप्रश्न वा जवाफ फर्काएनन्, बाघ किन र कति पाल्ने?

पछि केही विज्ञ, जनावरप्रेमी र संरक्षणकर्ताहरूले प्रधानमन्त्रीको त्यो अभिव्यक्तिको विरोध गरे। तर ‘ट्रोल’मा रमाइरहने प्रधानमन्त्रीलाई त्यसले खासै छुन सकेन।

प्रधानमन्त्रीले बाघमाथि प्रश्न उठाएका हुन्। तर सवाल बाघमात्रै होइन, हरेक लोपन्मुख जनावर कहाँ, कति र कसरी पाल्ने? वा भएका पनि मास्ने? प्राकृतिक चक्रमा मान्छेमात्रै हाबी हुन खोज्ने मानव प्रवृत्तिलाई प्रधानमन्त्रीले उजागर गरेकामात्रै हुन्।

यो चक्रमा मान्छे र जनावर अनि सिङ्गो पारिस्थितिकीय प्रणालीबीच सुमधुर साइनोमात्रै छैन, बरु एकदमै निर्मम द्वन्द्व पनि। खलबलिँदै गएको यो प्राकृतिक चक्रसँगै बढ्दै गएको ‘मानव-वन्यजन्तु’ द्वन्द्वमाथि प्रधानमन्त्रीले त्यो एउटा ‘ठट्टा’ गरेकामात्रै हुन्।

बाघ, मान्छे र नेपाल

सन् २०२२ को गणनाअनुसार नेपालमा ३५५ वटा बाघ छन्। प्रधानमन्त्री ओलीका लागि ३५५ वटा बाघ धेरै भएका छन्। नेपालको वनले पाल्न नसक्ने भएका छन् र बाघले मान्छे खाइरहेका छन्।

३५५ बाघ पछि बढाइएका हुन्। यसअघि अवस्था कहालीलाग्दो थियो, अन्य देशजस्तै नेपालको पनि। सन् २०१० मा नेपालको वनमा करिब १२१ मात्र बाघ थिए। जुन नेपालकै वनका लागि कम थिए।

विश्वका अन्य बाघ पाइने देशमा पनि बाघ कम हुँदै गएका थिए। नेपालले जसरी अहिले पनि अन्य देशले बाघ बढाउन सकिरहेका छैनन्। त्यसैले अहिले पनि विश्वका लागि बाघ कमै छन्।

एक दशकअघि बाघ घटेकाेबारे नेपालसहित १३ देशले चिन्ता गरे। बाघ घट्दा पारिस्थितिकीय प्रणालीमा पर्नसक्ने असरलाई ख्याल गरे। र पाटे बाघ पाइने विश्वका १३ देश सन् २०१० देखि बाघ बढाउने (रूसको सेन्ट पिटर्सबर्गमा एक सम्मेलन गरेर १३ देशका राष्ट्रप्रमुखले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने घोषणा गरे) अभियानमा लागे।

त्यसैको प्रतिफल हो, सन् २०२२ सम्म नेपालमा दोब्बर होइन, बाघको संख्या करिब तेब्बर ३५५ पुग्यो। जसको प्रशंसा नेपालले बटुलिरहेको छ।

अहिले यी बाघले जङ्गलसँग आदिम साइनो भएका मान्छेलाई मारिरहेको छ। जसका कारण निकुञ्ज क्षेत्रका स्थानीय त्रासमा बाँच्नु परेको छ।

पछिल्लो पाँच वर्षमा मात्र बाघले ४८ जनालाई मारेको छ। (यो संख्या आर्थिक वर्ष २०७३ देखि २०७८सम्मको हो। यस तथ्याङ्कमा आव २०७४/०७५को तथ्याङ्क समावेश छैन।) 

ओलीको बोली र बाघ–मान्छे द्वन्द्वको अन्तर्य

बाघ जहाँसुकै पाइँदैन। बाघ निश्चित ठाउँमा आफ्नै सीमा रेखा बनाएर बस्ने गर्छ। त्यो पनि तराई क्षेत्र, घना जङ्गलमा मात्र बाघ पाइन्छ। देशमा १२ राष्ट्रिय निकुञ्ज छन्। तीमध्ये ५ वटा निकुञ्जमा मात्र बाघ छन्।

सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ छन्।

बाघ र मानवबीचको द्वन्द्व पनि यी निकुञ्ज क्षेत्रमा हुने गरेको छ। निकुञ्ज क्षेत्रमा बाघ र मानवबीच द्वन्द्व बढ्दा बाघ व्यवस्थापन गर्ने कि मानव बस्तीको? यो विषय गम्भीर बन्दै गएको छ। 

यसै विषयलाई लिएर प्रधानमन्त्री ओलीले अब बाघ व्यवस्थापन गरेर डेढ सय मात्र बनाउनुपर्ने बताएका हुन्। उनको यो भनाइले वन क्षेत्रमा बसेका मानव बस्ती व्यवस्थापन होइन, अब बाघ व्यवस्थाप गर्नुपर्छ भन्ने बुझ्न कठिन छैन।

यो पनि पढ्नुहाेस्– बाघ र मान्छेको आदिम साइनो

जानकारहरूका अनुसार बाघ मानव बस्तीमा होइन, मानव बस्ती बाघको बस्तीमा प्रवेश गरेको हो। जसले गर्दा बाघ र मानवबीच द्वन्द्व बढेको हो। ‘हामीले बाघले क्षति गरेको भन्छौँ। त्यो मात्र होइन, वन्यजन्तुको तर्फबाट हेर्ने हो भने मान्छेले क्षति गर्‍यो भन्ने हुन्छ। किनभने पहिले सबै जङ्गल थियो। त्यो जङ्गल फाँडेर मान्छे बसेको हो’, वन्यजन्तु विज्ञ डा. बाबुराम लामिछाने भन्छन्, ‘मान्छेले जब आफ्नो क्षेत्र भनेर जङ्गल मासेर बस्न थाल्यो त्यहीँबाट नै द्वन्द्व सुरु भएको हो वन्यजन्तुसँग।’

युएसएडअन्तर्गत वनजङ्गल परियोजनामा कार्यरत उनी करिब ५० वर्ष पहिले वन्यजन्तु र मानव बस्ने स्थान छुटा-छुट्टै भएको बताउँछन्। उनका अनुसार पछि क्रमश: तराईलाई फडानी गरेर मानव बस्ती बसालियो। वन्यजन्तुको बासस्थान खण्डिकरण भयो। त्यसले मानव र वन्यजन्तुबीच द्वन्द्व बढायो।

‘पहिले त चारकोशे झाडीहरू थिए। त्यहाँ वन्यजन्तु थिए। मान्छेहरू वनभन्दा छुट्टै बस्थे। अहिलेको सिनारियो (अवस्था) फेरियो। जङ्गलको क्षेत्र साँघुरिँदै गयो। सबै क्षेत्रमा मानव र वन्यजन्तुको एकआपसमा भेट हुन थाल्यो’, डा. लामिछाने भन्छन्, ‘अनि मानव–वन्यजन्तु द्वन्द्व बढ्यो।’

बाघ विज्ञ डा.चिञ्जिवीप्रसाद पोखरेलले बाघको आहारा मान्छे नभएको भन्दै बाघले मान्छे खोजेर नखाने पनि बताए। ‘बाघले खोजीखोजी मान्छे खाँदैन। खोजीखोजी मान्छे खाएको भए त निकुञ्ज क्षेत्रमा कोही पनि बाँच्ने थिएन’, उनले भने।

बाघले मान्छे खानुका केही निश्चित कारणहरु रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुखसमेत रहेका पोखरेलको भनाइ छ। बाघ शान्त ठाउँमा बस्न मन पराउने जनावर रहेको बताउँदै उनले मान्छेसँग नजिक नपर्ने जनावर रहेको बताए।

तर जब बाघको एरियामा मान्छे जान्छ, त्यसपछि बाघले आक्रमण गर्ने गरेको उनी बताउँछन्। ‘बाघले गाउँ पसेर मान्छे खाने गर्दैन। मान्छे बाघ भएको ठाउँमा गएपछि उसले आक्रमण गर्ने हो’, पोखरेलले भने, ‘अहिले जति पनि बाघले मान्छे मारेका घटना छन्, ती सबै बाघ संरक्षित क्षेत्रमा भएका घटना हुन्।’

उनकाअनुसार बाघको स्वभाव कुनै निश्चित ठाउँमा आफ्नो एरिया (क्षेत्र) बनाएर बस्ने गर्छ। जहाँ एउटा भाले बाघले ३ देखि ५ वटा पोथी बाघ होस् भन्ने चाहन्छ। त्यहाँ अन्य भाले बाघहरू भएमा लडाइँँ हुने गरेको पनि उनी बताउँछन्।

यसरी धेरै भाले बाघ वा धेरै पोथी बाघ भएको एरियामा लडाइँ हुँदा कमजोर रहेको बाघ वनको किनार, बस्तीका छेउछाउमा आउने र ती बाघले मान्छेलाई आक्रमण गर्ने गरेको देखिएको पोखरेल बताउँछन्।

तर विशेष गरेर मान्छे वस्तुभाउ चराउन वा घाँस–दाउरा सङ्कलन गर्न तथा निउरो टिप्न गएको समयमा बाघले मान्छेलाई आक्रमण गरेको उनले बताए। ‘बाघ होहल्ला भन्दा टाढा बस्न मन पराउँछन्। त्यो देखिन्छ पनि’, उनले भने, ‘तर मान्छेहरू नै बाघ संरक्षित क्षेत्रमा गएपछि आक्रमण भएका घटना छन्।’ 

मान्छे खाने पराई, चोट सबै बाघलाई

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले यस्तो बुझाउँछ कि गाउँ–गाउँमा आतंक मच्चाउने बाघ नै हो, सबैभन्दा धेरै गाउँमा नागरिक आतंकित हुने बाघकै कारणले हो।

तर तथ्यमा त्यस्तो देखिँदैन। मान्छेलाई आक्रमण गर्ने बाघ मात्र होइन। बाघले जस्तै अन्य जनावरले पनि मान्छेलाई आक्रमण गर्ने गरेका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार मान्छेलाई आक्रमण गर्नेको अग्रस्थानमा हात्ती रहेको छ। बाघ त दोस्रो स्थानमा छ।

अघिल्लो पाँच वर्षमा बाघको आक्रमणबाट ४८ जना मान्छेको मृत्यु हुँदा हात्तीको आक्रमणबाट झण्डै दोब्बर ७४ जनाको मृत्यु भएको छ।

बाघ त मांसाहारी भयो। साकाहारी जनावर हात्तीबाटसमेत मान्छेको मृत्यु हुँदा सरकारको प्राथमिकता कता छ? प्रश्न गर्ने ठाउँ छ। हात्तीले ठुलो क्षेत्रमा बालीसमेत नष्ट गरिदिएर तराई मधेसमा आतंक नै मच्चाइरहेको छ।

राष्ट्रिय निकुञ्जकाअनुसार पछिल्लो ५ वर्षमा गैंडाबाट २५ जना, चितुवाबाट २० जना, जङ्गली बँदेलबाट ५ जना, भालुबाट ५ का साथै गौरी गाईबाट २ र अर्नाबाट १ जनाको मृत्यु भएको छ।

यो मृत्यु भएको विवरणहरू हो। घाइतेको संख्या योभन्दा ठुलो छ। गाउँगाउँमा बाँदर आतंक छ। बाँदर कृषिका लागि हानिकारक जनावर घोषणा भएर गएको वर्षदेखि सरकारले बाँदर व्यवस्थापनको काम गरेको भए पनि प्रभावकारितामाथि प्रश्न उठेको छ।

अर्को महत्वपूर्ण कुरा बर्सेनि धेरै संख्यामा जङ्गली जनावर सर्पबाट पनि धेरैले ज्यान गुमाउने गरेका छन्। यसतर्फ त सरकारले नजरसमेत लगाएको छैन।

सर्पले टोकेका बिरामीको उपचार भने नि:शुल्क हुँदै आएको छ तर यसबाट मृत्यु भएकाले क्षतिपूर्ति पाउँदैनन्। नेपाल सरकारले सर्पबाट हुने मृत्युको व्यवस्थित विवरणसमेत राख्न सकेको छैन।

विश्व स्वास्थ्य संगठनले वर्षमा नेपालमा १०० जति मानिसको मृत्यु सर्पले टोकेर हुने गरेको बताउँछ।

यसले के देखाउँछ भने घाउ एकातिर, सरकारको औषधि उपचार अर्कोतिर भनेझैं भएको छ। बाघ–हात्तीको आतंक उसको बासस्थानमा मानिस बस्न थालेपछि भएको यसका विज्ञ बताउँछन्।

तर बस्ती व्यवस्थापनमा सरकार सफल हुन सकेको छैन। राजनीतिक नेतृत्व वन्यजन्तुको आतंकबाट सुरक्षित रहनका लागि बस्ती स्थानान्तरणसम्मको आश्वसन दिन पछि पर्दैनन्।

तर वन छेउमा बस्ती विस्तार ठुलो भइसकेको छ। अब वन क्षेत्रबाट बस्ती स्थानान्तरण गर्न सम्भव नरहेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगाना बताउँछन्।

‘अब बस्ती स्थानान्तरण गर्न सम्भव छैन। कसरी हुन्छ, मानिसहरूलाई वनमा नजाने वातावरण बनाउने, गाउँलाई छेकबार गर्ने किसिमका काम गर्नुपर्छ। सरकार अहिले त्यसरी अगाडि बढेको छ’, उनले भने।

तस्बिर: भवानी कँडेल 

प्रकाशित मिति: : 2025-01-13 19:37:00

प्रतिकृया दिनुहोस्