बिएल संवाददाता
इलेक्ट्रीक स्कुटीमा आगलागी हुँदा विरगंजमा एकै घरका ४ जना घाइते भएका छन्।
घरमा चार्ज गर्न राखिएको ‘टोनमा’ कम्पनीको स्कुटरमा एकाएक आगलागी हुँदा वीरगन्ज महानगरपालिका-१६, नगवा निवासी विशाल सर्राफ र उनका परिवारका सदस्यहरू गम्भीर घाइते भएका हुन्।
बढ्दो पेट्रोलको मूल्यबाट आजित भएका सर्राफले एक महिना अघि खरिद गरेको उक्त स्कुटरमा गएराति आगलागी हुँदा उनीसहित उनकी श्रीमती २६ वर्षीया अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर सर्राफ र २ वर्षीया छोरी इशा सर्राफ गम्भीर घाइते भइ आईसीयूमा भर्ना भएका छन्।
पेट्रोलको बढ्दो मूल्यका कारण खर्च घटाउने उद्देश्यले विशालले वीरगन्जको ड्राइपोर्ट चोकस्थित कुशवाह मोटर्सबाट १ लाख ९० हजार रुपैयाँमा मधेस प्रदेश १४३४ नम्बरको उक्त इलेक्ट्रीक स्कुटी खरिद गरेका थिए। सोही स्कुटीलाई शनिबार राति चार्जमा राखेर सुतेका बेला ब्याट्री पड्किँदा आगलागी भएको र उक्त घटनामा परिवारका सदस्यहरू घाइते भएको विशालका पिता विष्णु सर्राफले जानकारी दिए।
आगलागीमा परी गम्भीर घाइते भएका परिवारका सदस्यहरूलाई वीरगन्जस्थित गण्डकमा रहेको बयोधा अस्पतालको आइसीयूमा भर्ना गरिएको छ भने २ वर्षीया बालिकालाई सोही अस्पतालको एनआईसीयूमा राखिएको छ।
सर्राफका अनुसार पेट्रोलको मूल्यबाट राहत पाउन खरिद गरिएको स्कुटीले नै परिवारको ज्यान संकटमा पारेको छ। हाल घाइतेहरूको उपचार पहिलो प्राथमिकतामा रहेको र त्यसपछि कम्पनीविरुद्ध कानुनी कारबाही गर्ने तयारी रहेको उनले बताए।
यस घटनाले स्थानीय बासिन्दामा पनि त्रास फैलाएको छ। छिमेकी सुशीला देवीले यस्ता सवारीसाधन घरमा नकिन्न र प्रयोग नगर्न आफूले परिवारका सदस्यलाई सचेत गराएको बताइन्।
उक्त घटनाबारे बुझ्दा कुशवाह मोटर्सका कर्मचारी शौरभ श्रीवास्तवले विद्युत् फ्लक्चुएसनका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । उनका अनुसार यस प्रकारको घटना पहिलो पटक भएको हो र यसको कारणबारे कम्पनीले पनि अनुसन्धान गर्ने जनाएको छ।
आगलागीमा पूर्ण रूपमा नष्ट भएको स्कुटीको क्षतिपूर्ति थर्ड पार्टी इन्स्योरेन्सबाट हुने र घरमा भएको क्षतिबारे सम्बन्धित पक्षसँग छलफल गरिने उनले बताए।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब निरीक्षक राजु कार्कीले स्कुटीमा आगलागी हुँदा एकै परिवारका चारजना बिरामी भएको पुष्टि गरे। उनका अनुसार घरभित्र चार्जमा राखिएको स्कुटीमा आगलागी हुनुको कारणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।
यस घटनालाई लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ भने स्कुटीका आधिकारिक विक्रेता कुशवाह मोटर्सका सञ्चालकलाई समेत सोधपुछका लागि बोलाइएको जनाएको छ।
नगवामा भएको यस घटनाले भविष्यको सवारीसाधनका रूपमा प्रचार भइरहेका इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरहरूको सुरक्षामापदण्डबारे प्रश्न उठाएको छ।
नेपालमा आयात हुने यस्ता सवारीसाधनको गुणस्तर परीक्षणलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन्।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया