युद्ध कवि तथा लेखकको पहिचान बनाएका काङमाङ नरेश राई सेवा निवृत बेलायती सैनिक हुन्। उनको पुस्तक पानी पतियामा उनीलगायत हाम्रो पुर्खाले भोगेका इतिहासहरु छन्।
पानी पतियाभित्र गोर्खा इतिहासको पाना पल्टाउँदै जादा आफ्नै व्यक्तिगत इतिहास मनमा पल्टिन थाल्यो। म वि.सं. २०५४ सालमा एसएलसी परीक्षा दिँदै गर्दादेखि ब्रिटिस सेनामा लाग्नको लागि गल्ला धाउँदै थिएँ। त्यसैबेलादेखि म लेखकलाई चिन्थेँ। हाम्रो गाउँ नजिक भएकोले गल्ला एउटै हुन्थ्यो। त्यो समय ब्रिटिस लाहुरे हुनु जीवनको अन्तिम लक्ष्य थियो।
त्यो समयमा लाहुरे हुनु आफैँमा सम्मानित जीवनको पर्याय थियो। त्यसको प्रमुख कारण लाहुरेले पाउने अवसर र आर्थिक पाटो नै थियो। आर्थिक प्रणालीले समाजको सबै पक्षलाई प्रभाव पार्दछ। साथै लाहुर लागेर जानेले देशविदेश घुमेर आफ्नो ज्ञानको दायरालाई फराकिलो पार्ने अवसर पनि पाउँथे।
अर्कोतिर विश्वयुद्धको घाउ निको भइसकेको थियो। बाजेहरु लडाइँमा परी मरेको वा घाइते भएको कुरा त दन्तेकथा जस्तो भइसकेको थियो। लाहुर जाने चलन संस्कृतिको रुपमा विकास भइसकेको थियो। मेरो समाजमा पनि लाहुर जानेको संख्या राम्रै थियो। त्यही क्रममा एक दिन नरेश काम्माङ ब्रिटिस सेनामा छनौट हुनुभयो। अफसोस, म भइनँ। त्यसपछि करिब २५ वर्षको अन्तरालमा हाम्रो भेट बेलायतमा भयो।
लाहुरको इतिहासलाई पल्टाएर हेर्दा विभेदका डोबहरु भेटिन्छन्। ती विभेदका सिकार विशेषगरी नेपालका आदिवासी जनजातिमा गुरुङ, मगर, राई र लिम्बू भए। यो विभेदमा बेलायती र नेपालको शासकको श्वार्थले काम गरेको थियो। जसले बाहिर अवसर दिएको देखिएपनि भित्र असंख्य विभेद र पीडा दियो।
त्यसबेला हामीले लाहुरेहरुको सुकिलो जीवनको कथामात्र सुन्यौँ तर आफ्नै देशका शासकले गरेको शोषण र ब्रिटिसले गरेको विभेदको दोहोरो मारमा फसेका गोर्खाहरुको आँशुको कथा त्यसबेला हामीलाई कसले भनिदिने? पानी पतियाभित्र गोर्खा लाहुरेहरुको वीरताको गाथाभित्र लुकेका युद्धको दर्दनाक अवशेष र त्रासदीको कथाहरु समेटिएका छन्। यो आजभन्दा २०० वर्ष अगाडि नेपाल र ब्रिटिस साम्राज्यको षड्यन्त्रको सुरुङमा छिरेको रेलको इतिहास हो, जुन यात्रालाई अझैपनि धेरैले महान अवसर ठानिरहेका छन्।
गोर्खा भर्ती र लाहुरेको इतिहास
‘म बाघको डमरु हुँ
मलाई सिनो खाने कुकुर नसम्झ।’
माथिको भनाई बडाकाजी अमरसिंह थापाको हो। पश्चिम किल्ला सम्हालेका अमरसिंह थापाले ब्रिटिस इष्ट इण्डिया कम्पनीसंगको युद्धमा हारमानी आत्मसमर्पण गरेका थिए। जनरल अक्टरलानीले मलाउ किल्ला पहिलो, दोस्रो नर्सरी बटालियन र सिरमोर बटालियन खडा गरेका थिए। सोही बटालियनहरुमा गोर्खा सेनाबाट भागेका (भगौडा) ४६५० नेपाली भर्ती भएका थिए। उनीहरु आफ्नो देश नेपालबाट भागेर अर्को देश ब्रिटिस इण्डिया सेनामा भर्ती भएका थिए। यसरी नेपाली भगौडा सेनाबाट गोर्खा भर्तीको जग बसालियो।
यता नालापानी किल्ला सम्हालेका बलभद्र कुँवर ब्रिटिस इष्ट इण्डिया कम्पनीसंग युद्ध लड्दा लड्दै किल्ला छाडी भागेर लाहोर पुगेका थिए। उनी त्यसबेला पञ्जावका महाराजा रणजित सिंहको सेनामा भर्ती भएका थिए। लाहोर वर्तमानमा पाकिस्तानमा पर्दछ। रणजीत सिंहको सेनाको तर्फबाट लड्दा लड्दै अफगानिस्तानको पठान इलाकामा उनीमारिएकोमानिन्छ। उनी लाहोर गई त्यहाँको सेनामा लागेकै काराण त्यहाँ जाने सेनालाई लाहुरे भन्न थालिएको कुरा पुस्तकमा उल्लेख छ।
नसुती चारै प्रहर
खुबैसित लडे रे बलभद्र कुँवर
यसरी भगौडा सिपाहीहरुको बारेमा लेखिएको गीतलाई राष्ट्रिय गीत बनाई बालबालिकाको दिमाग भुट्ने कार्य राज्यले किन गर्यो? लेखक प्रश्न गर्छन्। वास्तवमा नेपालले युद्ध हारेकै कारण सुगौली सन्धिमार्फत आफ्नो एक तिहाई भू-भाग गुमाएको थियो। तर हारेको त्यस युद्धलाई जितेको भनेर इतिहास लेखाइयो। नेपालको इतिहास वास्तविक जनताको हातबाट आजसम्म लेखिएको छैन। धेरै इतिहास राजा महाराजाहरुको दासहरुले लेखेका छन्।
पानी पतिया प्रथा धार्मिक शोषणको पराकाष्ठा
धार्मिक कट्टरवादी राजा पृथ्वीनारायण शाहको एकीकरणदेखि नै अन्य धर्ममान्ने नेपालका आदिवासी जनजातीहरुलाई जबरजस्ती हिन्दुकरण गर्ने कार्य सुरु भएको थियो। जंगबहादुर राणाले विक्रम सम्वत् १९१० मा मुलुकी ऐन जारी गरेर हिन्दु धर्म र जात व्यवस्थालाई अझ बढी व्यवस्थित गरे। पानी पतियाको पृष्ठ ५१ मा चन्द्रशम्शेरको पालामा तत्कालीन बडागुरुज्यू धर्माधिकारी तर्कराज पाण्डेबाट लाहुरेलाई पानी पतिया प्रायश्चित गराउन जारी गरिएको पत्रको एउटा नमुना समेटेका छन्।
श्रीमद्रोरक्षश्भुपेन्द्रप्रेरितमस्मृति सम्मतम्।।
हहहच्छदनोपायं प्रायश्चितं रमाचर।।
प्रथम दिन मण्डन गरी माटो भष्म पञ्चगव्य लेपन गरी स्नान गर्नु, त्यस दिनैमा हविस्य ग्रास १५ खानु, दोस्रो दिन १२ खानु, तेस्रो दिन नमागी कसैले खा भनी दिए ग्रास २४ खानु, चौथो दिन निराहार गर्नु, यस्ता रीतले फेरा ३ गर्दा १२ दिन हुन्छ। तेह्रौँ दिनमा पञ्चगव्य खाई ब्रह्मणलाई सिधा दक्षिण दिनु, तिमीहरु यो महाघोर लडाइँको काम परेको हुनाले र आफ्नो सर्कारको अैनले लडाइका निमित्तमात्र समुद्र पार जानु हुन्छ भन्ने भएको हुनाले र हुकुमले लडाइँमा जाँदा पनि आफ्नो जात खाँदा पिदा पनि कुनै कुरा तलमाथि नपारी आफ्नो जात धर्म मजब राखी आएको प्रतित पर्ने सबुदसमेत दाखिल गरेको हुनाले देह शुद्ध संवत् १९७७ साल चैत ३ गते रोज शुभम्।
यो पत्र तत्कालीन ब्रिटिस इण्डिया सेनाका सुबेदार धर्मधोज लिम्बुको नाममा सन् १९७७मा काटिएको थियो। यसले किरात धर्म पालन गर्दै प्रकृति र पित्री मान्ने राई, लिम्बूलाई पल्टनमा गाईगोरुको मासु खायौँ भनेर कठोर पानी पतिया (हिन्दु धर्मअनुसार शुद्धाई) गराइन्थ्यो। नेपालमा राई, लिम्बूलाई गाईगोरुको मासु खाने काम पृथ्वीनारायण शाहले नै बन्देज लगाइसकेका थिए।
कुन धर्म रोज्ने र मान्ने भन्ने कुरा व्यक्तिको स्सेच्छिक अधिकार हो। तर गोर्खा भर्ती लागेकोलाई त्यो स्वतन्त्रता थिएन। पल्टनमा सबैलाई हिन्दु लेखाइन्थ्यो। प्रत्येक पल्टनमा मन्दिर बनाई बाहुन राखी सिपाहीलाई कपाल मुण्डन गरी बाहुनको जस्तो टुप्पी राख्न लगाइन्थ्यो। दसैँ, तिहारलगायत चाडहरुमा अनिवार्य मार हान्न लगाइन्थ्यो।
पानी पतिया पुस्तकका अनुसार गोर्खा भर्ती सुरु भएको १९२ वर्षपछि अर्थात् सन् २००७ देखि मात्र गोर्खा सिपाहीले आफूले मानेको धर्म लेख्न पाए। सन् २०१७ मा जारी नेपालको संविधानले नेपाल धर्मनिरपेक्ष राज्य घोषणा गरेसंगै २०२ वर्षपछि गुरुङ, मगर, तामाङलगायत बौद्ध धर्मावलम्बीहरुले पल्टनमा लामा राख्न पाए। किरातहरुले आफ्नो नाक्छोङ फेदाङबा कहिले राख्न पाउला भन्ने प्रश्न त्यहाँ अझै बाँकी छन्।
नेपालमा ब्रिटिस गोर्खाहरुको योगदान
नेपालको राजनीतिक, आर्थिक, शैक्षिक, सूचना तथा सञ्चार क्षेत्रमा ब्रिटिस गोर्खाहरुको ठुलो योगदान रहेको छ। खासगरी २००७ सालको राणाविरुद्ध नारदमुनी थुलुङ, रामप्रसाद राई, जसमान राई, श्रीपाल राई, मुगाधन राई आदिले जनमुक्ति सेनाको गठन गरी पहिलो पटक हतियार उठाए। २००७ साल मंसिर २४ गते भोजपुरमा आक्रमण गरी भोजपुर कब्जा गरे। त्यसपछि ओखलढुंगा हुँदै जनमुक्ति सेना धुलिखेलसम्म पुग्यो।
त्यतिकैमा कांग्रेस, राजा र राणाहरुको इण्डियाको दिल्लीमा सम्झौता भयो। यस सम्झौताले नेपालको क्रान्ति अधुरो भएको निष्कर्षसहित जननायक रामप्रसाद राईको नेतृत्वमा केही जनमुक्ति सेनाहरु भूमिगत भए। त्यसैबेला काठमाडौँकाे न्युरोडस्थित भूगोल पार्कमा भाषण गर्दा गर्दै रामप्रसाद पक्राउ परे र सिंहदरबारको जेलमा राखियो।
वि.सं. २००८ साल माघ ८ गते राति सिंहदरबारमा विद्रोह छेडियो। हतियारखाना, बारुदखाना, तोपखाना, बैंक, रेडियो स्टेशन, एयरपोर्ट र उपत्यकाका तीनै सहर कब्जा गरियो। तर क्रान्ति सफल भएन। यति ठुलो परिवर्तनको लागि गरिएको क्रान्तिको इतिहासलाई इतिहासकार भनाउँदाहरुले कहिल्यै उल्लेख नगरेकोप्रति लेखकको आक्रोश छ।
त्यसबाहेक भोजपुरमा २००७ सालमा नेपालकै पहिलो रेडियो स्टेशन सञ्चालन गरेको, गाउँगाउँमा विद्यालयहरु स्थापना गरी गाउँका बालबच्चाहरुलाई शिक्षित बनाएको, स्वास्थ्य केन्द्रहरु स्थापना गरी गाउँलेहरुलाई उपचार सेवा दिएको जस्ता महान कार्यको पनि इतिहासमा खास चर्चा नहुनु दुखद् कुरा हो।
ब्रिटिसको विभेद र गोर्खा आन्दोलन
ब्रिटेस सेनाका अधिकारीहरुले पल्टनभित्र कडा अनुशासन र बाहिरी दुनियाँसंग टाढा राखेर गोर्खा सिपाहीलाई भित्रभित्र चरम शोषण गर्दथे। आफ्नो अधिकारको बारेमा कसैले आवाज उठाए कडा यातना दिएर खाली खुट्टा नेपाल फर्काइन्थ्यो। पुस्तकमा त्यसरी सानो भन्दा सानो कसुरमा खाली खुट्टा नेपाल फर्काइएका कैयौँ गोर्खाहरुको कारुणिक कथाहरुले धेरै पन्ना ढाकेको छ।
अहिले बेलायत लोकतान्त्रिक व्यवस्थाको हिमायती मानिन्छ। तर बेलायतले विगतमा गरेका व्यवहारहरु लोकतान्त्रिक देखिँदैन। तत्कालीन समाजमा नेपाल पुगेपछि समाजले लाहुरेलाई गरेको नकारात्मक व्यवहारले दिएको मनोवैज्ञानिक पीडा झनै दर्दनाक देखिन्छ। त्यसबेलाको सामाजिक, राजनीतिक चेतको स्तर हेर्दा नेपाली समाजलाई गाली गर्ने ठाउँ पनि छैन।
वि.स. २००७ सालका क्रान्ति नायक नारदमुनी थुलुङले पल्टन घरको परेड स्क्वायरमा दिउँसै लाल्टिन बालेर विरोध जनाएका थिए। यसलाई लेखकले गोर्खा आन्दोलनको उठान विन्दु मानेका छन्। त्यो घटनाका बारे पुस्तकमा यति साल, गते भनेर खुलाइएको छैन। तर पहिलो विश्वयुद्धको समाप्तिपछि सन् १९२५ मा उनी लाहुर लागेको उल्लेख गरिएकोले त्यसैको आसपासको घटना थियो भनेर अन्दाज लगाउन सकिन्छ।
त्यसपछि जिन्स काण्ड, हवाई काण्ड, जिआरयु ब्रुनाई काण्डजस्ता विद्रोहले गोर्खा आन्दोलनलाई गति प्रदान गरेको कुरा पुस्तकमा उल्लेख गरिएको छ। पुस्तकमा सन् १९९६ मा प्रगतिशील कल्याणकारी संघको स्थापना गरी गोर्खाहरुले संस्थागत रुपमै आन्दोलनको सुरुवात गरेको कुरा उल्लेख गरिएको छ।
वि.सं. २०४७ जेष्ठ २३ गते गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)को जन्म भयो। त्यसबीचमा नेपालका राजनीतिक दलसंग आबद्ध दर्जनभन्दा बढी भूतपूर्व सैनिक संगठनहरुको जन्म भयो। तर गोर्खा आन्दोलनलाई उचाईमा पुर्याउँदै यो अवस्थासम्म ल्याइपुराउन सबैभन्दा ठुलो योगदान गेसोले दिएको लेखकले उल्लेख गरेका छन्। गेसोकै नेतृत्वमा बेलायतमा ठुला ठुला आन्दोलनहरु भए। त्यसमा अभिनेत्री जोअना लुम्ले र बेलायती जनताको पनि उल्लेख्य भूमिका रह्यो। त्यही आन्दोलनको बलमा गोर्खाहरुले धेरै अधिकार र सुविधाहरु प्राप्त गरे। समानता र न्यायको लागि आन्दोलन अझै जारी नै छ।
गेसोसंग विमती राख्दै विगेसोको स्थापना गरिएको छ। सन् २०१२ मा युविजिइएन, नेसा, विगेसो आदी सम्मिलित सत्याग्रह मोर्चाको पनि निर्माण भयो। मोर्चाले पनि विभिन्न आन्दोलनहरु गर्दै आइरहेको छ। भूतपूर्व गोर्खाहरुको यस्ता दर्जन बढी संघ संगठनहरु गठन भएपनि धेरै जसो राजनीतिक दलका भातृ संगठनको रुपमा काम गरिरहेको लेखकले उल्लेख गरेका छन्।