साइत र समाजको मनोविज्ञान

हेमन्त विवश

काठमाडौं
BreaknLinks
BreaknLinks

सपनाका हुन या विपनाका कुरा समाजका मूल्यमान्यता र कहावतहरूले डेरा जमाइरहेकै हुन्छन् जिन्दगीको घुम्तीभित्र। हाम्रो समाजमा घुमफिर यात्रीका लागि सदियाैँदेखि तय गरिएका छन् बेग्लै मान्यताहरू। जुन मान्यताले जरो गाडेको छ हाम्रो मनमस्तिष्कमा। यस्ता कतिपय मान्यताले त्रासको वातावरण सिर्जना गर्छन्।

जिन्दगी आफैंमा एउटा यात्रा हो। उसो त यात्रा पनि एक प्रकारको शिक्षा नै हो। जन्मिदा कुन बार, कुन दिन जन्मिने निश्चित हुँदैन। जन्मेपछि भने समाजमा प्रचलित तिनै विभिन्न कहावतसँग डराउँछ मान्छे।

हरेक गाउँबस्तीमा यात्रा सम्बन्धी केही न केही भनाइ सुन्नमा आउँछन्। कुनै सम्राटले निर्धा गरीबमाथि राज गरेझैं ती कथनहरूले पनि डर र त्रासको माहोल पैदा गरिरहेकै हुन्छन्। र, त बाध्य तुल्याउँछन् पात्रो पल्टाएर साइत हेरिमाग्न। ती पुराना कहावतलाई कसैले अन्धविश्वास भनिरहेका छन् भने कसैले पूर्वीय दर्शनसँग यिनको साइनो देखाइरहेकै छन्। मनोविदहरूले मनको डर भन्ने गरेका छन्।

यसै सन्दर्भमा मनोविद् सुनिता खड्का सबैभन्दा ठुलो कुरा विश्वास भएको ठान्छिन्। ‘संयोगवश कुनै घटना मानसिकतामा पर्न गएमा मान्छेमा त्यसप्रतिको विश्वासको मात्रा बढ्छ,’ उनी भन्छिन्, ‘केही कुरा मन नपरेपछि मानसिकता ठिक हुँदैन। त्यस्तो बेला केही घटना हुन सक्छ। यो एउटा टेक्निकल कुरा पनि हो।’

मनको डर हटाउने उपाय के हो त ?

खड्काकाअनुसार सामान्य डरले खास महत्व राख्दैन। साधारण डर त हुन्छ नै। साधारण डर पनि भएन भने त मानवीय चरित्र नै भएन। तर, डरको लेवल कति छ त नाप्नुपर्ने हुन्छ। ‘जो व्यक्ति जेसँग डराउँछ त्यही नै गराउनुपर्ने हुन्छ डर भगाउन’, उनी  भन्छिन्, ‘जस्तो कि जुन दिन यात्रा नगर्नु भनिएको छ त्यही दिन सुरुमा छोटो यात्रा गर्न लगाउनुपर्छ। पछि बिस्तार बिस्तारै लामो यात्रामा निस्किन लगाउनुपर्छ। अनि मनको डर हराउँदै जान्छ।’

यात्राका लागि घरबाट निस्किँदा बाटोमा धामीझाँक्री, कन्याकुमारी देखा परेमा यात्रा शुभ हुने भनिन्छ भने विधवा देख्दा अशुभ हुन्छ भन्ने मान्यता छ।

यहाँ गते बार महिना सबै परिभाषित छन् कतै धर्मका रुपमा त कतै पुरातन मान्यताका हिसावले। कुनै महिना धार्मिक मानिन्छन् कुनै मानिदैनन्। कुनै बार र गतेलाई शुभ मानिन्छ त कुनैलाई अशुभ। जस्तै एउटा भनाइ छ, शनिबार छुट्टिनु हुँदैन र मंगलबार भेट्नु हुँदैन।

त्यस्तै महिनाको उन्नाइस गते लामो यात्राका लागि घरबाट निस्किनु हुँदैन, घर छोडेको उन्नाइसौं दिनमा घरभित्र पस्नु हुँदैन, मसान्त र संक्रान्तिका दिनमा लामो यात्रा गर्नु हुँदैन भन्ने कतिपयको विश्वास छ।

यस विषयमा विज्ञहरूका आ–आफ्नै मत छन्। सांस्कृतिक अध्येता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङ ती अधिकांश कहावतमा विज्ञान भएको दाबी गर्छन्,‘नयाँ पुस्ताले सबै कुरामा विज्ञान खोज्छ। पुराना पुस्ताले यसमा यो विज्ञान छ भन्न सक्दैन। विज्ञानको व्याख्या गर्न सक्दैन। मात्र यो गर। फलानो ग्रन्थमा यस्तो छ भन्छ। हाम्रो प्राचीन चरित्रप्रति नयाँ पुस्ताले नयाँ कुरा पाउन सकेको छैन् त्यति मात्र हो।’

यात्राको कुरा गर्दा नौ, तीन, उन्नाइसजस्ता अंक, शनि र मंगलजस्ता बारलाई राम्रो मानिदैन किन त ?

‘शनिबार कालोबार हो त्यो बार छुट्टिएर गएपछि केही हानी हुनसक्छ। त्यस्तै मंगलबार खरो बार हो। त्यो बार भेट्दा मिठो मसिनो कुरा नभएर खरो कुरा हुनसक्छ’, डा. जगमान तर्क गर्छन्।

बिरालोले बाटो काट्दा नराम्रो हुने देखि यात्रामा रित्ता भाँडा देख्दा, विधवा महिला देख्दा अपसकुन हुन्छ भन्ने भनाइमा उनी पनि मनोविज्ञान हावी भएको स्विकार्छन्।

समाजका कतिपय कहावतले मनमा चिसो पर्न जान्छ। डर पैदा गरिदिन्छ। खिन्नता बढाइदिन्छ। यसै बीचमा संयोगबस केही भइदियो भने मान्छेलाई यसप्रति सदाका लागि विश्वास गर्ने बनाइदिन्छ।

चर्चित डेउडा गायिका रेखा जोशीलाई पनि सुरु सुरुमा आइतबार गहिरो बार भनेर घरबाट निस्किन दिँदैन थिए। त्यस्तै मसान्तका दिन पनि यात्रा गर्नु हुँदैन भनेर घरका मान्यजनले सुनाइरहन्थे। सुरुमा के नै हुँदो रहेछ त भनेर सोही बार सोही दिन यात्रामा निस्किएपछि उनले त्यस्तो केही नभएको महसुश गरिन्।

‘मैले बिरालोले बाटो काट्दा पनि के हुँदो रहेछ त भनेर बाटोमा नरोकिएर यात्रा गरेको छु। बार र गतेलाई पनि पर्वाह नगरेर यात्रा गरिरहेकै छु। खै मलाई त केही पनि भएको छैन्’, उनी बताउँछिन्।

जोशी यी सबै कहावतलाई अन्धविश्वास ठान्छिन्। रेखाजस्ता थुप्रै सेलिब्रेटीलाई ठाउँ–ठाउँबाट निम्तो आइरहेको हुन्छ। त्यसैले उनीहरू अन्धविश्वासमा रुमलिँदैनन्।

चर्चित नृत्य निर्देशक देबु वराले ती कहावतअनुसार लामो यात्रामा ननिस्किनु भनिएका प्राय: सबै बार, दिन महिनामा यात्रा गरेर परीक्षण गरिसके। देबुकाअनुसार पहिला–पहिला उनलाई त्यस्ता दिनहरूमा आमाले घरबाट निस्कन दिनु हुन्नथ्यो। पछिल्लो समय जब उनी निकै व्यस्त हुन थाले, यात्रामा ननिस्कि नहुने हुँदा उनी जतिबेला पनि यात्रा गर्न थाले। अचेल त आमा पनि शनिबार पनि जाउ केही हुँदैन भन्नु हुन्छ।

‘म त यस्ता कुरा मान्दिनँ। यदि त्यस्तो हुन्थ्यो भने त हिँड्नु हुँदैन भनेको दिनमा गाडी, प्लेन केही नचल्नुपर्ने नि’, उनी  भन्छन्, ‘यस्ता कहावत समाजका अन्धविश्वास मात्र हुन्। हामी यसको पछि लाग्नु हुन्न।’

समाजमा प्रचलित यस्ता कहावतहरूलाई मनन् गर्ने हो भने यी सबै अन्धविश्वास मात्र हुन्। एकल आमाले साइतमा टीका लगाइदिँदा विधवा र सधवाको कुनै अर्थ राख्दैन। ती केवल आमाका रुपमा देखिन्छिन्। तिनै आमालाई यात्रा गर्दै गर्दा कसैले बाटोमा देख्यो भने अशुभ भनिदिन्छन्। जुन आफैंमा विरोधाभाषपूर्ण देखिन्छ।

धार्मिक गुरुहरूले भनेजस्तो शनिबार कालोबार र मंगलबार खरोबार भन्ने पनि कतै प्रमाणित भएजस्तो लाग्दैन। त्यस्तै तीन जस्ता बेजोडा अंक भएका कारण भनियो भनुँ भने पर्वत कास्कीतिरका केही स्थानमा महिनाको दुई गते हिँड्नु हुँदैन भन्ने मान्यता रहेको छ। एकातिर तीन बास गर्नु हुँदैन भनियो। अर्कोतिर नगइनहुने भएपछि अघिल्लै साँझमा झोला, बटुको वा अन्य कुनै सामान बाहिर राख्दा हुने पनि बताइयो।

यी सबै कहावतहरूलाई मध्यनजर गर्दा लाग्छ यी मात्र भ्रम पैदा गर्न, डर देखाउन बनइएका हुन्। अन्धविश्वासका त्यान्द्राहरू हुन्। बिरालो बाँधेर श्राध्द गर्ने परम्परा अँगाल्ने हाम्रो समाज तबसम्म यस्ता अन्धविश्वासको पछि लागिरहन्छ जबसम्म व्यस्तताले अँचेट्दैन। जबसम्म आफैं परीक्षण गर्दैन।

प्रकाशित मिति: : 2024-12-15 17:58:00

प्रतिकृया दिनुहोस्