आइतबार, २६ अक्टोबर २०२५

मन्त्रीको सूचीबाट काटियो खगेन्द्रको नाम

News Image
• • •

श्रममन्त्री बन्न लागेका खगेन्द्र सुनारको नाम विवादित बनेपछि प्रधानमन्त्री सुशीला कार्की आन्तरिक छलफलमा जुटेकी छन्।

आजै चार मन्त्रीको सपथको तयारी गरेकी कार्कीले सुनारको बारेमा फरार अभियुक्त रहेको भन्दै समाचारहरू सार्वजनिक भएपछि समीक्षा छलफल गर्न लागेकी हुन्।

मन्त्रिपरिषदलाई विवादरहित बनाउने कसरतमा रहेकी कार्की पहिले नै विवादमा परेका पात्रलाई मन्त्री नियुक्त नगर्ने मनस्थितिमा देखिएको बालुवाटार स्रोतले भन्यो।

सुनार दुई मुद्धामा फरार अभियुक्त देखिएका र अदालतको मानहानी मुद्धासमेत चलिरहेको विषय बाहिरिएपछि उनको मन्त्री बन्ने सम्भावना लगभग सकिएको छ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले सुनारको नाम हटाएर तीन मन्त्रीलाई सपथ गराउने तयारी गरेकी छन्।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले सुनारलाई पनि फोन सम्पर्क गरेर उनीमाथि लागेका आरोपबारे बुझेको छ। र उनीबारे थप छलफल आवश्यक रहेकाले सपथका लागि हतार नगर्न भनिएको छ।

यता मन्त्रिपरिषद स्रोतले भने मन्त्रीका लागि खगेन्द्र सुनारको नाम सिफारिस नै नभएको दाबी गरेको छ। उनको नाम चर्चामा आए पनि प्रधानमन्त्रीले सुरुमै अस्वीकार गरेको स्रोतको दाबी छ।

विवादित सुनारलाई मन्त्री नबनाउँन जेन–जीको दवाब र स्वयं दलित अभियन्ताहरूले समेत विरोध गरेपछि कार्की सुनारको नाम हटाउने मनस्थितिमा पुगेकी हुन्।

प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखाका अनुसार सुनार दुईवटा मुद्धामा फरार अभियुक्त देखिएका हुन्।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको देखिन्छ। तर उक्त मुद्धा फर्छ्यौट भइसकेको छैन।

यस्तै सुनारविरुद्ध २१ असार ०८१ मा सुर्खेत जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरेको भेटिएको छ। अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्धामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको देखिन्छ। तर, उक्त मुद्धामा पनि उनी पक्राउ नपरेको र सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!