रोल्पाको चतुर्भुज महोत्सव र पर्यटन विकास

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं २ खुंग्रीस्थित चतुर्भुजमा आगामी माघ १५ गतेदेखि २७ गतेसम्म छैठौँ चतुर्भुज-माण्डवी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव-२०८१ आयोजना हुँदैछ। महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाले २०८१।९।२९ मा सहमती प्रदान गरिसकेको छ। 

मेलामा उल्लेख्य मात्रामा जनसहभागिता हुने अनुमान गरिएको मेलाका संयोजक श्याम भारतीको भनाई रहेको छ। पछिल्लो समय श्रीपञ्चमी मेलाको अवसर पारेर चतुर्भुजमा महोत्सव हुँदैआएको पाइएको छ। महोत्सवमा आशातीत आर्थिक कारोवार हुने बताइएको छ। 

चतुर्भुजको महिमा उल्लेखनीय र महत्वपूर्ण पनि छ। सुवर्णावती गंगा र माण्डवी गंगाको संगमस्थलमा रहेको चतुर्भुजमा परापूर्वककालमा ब्रह्माजीको ब्रतवन्ध भएको हो भन्ने जनश्रुति पाइन्छ। सदियौँअगाडि चतुर्भुजमा उन्मत्तेश्वर महादेवको मन्दिर रहेको र धर्मशाला पनि भएको अग्रजहरूको भनाईबाट स्पष्ट हुन्छ। 

चतुर्भुजमा पहिले पहिले मकरसंक्रान्ति, बसन्तपञ्चमी र शिवरात्रीमा ठूलो मेला लाग्थ्यो। हाल बसन्तपञ्चमीमा मात्र ठूलो मेला लाग्ने गरेको देखिन्छ। चतुर्भुजमा रहेको लुंग्री-माडीको संगमस्थलमा माघेसंक्रान्ति नुहाउन जाने र शिवरात्रीका दिन शिवपाञ्चायन मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गर्दछ। श्रीपञ्चमीको मेला भर्न रोल्पाको बाइसखुवा, कालाशेष तथा प्यूठानको माडीखोला भेग र आसपासबाट धेरै मानिसहरू आउने गर्छन्। यो लेखकले २०४० सालअघि थाहा पाएसम्म श्रीपञ्चमी मेलामा घिउमा तयार गरिएको जिलेबीको स्वाद अहिले पनि भुलेको छैन।

आजकल भने हानिकारक रङ मिसाइएका र शंकास्पद अनेक तेलमा बनाइएका जिलेबी विक्री गरिन्छ। त्यतिबेला बर्फी, बतासा लगायतका मिठाईहरू पनि मेलामा उपलब्ध हुन्थे। आजकल समयले कोल्टे फेरेसँगै मेलाको रौनक पनि बदलिएको पाइन्छ। मेलामा अनेक किसिमका वस्तुहरूको खरिद-विक्री हुन्छ। यदाकदा श्रीपञ्चमी मेलामा महोत्सवहरू पनि नगरिएका भने होइनन्। महोत्सवमा जादू, सर्कस देखाइनुका साथै विभिन्न खेलहरू पनि खेलाइन्छ। चर्चित वा ख्यातिप्राप्त कलाकार तथा गायकहरू पनि सहभागी हुने भएका कारण महोत्सव हेर्न दर्शकहरूको घुइँचो पनि लाग्दछ।

२०४० सालअघि कुनै सालमा चतुर्भुजमा सञ्चालित श्रीपञ्चमी मेलामा कृषि मेला प्रदर्शनीमा राखिएका आलुहरू प्रदर्शनीमा सहभागी आलु उत्पादक यो लेखक द्वीतिय भई एउटा चुच्चेकुटो पुरस्कार प्राप्त गरेको थियो। साथै लिथो मेशिनमा प्रिन्ट भएको प्रमाणपत्र समेत प्राप्त भएको थियो। माघ महिनामा पनि हरिया बोटसँगै मकैका घोँगा राखिएको देख्दा हामी अचम्म पर्थ्यौँ। मैले चुच्चेकुटो पुरस्कारसहित प्रमाणपत्र पाउँदा ज्यादै हर्षित भएको थिएँ। त्यतिबेला हामी रोल्पाको खुंग्रीबाट प्यूठानको भिंग्रीसम्म दैनिक पाँच घन्टा आउजाउ गरेर माध्यमिकस्तरको अध्ययन गर्नुपर्थ्यो। दुःख ज्यादै हुने हुँदा त्यसबखतको पढाई स्तरीय हुँदैनथ्यो।

यहाँ रोल्पा जिल्लाका खुंग्री, घोडागाउँ, महेन्द्री, हरिगाउँ, थुम्पाकी, हिले, गोगनपानी, मिझिङ, सुलिचौर, वडाचौर लगायतका ठाउँहरूका वासिन्दा र प्यूठानका सारी, भिंग्री, वाँझीपुर, गोठीबाङ, देविस्थान, उदयपुर आदि ठाउँका वासिन्दा तथा दाङबासीहरू समेत यस तीर्थस्थलको बारेमा अनभिज्ञ त छैनन। तर नजिकको तीर्थ हेला भने झैँ यस क्षेत्रलाई खासै चासो नदिएको हुनाले ओझेलमा पर्दै आएको छ। सबै क्षेत्रहरूबाट यसलाई नियाल्न खोजिएमा अवश्य पनि यसको महत्व अझ उजागर हुने थियो। चारैतिरबाट अग्लाअग्ला पहाडहरूले घेरिएको यस स्थानका बारेमा हिमवत खण्ड, शिवपुराणमा र गंगा महिमामा समेत वर्णन गरिएको छ। जसअनुसार यहाँ धनञ्जय नाम गरेका ऋषिले धमसीकुना भन्ने गुफामा धनञ्जय आश्रम बनाएर तपस्या गरेका थिए। 

सुनछहरीको पवित्र पानी मिसिएर बग्ने सुवर्णावती गंगा र माण्डबी गंगाको संगमस्थल चतुर्भुजधामको महत्व बेग्लै छ। यस्ता स्थानमा देवी देवताको बास हुन्छ भन्ने कुरा धार्मिक अध्येयताहरूको भनाई छ। श्री स्वर्गद्वारी आश्रमका प्रभुमहाराजजीले त्यस संगमस्थल चतुर्भुजमा गुप्त रुपले गुफामा निस्कनु भई त्यहाँको पानी चढाउनुहुन्थ्यो भन्ने जनश्रुति पनि छ। यसरी स्वर्गद्वारी र चतुर्भुजको सम्बन्ध गाँसिएको छ। यस्तो अपूर्वको ठाउँको दायाँ बायाँ ठूला जलश्रोत भएका गंगाहरू अन्यत्र तीर्थहरूमा विरलै पाइन्छन्। गंगा स्नानका साथै शिव मन्दिरमा दर्शन गर्नाले पुण्य प्राप्त हुने भनाई छ। भएको शिव मन्दिर कुनैबखत भत्किएको र पछिसम्म एउटा पनि मन्दिर नभएको अवस्थामा चतुर्भुज तीर्थलाई २०३९ सालमा गजुलका राजनीतिज्ञ तथा समाजसेवी खडानन्द सुवेदी, खुंग्रीका तेजप्रसाद अधिकारी, मुक्तु गिरि, प्रेमिसंह भारती, परमानन्द पुरी, सारीका हरिप्रसाद सुवेदी, टीकाराम खनाल, घोडागाउँका गोपालचन्द्र पोखरेल, भरत शाह, भिंग्रीका शेरबहादुर रोकाय, होमबहादुर रोकायलगायतका समाजसेवीहरू मिलेर कसैले स्थानीय श्रोत जम्मा गरेर तथा खडानन्द सुवेदी र तेज प्रसाद अधिकारीलगायतका अग्रजहरू मिलेर भारतका विभिन्न शहरमा गएर त्यहाँ नोकरी गर्ने ब्यक्तिहरूबाट शिव पाञ्चायन मन्दिरको निर्माणको लागि चन्दा संकलन गरेर पक्की मन्दिर बनाइयो। शिव मन्दिरका साथै चतुर्भुजधाम परिसरमा राधाकृष्ण मन्दिर, विष्णु मन्दिर, देवी मन्दिर, सरस्वती मन्दिर, गणेश मन्दिर र सूर्यको मन्दिर समेत निर्माण भैसकेको छ। साथै हवन कुण्ड सरस्वती मन्दिर तयार भई दैनिक पूजापाठहरू नियमित चलिरहेको छ। 

चतुर्भुजमा आउन जान पहिले जस्तो कठिन छैन। अहिले काठमाडौंबाट रोल्पा जाने बसहरू पनि छन् र दिउँसो चल्ने माइक्रो पनि पाइन्छ। पूर्वदेखि पश्चिमसम्मका तीर्थालुहरूलाई चतुर्भुजमा आउन सजिलो छ। महेन्द्र राजमार्गअन्तर्गत पर्ने भालुबाङबाट रोल्पा जाने आउने गाडीहरू पर्याप्त पाइन्छन्। स्वर्गद्वारी दर्शन गर्न जाने तीर्थयात्रीहरू भिंग्री झरेर छ किलोमिटरको दूरीमा रहेको खुंग्रीस्थित शिवपाञ्चायन मन्दिरको पनि दर्शन गरेर पुण्य कमाउन सकिन्छ। साथै चतुर्भुजबाट करिब डेढ किलोमिटर नजिकै रहेको नेपालको ४९ औँ शक्तिपीठको रुपमा रहेको श्री त्रिपुरासुन्दरी देवीको दर्शन गर्न पनि त्यति कठिन छैन। हाल खुंग्रीमा पनि होटल तथा लजहरू पनि छन्। 

उहिले परापूर्वककालमा दुई गंगाको संगमस्थल भएकोले योगीहरू आई यस ठाउँमा बसेर स्नान गरि परमात्मामा अविछिन्न रुपले साक्षात्कार गरि आफ्नो स्वरुपमा निमग्न रहनको लागि यो ठाउँ अति उत्तम भएकोले धेरै योगी अर्थात सन्यासीहरू यस ठाउँमा आउने, बस्ने, सिद्धि प्राप्त गर्ने र आफ्नो स्वरुपमा अडेर साक्षात्कार गर्ने भएका कारणबाट सिद्धबाबाहरूको प्रवलता भएको देखिन्छ भन्ने जनश्रुति पनि छ। पछि गएर कुनै बाबा, योगीहरू लामो समय यतै बस्ने विचार गरेर गृहस्थाश्रमको थालनी गरी बस्न थाले। त्यसैले खुंग्रीमा गिरि, पुरी, भारतीहरूको बाहुल्यता देखिन्छ। यद्यपि ब्राह्मण, क्षेत्री, ठकुरी, मगर र दलित जातीहरूको सन्तुलित आवासिय भेग पनि हो खुंग्री भन्नुमा कुनै अत्युक्ति हुनेछैन।

रोल्पाको सदरमुकाम लिबाङलाई रोल्पाको दार्जिलिङ भनेपनि केही फरक पर्दैन। रोल्पा टेकिसकेपछि एकपटक लिबाङमा पनि पुग्दा राम्रै हुन्छ। लिबाडमा पनि सुविधा सम्पन्न होटेलहरू छन्। रोल्पाका धेरै ठाउँहरूमा यातायातको सुविधा पनि छ। राजधानीका मानिसहरूले सोँचेको जस्तो विकट छैन रोल्पा। प्राकृतिक सुन्दरताले भरिपूर्ण छ रोल्पा। सुनछहरीको सुन्दरताले पनि रोल्पाको महत्व अझ बढाइदिएको छ। अर्को तीर्थस्थल जलजला पनि हो। रोल्पाकै घोडागाउँको रातोमाटो र प्यूठानको स्वर्गद्वारी न.पा. वडा नं. ५ सारीको आकर्षक भूवनोटलाई पनि प्रचार प्रसार गर्नु आवश्यक ठानिएको छ।

रोल्पाको प्रवेशद्वारको रुपमा चिनिने खुंग्रीस्थित चतुर्भुजको वारेमा साविक राप्ती अञ्चलभित्रका धेरैजसोलाई जानकारी छ। यसले विस्तारै देशव्यापी प्रचार पाउने सम्भावना बढ्दै गएको छ। यहाँ शिव प्रतिमा निर्माण समितिको सकृयतामा भगवान शिवको विशाल मूर्ति निर्माण गर्ने काम भैसकेको छ। मूर्तिको प्राण प्रतिष्ठापश्चात् आगामी शिवरात्रीदेखि सार्वजनिक रुपमा खुला गरिने भनिएको सो मूर्ति निर्माणका लागि विभिन्न क्षेत्रका ब्यक्तिहरूको आर्थिक योगदान रहेको स्थानीय युवा रोशन गिरीको भनाइ छ। गिरीका अनुसार मूर्ति एक मात्र ढुंगाबाट तयार पारिएको बताइएको छ। मूर्ति जमिनदेखि १८ फिट उचाईको छ भने मूर्तिको उचाई १२.५ फिट अग्लो छ। सो कार्यका लागि हालसम्म कुनै पनि स्थानीय निकाय वा सरकारको सहयोग नभई चन्दादाताहरूबाट स्वतःस्फूर्त रुपमा खडा भएको कोषबाट निर्माण भएको बताइन्छ। मुर्ति निर्माणका लागि धेरैजसो आर्थिक सहयोग पूर्व मेचीदेखि पश्चित महाकालीसम्मका आप्रवासी अर्थात् वैदेशिक रोजगारमा गएका  नेपालीहरूबाट प्राप्त भएको छ भने कतिपय सहयोग स्थानीय वुद्धिजीवि र समाजसेवीहरूबाट प्राप्त भएको छ। मूर्ति निर्माणका लागि कसैबाट भौतिक सहयोग पनि प्राप्त भएको छ। यस मूर्ति सार्वजनिक रुपमा खुला गरिएपछि आन्तरिक पर्यटक र तीर्थयात्रीहरूको संख्या बढ्नेमा विश्वास गरिएको स्थानीय युवा रोशन गिरिको भनाइ रहेको छ।

अन्त्यमा, स्वर्गद्वारी दर्शनका लागि आउनुहुने तीर्थयात्रीहरू चतुर्भुजस्थित शिवपाञ्चायन मन्दिर, नवनिर्मित शिव प्रतिमा र त्यसनजिक पर्ने त्रिपुरासुन्दरीदेवीको पनि दर्शन गरेमा थप पुण्य प्राप्त हुने जनविश्वास छ। पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गममा रहेको पवित्र तीर्थस्थल रिडीमा गएर नुहाउनु र चतुर्भुज दोभानमा गएर नुहाउनुको उत्तिकै महत्व राख्दछ भनेर बुढापाकाहरूको भनाई पनि रहेको छ। यसकारणले पनि चतुर्भुजको अझ धेरै प्रचार प्रसारमा लाग्नु जरुरी देखिन्छ।

स्वर्गद्वारी र चतुर्भुजको सम्वन्धलाई अझ प्रगाढ बनाउनका लागि स्वर्गद्वारी आउने तीर्थयात्रीहरूलाई चतुर्भुजमा पनि स्वागत गर्नका निमित्त स्थानीयहरू समेत अझ बढी लाग्नुपर्ने आवश्यकता देखिन्छ। सम्बन्धित जिल्लास्तरिय निकायहरू र स्थानीय निकायबाट पनि चतुर्भुजको संरक्षण तथा सम्वर्धनका लागि योजना र बजेटको महत्वका साथ उचित व्यवस्था हुनुपर्दछ। देश विकासको महत्वपूर्ण आधार भनेको पर्यटन र तीर्थाटन पनि हो। पर्यटकहरूलाई जति भित्र्याउनसक्यो उति आर्थिक उन्नति हुने कुरामा दुईमत छैन। त्यसैले सरकारीस्तरबाट, अर्धसरकारीस्तरबाट र जनस्तरबाट चतुर्भुजका बारेमा प्रकाशन र प्रसारणमार्फत प्रचार प्रसार गरिनु जरुरी छ। ओझेलमा परेका हरेक पर्यटनस्थललाई प्रवर्द्धन गर्न जरुरी छ।

प्रकाशित मिति: : 2025-01-20 19:36:00

प्रतिकृया दिनुहोस्