आइतबार, १७ मे २०२६

शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव

News Image
• • •

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र एक महिलाको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको छ।

गत वैशाख ११ गतेदेखि हराएकी तारकेश्वर नगरपालिका–३ तीनपिप्ले घर भएकी ४५ वर्षीया महिला सरिता तिवारीको टोखा नगरपालिका–१ स्थित शिवपुरीको जंगलमा हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।

वैशाख ११ गते ‘बजार जान्छु’ भन्दै घरबाट निस्केकी तिवारी बेलुकासम्म घर नफर्केपछि आफन्तले १२ वैशाखमा प्रहरीमा खबर गरेका थिए। 

त्यसपछि खोजी तथा अनुसन्धानको क्रममा प्रहरीले तिवारीसँग अर्को एक पुरुषको सम्पर्क देखिएपछि प्रहरीले सोमबार ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

पक्राउ पर्ने व्यक्ति थिए टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोल। उनै डंगोलले सरिता तिवारीलाई शिवपुरीको जंगलमा हत्या गरेर फालेको बताएपछि प्रहरी उनलाई साथमै लिएर घटनास्थल पुगेको थियो। जंगल पुग्दा त्यहाँ गाडेको अवस्थामा सड्न थालेको अवस्थामा महिलाको शव भेटिएको हो।

उक्त शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र हत्याको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!