भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ सुरु भएको छ। महाकुम्भ एक धार्मिक महोत्सव हो। यो हरेक १४४ वर्षमा एकपटक आयोजना हुन्छ।
भारतका धेरै धार्मिक क्षेत्रमा लाग्ने महोत्सवमध्ये कुम्भ एक प्रागऐतिहासिक धार्मिक मेला हो। कुम्भ चार प्रकार हुन्छन्। हरेक चार वर्षमा एक पटक हुने कुम्भ मेला हो। अर्धकुम्भ हरेक ६ वर्षमा एकपटक हुन्छ र हरेक १२ वर्षमा पूर्ण कुम्भ हुन्छ। तर महाकुम्भ भने हरेक १४४ वर्षमा लाग्छ।
कुभ्म मेला भारतका विभिन्न ठाउँमा लाग्छ। योमध्य प्रयागराज पनि एक हो। जो एक धार्मिक पावनस्थल मानिन्छ। प्रयागराजमा अहिलेसम्म तीन कुम्भ भएका छन्। भने महाकुम्भ पहिलो हो।
प्रयागराज तीन नदीको संगम पनि हो। जहाँ यमुना, गंगा र सरस्वती नदीको मिलन हुन्छ। तर एउटा रहस्य के छ भने यहाँ सरस्वती नदी भूमिगत हुन्छ। सतहमा देखिन्न।
कुम्भ मेलाको पहिलो दिन डेढ करोड भक्तहरूले स्नान गरेका छन्। यो अहिलेसम्मै रेकर्ड हो। अहिलेसम्म कुनै पनि धार्मिक सम्मेलनमा यो रेकर्ड छैन।
मकर संक्रान्तिको पहिलो दिन ‘महास्नान’ अर्थात् शाही स्नान हुन्छ। महाकुम्भमा आएका नागा साधुहरूले शाही स्नानको सुरुवात गर्दछन्।
महाकुम्भ र नागा साधु
महाकुम्भसँग नागा साधुहरूको एउटा अनौठो साइनो छ। नाङ्गो अर्थात् निर्वस्त्र शरीर। लामा लामा जटा। अनि शरीरभरि भष्म अर्थात् खरानी घसेका। त्रिशुल समाएर नाङ्गा देखिने यी मनुवाहरूलाई नागा साधु भनिन्छ। हामीले यदाकदा देख्ने गरेका ‘नाङ्गा बाबा’हरू असली नागा साधु होइनन्।
नागा साधुहरू ती हुन् जो कुम्भमा मात्रै देखिन्छन्। त्यसपछि ‘अलप’ हुन्छन्। कुम्भपछि उनीहरू कहाँ जान्छन्? यो अर्को रहस्यको विषयमा हो। खासमा कुम्भपछि उनीहरू ध्यान र तपस्याका लागि हिमाल अनि पहाडका कन्दराहरू अर्थात् गुफा पस्छन् र कहिँ कतै देखिन्नन्।
यो कुम्भसँग उनीहरूको आदिम साइनो छ। नागा भनेको पहाड हो। पहाडमा बसेर ध्यान गर्ने साधु अर्थात् लडाकु साधुलाई नागा साधु भनिन्छ।
खासगरी देवयुगका बेला दानव र भगवान विष्णुबीच एउटा लडाईं चर्किएको थियो ‘अमृत’को। त्यो अमृत राक्षसहरूले लिन चाहन्थे। तर भगवान विष्णु भने त्यो अमृत राक्षसहरूलाई दिएर उनीहरूलाई अमर बनाउन चाहँदैनथे।
करिब १२ वर्षसम्म चलेको त्यही लडाईंका क्रममा अमृतको घडा खोसाखोस हुँदा त्यसका केही बुँदहरू भारतखण्डका विभिन्न ठाउँमा खस्न पुगे। तीमध्ये प्रयागराज, नाशिक, उज्जैन र हरिद्वारमा अमृतका थोपाहरू खसेको धार्मिक विश्वास छ। ती खास ठाउँहरूमा आदिगुरु शंकराचार्यले पनि मठहरू बनाए। जसको रक्षार्थ उनले एक धार्मिक सैनिक बनाएका थिए। यी तिनै सैनिकहरू हुन् जसलाई ‘नागा साधु’ भनिन्छ। साधु अनि ‘बाबा’बीच धेरै नै फरक छ। नागा साधु भनेका धार्मिक योद्धा पनि हुन्। कुनै युग थियो जहाँ धर्मको रक्षाका निम्ति हतियार पनि चलाउनुपर्ने अवस्था थियो। त्यही सनातन धर्म रक्षाका निम्ति हतियार पनि चलाउनसक्ने साधुहरू नै नागा साधुहरू हुन्। अहिले भारतभरि लगकग ५ लाखभन्दा धेरै नागा साधुहरू रहेको आंकलन छ। जसले शास्त्र पनि जानेका हुन्छन् र शस्त्र पनि चलाउनपछि पर्दैनन्। यद्यपि उनीहरूसँग कुनै हातहतियार भने हुँदैन। तर आवश्यक परेको स्थितिमा नागा साधुहरूले हतियार चलाउन पनि जानेका हुन्छन्।
त्यो बेलादेखि यी चारै ठाउँमा पालैपालो कुम्भ मेला लाग्छ र यी सबै धार्मिक महोत्सवमा पहिलो अधिकार नागा साधुकै हुन्छ। यी महाकुम्भहरूमा उनीहरूलाई विशेष सम्मान गरिन्छ र पहिलो शाही स्नान पनि उनीहरूलाई गर्न दिइन्छ। यी भूमिमा उनीहरूको आदिअधिकार भएका कारण उनीहरू हरेक मेलामा सहभागी हुन्छन्। यो भूमिलाई उनीहरूले यति पवित्र मान्छन् कि त्यसका लागि ज्यान लिन र दिनसमेत तयार हुन्छन्। कतिपय नागा साधुहरूको उद्देश्य नै कुम्भमा ज्यान त्याग्नु पनि हुन्छ। कतिले यही कुम्भमा मृत्यु वरण पनि गर्छन्।
नागा साधु भनेको एकप्रकारको हठ हो। अर्थात् उनीहरू जिन्दगीसँग यतिविघ्न हठ गर्छन् कि शरीर अनि जीवन र मृत्यु सबैलाई जितिसकेका हुन्छन्। असली नागा साधु जस्तो सुकै मौसममा पनि शरीरमा कुनै पनि प्रकारका लुगा लगाउँदैनन्। उनीहरूलाई लाग्छ कि मान्छे जन्मिएको नाङ्गै हो अनि मर्दा पनि नाङ्गै जाने हो। चाहे हिँउ होस् वा गर्मी, चाहे वर्षा वा अरु कुनै मौसम उनीहरूलाई केही असर गर्दैनन्। उनीहरूलाई लाग्छ कि मृत्युलाई उनीहरूले जितिसकेका छन्। उनीहरू भिक्षू हुन्। जसले भिक्षामात्रै मागेर ज्यानमा प्राण धानेका हुन्छन्। तर त्यसकाे पनि आफ्नै नियम हुन्छ। असली नागा साधुले दिनमा सात घर वा सातजनासँगमात्रै भिक्षा लिनसक्छन्। आठौं ठाउँ वा सातभन्दा धेरै घरमा उनिहरू पुग्दैनन्।
मृत्युसँगको लडाईं त उनीहरूले नागा साधु बन्ने सुरुवातमै जितिसकेका हुन्छन्। पहिला आफ्नो अन्तिम संस्कार आफैले गर्छन्। आफ्नै हातले आफ्नै पिण्ड दान गरेपछिमात्रै नागा साधुको असली जिन्दगी सुरु हुन्छ। नागा साधुको जीवन अपनाउन जति कठीन छ त्यसपछिका यात्रा भने त्यतिधेरै कठीन लाग्दैनन् किनकी मृत्युलाई जितिसकेको अनि गुमाउनका लागि केही पनि नभएको ज्यानलाई भय हुँदैनन्। र उनीहरू निर्भय बाँच्छन्। आफ्नै जिन्दगीको अन्तिम संस्कार गरिसकेका हुन्छन्। आफन्त, परिवार, धन, दौलत र सारा सांसारिक मोह भष्म गरिसकेका हुन्छन्।
महाकुम्भका केही रोकच तथ्यहरू
१२ वर्ष चलेको देवयुद्ध अनि १२ वर्षमा हुने १२ पूर्णकुम्भपछि अर्थात् १सय४४ वर्षपछि महाकुम्भको आयोजन हुन्छ।
प्रयागराजमा महाकुम्भका लागि गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा लगभग ४ हजार हेक्टर जमिनमा अस्थायी धार्मिक सहर बनाइएको छ।
यहाँ १ लाख ६० हजारभन्दा धेरै पालहरू टाँगिएका छन्। जहाँ श्रद्धालु भक्तजनहरू बस्नसक्छन्। उनीहरूका लागि छेउछाउँमा सुविधाजनक धर्मशालाहरू पनि छन्। र मेलास्थलमा भाडामा टेन्ट पनि पाइन्छ।
मेलाको सुरक्षार्थ ६० हजारभन्दा धेरै सैनिक र प्रहरीहरू परिचालित छन्। त्यस्तै तीन हजारभन्दा बढी सिसिटिभी जडान गरिएका छन्। त्यसलाई निगरानी गर्नका सयौं प्रहरी तथा एआई इन्जिनियरहरू खटिएका छन्। मेलामा आउने आगन्तुकहरूका लागि १ लाख ५० हजार शौचालयहरू छन्। त्यस्तै १५ हजार सरसफाइकर्मीहरू छन्।
धार्मिक स्नान तथा धार्मिक संस्कारका लागि ४४ घाटहरू छन्। नदीमाथि आउजाउ गर्नका लागि ३० वटा अस्थायी पन्टुन पुलहरू बनाइएका छन्। जो नाउमाथि धातुहरूबाट निर्माण गरिन्छ।
यो महाकुम्भ ४५ दिनसम्म चल्छ। यो अवधिभरि लगभग ६० करोड मानिस कुम्भमा सहभागी हुने अपेक्षा गरिएको छ। नेपालबाट पनि लाखौं मानिस कुम्भमा सहभागी हुन्छन्।
सुरुवातमै हरेक दिन डेढदेखि २ करोड मानिसले महाकुम्भ टेकेका छन्। यो महाकुम्भका लागि भारत सरकारले लगभग ७० अर्ब खर्चको घोषणा गरेको छ भने उत्तर प्रदेश सरकारलाई मात्रै लगभग २५० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
विभिन्न एजेन्सीको सहयोगमा