मङ्गलबार, ०५ अगस्ट २०२५

बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!

दिपा धिताल

दिपा धिताल

रुकुम पूर्व
News Image
• • •

नेपालको दुर्गम गाउँकी ४८ वर्षीया ‘रुकुम ६’ को सानै उमेरमा मागी विवाह हुन्छ। आठजनाको ठूलो परिवार, सामाजिक परम्परा अनुशार घरधन्दा बुहारीले गर्नुपर्ने। उनी राम्री बुहारी, श्रीमती र समाजमा असल महिलाको नाममा पहिचान बनाउन हरपल तल्लिन हुन्छिन्।

सबैको नजरमा असल बन्नका लागि रात दिन मेहनत गर्छिन्। पहिलो सन्तान २० नपुग्दै र अर्को सन्तान २२ वर्षमा जन्मिन्छन्। सन्तानलाई राम्रो शिक्षा दिन र परिवारबाट माया पाउनका हरसमय परिश्रम गरेकी हुन्छिन्। शारीरिक परिश्रम उनका लागि दुःख नै थिएन।

घरको आर्थिक अवस्था त्यति राम्रो नभएकाले श्रीमान मजदुरीका लागि कहिले भारत त कहिले उपत्यकातिरका ईट्टाभट्टामा पुग्छन्। परिवारको दैनिकी चलाउन दिन रात दुवै जनाले मेहनत गर्छन्। उनको दिनभर गाउँमा ज्याला मजदुरी र बिहान साझ घरधन्दा दैनिकी हुन्छ।

शारीरिक परिश्रम जति गरेपनि मन खुसी थियो। तर दुर्भाग्य त्यो खुसी केहि समयपछि लुटिन थाल्छ। बाहिर मजदुरी गर्न जाने श्रीमान अलि टाढा टाढा हुँदै गएको अनुभुति हुन्छ। मनमा अनेकन कुरा आउछन्। के भयो किन यसरी श्रीमान टाढा हुन थाले भन्ने कुराले दिनरात पिरोल्न थाल्छ।

पहिलो छोरा १२ कक्षा सकेर अगाडिको पढाइका लागी तराइ झर्छन्। छोरीले १० पास गर्छिन्। श्रीमान किन टाढा हुदै छन् भन्ने कुराले पीरोलिरहेको हुन्छ। २०८० असारको पहिलो साता श्रीमान घरबाट निस्केको १० दिनसम्म आउदैनन्। एकदिन गाउँकै एकजना दाई घरमा आएर श्रीमानले अर्की बिहे गरेर काठमाडौं गएको जानकारी दिन्छन्।

कसरी विस्वास गर्नु? मुटु छियाछिया भयो। श्रीमतीले बहुविवाह मुद्दा हाल्छिन् कि भन्ने डरले घरमा नल्याइ काठमाडौं लिएर गएका रहेछन्। गाउँ कै दाइले सम्झाउदै उनलाई सान्त्वना दिए। अझै पनि पत्याउनै गाह्रो भइरहेको थियो।

श्रीमान खोज्न काठमाडौं पुगिन्। अर्की श्रीमतीसँग भेटिएका श्रीमानले दिएको धम्कीको पोको बोकेर घर फर्किन्। निरास उनी समाउने हाँगा र टेक्ने डाली भाँचिएको अनुभव बोकेर बसेकी छन्।

अर्को घटना

‘घोराही ९’ ३५ वर्षको भइन्। १९ वर्षको उमेरमा आफूखुसी विवाह गरेकी उनलाई श्रीमान र उनको माया, दुनिया यत्ति रहेछ जस्तै लाग्छ। अर्को वर्ष छोरा जन्मिन्छ। आफूलाई खुसी र मायामा राखेको अनुभुति भइरहन्छ। बाआमा र माईती सबै भुल्छिन्।

समय बित्दै जान्छ। आफू घरको र श्रीमान बाहिर काम गर्छन्। छोरा पनि ठूलो हुदै जान्छ। तर बिस्तारै श्रीमानको व्यवहार परिवर्तन हुदै जान्छ। सानो-सानो समेत दुःख नदिने उनका श्रीमान बिस्तारै टाढा हुन्छन। एकदिन चिनेजानेकै केटी विवाह गरी गाउँ छोडेर हिड्छन्। घर न घाट भएको अनुभुती गरेकी उनी मानसिक रोगी बन्छिन्। 

नेपालमा बहुविवाह बिरुद्धको गतिलो कानुन हुँदाहुँदै पनि माथिका प्रतिनिधिमुलक घटना यत्रतत्र भेटिन्छन्। कानुनले बन्देज गर्दागर्दै पनि पुरुषहरूले लुकिछिपी श्रीमतीलाई बहुविवाहको कानुनी बाटोमा नजान धम्की दिएर अर्को विवाह गरिरहेको अवस्था पनि छ।

पितृसतात्मक सोचले भरिपूर्ण भएको हाम्रो समाजमा कानुन हुँदाहुँदै कानुनलाई मिचेर अपराधलाई ढाकछोप गर्नेपरिपाटी हटेको छैन। कानुले नै बहुविवाह गर्नका लागी बाटो खुलाउने हो भने आम महिला नारकीय जीवन बिताउन बाध्य हुनेछन्।

०७५ भदौ १ मा मुलुकी अपराध संहिता लागू भएपछि बहुविवाहलाई पूर्ण निषेध गर्दै आएको नेपालको कानुनी प्रणालीलाई लैंगिक समानता, महिला अधिकार र सभ्य समाजतर्फको यात्रामा एउटा ऐतिहासिक प्रगतिका रूपमा हेरिएको थियो।

तर त्यो प्रगतिलाई उल्टाउने गरी ल्याउन लागिएको संशोधन विधेयकको मस्यौदाले गम्भीर सामाजिक–न्यायीक प्रश्न खडा हुने देखिन्छ।

कानुन मन्त्रालयले प्रस्ताव गरेको मस्यौदामा विवाहित पुरुषले अर्को सम्बन्ध राख्दा महिला गर्भवती भए वा सन्तान जन्मिए विवाह स्वतः वैधानिक ठहरिने व्यवस्था ‘लाज पनि लजाउने विषय’ हो। सभ्यसमाजको मूल्य–मान्यता प्रतिकूल पनि हो।

यो प्रावधानले विवाह जस्तो विषयलाई बृहत् सामाजिक अनुशासन र आपसी उत्तरदायित्वका आधारबाट निकालेर जैविक सम्भावनाभित्रै सीमित गर्न खोजिएको देखिन्छ। 

गर्भ वा सन्तानलाई वैवाहिक अनुमति दिने आधारलाई टेकेर गरिएको यस्तो कानुनी प्रस्ताव स्वतः महिला अधिकार माथिको प्रहार हो। अझै गहिराइमा पुगेर केलाउँदा प्रस्तावित व्यवस्थाले कानुनी संरक्षणमा पुरुषको सामाजिक अपराध ढाकछोप गर्ने वा सहुलियतपूर्ण सुविधाको ढोका खोल्ने मनसाय समेत झल्किन्छ।

‘विवाह गर्ने हक स्वतन्त्र हो नि। कसैको मन पहिलो पत्नीसँग मिलेको रहेनछ भने उसले अर्की महिलासँग सम्बन्ध राख्छ र बच्चा पनि जन्मिन्छ भने त्यो सम्बन्धलाई विवाहमा परिणत नगर्दा दोस्रो महिलाको जीवन बर्बाद भयो, धेरै महिला सडकमै आइपुगे, त्यसलाई रोक्न हामीले सर्तसहितको दोस्रो विवाहलाई कानुनी मान्यता दिने व्यवस्था गर्न लागेका हौं।’

कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना बोलेको शब्दले सभ्यसमाजको उपहास गरेको मात्र छैन समग्र महिला अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ।

यस सन्दर्भमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको टिप्पणीलाई स्वागत गर्नुको विकल्प छैन। उनले महिला हिंसालाई वैधानिकता दिने संकेत गरेको बताउँदै गम्भीर चिन्ता व्यक्त गरेकी छन्। पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलले यस्तो संशोधनले लैंगिक असमानता बढाउने र नेपाललाई अन्तर्राष्ट्रिय रूपमा लज्जास्पद अवस्थामा पु¥याउने चेतावनी समेत दिएका छन्।

नेपालको संविधानले समानताको अधिकार सुनिश्चित गरेको छ भने, नेपाल महिलाविरुद्धको सबै प्रकारको भेदभाव उन्मूलनसम्बन्धी महासन्धिको पक्ष राष्ट्र रहेको उल्लेख छ। यस सन्धिअनुसार बहुविवाहलाई लैंगिक हिंसाको स्वरूप मानिन्छ।

बहुविवाह वैधानिक हुनेबित्तिकै कमजोर आर्थिक हैसियत भएका तथा सम्पन्न भनिने सबै महिलामाथि हुने घरेलु हिंसा, परित्याग, आर्थिक शोषण र मानसिक उत्पीडन बढ्नेछ। नेपालका दुर्गम र ग्रामीण क्षेत्रको सामाजिक संरचनामा पार्ने प्रभाव हामीले सोचेभन्दा कहालीलाग्दो हुने निश्चित छ।

यस विषयलाई लिएर नेपालमा महिलाको क्षेत्रमा क्रियाशिल रहेका विभिन्न संघसंस्था र मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण पत्र बुझाउने, सडकमा आएर आन्दोलन गर्ने र सामाजिक सन्जालको प्रयोगमार्पmत पनि चारैतिर विरोध जनाइरहेको छन्।

अहिलेको यो अवस्थामा कानुन मन्त्रालयले प्रस्ताव गरेको मस्यौदा पारित गरियो भने पक्कै पनि नेपाली महिलाको हक अधिकार खोसिएको हुनेछ। धेरै महिलाहरूले बलिदान दिएर आएको लोकतन्त्रको धज्जी उडेको आभास हुनेछ।

सरकार प्रमुखले कहिले विवाह गर्ने अनि कति सन्तान जन्माउने भनेर महिलाको शरीरलाई वस्तुको रुपमा तुलना गरेको मुलुकमा सामाजिक र व्यवहारीक रुपमा रहिरहेका कतिपय लज्जाका विषयहरू सम्वेदनशीलता बिना छरपस्ट हुनु र यस्ता विषयमा आन्दोलन गर्न पर्नु दुःखद हो।

महिलालाई उपभोगको वस्तु ठान्ने पुरुषवादी सोचको बाटोबाट आएको बहुविवाहको चर्चा गर्दा मात्रै पनि लजाउनु पर्ने पदीय जिम्मेवारीमा बसेका पात्रहरू नै र्निलज्ज बन्नु आमामाथिको अपमान हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!