हचुवाको भरमा बाँदर नियन्त्रण हुन सक्दैन: विज्ञ
वडाका विभिन्न गाउँमा बाँदरले दु:ख दिन थालेपछि पोखरा महानगरपालिका–१९ ले घरछेउको रुख काट्न सूचना जारी गर्यो। घर, खेत–बारी नजिक रहेका सम्पूर्ण रुख काट्न वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार सूचना जारी गरेपछि त्यसको विरोध मात्र भएन, महानगरपालिकाका मेयर धनराज आचार्यले त निर्णय कार्यान्वयन नगर्न सार्वजनिक अपिल नै गरे।
‘मेरो रुख म काट्छु’ अभियान नै चलाएर रुख काट्नका लागि वडाध्यक्ष पाण्डेले वडावासीलाई आग्रह गरेका थिए। विरोधपछि उनले जरैबाट रुख काट्ने नभएर ठुला रुखका हाँगा काट्ने भनिएको भनेर मिडियासँग बचाउ गरे।
‘रुख काट्ने भन्नाले सबै रुख जरैबाट काट्ने भनिएको होइन। ठुला रुखका हाँगा काट्ने, घरछेउ बारीको झाडी काट्ने, बढी बाँदर लुक्ने बाँस काट्ने भनिएको हो’, उनले बिएल नेपाली सेवासँग भने, ‘पहिलो प्राथमिक उपाय त यही नै होला। घरछेउमा लुक्न नसक्ला नि बाँदर।’
पाण्डेले साविकको दुई गाविस लामाचौर र पुरुन्चौरमा बाँदरले धेरै दु:ख दिइरहेको बताए। ‘खेतबारीमा लगाएका बाली सखाप मात्र पारेका छैनन्, बाँदरले घरभित्रै पसेर धेरै दु:ख दिएका छन्’, उनले भने, ‘त्यसपछि बाँदरपीडित किसानसँग समिति बनाएर रुख काट्ने भनिएको हो।’
देशमा बाँदरले कति दु:ख दिइरहेको छ भन्ने दृष्टान्त वडा नम्बर १९ ले गरेको रुख नै काट्ने निर्णयबाट देखिन्छ। रुख रोप्नुपर्ने र त्यसको संरक्षण गर्नुपर्छ भनेर देशमा अनेकन कार्यक्रम भइरहेको समयमा जनप्रतिनिधिबाटै रुख काट्ने अभियान चलेपछि त्यसको विरोध हुनु स्वभाविक भयो।
बाँदर र मानिसबीचको द्वन्द्व हालै देखिएको समस्या भने होइन। अहिले यो समस्या बढ्दै गइरहेको भने हो। विशेष गरेर पहाडि बस्तीमा बाँदरले निकै दु:ख दिने गरेको छ।
बाँदर नियन्त्रण गर्न स्थानीय तहले विभिन्न उपाय उपनाउने गरेका छन्। बाँदर तर्साउन बन्दुक वितरण, औषधि प्रयोग, वनमा फलफूल रोपनीसँगै रुख काट्ने अभियानसम्म स्थानीय तहले गरेका छन्।
यी विभिन्न कोसिस गर्दा पनि बाँदर नियन्त्रण गर्न स्थानीय तह सफल हुन सकेका छैनन्। बाँदर अहिले बन्दुक, कुकुरसँग डराउन छाडिसकेका छन्। मान्छेसँग नै बाँदर भिड्ने गरेको छ।
दशकअघि बाँदर कुनै घर, कुनै गाउँका लागि समस्या बनेको थियो भने अहिले सरकारकै लागि बाँदर टाउको दुखाइ बनेको छ। बाँदरले लगाएका बालीनाली सखाप पारेपछि नागरिक बाँदर नियन्त्रण गर्न पटक–पटक आग्रह गर्दै सरकार गुहारिरहेका छन्।
सरकार बाँदर नियन्त्रण गर्न विभिन्न उपाय खोजिरहेको छ। संघीय सरकारको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ भन्ने छलफल गरिरहेको छ। यसअघि पनि यस्ता छलफल नभएका होइनन्, तर त्यसको कार्यान्वयन अघिल्ला सरकारले गर्न भने सकेनन्।
फेरि हाल आएर कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण गर्न छलफल गरेको छ। समितिकी सभापति आरजु राणा देउवाले भदौ १७ गते बाँदरलाई बन्ध्याकरण गर्न सकिने बताएकी थिइन्।
समितिको बैठकमा उनले भारतको उदाहरण दिँदै भनेकी थिइन्, ‘भारतको हिमाचल प्रदेशमा बाँदर नियन्त्रण गर्न परिवार नियोजन गरेको रहेछ। त्यहाँ हाम्रो जस्तै थियो रे! परिवार नियोजन गरेर दुई/तीन वर्षमा कम भयो। हाम्रोमा पनि त्यही गर्न सकिन्छ।’
तर बाँदर बन्ध्याकरण गर्ने उपायको पशु अधिकारकर्मीले विरोध गरेका थिए। अहिले आरजु संसदीय समितिको एउटा टोली बोकेर बाँदर नियन्त्रणका उपाय खोज्न भारतमा जाने तयारीमा छिन्।
बाँदरले पत्याउनै छाड्यो
सरकारलाई टाउको दुखाइ बनिरहेको बाँदर नियन्त्रण गर्न स्थानीय तहले अनेकन उपाय अपनाइरहे पनि बाँदरले पत्याउन छाडेको छ।
२०७७ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले झण्डै २०० टोलमा करिब पाँच लाख बराबरको बाँदर धपाउन नक्कली तर आवाज दिने बन्दुक बाँड्यो।
बन्दुक पड्काएपछि केही समय बाँदर भागे पनि। तर बन्दुक पड्काएर बाँदर भगाउने उपाय वर्षदिन टिक्न सकेन। पड्किएको बन्दुकले केही नहुने बाँदरले थाहा पाइहाले। त्यसपछि बाँदरले बन्दुक पड्काएपनि नभाग्ने र घरसम्मै आएर दु:ख दिन थाले।
अहिले यस पालिकामा बाँदरले निकै दु:ख दिने गरेछ। गाउँपालिका अध्यक्ष तुलसीराम रेग्मी बाँदर रोक्न नसकिएको बताउँछन्। ‘पहिले बन्दुक ल्याइयो। अहिले ती बन्दुक प्रयोगमा छैनन्’, उनले भने, ‘बन्दुक पड्काएर भगाउने उपाय प्रभावकारी हुन सकेन।’
रेग्मीले बाँदर धपाउन कुनै उपाय अपनाउन नसकिएको बताए।
तर यस पालिकाले पनि पाखराको वडा नम्बर १९ ले जस्तै घरछेउको झाडीहरू हटाउने, बाँदर बस्ने रुखहरू काट्ने उपाय अपनाएको छ। ‘हामीले केही गरेर बाँदर रोक्न सकिन्छ कि भनेर केही समय पहिलेदेखि सहमतिमा घरछेउको काट्न मिल्ने रुख, झाडी हटाउने अभियान थालेका छौँ’, उनले भने।
यस्तै पर्वतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण गर्नका लागि २०७९ सालमा नै घरछेउको रुख काट्ने, झाडी हटाउने अभियान थालेको थियो। स्थानीयले केही झाडी काटे पनि। तर बाँदर रोकिएन।
गाउँपालिका उपाध्यक्ष यामकुमारी रानाले बाँदरले धेरै दु:ख दिइरहेको बताइन्। उनले पहिले रुख काटिएको विषयमा बाँदर धपाउनभन्दा पनि खेतीयोग्य जमिनमा उब्जनी बढाउन रुख काटिएको बताउँछिन्।
तर २०७९ सालमा गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले बाँदरको बिगबिगी रोक्न रुख काटिन थालिएको बताएका थिए। ‘पालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसको नियन्त्रण गर्न रुख काट्न लागिएको हो। बाँदरलाई नियन्त्रणमा राख्ने ठ्याक्कै उपाय पनि त छैन’, उनले भनेको थिए, ‘बस्ती र खेती योग्य जमिनबाट ८० मिटर वरपरका रुख काट्न थालिएको छ।’
रुख काटेर पनि पैयुँ गाउँपालिकामा बाँदरले दु:ख दिन छाडेको छैन। अहिले कुन उपायबाट बाँदर धपाउने भन्नेमा गाउँपालिकाले उपाय खोजिरहेको उपाध्यक्ष रानाले बिएल नेपाली सेवासँग बताइन्।
हचुवाको भरमा बाँदर नियन्त्रण हुँदैन: बाँदर विज्ञ चालिसे
बाँदर विज्ञ प्रा.डा. मुकेशकुमार चालिसेले बाँदर रोक्न हचुवाको भरमा अपनाइएका कुनै पनि उपायले नहुने बताउँछन्। बाँदर भिन्न ठाउँमा भिन्न प्रकृतिको, भिन्न प्रजातिको हुने हुँदा उनीहरूलाई रोक्न कुनै एक उपायले मात्र नहुने उनको भनाइ छ।
‘बाँदर ठाउँअनुसार फरक–फरक हुन्छन्। एक ठाउँमा अपनाइएको उपाय अर्को ठाउँमा काम लाग्दैन’, उनले भने, ‘जहाँ जुन किसिमको बाँदर छ, त्यहाँ त्यसै प्रकारको उपाय अपाउने हो। नत्र जहाँ पनि एउटै उपायले बाँदर नियन्त्रण गर्न सकिँदैन।’
उनी बाँदर निन्त्रण गर्न धेरै कठिन नभएको बताउँछन्। सरकारले चाहेमा बाँदर नियन्त्रण गर्न वर्षदिनमा सकिने उनको तर्क छ। ‘सरकारले चाहेमा वर्षदिनमा बाँदर नियन्त्रण गर्न सकिन्छ। तर सरकारले गर्छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘पहिले पनि वन मन्त्रालयमा जनताले दु:ख पाए। बाँदर यसरी नियन्त्रण गरौँ भनेको हो तर कार्यान्वयन भएन।’
विश्वका अन्य देशमा पनि विभिन्न उपाय अपनाएर बाँदर नियन्त्रण गरिएको बताउँदै उनले नेपालको बाँदर नियन्त्रण गर्न पहिले अनुसन्धान हुनुपर्ने बताए। तर बाहिरी देशले कसरी गरेको छ भनेर बाहिरको अध्ययन यहाँ काम नलाग्न पनि सक्ने उनको भनाइ छ।
बाँदर नियन्त्रणका लागि पहिले बाँदरको आदत चिन्नुपर्ने उनको तर्क छ। ‘बाँदर नियन्त्रण गर्नुपूर्व कस्ता बाँदर कहाँ छन्? चितवनको बाँदर किन बालीनाली खान आउँदैन? अन्य ठाउँका किन आइरहेका छन् भन्ने अध्ययन हुनुपर्छ’, प्रा.डा. चालिसेले बिएल नेपाली सेवासँग भने, ‘अध्ययनबिना बाँदर नियन्त्रण हुनै सक्दैन।’