ईश्वरी राई (इशु)
जरुरी छैन जिन्दगीका हर सपनाहरू पूरा हुन्छन्। कतिपय सपनाहरू यस्ता हुन्छन्, जसकाे तृष्णाले जीवनभरि पाेलिरहन्छ। त्यस्तै केही सपनाले पाेलिएका वीरले ‘नशा’काे डाेजमा त्यसलाई निभाउन खाेजे। तर नशा न हाे त्यसकाे आगाेले जिन्दगीलाई शितल दिन्थ्याे। विस्तारै ड्रग्सकाे भुङ्ग्राेमा तिलमिलाइरहेका वीरकाे मनमा एकदिन ‘सुध्रिने’ साेच पलाउँछ। मन न हाे जता बगायाे उतै बगिदिन्छ।
एकदिन गाउँमा फुटबल प्रतियोगिता चल्दै थियो। त्यही प्रतियोगितामा सहभागी थिए १७ वर्षका वीर गुरुङ पनि।
दुर्भाग्य,
मैदानमा खेल्दाखेल्दै उनी लडेर घाइते भए। उनको खुट्टा भाँचियो। खुट्टामा लागेको चोटले उनलाई असह्य पीडा दियो।
तर वीरलाई खुट्टाको दुखाइलेभन्दा धेरै मनमा लागेको चोटले ऐँठन पार्यो। ‘लाहुरे’ बन्ने उनको सपना त्यही मैदानमा तुहियाे।
तनहुँमा हुर्किएका वीरको लाहुरे बन्ने सपना थियो। जीजुबाजेको पेशा त्यही भएकाले उनलाई पनि रहर पलाएको थियो लाहुरे हुने।
सानैदेखि हेर्दा खाइलाग्दो शरीर, अग्लो र फूर्तिला थिए वीर। लाहुरेको लायक। उनलाई ब्रुनाइ लाहुरे मामाले पनि भनेका थिए, ‘भान्जा लाहुरे बन्नुपर्छ। दौडिन थाल्नु है!’
लाहुरे मामाले नै त्यसो भनेपछि वीर र उनका दाइले पनि दौडिने प्रयास गर्न थाले।
बिहानै उठ्ने, डोकोमा २०–२५ केजीको ढुङ्गा बोक्ने र १६ किलोमिटर ओहोरदोहोर गरेर दौडिनु उनीहरूको दैनिकी बन्यो।
गुुरुङ दाजुभाइलाई लागेको थियो, यत्तिको मेहनत गरेपछि कसो लाहुरे नभइएला! दुबै जना नभएपनि दाजुभाइमध्ये एक जना हुुनेछ भन्ने कुरामा ढुक्क थिए उनीहरू।
तर सोचेजस्तो भएन। भइदियो विपरीत।
खुट्टा भाँचिएको कारण वीर लाहुरे हुन सकेनन्। र, उनका दाइ पनि लाहुरे भएनन्।
लाहुरे बन्छु भनेर देखेको सपना पूरा नभएपछि विक्षप्तिएका थिए वीर। त्यसपछि भविष्यको बारेमा सोचेनन्। बरू, आजमा रमाउन थाले।
‘लाहुरे बन्ने मेरो सपना पूरा नहुने भएपछि मैले अरू सपना देखिनँ’, उनी सुनाउँछन्, ‘म भविष्यको कुरालेभन्दा आजमा रमाउन थालें।’
लाहुरे नहुने भएपछि उनी नशामा रमाउन थाले। कुलतको दुनियाँमा फस्दै गए।
हुन त वीरले १५ वर्षको उमेरदेखि नै गाँजा खान थालिसकेका थिए। गाउँघरमा सहजै पाइने गाँजा बुढापाकाबाट खान सिकेको उनी बताउँछन्।
‘गाँजाले रमाइलो दिन्छ भनेको मात्र सुनिरहें। त्यसैले मैले पनि खाइदिएँ’, उनी भन्छन्, ‘गाँजाले त्यस्तो असर गरेन।’
तर लाहुरे बन्ने सपना पूरा नभएपछि उनको गाँजाको डोज पनि बढ्दै गयो। उनले ‘ट्याब्लेट’ पनि खान थाले।
वीरको गाउँमा कक्षा–८ सम्म मात्र स्कूल थियो। ९ कक्षा पढ्नका लागि उनी ३ किलोमिटर हिँड्नुपथ्यो। त्यो ठाउँ उनको गाउँभन्दा केही विकसित थियो।
नयाँ स्कूलमा उनको भेट त्यस्ता साथीहरू भयो। जसले गोटीको सेवन गर्थे। उनी ती साथीहरूसँग घुलिदैं गए।
पढाइ खासै राम्रो थिएन वीरको। त्यसमाथि खराब साथीको संगत। उनलाई झनै बाहाना बनेको थियो, नपढ्ने।
उनी कक्षाकोठाबाट भागेर साथीहरूसँग बाहिरबाहिरै जान्थे। गोटी खाँदा रमाइलो हुन्छ भनेर उनले साथीहरूबाट सुनेका थिए। त्यही कुरामा लागेर उनले पनि पिल्स खाइदिए।
साथीहरूको संगतमा लागेर पिल्स खान थालेका वीरको स्वभाव बदलिदैं गयो।
उनी स्कूलमा कसैसँग नमिल्ने र झगडालु बने। त्यही स्वभावको कारण शिक्षकसँग पनि उनले दुव्र्यवहार गरे।
‘मैले स्कूल जाँदा गोजीमा गाँजा र पिल्स बोकेर जान्थे। त्यो देखेर शिक्षकले मलाई कराउनुहुन्थ्यो तर म उल्टै झगडा गरेर थर्काउँथें। मसँग शिक्षकहरूसँग राम्रोसँग बोल्नु हुँन्थेन’, अहिले त्यो कुरा सम्झदा सबै गल्ती आफैंले गरेको महसुस हुन्छ वीरलाई।
१० कक्षा पढ्दापढ्दै शिक्षकहरूसँग झगडा हुन थालेपछि उनी स्कूल जान छोडे। तर घरबाट स्कूल जान लागेको भन्दै ‘ड्रेस’मा निस्किन्थे।
‘घरमा आमा सोझी हुनुन्थ्यो। मेरो कुरा मानिहाल्नुहुन्थ्यो। त्यसरी धेरैपटक झुक्काएको छु’, उनले भने, ‘तर अहिले पछुतो लागिरहेको छ। मैले घरमा होइन आफैंलाई ढाटेको रहिछु।’
स्कूल जान्छु भन्दै उनी घरमा पैसा माग्थे। र, त्यही पैसाले उनी ड्रग्स किनेर खाइदिन्थे। परिवारलाई झुक्काउँदा–झुक्काउँदै उनको ‘एसएलसी’ पनि आयो।
त्यहीपनि उनी स्कूल गएनन्। परीक्षा दिएनन्। उनका साथीहरू पास भए तर उनको रिजल्ट आएनन्।
घरमा आमाले सोधिन् नतिजाबारे। त्यतिबेला पनि वीरले ‘फेल’ भयो भनेर झुट बोले। आमाको कुरा टाले।
आमाको विश्वासलाई उनले पटक–पटक मारिरहे।
‘आमाले मलाई धेरै विश्वास गर्नुभयो तर मैले उहाँको विश्वास तोडिरहें’, विगतलाई कोट्याउँदै वीरले भने।
घरका कान्छा छोराको बदलिएको स्वभाव देखेर बुबाआमाले उनीमाथि शंका गरेका थिए। र, त्यो शंका सत्य पनि भयो।
वीरले नशा गर्छ भनेर थाहा पाइसकेका परिवारले उनलाई धेरैपटक सम्झाए। तर सबैको मायाले पुलपुलिएका वीर कहाँ मान्थे सहजै।
बरू, परिवारलाई उल्टै उसैले थर्काउँथे।
भलै, आमाको मायाले पुलपुलिएपनि बुबासँग भने डराउने गर्थे उनी। सधैं बुबाको आँखा छलेर हिँडे। बुबाकासामु देखापर्ने डराउँथे।
छोराले लागऔषधको प्रयोग गर्छ भन्ने थाहा पाएका बुबाले उनलाई घरबाट लखटे। खाना खुवाउनु त परै कुरा थियो।
तर उनको साथमा थिइन् आमा। उनको गल्तीलाई सधैं छलिरहिन्। छोराले बाटो बिराउँदापनि एकशब्द हात उठाइनन्।
बरू, श्रीमानसँग रिसाइन् होला, उनै छोराको लागि।
‘मलाई बुबाले घरबाट लखट्नुभयो तर आमा सधैं मेरो साथमा उभिनुभयो’, उनले भने, ‘बुबा सुतिसकेपछि राति अबेरमा घर गएर खाना खान्थें। अनि बुबा उठ्न अगाडि नै मलाई आमाले उठाएर घरबाहिर पठाउनुहुन्थ्यो। मलाई मेरी आमाले धेरै सर्पोट गर्नुभयो।’
घरबाट बाहिरबाहिरै भएका छोरालाई देखेर निराशिएकी आमाले वीरलाई काठमाडौं पठाउने निधो गरिन्। र, काठमाडौंमा भएकी छोरीको घरमा पठाइन्।
काठमाडौं आएपछि उनले जसोतसो एसएलसी दिए। पास पनि भए। तर कलेज पढेनन्।
कलेज पढ्नुको सट्टा उनले नयाँ साथीहरू बनाउँदै गए। जो ड्रग्सको पारखी भए।
काठमाडौंमा भेटिएका उनका सबै साथीहरू ब्राउन सुगरदेखि सिरिन्ज हान्थे। उनीपनि साथीहरूजस्तै गर्न थाले।
गाँजाबाट उनी ब्राउन सुगर हुँदै सुइँ हान्ने समेत भए। ‘ड्रग्स महँगो हुन्थ्यो। सधैं पैसा हुन्थेन त्यसैले सुइँको प्रयोग गर्न थालें’, उनले भने, ‘पैसा पनि कम लाग्ने नशा पनि दिने।’
शरीरका नसा खोजीखोजी सुइँ हान्न थालिसकेको भएपनि वीरलाई थाह थिएन कि उनी ‘ड्रगिस्ट’ भइसके भनेर।
तर जब उनी नशाबिनै बस्थे तब उनलाई असहज हुन्थ्यो। मन बेचैन हुन्थ्यो। पूरै शरीर थरथरी हुन्थ्यो।
त्यसपछि वीरले बुझे, नशाबिना उनी बाँच्न नसक्ने भएछन्।
उनलाई दिनदिनै ड्रग्स खानुपर्थ्याे। तर घरकाले सधैं पैसा दिन सकेनन्। त्यसैले वीरले आफ्नो नशाको डोज पुर्याउन काम गर्न थाले।तर गलत काम। जसलाई कानुनले गैरकानुन ठहराएको छ।
‘मैले कहिले सही काम गरिनँ। सधैं गलत काम मात्र गरिरहें। मलाई अरूको केही वास्ता थिएन, मात्र मेरो डोज पूरा गर्नुथियो’, अहिले उनलाई आफूले गरेको काम सम्झदा पनि घृणा लाग्छ, ‘मैले माफी त पाउँदिनँ होला तरपनि मैले गलत गरेको मान्छेसँग माफी माग्न चाहन्छु।’
आफूलाई ‘हिरो’ र ‘खतरा’ देखाउन सुरु गरेको नशाले उनलाई ‘जिरो’ बनाइसकेको थियो तर वीरले कहिल्यै बुझेन। सधैं नशालाई अंगालिरहे।
त्यही नशाले उनलाई समाज र परिवारबाट टाढा बनाए। आफ्नै बुबाआमाको विश्वास गुमाए तर ड्रग्स छोड्छु भनेर कहिल्यै सोचेनन्।
साथीहरूको संगत अनि नशाको लत। त्यतिबेला उनका लागि सबथोक थियो त्यो।
तर समयले कोल्टे फेर्न समय लागेन। उनीसँगै ड्रग्स खाने साथीहरू एकएक गर्दै बित्न थाले। कोही रोग त कोही ओभर डोजले बिते।
आफूसँगै नशाको सुरुवात गरेका साथीहरू भटाभट बित्न थालेपछि उनको मन चिसो पस्यो। नशा नखाने सोच पनि बनाए। तर क्षणिक।
‘आफ्नै बुबाआमाको आँसुलाई मतलब नगरेका हामीले साथीको मृत्युले कसरी सुध्रिन सक्थ्यौं र’, बिएल नेपाली सेवासँग उनले भने, ‘केही समय दुखी हुन्थ्यौं अनि फेरि खाइहाल्थ्यौं।’
आफ्ना दौतरीहरू त्यसरी बितिरहँदा उनमा कहिल्यै संसार त्याग्ने सोच पलाएन तर प्रेमीकासँगको झगडाले भने वीरलाई विक्षप्त बनायो।
उनमा एक–दुई पटक आत्महत्या गर्ने सोच पनि पलायो। वीरले प्रयास पनि गरे। तर उनले ‘काल’लाई पनि झुक्काए।
‘त्यो समयले मैले पाउरोटीमा मुसा मार्ने औषधि दुई प्याकेट छलेर खाइदिएँ’, उनले सुनाए, ‘केही समयपछि प्यास लागेर चिसो खाएँ। त्यहीपनि भएन।’
एकाएक घाँटी असह्य पोल्न थालेपनि उनमा डर पलायो, ‘म मर्छु होला!’ त्यही डरले वीरले साबुन पनि खाइदिए।
साबुन खाएपछि उनलाई वाकवाकी लाग्यो। उनले रगतै वाके। त्यसपछि केही राहत भयो वीरलाई। उनी बाँचे। उनले नयाँ जीवन पाए।
त्यसपछि वीरले कहिल्यै आत्महत्याको प्रयास गरेनन्।
ड्रग्सले ‘गु’लाम बनायो
झण्डै दुई दशक कुलतमा फसेका वीरलाई अहिले सम्झदा ‘रेड–लाइट एरिया’जस्तै लाग्छ, ड्रग्स।
जसरी पेट पाल्न यौनकर्मीहरूले काम गर्छन्, ड्रगिस्टहरूले पनि आफ्नो डोज पुर्याउन हरेक काम गर्ने उनी बताउँछन्।
उनका अनुसार ड्रगिस्टले ड्रग्स खानका लागि गलत काम मात्र गर्छन्।
‘ड्रगिस्टले राम्रो काम गर्दैनन्। लुटेर, चोरेर मात्र खान्छन्’, उनको भोगाइ छ, ‘ड्रग्सले मानिसलाई लाचार र गुलाम बनाउँछ। ड्रग्सले झुकाउँछ नै।’
ड्रग्स खाएर उनले आफ्नो जीवन मात्र बिगारेनन्। परिवारको जीवनलाई असह्य पीडा दिए। जसलाई सम्झिएर अहिले पनि भावुक हुन्छन् वीर।
000
बुबा ‘सुगर’ पीडित थिए। खुट्टामा सानो चोट थियो। त्यही चोटले बुबालाई पीडा पीडा दिएको थियो।
बुबालाई उपचारको लागि ‘टिचिङ’ अस्पतालमा भर्ना गरिएको थियो। वीर बुबाका कुरुवा थिए तर अस्पतालमा बस्दापनि उनले ड्रग्स खान छोडेनन्।
त्यतिबेला बुबाको खुट्टा काट्नुपर्यो। त्यतिबेला उनी बुबाको साथमा हुनुपर्ने थियो तर भएनन्।
त्यतिबेलै उनलाई एउटा सोच आयो, ‘बुबा यसरी बिरामी भइरहनु भएको छ। म चाहिँ ड्रग्समा भौतारिरहेको छु। अब मैले यो छोड्नुपर्छ।’
जब उनले आफूलाई बदल्ने सोच बनाए, तब उनको आँखैअगाडि आफूले गरेका गल्तीहरू एकएक गरी आउन थाल्यो ‘बुबालाई उपचार गर्ने पैसा सकाएर ड्रग्स खाएको, अस्पतालको ट्वाइलेटमा नशाले लठ्ठिएको अनि मध्यरातमा बुबाको उपचारका लागि दिदीहरूसँग पैसा मागेको’।
त्यो सम्झदा उनलाई आत्मग्लानी भयो। त्यसपछि वीरले आफैंसँग वाचा गरे, अब त सुध्रिनैपर्छ।
१८ वर्ष नशामा रुमलिएका उनले परिवारको विश्वास पूरै गुमाइसकेका थिए। उनीसँग कुरा भन्न समेत डराउँथे, परिवार।
यतिसम्म कि घरमा उनको अगाडि पैसाको कुराकानी हुँदैन थियो। माइती आएका दिदीहरूले समेत घर पस्दा छिमेकीकहाँ गरगहना राख्थे।
ति दिनहरू सम्झदा अझैपनि झस्किन्छन् वीर।
आफ्नो गल्तीका कारण परिवारबाट टाढिएका उनले एकदिन ‘गुगल’मा सुधार गृहबारे खोजे। उनले गोदावारीको ‘कन्ट्रोल एडिक्शन नेपाल’बारे बुझे।
र, त्यहीँबाट उनले नशाले थिलाेथिलाे भइसकेका आफूलाई सुधार्दै गए।
सुरुवाती दिनमा उनलाई धेरै गाह्रो भयो। नशाबिना मरिन्छ कि जस्तो पनि लाग्यो।
तर समय बित्दै जाँदा उनको ड्रग्सको तलतल पनि मेटियो। उनी ड्रग्सबिनै खाना खान र सुत्न सक्ने भए।
उनमा सकारात्मक सोच पलाउन थाल्यो।
सुधार केन्द्र बस्न थालेको ६५ दिन भइसकेको थियो। ६६ दिनमा उनलाई भेट्न परिवार आए। र, घर लैजाने भए।
रिह्याब बसेको २ महिनामा कसैलाई बाहिर निकाल्दैन। तर वीरलाई निकालिएको थियो। उनको मनमा चिसो पस्यो।
वीरले थाहा पाए, बुबाले संसार छाडेछन्।
बुबाको मृत्युको खबर उनी थरथरी भए। बुबालाई सम्झिएर भक्कानिएर रोए। किनकि उनले बुबालाई दिएको वाचा अधुरै रह्यो।
रिह्याब बस्नअघि वीरले बुबालाई भनेका थिए, ‘म सुध्रिएर फर्किन्छु। तपाईंको खुट्टा काटिएको छ। म राम्रो खुट्टा किनिदिन्छु अनि बुबाछोरा सँगै हिँड्नुपर्छ है।’
बुबासँग गरेको वचन पूरा नभएपछि आफूले गरेका गल्तीहरूले झनै पिरोल्न थाल्यो वीरलाई। तर उनीसित पछुताउनुबाहेक केही थिएन।
‘मैले कहिल्यै सोचेको थिइनँ कि मलाई पनि दुःख पर्छ। तर जब गुमाएँ त्यसपछि थाहा पाएँ’, स्वर्गीय बुबालाई सम्झिएर भावुक भएका वीर भन्छन्, ‘बुबा हुँदा बुझिनँ तर गुमाइसकेपछि बुबा मत्हव बुझिरहेको छु।’
बुबाको मृत्युपछि उनको सुध्रिने अठोट झनै बढ्यो। त्यसपछि उनले कहिल्यै ड्रग्स खाएनन्।
अहिले उनी सुध्रिएको ५ वर्ष भइसक्यो।
कुनैबेला आफूपनि कुलतको दलदलमा रहेका वीर अहिले सुध्रिसकेका छन्। र, अरूलाई पनि सुधारिरहेका छन्।
सुधार केन्द्रमा बसेर सुध्रिएका छोराहरूलाई देखेर बुबा रोएको देख्दा उनी आफ्ना बुबालाई सम्झिन्छन्। र, आफैं सोच्छन्, ‘मैले मेरो बुबालाई दुःख दिएर मात्र रुवाएँ तर म सुध्रिएको हेर्न पाउनुभएन। मेरो कारण खुसीले रुन पाउनुभएन।’
अहिले आफैंलाई बदलेका वीरको अब एउटै लक्ष्य छ, कुलतमा फसेका युवालाई सुधारेर नयाँ जीवन जिउन सिकाउने।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया