अन्तर्वार्ता

व्यवस्थापन शिक्षालाई उत्पादनसँग जोड्यो भने कर्णालीमा विकासको ढोका खुल्छ: प्रा.डा.डिल्लीराज शर्मा

प्राध्यापक डा.डिल्लीराज शर्मा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यवस्थापन संकायका डीन हुन्। लामाे समयकाे प्राज्ञिक अनुभव संगालेका उनी व्यवस्थापन संकायकाे डीन भएसँगै थुप्रै नयाँ कार्यक्रम विकास भएका छन्। व्यवस्थापन संकायकाे नेतृत्व सम्हाल्दै गर्दा उनले आंगिक क्याम्पस सशक्तीकरणकाे मुद्दालाई पेचिलाे बनाएका थिए।

परिणाम, धेरैजसाे क्याम्पस आर्थिक रुपमा सक्षम हुन सफल भएका छन् भने धेरै क्याम्पस सबल हुने पथमा छन्। उच्च शिक्षामा सरकारले लगानी घटाइरहेकाे बेला क्याम्पसलाई आर्थिक रुपमा सबल बनाउन उनले सुझाएका उपायकाे प्रभाव देशभरका आंगिक क्याम्पसमा छाउँदैछ।

पछिल्लो समय उनी दुर्गममा व्यवस्थापन शिक्षाकाे विकास गरी त्यसलाई उत्पादनसँग गाँस्न सकिएकाे खण्डमा देश विकास गर्न सकिने बहसलाई प्रभावकारी बनाउन लागेका छन्। तसर्थ, उनी निर्धक्क भन्छन्, ‘कर्णालीकाे सम्भावनालाई ध्यानमा राखि विकास निर्माणका गतिविधि सञ्चालन गर्न सकिएकाे खण्डमा कर्णालीले सिंगाे देशलाई नै पाल्न सक्छ।’

साविकको कर्णाली अञ्चलमा त्रिभुवन विश्वविद्यालयकाे एक मात्र आंगिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायकाे स्नातकोत्तर तहमा एमबीएस कार्यक्रम संचालनका निम्ति सम्भाव्यता अध्ययन गर्न जुम्ला पुगेका प्रा.डा.शर्मासँग बिएल नेपाली सेवाका लागि महेश नेपालीले व्यवस्थापन शिक्षाकाे विषयमा गरेकाे अन्तर्वार्ताकाे सम्पादित अंश प्रस्तुत छ :


व्यवस्थापन संकाय र यस संकायभित्रका विभिन्न विषयहरु किन पढ्ने ?

व्यवस्थापन शिक्षा भनेकाे व्यक्तिकाे जीवन पद्धतिसँग जाेडिएकाे शिक्षा हाे। त्यसैले यसलाई हामी लाइफ इस्टाइल म्यानेजमेन्ट भन्छाैं। यसले आफूलाई व्यवस्थापन गर्ने हाे। परिवारलाई व्यवस्थापन गर्ने हाे। यति भयाे भने पेशागत वृद्धि विकास हुन्छ। पेशागत, व्यक्तिगत र सामाजिक सम्पूर्ण कुराहरुकाे असल व्यवस्थापन गर्ने गुण व्यक्तिमा प्रदान गर्नकाे लागि व्यवस्थापन शिक्षा सबभन्दा महत्त्वपूर्ण छ।

व्यवस्थापन संकायमा हाल त्रिभुवन विश्वविद्यालयले कस्ता विषयहरु अध्ययन, अध्यापन गराइरहेकाे छ?

हामीले व्यवस्थापन शिक्षाकाे लाेकप्रियतालाई ध्यान दिएर, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै मुलुककाे आवश्यकता साथ साथै विद्यार्थीहरुकाे बाहिरी संसारमा पनि बजार राम्राे हुन सकाेस् भन्ने हिसाबले अन्डर ग्र्याजुयट लेभल, ग्र्याजुयट लेभल, एमफिल र पिएचडीमा धेरै कार्यक्रमहरु संचालन गरेका छाैं।

जस्ताे स्नातक तहमा बिबिएस पुरानाे कार्यक्रम छ। बिबिए, बिएचएम, बिआईएम, बिबिएम, बिटिटिएम, बिपिए संचालनमा छन्। त्यसैगरी ब्याचलर इन माउन्टेनियरिङ्ग इस्टडीलगायत कार्यक्रमहरु संचालनमा छन् भने मास्टर्स लेभलमा हामीले टप लेभलका म्यानेजर उत्पादन गर्ने उद्देश्यका साथ एमबिए, एबिए ग्लाेबल लिडरसीप, एमबिए कर्पाेरेड लिडरसीप, एबिए मार्केटिङ, एमबिए फाइनान्सजस्ता खालका कार्यक्रमहरु संचालन गरेका छाैं।


३६ वर्ष शिक्षण पेसाबाट अवकाश लिँदा पनि सदाबहार ‘राई सर’


त्यस्तै अहिलेकाे आवश्यकसँग जाेडिएर सूचना प्रविधिका बिआइएम, एमबिए आइटीलगायतका कार्यक्रम पनि संचालन गरेका छाैं र अरु कार्यक्रम पनि संचलन गर्ने तयारीमा छाैं। समयकाे आवश्यकताअनुसार धेरै कार्यक्रमहरु तयार गर्दै र संचालन गर्दै आएका छाैं।

व्यवस्थापन संकाय पढेका विद्यार्थीले दुर्गममा कस्ताे खालकाे सेवा दिन सक्छन् ?

याे एकदम राम्राे कुरा उठाउनु भयाे। मुलुककाे विकास गर्नु भनेकाे सुगमकाे मात्रै विकास गर्नु हाेइन। केन्द्र सत्तादेखि विकट र दुर्गमकाे पनि विकास गर्नु हाे। नेपालकाे सन्दर्भमा भन्दा हामीले आर्थिक विकास भनेर भन्छाैं, अर्थतन्त्रकाे विकास भनेर भन्छाैं। याे उद्देश्य हासिल गर्दै देशकाे विकास गर्नुछ भने दुर्गम क्षेत्रकाे विकास गर्नु पर्‍यो।

दुर्गम क्षेत्रकाे विकासकाे लागि  पूर्वाधार, बाटाेघाटाे, आदि इत्यादिकाे बारेका राज्य, सरकारकाे भूमिका रहला नै। तर, पनि याे क्षेत्रका साधन स्राेतहरुकाे सदुपयोग गरेर याे क्षेत्रमा उत्पादन वृद्धि गर्नकाे लागि उद्यमशीलताकाे विकास जरुरी छ। जुन हामीले विश्वविद्यालयमा छुट्टै कार्यक्रमकाे रुपमा विकास गरेका छाैं।

व्यक्तिहरुले यहाँका साधन/स्रोतहरुकाे पहिचान गर्ने, यहाँकाे जनशक्तिलाई प्रयाेग गर्ने, आज हजाराैं लाखाैं विद्यार्थीहरु बाहिर जाने अवस्थालाई अन्त्य गर्नका लागि दुर्गम क्षेत्रमा रहेका विभिन्न किसिमका प्राकृतिक स्राेतहरुकाे प्रयाेग गर्न सक्नु पर्‍यो। यहाँका अपार सम्भावनाहरुकाे सदुपयोग गर्न सक्नु पर्‍यो। त्याे सम्भावनालाई प्रयाेग गर्न सक्ने उद्यमशीलताकाे विकास गर्न सक्ने जनशक्ति उत्पादन गर्ने भनेकै व्यवस्थापन शिक्षाबाट हाे। त्यसकारण यहाँकाे लागि जनशक्ति उत्पादन गर्ने पनि व्यवस्थापन संकायले नै हाे। त्यसका लागि हामी तम्तयार छाैं।

हाम्राे उत्पादन सम्बन्धलाई व्यवस्थापन संकायसँग कसरी जाेड्न सकिन्छ ?

उत्पादन के गर्ने ? व्यक्तिहरुलाई उत्पादनमा लगाउनका लागि उद्यमशीलता चाहियाे। मैले अघि नै भनें। उद्यमशीलताकाे विकास भनेकाे नयाँ आइडियाहरु, नयाँ विचारहरु, नयाँ साेचहरु ल्याउने काम व्यवस्थापन शिक्षाले मात्रै गर्न सक्छ। अर्काे पुँजीकाे विकास गर्ने। पुँजी परिचालन गर्न यहाँ बैंक वित्तीय संस्थाहरु स्थापना गर्ने, बैंक वित्तीय संस्थाहरुकाे संचालन गर्ने हाे।


विज्ञानको ज्ञान फैलाउने बराल सर, अलबिदा


बैंक वित्तीय संस्थाहरुमा रहेका साधन/स्रोतहरुलाई ल्याएर उद्याेगसँग जाेड्ने। उद्याेगबाट उत्पादन गरेर वस्तुहरु सप्लाइ चेन म्यानेजमेन्टमा राख्ने हाे। हामीले उत्पादन गरेका छाैं, बिक्री गर्न सकेका छैनौं भने उत्पादन र बिक्री वितरण बिचमा समन्वय गर्ने, त्यस्ता खालका साधन स्राेतहरुकाे परिचालन गर्नेलगायत सम्पूर्ण कुराहरुमा व्यवस्थापन शिक्षाकाे महत्त्वपूर्ण भूमिका रहन्छ।

विकटमा सेवा दिनकाे लागि बिबिए, बिबिएम, एमबिएलगायतका विषयहरुकाे अध्ययन, अध्यापन गराउन अनुमति दिने विषयमा केन्द्रकाे धारणा के हाे ?

धारणा एकदमै सकारात्मक हाे। हामीले आंगिक क्याम्पसहरुलाई एमदमै सशक्तिकरण गर्दै गएका छाैं। अहिले पनि म यहाँ यसै सन्दर्भ लिएर आएकाे छु। जुम्ला बहुमुखी क्याम्पसमा हामीले एमबिएस कार्यक्रम संचालन गर्ने भनेका छाैं। याे काम चाँडै नै सुरु हुँदैछ।

अहिलेकाे लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हाे भनेका छाैं। हामीले नयाँ कार्यक्रम थप गरिरहँदा त्याे कार्यक्रम संचालन गर्न सक्ने जनशक्ति पनि चाहिन्छ। साेचे अनुसारको जनशक्ति भएन भने उद्देश्य पनि पूरा हुन सक्दैन। त्यसकारण अहिले मैले फ्याकल्टी डेभलपमेन्टमा बढी फाेकस गरेकाे छु।

जस्ताे जुम्लामा हामीले एमबिएस संचालन गर्‍यौं भने  शिक्षक साथीहरु अपडेटेड हुनुहुन्छ। उहाँहरु नयाँ सिल्याबसबाट अगाडि बड्नुहुन्छ। रिसर्चका बारेमा उहाँहरु विज्ञ हुनुहुन्छ। विस्तारै जनशक्ति पनि सक्षम हुँदै जानेछ।

फ्याकल्टीसँगै उद्योग वाणिज्य क्षेत्रका साथीहरु, त्यहाँका प्रयाेगकर्ताहरुलाई हामीले अगाडि बढाउँदै एउटा सहकार्यकाे वातावरणबाट अगाडि जान सक्यौं भने तपाईंले भनेका बिबिए, बिबिएम, बिआइएमलगायतका कार्यक्रमहरु पनि निकट भविष्यमै हामीले यहाँ ल्याएर संचालन गर्न सक्छौं।

नयाँ कार्यक्रम संचालन गर्ने र अनुमती दिने विषयमा हामी असाध्यै सकारात्मक छाैं। विश्वविद्यालय अत्यन्तै सकारात्मक छ। यसमा कुनै दुविधा छैन।

विकटमा पनि राम्राे खालकाे शिक्षा आर्जन गर्न सकिन्छ भन्ने विषयमा विकटमै बसेर अध्ययन गरिरहेकाे विद्यार्थीले आफूलाई कसरी उत्प्रेरित गर्न सक्छन् ?

यसका लागि दुई तीन वटा पक्षहरु सबभन्दा महत्त्वपूर्ण हुन्छन्। एउटा विकटका कलेज संचालन गरिरहेका शिक्षक साथीहरु, प्रशासनमा रहेका साथीहरुले हामी केही गर्न सक्छौं है भनेर आफूसँग भएकाे पाेटेन्सियालीटीकाे सतप्रतिशत सदुपयोग गर्नु पर्‍यो। अर्काे बैंक वित्तीय संस्थाहरु, उद्योग धन्दाहरु अथवा यहाँकाे उद्योग वाणिज्यसँग पनि जाेडिनु पर्‍याे। अर्काे कुरा म पनि यसमा परुँला, तर केन्द्रकाे पनि दुर्गमलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ।

हामीसँग प्रदेश सरकार छ। संघ सरकार छ। त्रिभुवन विश्वविद्यालय छ। स्थानीय सरकार छन्। हामीले शिक्षामा लगानी गर्न सक्नु पर्‍यो। अहिले हाम्रो समस्या के हाे भने हामीले जतिसुकै ठुलो कुरा गरे पनि राज्यले उच्च शिक्षामा दिने लगानी असाध्यै कम छ।


‘मेरा विद्यार्थीले चिट नचाेरुन्’


मैले बारम्बार भनिरहेकाे छु, अब संस्थागत सामाजिक उत्तरदायित्वका नाममा गरिने खर्चहरु उच्च शिक्षामा हुनु पर्‍याे। व्यक्तिको उत्पादनसँग जाेडिएकाे शिक्षा र अहिलेकाे नयाँ आयामअनुसारका शिक्षामा फाेकस गरेर लाग्याैं भने विकटमा बसेका विद्यार्थीहरुलाई पनि हामी इन्करेज गरेर अगाडि लान सक्छौं। यसमा सबैकाे सामूहिक चासाे, सामूहिक चिन्तन, सामूहिक प्रयास र सामूहिक अन्तरक्रिया जरुरी छ भन्ने मलाई लाग्छ।

त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने परीक्षाकाे नतिजा अहिले पनि निराशाजनक छ। यसलाई आशामा बदल्न के गर्न सकिएला ?

याे पनि तपाईंले राम्राे कुरा उठाउनु भयाे। अहिलेसम्म मैले भन्ने गरेकाे छु। अब प्राेग्रामहरुलाई हामीले सेमेस्टर सिष्टममा चलाउनुपर्छ। अहिले पनि बिबिएस वार्षिक प्रणालीअनुसार संचालन भएकाे छ। बिएड, बिए, एलएलबीलगायत कार्यक्रमहरु वार्षिक प्रणालीअनुसार नै संचालन भएका छन्। वार्षिक परीक्षा प्रणालीअनुसार संचालन भएका परीक्षाहरुमा यसै पनि विद्यार्थी मूल्यांकन प्रभावकारी हुन सकिरहेकाे छैन।

यसका लागि विद्यार्थी आफैं पनि सचेत हुनुपर्छ। विद्यार्थीलाई कक्षा काेठामा हामीले ल्याउन सक्नु पर्‍याे। अधिकांश विद्यार्थीहरु कक्षा काेठामा नआउने, ड्रप आउट हुने र भर्ना गरेर बाहिर जाने प्रवृत्ति एकातिर छ। अर्काेतर्फ हामीले हाम्रा पठनपाठनका विधिहरुमा परिवर्तन गर्न सकेका छैनौं। हामी परम्परागत पठनपाठनमा छाैं।

अर्काे हाम्रा मूल्यांकनका आधारहरु अहिलेसम्म ठिकठाक ढंगले चलेका छैनन्। वार्षिक परीक्षा प्रणालीअन्तर्गत एकैपटक विद्यार्थीकाे मूल्यांकन गर्ने गरिरहेका छाैं। विद्यार्थीकाे चाैतर्फी मुल्यांकन गर्न सकिरहेका छैनौं। इन्टर्नल माक्स सिस्टम विकास गर्न नसकेकाे कारणले पनि हामीले आशा गरेकाे परिणाम प्राप्त गर्न नसकेका हाैं।

तपाईंले सेमेस्टर सिस्टममा हेर्नुभयाे भने हामी निकै आशावादी छाैं। म्यानेजमेन्ट फ्याकल्टीभित्र हामीले धेरै राम्राे नतिजा हासिल गरेका छाैं। त्यसकारण हाम्राे याे वार्षिक परीक्षा प्रणालीलाई पनि सेमेस्टर प्रणालीमा रुपान्तरण गर्नुपर्छ।

अर्काे रिजल्ट ल्याउने सन्दर्भमा विद्यार्थी, शिक्षकहरुलाई राम्राे ओरेन्टेसन गर्नुपर्नेछ। पठनपाठनमा त सुधार ल्याउनु पर्‍याे। केही हदसम्म हाम्रा फ्याकल्टीहरुकाे माइन्ड सेटलाई पनि परिवर्तन गर्नुपर्ने देखिन्छ। हामी यसमा लागेका छाैं र अहिले केही सुधार पनि देखिएका छन्।

तपाईं त्रिवि कार्यकारी परिषद्काे सदस्य पनि हुनुहुन्छ। कर्णालीलगायत दुर्गममा अध्यापन गर्ने, अध्ययन अनुसन्धान कार्यमा संलग्न जनशक्तिलाई अझ बढी सक्षम बनाउन, उनीहरुकाे सेवा सुविधालाई समेत ध्यानमा राखि कस्ता खालका कार्यक्रमहरु ल्याउन उपयुक्त हाेला ?

विश्वविद्यालयसँग भएका केही कार्यक्रमहरु मानविकीतर्फ बिसिए, शिक्षातर्फ आइटी छन्। व्यवस्थापन संकायसँग भएका कार्यक्रमहरु पनि संचालन गरेर विस्तारै आर्थिक रुपमा सक्षम बनाउनु पर्‍यो। अर्काे कुरा भनेकाे त्रिविले धेरै ठुलो दायित्व वहन गर्न सक्दैन। किनकि, त्रिविलाई नै राज्यले दिने सुविधा कम छ। यसका लागि हामीले यहाँका राजनीतिक पार्टीहरु, यहाँका नेताहरु, सांसदहरु सबै मिलेर केही बजेट केन्द्रबाट पनि दुर्गम क्षेत्रकाे उच्च शिक्षामा ल्याउने काेसिस गर्नु पर्‍याे। त्याे गर्न सक्याैं भने याे क्षेत्र पढ्ने र पढाउने हब बन्न सक्छ।

यहाँकाे विकास गर्नका लागि जुम्लामा राम्राे पठनपाठनकाे वातावरण छ भन्ने पार्नुपर्छ। जस्ताे यहीँनेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। यसकाे प्रभाव राम्राे छ। हाम्राे क्याम्पस नमुनाकाे रुपमा विकास हुन सकेमा भाेलि बाहिरबाट पनि यहाँ विद्यार्थी ल्याउन सकिन्छ। याे खालकाे वातावरण तयार पार्नकाे हामी सबै जिम्मेवार बन्नुपर्छ।

प्रकाशित मिति: : 2023-06-07 21:53:00

प्रतिकृया दिनुहोस्