विवादमा उपसभामुख

संकटमा उपसभामुख

काठमाडाैँस्थित अमेरिकी दूतावासलाई पठाएकाे सिफारिसपत्रका कारण उपसभामुख इन्दिरा रानामगर संकटमा परेकी छन्। १७ महिनाअगाडि पाँच जना युवाकाे भिसाका लागि अन्तर्वार्ता समय मिलाइदिन भन्दै दूतावासमा गरेकाे सिफासिसपत्रलाई लिएर उनकाे राजीनामा मात्रै हाेइन कारबाहीकाे समेत माग गरिएकाे छ।

उपसभामुख रानामगरले सन २०२३ फेब्रुअरी २६मा अमेरिकाकाे न्युयाेर्कमा आयाेजना भएकाे ‘एनजिओ सिएसडब्लू- ६७’ आफूसहित पाँचजना अमेरिका जान लागेकाे र समय कम भएकाेले भिसाकाे अन्तर्वार्ताका लागि छिट्टै समय उपलब्ध गराइदिन अनुराेध गर्दै दूतावासमा पत्र लेखेकी थिइन्।

संसद सचिवालयकाे लाेगाेसहितकाे लेटरहेड र आफ्नाे हस्ताक्षरसहितकाे उक्त सिफारिसपत्र बाहिरिएपछि उपसभामुख रानामगर चर्काे दबाबमा संकटमा परेकी छन्।

राज्यबाट भिआइपी सुविधा पाउने कुनैपनि उच्च तहकाे व्यक्ति विदेश जानुपरे सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ। उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट काम हुने प्रचलन छ। तर, उपसभामुख रानामगरले भने सिधैं आफैं पत्र लेखेर भिसा आवेदन दिइन्।

सिफारिस गरेका पाँचजना उनकाे गृह जिल्ला झापाका हुन्। उनले आफ्नाे जिल्लाबासी भएका कारण हार्न नसकेर सिफारिस गरेकाे बताएकी छन्। उनले यसलाई ‘भूलवश्’ भनेकी छन्।

याे पत्रबाहिरिएपछि सांसदकाे सबैभन्दा ठुलाे दल नेपाली काँग्रेसले उनकाे राजीनामा माग गरेकाे छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले त उपसभामुख रानामगरले राजीनामा मात्रै दिएर नहुने बताए।

‘यहाँ सिधैं आफूले आफ्नाे र संसद र संसदका कर्मचारी पनि नभएका मान्छेलाई त्यसरी सिफारिस गर्नु घाेर असंवैधानिक, संसदीय परम्पराविपरीत र नियमसंगत नभएकाे हुँदा उहाँले त्याे पदमा बस्न सुहाउँछ सुहाउँदैन विपरणीय पक्ष भएकाे छ’, खतिवडाले भने, ‘याे मानव तस्करमा लाग्ने समूह आज पर्दाफास भएकाे छ। यसलाई गम्भीर रुपमा लिनुपर्छ। राजीनामा दिएर बर्खास्ती गरेर पुग्दैन, अब अनुसन्धान गरेर कारबाहीकाे दायरामा ल्याउनुपर्छ।’

उनले याे पत्र हात परेकाे तीन दिन भएकाे र त्यसयता सभामुख, संसद सचिवालयका महासचिव र एमालेका सचेतकसँग परामर्श गरिसकेकाे बताए।

साउन ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा याे विषयलाई जाेडताेडका साथ उठाउने उनकाे भनाइ छ। ‘याे कुरालाई म आफैं संसदमा उठाउँछु नि यार जान्नेलाई छान्ने भन्नेले यस्ताे गर्न मिल्छ?’ उनले भने।

इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे काेटाबाट उपसभामुख बनेकी हुन। त्यसैले पनि रास्वपा यस विषयमा माैनजस्तै छ।

रास्वपाका प्रमुख सचेतक सन्ताेष परियारले याे कुरालाई गम्भिर रुपमा लिएकाे बताए। ‘तपाईंहरुलाई साेध्न कति हतार हुन्छ?’, प्रमुख सचेतक परियारले भने, ‘भर्खर त याे कुरा मिडियामा आएकाे छ। हामीले पनि अध्ययन गर्न पाएका छैनाैं अध्ययन गरेर के रहेछ थाहा हाेला।’

उनले याे विषय नियाेजितरुपमा बाहिर आएकाे बताउँदै गम्भिर रुपमा अध्ययन गर्नुपर्ने बताए।

‘याे कुरा नियाेजितरुपमा बाहिर आएकाे देखिन्छ। यसलाई रास्वपाले गम्भिर रुपमा लिन्छ’, परियारले भने।

प्रकाशित मिति: : 2024-07-19 09:24:00

प्रतिकृया दिनुहोस्