के हुन्थ्यो यदि ईश्वरले
तिम्रो छाती र नितम्ब नबनाएको भए ?
सायद तिमी अलिकति असुहाउँदो देखिन्थ्यौ होला
तर, जीवनभर सुरक्षित नै रहन्थ्यौ होला
त्यही भएर आज
एकजना चित्रकारले तिमीलाई यसरी सजाएका छन्।
यो कस्तो समय आयो आज तिम्रोलागि
तिम्रो शरीरका अङ्गहरूको दोष हो?
कि
मन र आँखा नै अपवित्र भैसकेका छन् हाम्रो
अनि जहाँ हामी केवल
तिम्रो शरीरका अन्य अङ्गहरूलाई छोडेर
तिम्रो छाती र नितम्बमा आफ्नो
आँखा भिजाउन थालेका छौं
थाहा छ मलाई
तिमी ईश्वरसँग सधै गुनासो गर्ने थियौं होला
आफ्नो अपुरो शरीरलाई देखेर।
अनि
एकान्तमा आँखा तड्पि तड्पि आँसु झार्ने थियौ होला।
तर, सत्य यो पनि हो
तिमीसँग सायद
म पनि तिम्रो गुनासोमा भागलिने थिए होला,
किनभने
तिम्रो अधुरो र अपुरो शरीरप्रति
मेरो मन पनि अमिलो हुन्थ्यो होला।
वास्तवमा तिम्रो अपुरो शरीर हुँदा
मेरो पूर्णाङ्ग शरीरको कुनै अस्तित्व नै रहने थिएन।
वा फेरि हामी दुवैनै
एक अर्काप्रति कुनै गुनासोविना नै माया साट्थियौं होला।
यदि हामीले माया साटेका भए
सम्भवत सृष्टिको विकास हुने थिएन होला।
किनभने यी दुई अङ्गहरू
केवल अङ्गमात्र होइन
यी त सृष्टिको उत्पत्ति र पालन पोषण गर्ने सिद्धान्त हुन्।
जुन सिद्धान्तलाई आत्मसात गर्न
वर्तमानको पुरुषले बिर्सिदिएका छन् होला
त्यही भएर आज
एउटा स्वाभिमानी चित्रकारले
तिम्रो छाती र तिम्रो नितम्ब नै तिमीदेखि छुट्याइदिएको छ
र
तिमीलाई उसले ब्रह्मास्त्र ओढाइदिएको छ
अनि, ती विवश र पापी नजरहरूलाई
तिमीप्रति अलिकति सचेत पार्न सक्छु कि भन्ने,
एउटा प्रयास चालेको छ।
(लेखक सैनिक कवि हुन्)
उत्कृष्ट कविता, जस्तो चित्र उस्तै कविता, यो कविताले बिगत, वर्तमानमा भएका घटनाको भावलाई अति सुन्दर ढंगमा वर्णन गरेको छ, र मलाई लाग्छ यो कविता कहिले पुरानो हुने छैन, कारण यो कविताले विगतदेखि वर्तमानमा हुँदै आइपुगेको अनि आउने भविष्यमा यस्ता घटना हुने पनि सम्भावना छदैछ, यसैले यो कविता कहिले पुरानो नहुने कविता हो।
धेरै धेरै धन्यबाद breaknlins प्रति मेरो कविता र मलाई हजुरले आफ्नो पत्रिकामा ठाउँ दिनुभएको मा🙏