सुख दु:खका खबर सँगसँगै देखिने सामाजिक संजाल फेसबुकमा बिहीबार सिंगाे जुम्लालाई स्तब्ध बनाउने खबर आयाे। खबर थियाे, जुम्ला जिल्लालाई विज्ञानकाे आँखाले हेर्न सिकाउने शिक्षक रामचन्द्र बराल सरकाे दु:खद निधन।
सुरु सुरुमा हिमालमा पढे/लेखेका मान्छे औँलामा गन्न सकिने मात्रै थिए। त्यस्ताे अवस्थामा विज्ञान शिक्षक पाउन निकै कठिन। आज पनि विज्ञान पढेको जनशक्ति पुग्दाे नभएकाे अवस्थामा शैक्षिक जग बसाल्ने सुरुवाती दिनहरुमा विज्ञान शिक्षक पाउन मुस्किल थियाे।
उत्तर पश्चिमी हिमालकाे काखमा चिसाे सिरेटाेसँग पाैंठेजाेरी खेली बसेकाे जुम्लामा चिसाे कसरी हुन्छ ? हिउँ किन पर्छ ? वर्षा हुने प्रक्रियाहरु के हुन ? राेग व्याधि किन लाग्छ ? जस्ता कयौं प्रश्नहरु अनुत्तरित थिए। किनभने, जुम्लामा विज्ञान आइपुगेको थिएन। विज्ञानका कयाैं रहस्यसँग परिचित मान्छे आइपुगेका थिएनन्।
मानव समुदायले युगाैंदेखि अदृश्य शक्तिकाे रुपमा ग्रहण गरेका कयाैं कुरालाई विज्ञानले कारणसहित प्रमाणित गरी देखायाे। जे छ देखिन्छ। जे छैन देखिँदैन भन्दै शंका गर्न सिकायाे। जसले कारणहरुकाे मुल जराेमा पुग्ने प्रेरणा दियाे। तर, विकटका भूगाेलहरुमा विज्ञान, तथ्य र कारणहरुकाे खाेज बनेर आएकाे थिएन।
त्यही बेला पूर्वी तराईको विराटनगरमा चर्काे गर्मी सहेका बराल सर जुम्ला पुगेका थिए, विज्ञानका कयाैं रहस्यहरु बाेकेर। त्याे थियाे, २०४४ साल। आफूले तराईबाट बाेकेर ल्याएकाे रहस्यकाे पाेकाे विसाएका थिए, जुम्लाकाे चन्दननाथ माविमा।
उनी जुम्ला पुगेका बेला विज्ञान ऐच्छिक विषयकाे रुपमा पठनपाठन भइरहेकाे थियाे। सुरुमा गणित शिक्षक र पछि नेपाल सरकारकाे अधिकृत भएर लामाे समय शिक्षा कार्यालयमा काम गरेका उपसचिव जीवन भण्डारीका अनुसार विज्ञान जस्ताे कठिन विषयलाई रुचिकर बनाइदिन बराल सरकाे अतुलनीय याेगदान छ। ‘जीवनकाे ऊर्जाशील समय जुम्लालाई विज्ञान सिकाउँदै बिताउनु भयाे। जाे सबैभन्दा रुचिकाे विषय थियाे,’ उनले भने, ‘याे दुखद घडीमा सबैभन्दा सुखद पक्ष भनेकाे उहाँले दिएकाे ज्ञान दुबाेसरी फैलिनु हाे।’
उनले विज्ञान पढाएका विद्यार्थीमाझ अलग खालकाे छाप छ। नपढाएका विद्यार्थी समेत उनकाे चर्चा सुनेर नतमस्तक हुन्छन्। कारण उनकाे स्वभाव हाे। उनी सबैसँग खुलेर बाेल्ने, सहृदयी व्यहार प्रदर्शन गर्न सक्ने मिलनसार र विशाल हृदयका हुनु नै मुख्य कारण भएकाे जुम्लाकाे पहिलाे मावि प्रथम श्रेणीकाे शिक्षक भएर अवकाश प्राप्त लाेकराज चाैलागाईंले बताए।
‘उहाँ मेराे सहकर्मी हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँकाे पढाउने सीप र कलाले हामीलाई सँधै नजिक बनायाे। यस्ताे मान्छेकाे निधनकाे खबरले मर्माहत भएकाे छु।’
चाैलागाईं जस्ता पाका उमेरका सहकर्मीदेखि विभिन्न पेसामा संलग्न विद्यार्थी सबैमा बराल सरले अमिट छाप छाेडेका छन्। हरेक विद्यार्थीसँग उनलाई सम्झने केही न केही घटनाहरु छन्। जसलाई उनले प्रत्यक्ष वा पराेक्ष रुपमा विज्ञानसँग जाेडेकाे देखिन्छ। ती प्रत्येक घटना संकलन मात्रै गरे पनि एउटा माेटाे किताब बन्छ। जहाँ अनुभूतिमै विज्ञानका कयाैं रहस्यहरु खाेतलिएकाे भेटिनेछ।
नेकपा (माओवादी केन्द्र)निकट बुद्धिजीवी संगठनका जिल्ला अध्यक्ष तथा जुम्ला बहुमुखी क्याम्पसका शिक्षण सहायक हिक्मत बुढथापा पनि त्यसरी नै बरालसँगकाे सामिप्यता बढेकाे सम्झिन्छन्।
बजारको मुटुमा अवस्थित चन्दननाथ माविमा २०५७, ०५८ र ०५९ सालतिर विद्यार्थी संख्या ह्वात्तै बढेकाे थियाे। एउटा कक्षामा दुई सय भन्दा बढी विद्यार्थी भर्ना भएपछि विद्यालयमा सेक्सन विभाजन गर्नुपरेकाे थियाे। प्रत्येक सेक्सनमा विज्ञान पढाउने बराल सर नै थिए।
त्यसबेला अरु विषयका शिक्षक कक्षामा आउने पढाउने गर्थे। हाेहल्ला मस्तै हुन्थ्यो। कति विद्यार्थी पढाएकाे बुझ्थे, कति बझ्दैन थिए। त्याे विषयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई समेत उस्ताे चासाे थिएन। तर, बराल सरले भने कसैले चासाे नराखेकाे विषयलाई फरक तरिकाले प्रस्तुत गरी हल गरेका थिए। जसबाट बाध्यताले पछाडि बस्ने विद्यार्थीका समस्या समाधान भएका थिए।
त्यसबेला बत्तीबाट चार्ज गर्न मिल्ने, रेडियाे सुन्न मिल्ने, रिल हालेर गीत बजाउन मिल्ने र कतै हिँड्नुपर्यो भने इमर्जेन्सी लाइटकाे रुपमा बत्ती बाल्नसमेत प्रयाेग हुने ट्युब लाइटलाई बराल सरले कक्षाकाे पछाडितिर राखेर वायरलेस माइककाे रुपमा प्रयाेग गरेका थिए। उनले ट्युब लाइटमा भएकाे एरियल तानेर टावर बनाई मुखले बाेलेकाे कुरा ठुलो आवाजमा काेठाभरि सुनिने बनाएका थिए।
‘त्याे देख्दा विज्ञान सर कस्ताे हुन्छ भन्ने थाहा भयाे,’ बुढथापाले भने, ‘याे त एक डेमाे मात्रै थियाे। बराल सर हरेक कुरालाई विज्ञानकाे आँखाले हेर्नुहुन्थ्याे। हरेक पातपतिङ्गर र वनस्पतिको मानव जीवनसँगकाे सम्बन्धबारे सरल ढंगले बुझाउनु हुन्थ्यो।’
समुद्र, नदीकाे पानी, तालकाे पानी तातो लाग्दा वाफ बनेर वायुमण्डलमा उड्छ। त्याे निकै माथि पुगेर चिसियाे भने बादल बन्छ। बादलका गुच्छा एक आपसमा ठाेकिए भने पानी बनेर बर्सिन्छ। त्यसलाई नै वर्षा हुने प्रक्रिया भनिन्छ भनेर विज्ञान किताबमा लेखिएको छ। तर, त्याे पढेर कण्ठ गर्नेले विज्ञान बुझ्दैन। बराल सर त्यसलाई व्यबहारमा प्रयाेग भइरहेका कुरालाई उदाहरणका रुपमा प्रस्तुत गर्थे। जसले विद्यार्थीलाई छर्लङ्गै बनाउँथ्याे।
रक्सी बनाइरहेकाे ठाउँ देखाएर तल आगाेले तताएकाे, बिचकाे भागमा वास्पिकरण भइरहेकाे, माथिल्लो भागमा चिसाे पानी राख्दा पुन: रुक्सीकाे रुपमा पानी नै आएकाे देखाएर उनी वर्षा हुने प्रक्रियालाई बुझाउँथे। वास्तवमा उनले विज्ञान शिक्षक हुनुकाे असली धर्म निभएका जुम्ला बहुमुखी क्याम्पसका शिक्षण सहायक सुवासचन्द्र शाहीले बताए।
‘विज्ञानसँग नजिककाे नाता गाँसिदिने काम बराल सरले गर्नुभएकाे थियाे,’ उनले भने, ‘आज उहाँले पढाएका विद्यार्थी डाक्टर, इन्जिनियर, शिक्षक, प्रशिक्षक, प्राध्यापक भएका छन्।’
बराल सरले खनेकाे विज्ञानकाे राजमार्ग कठिन छ। रहस्यमयी छ। तर, असम्भव भने छैन। त्यही गाेरेटाे पक्रिएर नै डाक्टर बने जुम्ला चन्दननाथ- ३ डाँडाकाेटका रत्नवीर सुनार। आफूलाई मार्गदर्शन गरेका विज्ञान शिक्षक बितेकाे खबर सुन्दा भक्कानिएकाे उनले सुनाए। उनले भने, ‘वास्तविक रुपमा विज्ञान शिक्षाको बिजारोपण गरी जुम्लामा धेरै शैक्षिक योद्धा उत्पादन गर्न सफल मेरो आदरणीय गुरुप्रति असिम श्रद्धा छ। उहाँका निम्ति खर्च गरिने हरेक शब्द फिक्का हुनेछन्।’
बराल सरले खनेकाे विज्ञानको राजमार्ग अनन्त छ। यसका सहयात्रीहरु तमाम बनेका छन्। बराल सर जुम्ला आउँदा विज्ञान शिक्षा मात्रै बाेकेर आएका थिएनन्। उनले वैज्ञानिक विश्व दर्शन समेत बाेकेर आएका थिए। अर्थात्, उनी मार्क्सवादी दर्शन बाेकेर आएका थिए।
त्यसैले शिक्षक महासंघका जुम्लाका अध्यक्ष तथा जनता मावि महत गाउँका प्रधानाध्यापक हरिकृष्ण महत बराल सरलाई विज्ञानका शिक्षकका साथै जुम्लाको इतिहासमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक नेता समेत मान्छन्। उनले भने, ‘उहाँ जुम्लामा नेकपा एमाले स्थापना गर्ने संस्थापकमध्ये एक हुनुहुन्थ्यो।’
जुम्लामा विज्ञान शिक्षाकाे बिउ राेपेका बराल सरले २०७८ सालमा दुई वर्ष अगाडि नै स्वच्छिक अवकाश लिएका थिए। विज्ञान विषयकाे प्रथम श्रेणीका शिक्षक भई अनवरत रुपमा ३३ वर्ष जुम्लाको सेवा गरेका उनी विज्ञान शिक्षककाे रुपमा सदा बाँचिरहने उपचसिव पूर्ण न्याैपानेले बताए। बराल सरकाे शवसँगै आर्यघाट पुगेका उनले भने, ‘उहाँले दिएकाे ज्ञान दिन दुई गुणा र रात चाैगुणा बाँडिदैछ। यही नै उहाँकाे जीवनकाे सार्थकता हाे।’
आम जुम्लाबासी, तमाम जुम्ली विद्यार्थीलाई विज्ञानका कठिन सुत्रहरु सरल ढंगले प्रमाणित गरेका बराल सर जीवनका अन्तिम दिनहरुमा शिक्षण अस्पताल महाराजगन्जकाे आइसीयूमा उपचार गराइरहेका थिए। काठमाडौँमा उनले प्राण त्याग्दा धेरैले उनलाई झरेकाे फूल सम्झेका छैनन् बरु उम्रनलाई झरेकाे फूलका रुपमा बुझेका छन्। उनले राेपेकाे विज्ञानकाे फूलबाट आशाका कयाैं किरणहरुले सुवास छरिरहेका छन्। अलबिदा बराल सर ! अलबिदा !