संरक्षणकर्मीहरूबीचमै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब ‘बाघ पाल्न सक्दैन’ भनेपछि अहिले ‘बाघ’ त त्यसै पनि चर्चामा छ नै। तर, उनको यो ठट्यौली बयान अब मात्रै यहाँको स्थानीय विषय रहेन। बाघ कति पाल्ने वा पाल्ने कि नपाल्ने भन्ने विषय अब अन्तर्राष्ट्रियकरण भइसकेको छ।
पर्यावरणीय चक्रको एउटा महत्वपूर्ण अंश हो बाघ। यो चक्रमा मान्छेको जीवनको जत्तिको महत्व छ त्यसलाई जोगाइराख्नका लागि बाघ ‘इकोसिस्टम’को एक अंश हो। त्यसैले बाघ संसारभरि लोपोन्मुख छ। यसलाई पाल्ने कि मास्ने भन्ने अब मात्रै एउटा देशको निर्णय हुन सक्दैन। हरेक देशका एक एक बाघमाथि मात्रै त्यो देशको होइन, बरु हरेक एक एक बाघको जीवनमा सारा विश्व नै जोडिएको हुन्छ।
त्यसमा पनि बाघका लागि ‘उर्बर’ मानिएको नेपाल त्यसको संरक्षण र प्रवर्द्धनमा विश्वमै अघि छ। विश्वलक्ष्यभन्दा एक कदम माथि उठेर नेपालले बाघको संख्या तेब्बर बनायो। यसलाई पूरै विश्वले एकदमै प्रशंसा गरेको छ।
सन् २०१० तिर नेपालमा १२१ बाघ थिए। त्यसपछि बाघ संरक्षण गर्न थालेको नेपालले २०२२ सम्ममा ३५५ बाघ पुर्यायो। बाघको संख्या ०२२ पछि पनि बाघको संख्या बढिरहेको छ।
नेपालले कति बाघ पाल्न सक्छ?
बाघ-मान्छेबीच द्वन्द्व बढ्न थालेपछि बेला-बेला ‘बाघ पाल्ने कि मान्छे’ भन्ने बयानबाजीहरू सामान्य हुन्। तर प्रधानमन्त्रीले नै अब ‘बाघ पाल्न सकिन्न’ भनेपछि यो बहसले नै अर्को उचाईं लिएको छ।
प्रधानमन्त्रीको यो अभिव्यक्ति कुनै तथ्यमा आधारित होइन बरु उनी बहकिएर यो भनिरहेका छन्। किनकी बाघले मान्छे मारेका समाचारहरू बारम्बार आइरहन्छन्। र, त्यसैमा प्रधानमन्त्री भावुक भएका हुन्।
नेपालले कति बाघ पाल्न सक्ने भन्ने अनुसन्धान अहिलेसम्म भएको छैन। जसले गर्दा कहाँ कति बाघ पाल्न सकिन्छ भन्ने तथ्य, तथ्याङ्क वा अरु कुनै अनुसन्धानहरू छैनन्।
सन् २०२० मा चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा भने दुई वर्ष लगाएर एक अध्ययन गरिएको थियो। जुन अध्ययनले यहाँ १७५ वयस्क बाघ पाल्न सकिने देखाएको थियो।
अध्ययनले चितवनमा १३६ र पर्सामा ३९ वटा बाघ पाल्न सकिने निष्कर्ष निकालेको थियो। बाँके राष्ट्रिय निकुञ्जमा पनि कति बाघ पाल्न सकिने भनेर अध्ययन भएको भए पनि त्यसको रिपोर्ट तयार भइसकेको छैन।
बाँकी राष्ट्रिय निकुञ्जहरूमा कति बाघ पाल्न सकिन्छ भन्ने अध्ययन भएको छैन। अहिले विभिन्न अनुमानहरूका आधारमा बाघको संरक्षण भइरहेको छ।
देशका १२ मध्ये ५ वटा राष्ट्रिय निकुञ्जमा मात्र बाघको बासस्थान छन्। सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ थिए।
अन्य निकुञ्ज क्षेत्रमा भने बाघका लागि उपयुक्त बासस्थान छैन। बाघ उष्ण क्षेत्रमा बस्न रुचाउँछ।
कति क्षेत्रमा कति बाघ?
कुन क्षेत्रमा कति बाघ पाल्न सकिन्छ भन्ने कुनै एक आधारले मात्र पुष्टि गर्दैन। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा १७५ बाघ पाल्न सकिने निष्कर्ष त्यहाँ पाइने बाघको आहारामा केन्द्रित रहेर निकालिएको थियो।
बाघले एक वर्षमा सिकार गर्ने आहारा प्रजातिको उपलब्धता र बाघले दैनिक खाने मासुको परिमाणका आधारमा उक्त अध्ययन गरिएको थियो। जसअनुसार एउटा वयस्क बाघका लागि दैनिक ५ देखि ६ किलो मासु आवश्यक हुने अध्ययले देखायो। यो हिसाबले करिब दुई सय किलो तौल हुने वयस्क बाघलाई वर्ष दिनका लागि सरदर २ हजार किलो मासु आवश्यक देखियो।
त्यसअनुसार चितवन र पर्सामा बाघका आहारामध्ये चित्तल, मृग, रतुवा, जङ्गली बँदेल, जरायो, गौरीगाई, नीलगाई पाइएको थियो। यी जनावरको संख्याका आधारमा यी दुई निकुञ्जमा १७५ बाघ पाल्न सकिने निष्कर्ष थियो।
अन्य राष्ट्रिय निकुञ्जमा कति बाघ पाल्न सकिन्छ? अध्ययन नभएको वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता वेद कुमार ढकालले बताए।
बाघ बस्नका लागि आहारले मात्र निर्धारण गर्दैन। बाघको नेचर (स्वभाव)ले पनि कहाँ कति बाघ बस्ने भन्ने निर्धारण गर्छ। वन क्षेत्रको एरिया (क्षेत्रफल)ले पनि बाघ कहाँ कति बस्ने भन्ने निर्धारण गर्ने बाघ विज्ञ डा.चिञ्जिवी प्रसाद पोखरेल बताउँछन्।
बाघलाई वनको राजा पनि भनिन्छ। बाघ कोलाहल वा बस्ती नजिक बस्न रुचाउँदैन। शान्त र घना जङ्गलमा निश्चित एरिया बनाएर बस्ने गर्छ।
एउटा भाले बाघ भएको ठाउँमा अर्को भाले बाघ सम्भवत: मिलेर बस्न सक्दैनन्। यदि एकै ठाउँमा दुई भाले बाघ भएमा उनीहरूबीच लडाइ हुने पोखरेलले बताए। त्यसरी लडेर घाइते भएको बाघ जङ्गलभन्दा बाहिर निस्केर मान्छेमाथि आक्रमण गर्ने सम्भावना हुने पनि उनको भनाइ छ।
‘बाघ निश्चित एरिया बनाएर बस्ने जनावर हो। एउटा भाले बाघले ३ देखि ५ वटा पोथी बाघ आफ्नो एरियामा होस् भन्ने चाहन्छ। त्यो भनेको उसलाई भेट्नलाई हो’, पोखरेलले भने, ‘त्यही एरियामा अर्को ओभरल्याप (अन्य भाले वा पोथी बाघ) हुनसक्छ। त्यसो भएमा बलियो बाघले कमजोर बाघलाई लखेट्ने गर्छ। त्यससमयमा उनीहरूबीच द्वन्द्व हुन्छ।’
एउटा बाघ कम्तिमा ४० देखि ४५ स्क्वायर किलोमिटर क्षेत्रफल ओगटेर बस्ने गर्छ। यो क्षेत्रफल पनि त्यहाँ बाघलाई चाहिने आहारामा निर्भर हुने गर्छ। ‘मैले गरेको अध्ययनमा एउटा पोथी बाघले १८ देखि ३० किलोमिटर एरिया कभर (ओगट्नु) गरेको देखिन्छ। भालेले ३० देखि ४० र कोही डोमिनेन्ट (कमजोर बाघ)ले १०० किलोमिटरसम्म पनि कभर गरेको देखिन्छ’, पोखरेलले भने।
कहाँ कति बाघ भन्नेमा त्यसका विभिन्न आधारहरूले तय गर्छ। पछिल्लो समय चोरी-शिकारी नियन्त्रण हुँदै गएको छ। सबैभन्दा कम बाघ भएको बाँके राष्ट्रिय निकुञ्जलाई बाघ पाल्नकै लागि तयार गरिदै छ।
विसं. २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र वनमन्त्री दीपक बोहराले बाँकेलाई विशेष गरेर पाटे बाघ र बाघको आहाराजन्य प्रजातीको बासस्थानका लागि राष्ट्रिय निकुञ्ज बनाउने घोषणा गरेका थिए।
त्यसपछि २०६७ सालमा राष्ट्रिय निकुञ्ज घोषणा गरेर यहाँ बाघ संरक्षणका लागि तयार गरिँदै छ। नेपालको करिब ४७ प्रतिशत वन क्षेत्र छ। पछिल्लो समय वन क्षेत्र बढ्दै पनि गएको छ।
वन क्षेत्र बढ्दै जाँदा बाघका लागि उपयुक्त बासस्थान निर्माण हुने र बाघको संख्या बढ्न सक्ने संरक्षणकर्मी अनुमान छ।