यात्रा

चीनमा गरिब खोज्दा

Break n Links
Break n Links

लक्ष्मी पूजाको दिन (२०८०), बिहान ११ बजेतिर पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले फोन गर्नुभयो।

फोनमा उहाँले भन्नुभयो, ‘तिमी कता छौ? काठमाडौँ आउनु पर्‍यो।’

अध्यक्षज्यूले त्यति भनेपछि मलाई त अब के बोलौं, के नबोलौं भन्ने भयो। मैले ‘हुन्छ’ भनेँ।

उहाँले ‘पासपोर्ट कहाँ छ? लिएर आऊ तिमी दिउँसो ३ बजे चाइनीज एम्बेसी पुग्नुपर्छ’ भनेर भन्नु भयो।

यो मेरा लागि एउटा ‘सरप्राइज’ थियो। मैले पहिलोपटक चीन जाने अवसर पाएकी थिएँ। त्यो पनि पार्टी अध्यक्षबाट।

म त्यही दिन दिउँसो काठमाडौँ पुगेँ।

अध्यक्षज्यूको घरमा गएपछि थाहा भयो, पार्टीका नेता काशिनाथ अधिकारीज्यूको नेतृत्वमा चीन भ्रमण हुने। टोलीमा अहिलेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, महेश बर्ताैलालगायत नेताहरु हुनुहुन्थ्यो।
अध्यक्षज्यूले भ्रमणबारे जानकारी गराउनु भयो।

हामीले चीन जाने तयारी गरिरहँदा देशमा तिहारको रमझम थियो।

०००

बिहान ५ बजे विमानस्थल पुग्नुपर्ने थियो।

बिहानको चिसो मौसमबीच हामी विमानस्थल पुग्यौँ। मेरो लागि अन्तर्राष्ट्रिय विमानस्थल पुगेको त्यो पहिलो दिन थियो। मलाई त लागेको थियो, अन्तर्राष्ट्रिय विमानस्थल भनेको धेरै नै राम्रो हुन्छ। तर, त्यस्तो रहेनछ, हाम्रो विमानस्थलको शौचालयमा फोहोर नै फोहोर थियो।

साथमा रहनुभएकी दिदीलाई मैले भनेँ, ‘बिहान त यस्तो छ, साँझसम्म त झन कस्तो होला है दिदी।’

हामी हिमालय एयरलाइन्समार्फत् चीन जाँदै थियौँ। जहाजमा धेरैजस्तो नेपाल आएका चिनियाँ पर्यटक थिए। त्यसपछि नेपाली र भारतीय नागरिक। जहाजमा चढ्दै छुट्टिइसकेका थियौं हामी र चिनियाँहरु। उनीहरु शान्तसँग आफ्ना ट्याब चलाइरहेका थिए। हामी खस्याकखुसुक गरिरहेका थियौँ। भारतीय त झन ‘लाउड्ल्ली’ बोलिरहेका थिए।

हामी सान्सी विमानस्थलमा ओर्लियौँ।

०००

केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था मनभरि खेलाइरहेका बेला चिनियाँ विमानस्थल र त्यहाँको वातावरणले चकित बनायो।

त्यहाँ त बाहिरबाट आउनेहरुमाथि निक्कै कडा सुरक्षा जाँच गरिने रहेछ। संक्रमणबाट जोखिन सुरुमा नै हामीलाई ‘स्प्रे’ गरियो। त्यहाँ चेक/जाँच कतिसम्म हुने रहेछ भने हामीलाई त माेजासमेत खोल्नु परेको थियो।

त्यहाँको विमानस्थल पनि भव्य र सफा थियो। क्याबिनमा बस्दा नै पाँचतारे होटलमा बसेकोजस्तो महसुस हुने।

मलाई नेपालमा हुँदा नै चिनियाँ फूडकाे स्वादप्रति चाख थियाे। चीनमा त्यहाँकाे फूडकाे स्वाद लिन पाउँदा सारै नै मज्जा लाग्याे। चीनकाे र नेपालकाे फूडकाे स्वाद नै धेरै फरक!

विमानस्थलमा लिन आउने मानिस पनि समयमा आए।

हामी सान्सीबाट सियान पुग्यौँ।

अर्काेदिन बिहान ७ बजे होटलको लबीमा आमन्त्रण गरिएको थियो। मलाई त लागेको थियो, एकछिन ढिला गर्दा पनि केही हुँदैन हाेला। तर, त्यहाँ त कहाँ त्यस्तो हुँदो रहेछ र, समयको निकै पालना गरिने रहेछ। चिनियाँ प्रतिनिधिहरु ७ बज्न ५ मिनेट बाँकी छँदा नै आउनुभयाे।

चिनियाँहरू टिम लिडरकाे याेजना र निर्णयअनुसार चल्ने रहेछन्। जस्ताे कि टिम लिडरले जे भन्छ सबैले सहर्ष पालना गर्ने। बाेल्न पनि टिम लिडरले बाेलेपछि पुग्याे। अरू सबैले बाेल्न नै नपर्ने। चिनियाँहरूले बाेल्दा पनि कसैलाई हाेच्याउने, घाेचपाेच गर्ने गरेकाे पाइएन। आफ्नाे कुरा राख्याे। बस्याे।

चीनको भौतिक विकासको त मैले के कुरा गरिरहनु र, दुनियाँलाई थाहा छ। ठुला–ठुला भवन, कतै पनि बाहिर सडकमा अनावश्यक मान्छे नदेखिने। सबैजना आ–आफ्नो काममा व्यस्त। चिनियाँहरू समयकाे राम्राे व्यवस्थापन, प्रविधिकाे उचित प्रयाेग, सही कार्य याेजना बनाएर सहकार्यमा कामहरू गर्दा रहेछन्।

चिनियाँ सहरकाे परिवेश देखेर मलाई लाग्याे यहाँ (चीन) गरिब हुन्छन् होलान् कि नाई? हुन्छन् भने कस्ता हुन्छन् होला? तिनीहरु कहाँ बस्छन् होला?

मैले सोधेँ पनि ‘यहाँ गरिब हुँदैनन्?, मलाई यहाँका गरिब हेर्ने मन छ।’

मेरो इच्छाअनुसार गरिबहरु बस्ने ठाउँमा जाने कुरा भयो। चिनियाँहरुले त्यसलाई ‘पुअर एरिया’भन्दा रहेछन्।

चीनका गरिबहरुको अवस्था बताउनुअघि पहिला त्यहाँको यातायात प्रणालीबारे मैले देखेका कुरा भन्छु।

रेलकाे क्षेत्रमा चीन विश्वका अरु देशभन्दा अगाडि छ भन्ने कुरा नेपालमा हुँदै सुन्दै आएको हो। अरु यातायात प्रणाली पनि क्या गज्जबको रहेछ। निकै लामो दूरीको बाटो पनि एकछिनमा नै काट्न सकिने। यात्रा पनि सारै आरामदायी हुने रहेछ। घण्टौं यात्रा गर्दा पनि कुनै थकान महसुस नहुने।

हेर्दाखेरि पूरै पहाड नै पहाड। तर, सुरुङ मार्गले पहाडलाई एकैठाउँमा जोडेको छ। देख्दा कहाँ हो कहाँ जस्तो लाग्ने ठाउँमा पनि छिनभरमा पुग्न सकिने रहेछ। त्यहाँको सुरुङ मार्गको विकासलाई त मान्नै पर्छ। यिनै बाटाेहरू हुँदै हामी पुअर एरिया पुग्याैं।

चीनमा गरिबहरु बस्ने ठाउँ धेरै नै राम्रा रहेछन्। सबै गरिबको घरमा राम्रा–राम्रा गाडी थिए। कमी केहीको पनि थिएन।

मैले भनेँ, ‘यहाँ त गरिबका पनि गाडी हुने रहेछन् है?’

उनीहरुबाट मैले जवाफ पाएँ, ‘गाडी त आवश्यकताको कुरा हो नि गरिब र धनी भन्ने के छ र।’

चीनका गरिबहरुलाई सरकारले जमिन दिने रहेछ। त्यो जमिनमा लगाउने बिउ र बिरुवा पनि सरकारले उपलब्ध गराउने रहेछ। अनि त्यहाँ फलेका कुराहरु पनि सरकारले नै बेचिदिने रहेछ। किसानलाई त केही चिन्ता नै नहुने, सबै कुरा सरकारले नै गरिदिने। खाली भनेअनुसार काम गरे भयो।

हामी त्यहाँ पुग्दा ठिक्क स्याउ फल्दै थियो। सायद नेपालमा आउने फुजी स्याउ तिनी नै होलान्।

चिनियाँहरु आफ्ना ऐतिहासिक कुराहरुलाई सारै महत्वका साथ संरक्षण गर्ने रहेछन्। ती कुराहरुले पनि चीनलाई बलियो बनाएको रहेछ। हामीलाई ट्यारोकोटा भन्ने ठाउँमा लगिएको थियो। त्यहाँ २२ सय वर्ष पुरानो इतिहास संरक्षण गरेर राखिएको रहेछ। २२ सय वर्ष पहिला त्यो ठाउँमा युद्ध भएको रहेछ। त्यतिबेला युद्धको समयमा सेनाहरु लडिरहेका र ढलिरहेका दृश्यहरु अनि दौडिरहेका घोडाका दृश्यहरुका स्ट्याचु बनाइएको थियो।

त्यस्तै ऐतिहासिक ठाउँ मध्यकाे एउटा यान’ एन पनि हाे। याे ठाउँमा बसेर चिनियाँ गणतन्त्रका नेता माओले १९३५ देखि १९३८सम्म आन्दाेलन गर्नुभएकाे रहेछ। याे ठाउँमा पुग्नु मेरा लागि गर्वकाे कुरा हाे। यसलाई चिनियाँहरूले राम्राेसँग संरक्षण गरेर राखेका छन्।

चिनियाँहरु आफ्नो भाषाप्रति धेरै गर्व गर्ने रहेछन्। बरु उनीहरु इसाराको साहारा लिने रहेछन् तर अरुको भाषाप्रति चासो नै नदिने रहेछन्।

किन यस्तो? भनेर मैले सोधेको पनि थिएँ।

उनीहरुले भने, ‘हाम्रो भाषा नै संसारभरि चल्छ त हामीलाई अरुको भाषा किन चाहियो?’

चीनकाे सबैभन्दा राम्रो लागेको कुरा कम्युनिस्ट पार्टीको कार्यशैली, मानिसहरुको अनुसाशन र सरसफाइ, समय व्यवस्थापन हो।

चीन भ्रमणले मलाई धेरै कुराहरुमा राम्रो महसुस गरायो। पहिला त त्यहाँको लोभलाग्दो विकास नै हो। त्यहाँको जस्तै भौगोलिक अवस्था रहेको हाम्रो देशमा पनि त्यस्तै विकास गर्न पाए कस्तो हुन्थ्यो होला? मैले चिनियाँ विकासको मोडलसँग जोडेर नेपालको विकासबारे धेरै परिकल्पनाहरु गरेँ। समय व्यवस्थापन र अनुशासनलाई पहिलो सर्त बनाउनुपर्ने रहेछ भन्ने आत्मबोध भयो।

(घतानी नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य हुन्।)

प्रकाशित मिति: : 2024-08-24 13:28:00

प्रतिकृया दिनुहोस्