विश्व बाघ दिवस

बाघ र मान्छेको आदिम साइनो

Break n Links
Break n Links

पृथ्वीका यी उनै विरोधाभाषले भरिएका मान्छे हुन्, जसले कुनै जमानामा बाघको शिकार गरे। मारेर सिध्याए। अनि फेरि त्यसैलाई जोगाउन कानुन बनाए। बाघ मार्ने कानुन पनि यिनै मान्छेले बनाए, त्यसलाई जोगाउन पनि।

र, यसपालि विश्व बाघ दिवसको नारा बन्यो- ‘बाघ र मान्छेको सहअस्तित्व…।’

बाघ संरक्षणको ३० वर्षे यात्रामा पहिलोचोटी मान्छेले फेरि बाघसँगको सहअस्तित्व खोज्न थालेको छ।

के थाहा बाघलाई यी ‘विकासे’ शब्दका परिभाषाहरू!

बस्, बाघ त बाघै हो। त्यो हिजाे पनि यही पृथ्वीमा थियो, आज पनि छ। र, मान्छेले चाहे सधैँ रहिरहनेछ। फरक यत्ति हो, बाघै नरहे यो प्राणीजीवनको चक्रै रहन्न। जसको शीर्षासनमा बाघ हुन्छ।

कस्तो छ बाघ र मान्छेको साइनो?

जीवनचक्रको यो आदि र आदिम साइनो हो।

लामो समय वन्यजन्तु र तिनका स्वभावहरूको अध्ययन, अनुसन्धान गरेका ददि सापकाेटा अनुभव छ, ‘बाघहरू गुरगुराउँछन्, गर्जिन्छन्, कराउँछन्, विलाप गर्छन्, चिच्याउँछन्, हिसहिसाउँछन् र हाँस्छन्। ती प्रत्येक आवाज, स्वरले फरकफरक विषयको संकेत, संवाद गर्छन् भन्ने विश्वास गरिएको छ।’

कुनै समय यस्तो थियो, जहाँ बाघ र मान्छेको कुनै दुश्मनी थिएन। रिस, राग थिएन। जंगल जीवनको त्योमात्रै मीठो प्रेमको साइनो थियो।

मान्छे फेरिन थाल्यो। बाघ फेरिएन। मान्छेले बसाइँ फेर्न थाल्यो। बाघले फेरेन। मान्छेले आदत बदल्न थाल्यो। बाघले बदलेन। जब मान्छे शिकारी बन्न थाल्यो, अनि शिकार बन्ने बाघको त्यो बाध्यता भयो, कहिलेकाहीँ ऊ पनि मान्छेको शिकारी भइदियो। मान्छे शिकार भइदियो।

बाघ एउटा जंगलको ‘राजा’मात्रै होइन, यो शक्ति र साहसका अनेकन बिम्ब पनि हो। त्यसैले त्यो ‘अदम्य साहस’का अघि मान्छेले पनि त्यस्तै ‘दम्भिलो’ शिकार खोज्न थाल्यो। जसका निशाना बाघहरू भए।

आज बाघसँगै वनभरि रन्किने प्रश्नहरू हुन्, बाघ जोगाउने कि मान्छे?  बाघ बचाउने र प्राणीका अरू जीवन, जसलाई बाघले गोठहरूबाट लतार्दै लैजान्छ।

‘यो त बराबरी नै हो। कुनै समय न बाघको मान्छेसँग कुनै दुश्मनी थियो, न मान्छेको दुश्मनी बाघसँग थियो। यी सबै सँगै मिलेर बसेका थिए’, वर्षौंदेखि बाघ र उसको जीवन पछ्याउँदै हिँडिरहेका भवानीप्रसाद कँडेल भन्छन्, ‘तर विस्तारै मान्छेले बाघलाई च्याप्दै लग्यो।’

मान्छेले विकास खोज्यो। जंगल फाँड्यो। त्यो जंगल बाघको आदिम इलाका थियो, मान्छेको होइन। इलाका खोसिँदा ऊ जंगियो। हुँदाहुँदा मान्छे उसलाई खेद्न थाल्यो। इलाका खोस्यो। त्यो उसको बास थियो। स-साना जनावरहरू मान्छेलाई देख्नै नहुने, मारिहाल्न थाले। ती बाघका गाँस थिए। शिकार थिए।

शिकार फेरिए, शिकारी फेरिए। मान्छेको आदतसँगै बाघको आदत पनि फेरियो। र, बाघको ‘मेनु’मा विस्तारै मान्छे पर्ने थाल्यो।

बाघ जोगाउने नाउँमा विश्वभरि चलिरहेको महँगो अभियानसँगै थपिएको चुनौती पनि यही हो- बढिरहेका बाघ अनि मान्छेबीचको ‘द्वन्द्व’ कसरी समाधान गर्ने? जंगल बढ्दैन, बाघ बढिरहेका छन्। तिनका इलाकाहरू कसरी फैलाउने?

तर बाघ आफैँ मान्छे खाने भएको होइन। त्यो मान्छेले जिस्क्याएको हो। उसले नै बाघसँग जोरी खोजेको हो।

बाघका पाइला पछ्याउने भवानीको बाटाहरूमा कैयौँ बाघहरू भेटिएका छन्। उनले टाढाबाट क्यामेराका लेन्स मिलाउँछन्। अनि ती बाघचालहरू ‘फ्रिज’ गर्छन्। तर  न बाघ उनलाई झम्टिन आउँछ, न उनलाई त्यसको डरले दगुराउँछ।

‘कहिले त एक मिटरभन्दा पनि थोरै दूरीमा बाघ भेटेको छु’, उनको अनुभव छ, ‘कहिले बाघले भेटेको छ। कहिले मैले बाघ भेटेको छु। तर हाम्रा बाटा अलग हुन्छन्। ऊ आफ्नो बाटो लाग्छ। म आफ्नो बाटो।’

उनले भन्न खोजेको कुरा के हो भने, ‘बाघले सित्तिमित्ति मान्छेलाई आक्रमण गर्दैन।’

‘मान्छे कहिल्यै पनि बाघको ‘मेनु’मा पर्दैन। उसको मेनु नै फिक्स हुन्छ’, भवानीको अनुभव देखाउँछ, ‘तर, यो भने पक्कै हो कि बाघले चाह्यो भने मानिस उसको लागि सजिलो आहारा हो।’

अर्थात् कुनै पनि बाघले हत्तपत्त ‘दुई खुट्टे’ प्राणीलाई आफ्नो आहारा बनाउनै चाहन्न। अन्तिम अवस्थामा मात्रै उसले मान्छेमाथि आक्रमण गर्नसक्छ। तर, पहिलोपटक नै उसले मान्छेलाई खान सक्दैन।

एउटा वयस्क बाघले आहाराका लागि एउटा चित्तलमाथि कम्तीमा २० देखि ३० पटकसम्म आक्रमणको प्रयास गर्छ। तर, शिकारीमाथि आक्रमण गर्न नसक्ने बाघले सजिलो शिकार खोज्छ। जस्तो कि सबैभन्दा उसको लागि सजिलो ‘शिकार’ भनेको मान्छे नै हो।

‘त्यही ठाउँमा जंगल सफारीका नाममा मानिसको भीड लाग्छ। गाडीहरूको घाइँघुइँ हुन्छ। बाघले शान्तसँग आफ्नो शिकार गर्न पाइरहेको हुँदैन। मानिस र गाडीको त्यो होहल्लाले तिर्खाएको बाघले पानी खान पाउँदैन। स्वतन्त्र भएर आफ्नो इलाकामा विचरण गर्न पाउँदैन’, भवानीलाई लाग्छ, ‘अनि बाघहरू भड्किनसक्छन्। भड्किएको बाघले जे पनि गर्नसक्छ। जसलाई पनि मार्नसक्छ।’

बाघ बढाइरहने कि चुनौती व्यवस्थापनमा लाग्ने?

‘बाघ बढायौँ र जोगायौँ, दोब्बर-तेब्बर बनायौँ भनेर अब नाक लामो पारेरमात्रै हुँदैन। नेपालले विश्व बाघ संरक्षणको अभियानमा एउटा उदाहरण त पेश गरेको छ’, विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङ भन्छन्, ‘अबको दशक भनेको बाघको संख्या बढेसँग बढेका चुनौतीहरूको व्यवस्थापनमै लाग्नुपर्ने देखिन्छ।’

उनको सुझाव छ, अब यो संख्या धेरै बढाउनेतिर लाग्नुभन्दा पनि त्यसलाई जोगाएर राख्ने र व्यवस्थापनको चुनौती सामना गर्नु महत्वपूर्ण घडी आइपुगेको छ।

‘बाघको संरक्षण अनि यसको संख्या भनेको निकै संवेदनशील कुरा हो। अलिकति तलमाथि हुँदा पनि बाघको संख्या ह्वात्तै घट्नसक्छ’, उनी भन्छन्, ‘त्यसैले अब संख्या बढाउने भन्दा पनि त्यसको व्यवस्थापकीय पक्षलाई ध्यान दिन जरुरी छ।’

पहिलोचोटी रुसको सेन्ट पिटर्सवर्गमा भएको ‘विश्व बाघ सम्मेलन’मा नेपालले एउटा प्रतिज्ञा गरेको थियो- २०२२ सम्ममा बाघको संख्या दोब्बर हुनेछ।

त्यो वाचा नेपालले पूरा गर्‍यो। त्यो नेपालका जंगलभरि भेटिएका करिब १२१ बाघहरू बढेर आज दुई होइन, तीन गुणा भइसकेका छन्। २०२२ मै नेपालभरि ती बाघको संख्या ३२५ पुगिसकेको छ।

सन् १९०० को दशकमा विश्वभरि अनुमान गरिएको करिब १ लाख बाघहरू घटेर २००३ सम्म आइपुग्दा जम्मा ३ हजार २ सय जतिमात्रै बाघ बाँचेका थिए। करिब १०० वर्षको अन्तरालमा लोप भएको यो निकै ठूलो संख्या थियो।

खाद्यचक्रको शीर्षस्थानमा रहेको बाघ यसरी सकिन थालेपछि अत्तालिएको पूरै विश्वसमुदाय त्यसपछि बाघ जोगाउने अभियानमा अघि सरेको हो।

२०२२ को गणनामा विश्वभरि बाघको संख्या लगभग चाढे चार हजार पुगेको छ। त्यसमा नेपाल, भारत, चीन, भुटान, बंगलादेशलगायतले भारी योगदान दिए बाघ जोगाए अनि बढाए।

तर योसँगै अब अर्को चुनौती थपिएको छ, ती बाघहरूलाई कसरी स्याहार्ने? कसरी बचाउने? मान्छे र घरपालुवा जनावर बाघसँग कसरी जोगाउने? मान्छेसँग बाघ कसरी बचाउने? हरदिन जसो संरक्षित क्षेत्रमा हुने मान्छे र बाघको भीडन्त कसरी मेटाउने?

पाँच वर्षमा देशभरि बाघले ५८ जना मानिस मारिसकेको छ। बाघको आक्रमणबाट सबैभन्दा धेरै आर्थिक वर्ष २०७८/७९मा २१ जना मानिसको मृत्यु भएको छ।

योबीचमा बाघले मान्छेमात्रै मारेको छैन, बरू मान्छेले पनि धेरै बाघ मारेका छन्। धेरै बाघ जंगलमा बेवारिसे भएर मरिरहेका भेटिएका छन्। 
मान्छेमात्रै होइन, बाघले मान्छेले पालेका जनावर पनि मारेको छ।

र, अबको सबैभन्दा ठूलो चुनौती भएको छ, यी बाघ र मान्छेको लडाईंको व्यवस्थापन।

‘अघिल्लो वर्ष (२०२२) बर्दिया निकुञ्जभित्र १२५ बाघहरू गणनामा आए। तर लाग्छ, त्यहाँ अरू पनि बाघ थिए जो गन्तीमा आएनन्। मलाई लाग्छ बर्दिया निकुञ्जमा २०० भन्दा धेरै बाघ छन्। २००९ तिर जम्मा १९ वटा बाघ थिए’, भवानी भन्छन्, ‘अब चुनौती भनेको ती बाघहरूको व्यवस्थापन हो। व्यवस्थापनका नाममा संरक्षणकर्मीहरूले नै बाघमाथि अत्याचार पनि गर्न थालेका छन्। अब त्यसलाई व्यवस्थित गर्नतिर लाग्नुपर्छ।’

योबेला सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जभित्र १ सय २८ बाघ भेटिएका थिए। त्यस्तै, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र सुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए।

‘बाघहरू बढिरहेका छन्। जंगल त उही र उस्तै त हो नि?’, भवानी भन्छन्, ‘हुन त यी बाघका लागि विचरण र शिककार गर्ने प्रशस्त ठाउँ छ, समस्या छैन भनिएको छ। तर त्यस्तो होइन, अब बाघका इलाका साँघुरा भइसकेका छन्। त्यसकै कारण बाघहरू अब सामुदायिक वनतिर सरिरहेका छन्। मान्छेसँग बढेको द्वन्द्वको एउटा मुख्य कारण नै यही हो।’

जनावर र मानिसबीचको लडाईं नयाँ होइन। मानिसले प्रकृतिबाटै आफ्ना आवश्यकताहरू पूरा गर्दै आएको छ। यो आदिनियममा जनावरहरू पर्यावरणीय चक्रका साश्वत आवश्यकता हुन्।

यो चक्रबिना मानव जीवन सम्भव छैन र जनाजवरहरू बिना यो चक्र सम्भव छैन।

प्रकृतिमाथि मानिसले निरन्तर गर्दै आएको जवर्जस्त आक्रमणले जनावरहरू बिथोलिएका पक्कै छन्। तर, एउटा सत्य त के हो भने जंगल पहिलादेखि नै जनवार अनि ‘बाघ’हरूकै इलाका हो।

त्यसमा मान्छेले जवर्जस्ती ‘कब्जा’ जमाउन खोजेको मात्रै हो।

‘अहिले यहाँ पनि घटनाहरू भएका छन्। ती सबै जंगलभित्रै भएका छन्। एउटा पनि जंगलबाहिर भएका छैनन्। आफ्नो घरमा आफूले गर्न चाहेको कुरा गर्न नपाएपछि जनावर पनि पक्कै बिथोलिन्छन् नै’, भवानी भन्छन्, ‘त्यसैले हामीले पनि विचार गर्नुपर्छ कि हामी कसकाे क्षेत्रमा हस्तक्षेप गरिरहेका छौं भनेर। त्यसका लागि राज्य वा सम्बन्धित निकायले मानिसमा अझै चेतना जगाउनुपर्ने आवश्यक छ।’

बाँच्नका लागि संघर्ष त सबैले गर्नैपर्छ। मान्छे होस् या बाघहरू।

प्रकाशित मिति: : 2024-07-29 16:30:00

प्रतिकृया दिनुहोस्